कथा : बिरामी

~श्रेयज सुवेदी~

म कमजोर छैन । म चुपचाप छु । यसको मतलब यो हैन कि म बोल्न सक्दिनँ । तिम्रो हरकतको प्रतिक्रिया दिन्न यसको मतलब यो हैन कि मलाई प्रतिकार गर्न आउँदैन । मेरोबारे नकारात्मक सोच पाल्ने तिम्रो उपस्थितिले बान्ता आउँछ मलाई । किनकि तिम्रो विचार गनाउने गर्छ । बेलैमा विचार पुर्‍याउ, नत्र विचारमा कीरा लागेर दिमागको क्यान्सर होला । तिम्रा ती गिद्धे नजरहरू परेलाको दराजमा बन्द गरे बेस, नत्र झिकेर गुच्चा खेली खोपीमा मिल्काइदिउँला । तिम्रा अनैतिक हातहरू मबाट पर राख, नत्र सिलौटामा थिचेर अचार बनाइदिउँला । मप्रतिको तिम्रो आपराधिक सोचमा पूर्णविराम लगाऊ । नत्र दुई खुट्टाको बीचमा यस्तो प्रहार गर्छु कि जीवनमा कहिले पनि बाउ बन्न सक्दैनौं । असमानता पालेको तिम्रो मगज रोगी भइसक्यो । विचार साँघुरो छ तिम्रो । तिमी बिरामी छौ पुरुष, बेलैमा उपचार शुरु गर ।

अन्याय, अत्याचार, यातना यी सब कुराहरू के मेरो मात्र भागमा हो ? इतिहासदेखि वर्तमानसम्म म तल छु भन्दैमा जमिनैमा धसाउन खोज्ने तिम्रो प्रवृत्तिलाई के निरङ्कुशताको संज्ञा दिन मिल्दैन मैले ? के सहनशिलता मेरो मात्र कर्तव्य हो ? तिमी आफ्नो दायित्व बिर्सन्छौ भने मैले कर्तव्य पालन गर्नुपर्छ भनी कतै कुनै कागजमा लेखिएको छैन । तिमी पुरुष म नारी भन्दैमा सधैं तिम्रो जोतिने गोरु बन्न सक्दिनँ । प्रतिकार, प्रतिशोध अनि प्रतिस्पर्धाको क्षमता म पनि राख्दछु । यो कहिल्यै नबिर्स, तिमी जुन आमाको दूध खाएर पुरुष भयौ म पनि त्यही आमाको लाम्टो चुसेर नारी भएकी हुँ । लै·िक विभेदलाई बढावा दिने तिमी शक्तिशाली हैन, कायर हौ । विभेदात्मक सामाजिक ढालभित्रको तिम्रो अस्तित्व, तेही बाघको छाला ओढेको गधाको जस्तो हो ।

हरदिन हरपल हरठाउँ तिमी आफ्नो पुरुषत्व देखाउन तम्सेका हुन्छौ । बाटोमा हिंडेको बेला सिट्टी बजाएर, जिब्रो पड्काएर तुच्छ वचनले जिस्क्याउँदा, के तिम्रो पुरुषत्व साबित हुन्छ । यो अवस्थामा ६ नम्बरको चप्पलले १२ नम्बरको डाम बस्ने गरी दन्काउन सक्छु म । तर म तिमी जस्तो र्‍िहंसक छैन । राति एक्लै गल्लीमा ४/५ जना मिलेर मेरो छातीमा हात लगाउँदा, के तिमीलाइ तिम्रो आमाको दूधले पोल्दैन ? ती हातहरू भाँचेर थाङ्नामा सुकाउन सक्छु म । तर तिमी जस्तो असामाजिक छैन म । बसमा उभिएर यात्रा गर्दा मेरो पाखुरामुनि हेरेर र्‍याल काढ्ने तिम्रो जिब्रो थुतेर चुडाल्न सक्छु म । तर म तिमीजस्तो अनैतिक छैन । खसेको सामान टिप्दा मेरो भित्री पहिरनको रंग अड्कल गर्ने तिम्रो आँखा, आँखा हैन ढुङ्गा हो, जसमा लाज छैन । अफिसमा तिम्रो टेबलमा फाइल राख्दा, मेरो छातीमा लगाउने तिम्रो गलत नजर, वास्तवमैं निर्जीव हो, जसमा कुनै संवेदना छैन । कलेजको गेटबाट भित्र पस्दा, भीडमा मेरा अ·हरू छुन खोज्ने तिम्रो नियत वास्तवमैं अपराधी छ । टिसर्टका किनारबाट झुक्किएर देखिने समिजका फित्ताहरूमा लगाउने तिम्रो दृष्टि, कुनै कात्तिके कुकुरको भन्दा कम छैन ।

मैले छोटा लुगा लगाउँदैमा, टाइट जिन्स लगाउँदैमा मेरो नियतमा प्रश्न गर्ने अधिकार छैन तिमीलाई । म चुरोट खान्छु, रक्सी पिउँछु भन्दैमा तिम्रो ओछ्यान तताउने म कुनै यौनव्यवसायी हैन । तिमी पनि त मोडर्न लुगा लगाउँछौ के म पनि तिम्रो नियतमा प्रश्न गर्न सक्छु ? तिमी पनि त चुरोट–रक्सी पिउँछौ । के तिमी पनि यौन व्यवसायी हौ ? म घर राति अबेर फर्कन्छु भन्दैमा कुनै केटासँग घुमेर आ’को हुन्न म । म केटाहरूसँग बढी घुलमिल हुन्छु भन्दैमा सबैसँग अनैतिक सम्बन्ध राख्दिनँ म । मेरा पनि भावना छन् संवेदना छन् ।

हावाको भरमा अड्कलबाजी काटेर अनैतिक सोचको डेरा नबनाऊ दिमागलाई । नारीप्रतिको सोच परिवर्तन गर । तिमीसँगै काँधमा काँध मिलाएर परिवर्तको लहड चलाउने क्षमता राख्छे नारी । लै·िक भिन्नताको आधारमा क्षमताको मूल्याड्ढन गर्ने परिपाटी परिवर्तन गर्नुपर्छ तिमिले । म घरमा खाना बनाउँछु । बच्चाहरू स्याहार्छु । तिम्रो बा आमाको सम्मान अनि सत्कार गर्छु । तिमी कमाएर घर चलाउँछौ भन्दैमा आधा रातमा रक्सी धोकेर कुट्न खोज्ने….म तिम्रो नोकर हैन । तिम्रो कुनै दासी हैन । तिम्रो बच्चालाई संस्कार सिकाउने शिक्षक हुँ म । तिम्रो बा आमाको रक्षा गर्ने रक्षक हुँ म । स्वास्नी कुटेर मर्द बन्न खोज्छौ भने चुरा लगाएर चुलो अगाडि बस, भोलिदेखि कमाउन म जान्छु । राति जुन बेला मन लाग्यो फरिया उचाल्न म कुनै पैसामा किनिएकी आनन्द हैन । विचार गर, नत्र भोलि ‘स्वास्नी बलात्कार गर्ने लोग्ने जेलमा’ भन्ने खबर दुानियाँले पढ्नेछ ।

तिम्रो यातना, हिंसा, थुकाइ, कुटाइ सहने म पुरानो जमानाकी नारी हैन । म २१ औं शताब्दीको परिवर्तनशील नारी हुँ । जसमा तिम्रो हरएक दमनको प्रतिकार गर्ने क्षमता छ । तिम्रा प्रत्येक यातना विरुद्ध बोल्ने आवाज छ । तिम्रो एकएक हिंंसाको जवाफ दिने ताकात छ । तिमी एक हान्छौ भने म चार फिर्ता दिने क्षमता राख्छु ।

मप्रति तिम्रो दृष्टिकोण, विचार गलत छ । तिम्रो सोचाइ बिरामी छ । म तिम्रै सहयात्री हुँ तर मलाई हेर्ने तिम्रो नजर बिरामी छ । तिमी मेरो अनि म तिम्रो आधार हुँ तर मेरो मूल्याड्ढन गर्ने तिम्रो आधार बिरामी छ । म र तिमी मिलेर परम्परा बनायौं तर मेरो लागि तिम्रो परम्परा बिरामी छ । हाम्रो एकता नै समाज हो, तर मेरो लागि तिम्रो समाज बिरामी छ । म तिमीभन्दा फरक छैन, फरक बनाउने तिम्रो संस्कार बिरामी छ ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.