कथा : विकुलाल कुसाथा

~हरि अधिकारी~hari-adhakari

अलि पर, धेरैजना मिलेर ठूलो – ठूलो स्वरमा भजन गरेको कि त असारे दोहरीको भाकामा मन फुकाएर गाएको जस्तो केही लयबद्ध सुनियो ।

त्यतातिर जाउँ – नजाउँ एकछिन मन दोमन भयो । तर एकैछिन मात्र । एकछिनपछि नै मसक्क आँट गरेझैँ ऊ हिँडिहाल्यो । ऊ जति अगाडि बढ्दै गयो त्यो कोलाहलको तरङ्ग पनि बाक्लिँदै गयो । त्यसमा गीतसङ्गीतको कोमल कम्पन हराउँदै गयो र त्यो कसैले बल गरी – गरी रोएको अथवा धेरैजना मिलेर लगातार चिच्याउँदा सुनिने आवाज जस्तो अप्रिय सुनिन थाल्यो । अलि नजिक पुगेपछि त थाहा भइहाल्यो – त्यो स्यापा गर्ने चेलीबेटी रोएको आवाज मात्र रहेछ ।

युवक ! कस्तो पत्ता नपाएको । उसले आफैँसँग ठूलो स्वरमा भन्यो र आफ्नै धज्जी उडाएझैँ तल्लो ओठको देब्रे कुनामा मात्र अलिकति हाँस्यो । वरपर कोही थिएन, आकाशमा भर्खरै मात्र ताराहरू भने अझै टिलपिल – टिलपिल देखिँदै थिए । सहरको मूच्र्छना टुटिसकेको थिएन । ऊ उभिएको सडकलाई भने पाँच – सातओटी आइमाईहरू रोएको शुष्क (उनीहरूको आँखामा आँसु थिएन) र तीखो स्वरको हथौडाले लगातार चोट गरिरहेको थियो । उसको टाउको माथिको, दायाँ – बायाँका अग्ला – होचा घरहरूका झिँगटीका छानाहरूले टुक्रयाएको चोक्टे आकाशको रङ्ग विस्तारै – विस्तारै उड्दै गइरहेको थियो ।

“निक्कै चाँडै हिँडेछु क्यार ?” उसले आफैँसँग भन्यो, अनि गल्लीमा अलि परसम्म हेर्ने अभ्यास ग¥यो । सहरका घरहरू कुनै भग्नकिल्लाका अन्तिम अवशेषझैँ देखिइरहेको थिए । उज्यालो र अँध्यारोको बिचको स्थितिमा ती डरलाग्दा र निकै टाढाका जस्ता पनि लागिरहेका थिए । फाटफुट कुकुरहरू ब्युँझिएका थिए, तर तिनीहरू भित्रको आलस्य र अन्योलको अन्त्य भने भइसकेको थिएन ।

“ढिलो चाँडोले मलाई के ग¥यो र ? दिन पनि त ब्याइसक्यो” – ऊ फेरि भुतभुतायो । ऊ अडिँदै – अडिँदै हिँडिरहेको थियो र आफूसँग विवाद पनि गरिरहेको थियो । एकछिन मन लगाएर हिँडेपछि उसलाई लाग्न थाल्यो – को हो उसको पछि – पछि आइरहेको छ । ऊ अडियो । फरक्क पछाडि फर्केर हेर्न सकेन, तर कम्मरमा हात राखेर हाई गरेझैँ जीउलाई मर्कायो र छड्के कोणबाट पछिल्तिर हे¥यो – त्यहाँ कोही पनि थिएन । आफ्नो पाइलाको आवाजले आफैँ झुक्किएको थाहा पाएपछि उसलाई मज्जा लाग्यो र ठूलो स्वरमा हाँस्न खोज्यो, तर दाँत सबै फुक्लिएर आधा चिउँडो भित्र पसेको उसको मुखबाट केटाकेटीको खित्काभन्दा ठूलो हाँसो निस्कन सकेन । आफ्नो उमेरमा ऊ अरबी घोडा हिनहिनाएझैँ हाँस्थ्यो । त्यो वेगवान् र लयपूर्ण हाँसोको धमिलो सम्झना आएपछि उसलाई लाग्न थाल्यो – ऊ आफू रित्तिइसकेको छ । अनि उसका गोडा गलेर आए । ऊ सडक छोडेर एउटा घरको पेटीमा उक्लियो र हलचल नगरी उभियो ।

सडकको पल्लो छेउमा स्यापा गर्ने आइमाईहरूले अनुष्ठान पूरा गरिसकेका थिए । काँध दिने साथी र रूवाइको पट्यारालाग्दो लयबाट फुक्का उनीहरू चुपचाप ऊ भएतिर आइरहेका थिए । उनीहरूमध्ये धेरैजसोको अनुहारमा गम्भीरताको पातलो जलप अझै बाँकी थियो, तर एकदुईजनाले भने त्यसलाई पखालिदिइसकेका पनि थिए । एउटी भर्खरकी केटी थिई त्यो हुलमा – अनुहारले नै हँसिली, जीवनको उत्साह आकण्ठ भरिएकी र मृत्युको कल्पनाबाट नदबेटिएकी, ढुङ्गामा बजारे पनि केही नहोला जस्ती सुन्दर स्वस्थ । ऊ स्यापाको कारबाहीभरि कौतुक र उत्साहको चमक भरिएका आँखा नचाउँदै संलग्न भई र अहिले चोखिएपछि हाँस्दै – बोल्दै ऊतिर आइरहेकी थिई । उनीहरूको देखादेख भयो । त्यो पुष्ट शरीर र प्रसन्न मन भएकी राती – पिरी तरूनीको चञ्चल आँखासँग आफ्ना निस्तेज, पहेँला आँखा जुधेपछि उसलाई आफू ठिटो हुँदाको सम्झना भयो । उसलाई पनि कति निरर्थक लाग्दथ्यो स्यापाको विधि । अभिनयसहित रूँदै सडकमा निस्कियो, मर्नेप्रति स्नेह देखाउने केही वाक्य र वाक्यखण्डहरूलाई लय दिएर चिच्यायो, तोकिएको ठाउँमा पुगेर पानीका छिटा हालेपछि खत्तम ! यो विधि मृत्युको सम्मानका लागि हो कि जीवनको, उसले कहिल्यै बुझ्न सकेन । तर पनि उसले आजसम्म त्यो विधिको पालना गर्दै आएको छ र ऊ मरेपछि पनि उसका आफन्तहरूले यसै गरी ऊप्रति शोक र श्रद्धाको अनुष्ठान पूरा गर्नेछन् ।

मान्छेहरू सायद यत्तिका लागि बाँच्दछन्, अनि मर्दछन् – उसले विचार ग¥यो । तर विचारको कुनै श्रृङ्खला बन्न सकेन । उसले धेरैजना बाँच्नेहरूलाई सम्भ्mयो । मर्नेहरूलाई पनि सम्झिने प्रयास ग¥यो, तर उसको मनको काँतर पन्छी मृत्युको त्यो अँधेरो सुरूङभित्र प्रवेश गर्न मानेन । अनि ऊ थचक्क बस्यो र अहिले अलि – अलि गतिमा आएको त्यो सडकको आगमनमा अल्झिन खोज्यो ।

एउटी आइमाई केही क्षण अगाडिदेखि उसलाई हेरिहेकी थिई । उसलाई देखेपछि सुरूमा वास्ता नगरेर जान खोजी, झझल्को लागेझैँ अडिई, साथीलाई जान दिई, ठम्याउन खोजेर अलि नजिक आई, चिनी र केही अंशमा आत्मीयता र धेरै अंशमा विस्मयले भरिएका आँखाले उसलाई हेर्न थाली । विकुलालले समयको फोहोर खहरेको थप्पडले मैला भएका आफ्ना आँखा सडकतिर फ्याँक्न खोजेपछि उसको र त्यो आइमाईको देखादेख भयो विकुलालले चिनेन । ऊ अलमलियो । त्यो आइमाई ऊसँग केही भन्न खोजिरहेकी छ, उसलाई थाहा भयो । तर उसले त्यो आइमाईलाई चिन्न सकेन । चिनेकाहरूका अनगिन्ती अनुहारहरू मध्येबाट उसले त्यो आइमाईको अनुहार भेट्टाउन खोज्यो, सकेन । आफ्नो एकान्त मनको गहिरो गुफामा गह्रौँ पाइलाको डोब पार्न खोजिरहेकी त्यो आइमाईदेखि उसलाई अलि – अलि डर पनि लागेर आयो । त्यो को हो ? त्यसको आशय के छ ? मस्तिष्कका तन्तुहरू विश्रृङ्खल भएको बिरामी मान्छे पो हो कि अथवा पुरुषको प्रताडनाले सडकमा पछारिएकी कुनै गृहहारा अभागिनी हो ? विकुलालले मनका संशयहरूको निक्र्यौल गर्न पाएन । “बिकु बाया भाग्ये … र” भनेर त्यो आइमाई बिकुलालसँग निहुरिई । ऊ आश्वस्त भयो । त्यो अपरिचितताको परिचयप्रति भर्खरैसम्म उसको मनमा जुन उत्तेजना थियो त्यो म¥यो । अनि नजिकैबाट फेरि एकपल्ट महिलाको झलक्क हेर्दा कठोर लाने साधारण अनुहार मात्र थियो । उसका आँखा धसिएका थिए र तिनीहरूका डिलमुनि चायाँ परेको थियो । बिकुलालले देखेचिनेका हजारौँ आइमाईहरूमध्ये ऊ एउटी हुन सक्थी, तर कुनचाहिँ हुन सक्थी ? उसको स्मृतिले काम गर्न सकेन । ऊ टोल्हायो ।

आइमाई चनाखी थिई । बिकुलालले चिनेन भन्ने कुरा थाहा पाइहाली । “मलाई चिन्नु भएन ?” – आश्चर्य र केही दयाको भाव मिसिएको स्वरमा सोधी । बिकुलालको अन्तरको अन्योलको तुवाँलो अझै फाटेन । “म क्या गोलमढी हरिशङ्करकी छोरी साहिँली” भनी र – “बा बित्नु भएर आ’की” भनेर थपी पनि । “हँ ! ए कहिले ? मलाई त थाहा नै थिएन !” – बिकुलाल तन्द्रामाझैँ बोल्यो । उसको मुटुको ढुकढुकी एकपल्ट रोकिएको जस्तो लाग्यो उसलाई । कसैले कञ्चटमा सानो मार्तोलले लगातार हानेझैँ ऊ उभिन नसक्ला जस्तो भएर आयो । तर निमेषभरमै उसले आफूलाई सम्हाल्यो पनि । जहिले पनि मृत्युको बारेमा कुरा गर्दा मृत्युको सनातनता र त्यसका चिसा हातहरूमा भएको शक्तिको बारेमा विचार गर्नुपर्दा बिकुलाललाई यस्तै छटपटी हुने गर्दथ्यो । उसलाई हरिशङ्करको सम्झना भयो । क्या गजबको सिकर्मी थियो, बितेछ । अठार – उन्नाइस वर्ष कान्छो हुँदो हो मभन्दा भन्ने सोच्दै मनमनमा चुक्चुकायो । उसलाई त्यहाँबाट भाग्न मन लाग्यो । मृत्युको गन्धको नजिकबाट ऊ जति सक्यो चाँडो उम्कन चाहन्थ्यो ।

‘बाजेलाई त सञ्चै छ होइन ? बिचरा बा त दुई दिनकै बेथाले जानु भयो । हेर्नोस्, उमेर त त्यति ठूलो होइन, साठी पुग्नु भो होला स्वर्गे हुने बखत । बाजे त निक्कै हुनुभो होला, होइन ? कति ?” बिकुलाल आफ्नो विचारश्रृङ्खलालाई मृत्युको अँधेरो सुरूङबाट जीवनको उज्यालो र फराकिलो मैदानमा ल्याउन खोजिरहेको के थियो हरिशङ्करकी छोरीले ऊसँग सोधी । बिकुलालको सानोकाँठीको तर दोहोरो आङको, ठम्ठम्याउँदो शरीर र चाउरी परेको मुखतिर हेरिरहेकी थिई ।

बिकुलाललाई आफ्नो उमेर र स्थितिको तीव्र अनुभूति भयो । उनासी वर्ष ! कति धेरै दिनहरू ! गनी नभ्याउने क्षणहरू । उसले आफ्नो जीवनयात्राका सम्पूर्ण अर्थलाई एकैचोटि समेट्ने प्रयास ग¥यो । कति – कति पर आइपुगेछु – उसले योभन्दा बढी सोच्न सकेन र सुस्तरी भन्यो – “चार बिसको हुन लागेँ ।”

हरिशङ्करकी छोरीका आँखा एकपटक खुम्चिए अनि फैलिएर ठूला – ठूला भए । ऊभित्र आश्चर्यको होइन, उत्तेजनाको पनि होइन, घृणाको पनि होइन, आतङ्कको पनि होइन – एक प्रकारको अथ्र्याउन नसक्ने खालको विरक्तिको धुवाँ भरिएर आयो । उसको लोग्नेलाई अठ्तीस वर्षको उमेरमा क्षयले ढालिदिएको थियो । उसकी एउटी दिदी थिई, त्यसलाई कालोज्वरोले उमेरमै निल्यो । उसको एउटा देवर … एउटी काकी… एउटी छोरी … उमेरै नपुगीकन मर्ने धेरैजनाका अनुहारहरू एकैचोटि उसको आँखा अगाडि आउन खोजे । बिकुलाल भने अस्सी वर्षको उमेरमा कालजयीझैँ उसको अगाडि उभिएको थियो । उसले बिकुलाललाई नियालेर हेर्न खोजी, तर दृष्टि सहज र आत्मीय हुन सकेन । त्यो दृष्टिको चोट बिकुलालका लागि असह्य भयो । उसको मुन्टो स्वतः निहुरियो ।

एकछिनसम्म उनीहरू दुईजनामा कोही पनि बोलेन । बिकुलालको मन शून्य भइसकेको थियो । न मृत्यु न जीवन ऊ केही पनि सोचिरहेको थिएन । हरिशङ्करकी छोरी मृत्युको व्यापकतालाई आफ्नै अर्थमा भेट्टाउन खोजिरहेकी थिई । बिकुलाललाई त्यहाँबाट भागूँ – भागूँ लागेर आयो । “ल त नानी जाऊँ है ? भरेतिर आउँछु म तिम्रो बाकहाँ” – उसले कामेको स्वरमा अस्फुट यति भन्यो र हिँडिहाल्यो । नेटो नकाटुञ्जेल फर्केर हेरेन । एउटा कुनेटो काटेपछि एकछिन अडियो र फेरि हिँड्यो ।

अब बिकुलाल भैरवनाथ जाने बाटोमा अगाडि बढिरहेको थियो र आफ्नै बारेमा सोचिरहेको थियो । त्यति बेलासम्म दिनका आँखा राम्रैसँग उघ्रिसकेका थिए । र, मान्छेहरू फाट्टफुट्ट सडकमा निस्कन थालेका थिए । नित्य पूजा गर्ने आइमाईहरू, बिहानको आरतीमा ढोलक सहनाई गर्नेहरू, दाउरेहरू, दूध बेच्ने काँठेहरू, तरकारीका खर्पन सुकुलढोका पु¥याउनेहरू, बिहानको पढाइ धान्नेहरू, गस्तीमा निस्केका प्रहरी सबैले आफ्नो शरीरको रथलाई हेलिदिइसकेका थिए – सजिला अप्ठ्यारा आ – आफ्ना गोरेटाहरूमा । सहरका साँघुरा सडकहरूबाट तिन ताल मात्र देखिने आकाश छेडिरहेको न्यात पौ मन्दिरको गजुरलाई सूर्यका किरणहरूले म्वाइँ खाइसकेको थिए र ती किरणहरूले सुस्तरी आफ्ना पन्जाहरू फैलाइरहेका थिए । सहरका घरहरूका छाना र अट्टालिकाहरूतिर । जीवन – सङ्गीतको सारेगमले भक्तपुर सहरको मूच्र्छना र आलस्यलाई मेटिदिइसकेको थियो । बिकुलाल कुसाथा पनि त्यो जीवन – सङ्गीतको तरङ्गमा समाहित थियो । विगत अस्सी वर्षदेखि उसले त्यो सङ्गीतको धाराबाट आफू चोइटिसकेको जस्तो लागेर आयो । ऊ एउटै प्रश्नसँग लाप्पा खेलिरहेको थियो – म अहिलेसम्म किन छु ?

ऊ न्यातपौ दबु पुग्यो । मानिसहरू जम्मा हुन थालिसकेका थिए । उत्साह र उल्लासको तरङ्गमा बग्दै चारै कुनाबाट डबलीमा ओइरिँदै गरेका मान्छेहरूतिर हेर्दै उसले सोच्यो – यिनीहरूको समूहमा उसको लागि कुनै ठाउँ छैन । उसले आफ्नो अतीतको ढाडमाथि आफ्ना अशक्त औँलाहरू राखेर त्यसलाई छाम्न खोज्यो । त्यहाँ कतै दुखेन, न त आनन्दको कुनै सनसनी नै अनुभव भयो । बिकुलालविना कुनै उत्सव चुपचाप यो धर्तीमा आएको थियो । ऊ अँधेरो छिँडीमा देउता झार्न जान्नेहरूको संरक्षणमा खेतका डिल, आली, खर्पन र कालीमाटीको गहिरो कङ्गामा लुटपुट गर्दै र रगत मिसिएको पसिना झारेर नाङ्गो खेतलाई हरियो बनाउँदै अज्ञान – अनाम हुर्कियो । उसले बिहे ग¥यो; छोरो जन्मायो, त्यसलाई पढ्न पठायो । जीवनका तमाम अनुष्ठानहरू उसले पूरा ग¥यो । आज बल्ल उसलाई थाहा भयो विगत बिस – पच्चीस वर्षदेखि ऊ बेकम्मा बाँचिरहेको रहेछ ।

सभा सुरू भयो । जुन उत्साहले बिकुलाल भर्खरै आममाफी पाएर आएको इलाकाको एउटा किसान नेताको भाषण सुन्न आएको थियो, त्यो उत्साहको एक अंश पनि अब उसमा बाँकी थिएन । भीडको एक छेउमा शून्य आँखाले शून्यतिर हेरेर ऊ एकछिन भैरवनाथको मूलढोकाको जस्केलोमा बस्यो । उसको छोरो पनि भाषण गर्नेहरूको पङ्क्तिमा थियो । उनीहरूले भाषणमा धेरै कुराहरू भने । प्रजातन्त्रका, किसानहरूका हक र हितका जनमतमा जित्नु पर्ने पक्षका कम्पुचियाका, जिम्बाबेका र सारा संसारका । तर बिकुलालको मनको हाहाकारलाई उनीहरूको भाषणले छुन सकेन । उसलाई आफ्नो वाञ्छनीयताप्रति अरू बढी शङ्का लागेर आयो । ऊ त्यहाँ धेरैबेर बस्न सकेन । भीडलाई चिर्दै ऊ अगाडि बढ्यो ।

एकैछिनको लागि उसको आफ्नो छोरासँग देखादेख भयो । छोराले केही भनेन तर उसका आँखामा त्यो भीडमा ऊ त्यहाँ आएको कुरा मन नपरेको स्पष्ट देखियो । बिकुलालको मनको हाहाकार अझ बढ्यो । सारा भीडले उसको हुनुलाई नरूचाएर उसलाई जिस्काइरहेकोझैँ लाग्यो उसले राजा भूपतीन्द्र मल्लको कालप्रेम र इतिहासमा कहिल्यै नाम नलिइने अज्ञात – नाम कलाकारहरूका सीप र कौशलको ज्यूँदो नमुना – न्यातपौको भव्यता र विशालतातिर एकपट उदास – निराश आँखाले देख्यो र अघि बढ्यो ।

बिकुलाल दिनभरि सहरमै भौतारिरह्यो । भात खाएन । हात – खुट्टामा तुजुक मरेका बेलादेखि उसले रक्सी खान छोडिदिएको थियो । आज फेरि उसलाई एक दुई खोल्चा खाऊँ लागेर आयो, किन ? उसले खुट्याउन सकेन । उमेर छँदा फुर्सदको बेलामा यस्सो भुल्न जाने गरेको एउटा ठाउँ थियो । उसले जिस्काउने गरेकी आइमाईकी नातिनी बस्दिरहिछे भट्टीमा । बूढोको उमेर र शरीर खासगरी थोते मुख देखेर ऊ बर्काले मुख छोपी – छोपी खुब हाँसी । बिकुलालले वास्ता गरेन । ऊ सारा स्थितिहरूदेखि माथि भइसकेको थियो । केटीले उसको उमेरप्रति सजक भएर रोक्दारोक्दै पनि बिकुलालले त्यो दिन झन्डै एक बोतल रक्सी धोक्यो ।

राति चुपिङ्गघाटको पुल तरेर भीमसेनथानको छेउबाट जगातेतिर गइरहेको बिकुलालको टाउकोमाथिको विशाल आकाशमा ताराहरू धिपधिप गरिरहेका थिए । चारैतिर चकमन्न थियो । बिकुलालका गोडाहरू छेउभित्ता हानिरहेका थिए । इँटा कारखानातिर जाने दोबाटोतिर पुगेपछि बिकुलाल बाटो पहिल्याउनझैँ अडियो । तर ऊ सबै बाटाहरूलाई एकै देखिरहेको थियो । त्यहाँ अडिएर बिकुलालले सम्झन खोज्यो – उसको घर कुन टोलमा पर्दछ ? तर उसले सम्झना गर्न सकेन । उसलाई लाग्यो उसका लागि सम्पूर्ण दिशाहरू उघ्रिएका छन् र सम्पूर्ण जनपद उजाड भएको छ । कहीँ कुनै बस्तीको कुनै चिन्हसम्म बाँकी छैन । चारैतिर शून्यताको अथाह विस्तार मात्र भएको छ र ऊ त्यो शून्यतामा बिलाउन तयार छ । एकछिन यस्ता अद्भुत विचारमा रूमल्लिएर उभिएपछि बिकुलाल त्यहाँबाट पनि हिँड्यो । बाटोको छेउमा एउटा सुख्खा खहरे थियो । बिकुलालले खहरे र बाटोलाई छुट्याउन सकेन । ऊ ढलमल गर्दै खहरेमा ओर्लियो।

(२००९)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.