कथा : साथीको चिठी

~यमुना प्रधानाङ्ग ‘मुना’~

मेरो हातमा चिठी ? कसको होला ? म पठाउने व्यक्तिको नामै नपढी आफ्नै मनमा अनेकौं कुरा गुन्न थालें । चिठी पठाइहाल्नुपर्ने कारण के थियो होला ? चिठी नै पठाउनुपर्ने भए पहिले फोन गथ्र्यो होला किनकि मेरा आफन्तहरू दुर्गममा छैनन्, सुगममा नै छन् । पहिला पहिला त फोन मोबाइल आदिको सुविधा थिएन । मान्छेले आफ्नो खबर तथा मनभरिका कुरा आफन्तका लागि पोख्न चिठीकै सहारा लिनुपर्दथ्यो । फेरि अहिले त शहरी क्षेत्रमा व्यक्तिगत चिठीको आदानप्रदान धेरै कम भइसक्यो । मालसामान एकअर्कामा पठाउँदा अथवा सरकारी, सङ्घसंस्थाको चिठीपत्र मात्र हुलाक तथा निजी कुरियरद्वारा ल्याउने लैजाने गर्छन् आदि । यसरी म पठाउने व्यक्तिको नामै नहेरी यी सब कुरामा अलमलिरहेकी हुन्छु । अचानक छोराले आमा कसको चिठी भनी सोद्धा पो झस· हुन्छु । खामको अगाडि कसको नाम रहेछ भनी पढ्दा त कक्षा आठ र दशमा सँगै पढेको मेरो पुरानो प्यारी साथीको पो रहिछ । म यति खुशी भए कि भनी साध्य नै छैन । मेरो कक्षामा नौ/दशवटी साथीमध्ये मेरो नजिकको मन मिल्ने साथी उनी नै थिइन् । मेरो आफ्नै आमा हुँदाहुँदै पनि सौतेनी आमा थिइन् र मेरो बुबाले तथा सौतेनी आमाले हामीप्रति गर्ने व्यवहार म उनै साथीलाई पोखी मेरा मनका सारा भार बिसाउँथी । मलाई तिनले सम्झाउँदा ममा पहाडै खसे पनि सहन्छु अथवा त्यसलाई सामना गरेर भएपनि म आफूलाई अगाडि बढाउन कोशिश गर्छु जस्तो लाग्थ्यो । हामी दुवै बारा जिल्लास्थित कलैयामा पढ््थ्यौं । हाम्रो घर त्यहाँ थिएन, बुबाहरूको त्यहाँ जागिर थियो ।

पछि उनको बुबाले भने त्यहींं घर बनाउनुभयो । मेरी प्यारी साथी थिइन्, तिनी । मैले आठ कक्षा पास गरेपछि बुबाले मैले नचाहँदा नचाहँदै पनि हेटौंडामा विवाह गरिदिनुभयो । म धेरै रोएकी थिएँ, सानैमा विवाह गरिदिन लाग्नुभयो भनेर । सानैमा विवाह भएको कारण व्यावहारिक झन्झटमा परें । मलाई पढ्न साह्रै इच्छा थियो, त्यसैले पतिलाई विद्यालयमा भर्ना गरिदिनुस् भनी कुरा राखें । उहाँले घरमा प्रस्ताव राख्नुभयो । निकै पढ्ने भैखा’की पर्दैन पढ्न आदि इत्यादि सासूले भन्नुभयो । म घरको सबै काम भ्याइवरी पढ्न जान्छु, मलाई पढ्न नरोक्नुहोस् भनी बिन्ती गरेपछि सासूले मलाई पढ्न स्वीकृति दिनुभएको थियो । किनकि म घरकी जेठी तर एक्ली बुहारी, देवरहरूको विवाह भएको थिएन । नन्दको विवाह भैसकेको थियो । बुहारी पढ्न गई भने मैले नै घरको काम गर्नुपर्छ । बुहारी भित्र्याएको के काम लाग्यो ? आपैंmले गर्नुपर्ने भएपछि आदि इत्यादि सोचेर होला सासूले विरोध गर्नुभएको थियो । तर मैले त्यो भन्ने मौका कहिल्यै दिइनँ । घरको सबै काम सक्याएर पढ्न जान्थें, राति पनि सबै कामधन्धा सक्याएर मात्र पढ्न बस्थें । मैले नौ कक्षा हेटौंडामा पढी एसएलसी कलैयामा उनीसँगै गरें । यसरी मेरो सुखदु:खले जीवन बितेको पनि आज सत्ताइस वर्ष पूरा भइसकेछ । मेरो दुईवटी छोरी र एउटा छोरा छ । उनको भने मेरो सन्तान भइसकेपछि मात्र विवाह भएको हो । उनको एउटा छोरा छ, आफ्नो परिवारसाथ खुशी नै छ सुन्छु । ल फेरि म आफ्नै दुनियाँमा डुबेछु । के रहेछ त साथीले चिठी लेख्नुको कारण उत्सुकताका साथ चिठी खोली पढ्दा त लेखिएको यस्तो थियो ।

साथी नववर्षको शुभकामना, तिमी र तिम्रा परिवारसमेतलाई । तिम्रो हातमा धेरै वर्षको अन्तरालपछि मेरो चिठी पर्दा आश्चर्य लाग्नेछ होला । मैले भन्न चाहेको कुरा फोनबाट भन्दा धेरै समय लाग्ने, खर्च पनि बढ्ने तथा सञ्चारको पनि दुरुपयोग हुने हुँदा मैले आफ्ना मनभरि गुम्सिएर रहेका कथाव्यथा सुनाउने कोही नभएपछि तिमी मेरो मन मिल्ने साथी भएको र मेरो मनका कुरा तिमीले नै बुझ्नेछौं ठानी चिठीमार्फत् पोख्ने प्रयास गरेकी छु । तिमीले यसलाई अवश्य सकारात्मक लिनेछौं । चिठीद्वारा तिमीलाई यी सब कुरा पोखी मेरा मनमा दन्किएका आगोमा पानी हाली अलिकति भएपनि शीतलता दिने प्रयास गरेकी छु ।

पहिलो त छोरी भएर जन्मिनु नै के अभिशाप हो ? जन्म लिएका छोरीहरूले उनका आफ्नै आमाबुबाबाट छोराभन्दा छोरीमा धेरै भिन्नता पाउनु, कामधन्धामा बढी लादिनु, विवाहपश्चात् पनि आफ्नै पति, सासू, ससुरा, नन्द, आमाज्यूबाट दबेर बस्न बाध्य हुनुपर्ने । जति नै हिंसा अत्याचार दमन गरे तापनि सहन बाध्य हुनुपर्ने आजको युग भएर पनि । अरू त अरू भए नारीले नै नारीको मर्म नबुझ्दा साह्रै चित्त दुख्छ । गाउँ त गाउँ नै भयो, त्यहाँ नारीमाथि गरिने हिंसा, अत्याचार कति छन् कति तर दु:ख लाग्छ, शहर बजारका शिक्षित भनिएका परिवारमा पनि यी सब हुँदा । बुहारी घरमा भित्रिएको मात्र के हुन्छ दाइजोतिर आँखा घुमाउँछन्, आफन्तलगायत छरछिमेकीहरू, लाग्छ उनीहरूले पनि ठूलै भाग पाउनेछन् । बुहारी कुनै कुनै नराम्रा होलान् तर पनि ऊ दुलही अवस्थामा आफ्नो व्यवहार देखाउन सक्दिनन् भने एउटी सीधा बुहारीको के कुरा । उनले आफ्नो घरमा जति नै राम्रो गर्न चाहेमा पनि त्यहाँको वातावरण (नन्द, आमाजूको कटाक्ष व्यवहार)ले गर्दा उसलाई सहन धेरै गाह्रो हुन्छ । म पनि कसैकी बुहारी हुँ, मेरो पनि छोरी छे, मैले जे भोगें बुहारीले पनि त्यहीं भोग्नुपर्छ भन्ने सासू हुनेले नसोच्दो हो, म पनि भोलि कसैकी बुहारी हुन्छु वा बुहारी हुँ भन्ने नन्द, आमाजूले बुझ्दो हो त बुहारीले यी सब भोग्नुपर्दैनथ्यो होला जस्तो लाग्छ । एउटा कुरा छोरीको लागि उसको माइती आर्थिकरूपले बलियो हुन पनि जरुरी छ भन्ने कुरा मैले नजिकबाट बुझेकी छु, किनकि धनी बुहारी र गरिबीले पिल्सिएकी बुहारीबीच घरपरिवारले गर्ने व्यवहारमा धेरै अन्तर पाएको मैले नजिकबाट देखेकी छु ।

जीवनमा पतिपत्नी भनेको एउटा रथको दुईवटा पाङ्ग्रा हुन्, यसमा दुई मत नहोला । एउटा पनि पाङ्ग्रामा अलिकति केही भयो भने चल्न वा गुड्न असमर्थ हुन्छ, हामीलाई थाहा भएकै कुरा हो । यति कुरा थाहा हुँदाहँुदै पनि प्राय:जसोका पतिले यी सबै अलिकति पनि महसुस गरेका हुँदैनन्, जसले गर्दा महिलाहरू दबेर बस्न बाध्य भएका छन् । त्यसैले त होला पतिको अगाडि पत्नी सधैं सहयात्रीको सट्टा खुम्चिएर बस्न बाध्य छन् । एक त पतिले आफ्नी पत्नी बाहिर काम गरेको मनपराउँदैनन् भने कामै गर्नेको पनि यो अवस्था देखेकी छु अथवा सुनेकी छु । घरव्यवहार चलाउन पतिको मात्र भरपर्दा साह्रै गाह्रो हुनु स्वाभाविकै हो, यसमा पत्नीले साथ दिनु अथवा बाहिर काम गरी घरमा सहयोग पुर्‍याउनु ठूलै हो । तर पतिको परिश्रमको अगाडि हाम्रो परिश्रम अथवा कमाइको त्यति महत्त्व छ जस्तो लाग्दैन । हामीहरूले ठूलै सहयोग पुर्‍यायौं जस्तो लाग्छ तर उनीहरूको लागि हात्तीको मुखमा जिरा भने झैं हो । नारीले बाहिर काम गर्दा दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । घरधन्धा त उसका लागि दैनिक कार्य हो । पति र छोराछोरीका सामानको रखनधरनदेखि लिएर के के हो के के ? मेरो यो सामान कहाँ छ ? मेरो त्यो सामान कहाँ छ ? मैले भेटिनँ आदि इत्यादि । उनीहरूले खोजेको सामान तुरुन्तै भेटिएन भने फेरि कुरा सुन्नुपर्ने । यहाँसम्म कि आपैंmले गर्न सक्ने ससाना काम पनि गरिदिंदैनन्– जस्तै आफूनजिक पानी छ तर लिएर खाइदिंदैनन् तर पत्नीले गरिरहेको काम छोडर दिनुपर्छ आदि इत्यादि । यी सब नहुँदो हो त अहिले एकाइसौं शताब्दीमा महिलाहरू धेरै अगाडि आइसक्थे होला जस्तो लाग्छ । फेरि एउटा कुरा चाहिं भन्न मन लाग्यो, त्यो के हो भने पतिपत्नीको झगडा परालको आगो भनिन्छ त्यो साँच्चै हो तर सासू, नन्द, आमाजूको नकारात्मक व्यवहार भने अर्काकी छोरीले अलिकति पनि सहन सक्ने खालको अवश्य हुँदैनन । सासू, नन्द, आमाजूले बुहारीको राम्रा पक्षलाई अलिकति पनि स्वीकार्न नचाहेको मैले धेरै देखेकी छु ।

समग्रमा मैले बुझेको नारी पुरुषभन्दा कम छैनन् तर उनीहरूलाई कसले बुझ्ने ? हामी अगाडि बढ्न चाह्यौं भने खुट्टा तान्ने आफ्नै हुन्छन् । अरूको त के कुरा, यदि सबैले साथ दिने हो भने नारी माथि पुग्न केही बेर लाग्दैन । मलाई लाग्छ सबै मिली गरे भने स्वर्ग कतै छैन यहीं छ हैन त ?

पढ्दापढ्दै आँखा रसाएर आयो । कति कुरा त मैसँग मिल्जाजुल्दा छन् । हो त नि उनले भनेजस्तै सबैले साथ दिने हो भने हामी माथि पुग्न केही बेर लाग्दैन । स्वर्ग कतै छैन । स्वर्ग हामीले नै बनाउने हो ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.