~त्रिभुवनचन्द्र वाग्ले~
भान्सामा कसौडीका कसौडी अभाव पाकिरहेको छ
र केटाकेटीहरू थालथालमा पस्केर खाइरहेका छन् भोक
यो अभाव पाक्ने भान्सामा
यो भोक पस्कने थालमा
पख, पख, पख, बिहान ओर्लनासाथ आँगनमा
मैले धैर्यका सम्बन्धमा एउटा कार्यपत्र पेश गर्नुछ
धैर्यःरित्तो भान्छाको कसौडी\भान्छाको रित्तो कसौडी
कार्यपत्रःप्रस्तुत शिशुहरू
भान्सामा कसौडीका कसौडी अभाव पाकिरहेको छ
र केटाकेटीहरू थालथालमा पस्केर खाइरहेकाछन् भोक
कसौंडी दन्त्यकथाको “खिरपाक ताउली” बन्न सक्दैन
न त थालहरू
हजुरबाको कथाको खोरिया बन्छन् र क्यामुनो उमार्छन्
म हातमा तिमीहरूका लागि
उपहार लिएर उपस्थित छु
खोल त यी हत्केलाहरू
र पढ पढ पढ नानी हो
यो एउटा कार्यपत्र हो धैर्यको
प्रतीक्षा गरौं–
धैर्यको नैमित्तिकमा हामी
कार्यपत्र पिएर बाँच्न सिकौं ।
आऊ अब हामी भलाकुसारी गरौं
ता कि हामीभित्रका मतान्तरको निदान खोजौं
मतान्तरः भोक
भोकः रित्तो भान्छाको कसौडी÷भान्छाको रित्तो कसौडी
मैले भनेको मान्ने हो भने
हामी आपस्तमा सुस्ताउँ
र प्रतीक्षा गरौं
धैर्यको नियतिमा हामी
कार्यपत्र पिएर बाँच्न सिकौं ।
(कविको कविता सङ्ग्रह “अर्कीर्ण आँखा”बाट)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )