~हरिहर तिमिल्सिना~
हिमनदी जस्ता पसिनामा
इन्द्रेनीजस्ता अनुभूतिका रङ मुछेर
कोरेँ मैले आफ्नै एउटा चित्र ।
प्रत्येक विन्दु र रेखाचित्रहरूको सरगममा
लिपिबद्ध गरेँ मुस्कानको नोटेसन
एउटा कोलाज बन्यो स्वच्छन्द गीतहरूको
आँखा खोलेर हेर्दा नदेखिएका दृश्यलाई
आँखा चिम्लिएर हेर्दा देखेँ
नबुझिएका आवाजलाई सुगन्धले निहालेँ
अन्तष्करणको स्पर्शले छोएँ सबैसबै अवयवहरूध्र
कोइलीको गीतलाई धपाएर पर
सुनेँ मैले आफ्नै अन्तरको सिम्फोनी
जूनको ऐनामा हेरी हेरी अनुहार
दुरुस्त उतार्न खोजेँ आफूलाई ।
वर्षौं लगाएर
मैले एउटा आफ्नै चित्र कोरेँ
ओहो ! यसपालि पनि
मेरो अनुहार हुनुपर्ने ठाउँमा
उतारेँछु मैले अरू कसैको अनुहार ।
-सुडाल-९, भक्तपुर
(स्रोत : मधुपर्क २०७० मंसीर)