~रामनाथ खनाल~
“यो इन्द्रावती कता बगेको ?” रमिताले बडो अचम्मको प्रश्न गरी ।
मैले हाँसेरै जवाफ फर्काएँ, “अरे मूर्ख, नदी कता बग्छ, उत्तर कि दख्खिन ?”
उसले गम खाँदै भनी, “यो त उत्तरै बगिरहेछ ।”
साँघुरो बाटोको कान्लामा पिठयूँ अड्याएर मैले जवाफ फर्काएँ, “अग्लो डाँडो र तिम्रो हेराइबीच तालमेल नमिलको मात्रै हो, इन्द्रावतीचाहिँँ आग्नेयतर्फ बगिरहेको छ ।”
तर, ऊ मान्न तयार थिइन । र, अड्डी कस्दै थिई, “तिमी जे भने राम, यो खोलो मास्तिरै बगिरहेको छ ।”
बालहठ् र स्त्री हठका अघिल्तिर केही सीप चल्दैन ! झट्ट पाकाले भनेको कुरा याद आयो ।
म पनि कहाँ मान्नेवाला थिएँ र ! गिज्ज्याएरै भनिदिएँ, “अँ कोसीब्यारेज पनि तिब्बत सिमानातिरै पर्छ होला !”
मैले ठानेँ, ऊ खिस्रिक्क परी होला । यतिबेलासम्म त पालुंगोझैं ओइलाइसकेकी हुनुपर्छ ।
तर, होइन रहेछ । पिपलबोटमा ढाकर बिसाएर सुस्ताइरहेका बाजेको पिठ्युँ हेर्दै उसले मुख एक तमासको बनाइराखेकी रहिछे ।
पुलुक्क ऊतिर हेर्नेबित्तिकै मलाई भनी, “हेर न रामु ! ती बाजेको जिउमा कत्रो घाउ ! के भएको होला है ?”
“पाखा पहाडको ठाउँ, लडे होला नि कतै, अथवा ठूलो चिरफार पो गर्नुपर्यो कि ! त्यस्तो कुरामा पनि टोलाएर हुन्छ त ?” एक टकले वृद्धतर्फ नियालिरहेकी रमितालाई विथोल्ने प्रयत्न गरेँ ।
तर, उसले त्यहाँ पनि आफ्नो पूर्ववत् बानी देखाउन छाडिन ।
बरु भन्न पो थाली, “जाऊँ न रामु, गएर बुझौँ, के भएको रहेछ ती बाजेलाई ? शरीरमा त्यति ठूलो घाउ बोकेर फेरि अजंगको भारी बोक्दै किन ती बाजे उकालो लाग्दैछन् ?”
उसको जिद्दीको अगाडि मेरो केही सीप चलेन र भनेँ, “हुन्छ नि त ।”
ऊ केटाकेटीझैं पुलकित देखिई । अचानक उसको अनुहारमा कान्ति छायो ।
० ० ०
कुइरा आँखा । घुँडा नछोपिने छोटो धोती । पट्पटी फुटेका कुर्कुच्चा । त्यस्तै आकृतिको ओठ । ओठमाथि ठूलो कालो कोठी । च्यातिएर धुजा–धुजा परेको टोपी । हल्का कालो वर्ण । बाजेको हुलिया त्यत्ति हो ।
हामी उनको नजिक पुग्दा उनी ठेट्ना मकैमा फूल छान्दै थिए । बीचका दाँत फुक्लिइसकेका रहेछन् । त्यसैले उनले भुट्दा फूल उठेको मकै छानिरहेका थिए ।
“कहाँ पुग्ने हो नानी बाबुहरू, मकै खान्छौ ?” हामीले भन्दा अगावै उनैले कुराकानी सुरु गरे ।
उनले त्यत्ति नभनेको भए हामीलाई कुरा उप्काउन निकै कठिन पर्थ्यो।
दुुःखीराम आचार्य रहेछ बाजेको नाम । अन्दाजी ५० वर्षका । घर यकिन भएन । शायद उनी मानेखर्कतिरकै हुनुपर्छ । हामीले उनको स्थायी ठेगाना सोध्न अनुपयुक्त ठान्यौँ ।
“वाउ पपकर्न,” रमिताले पारा देखाइहाली ।
“तिम्रो काठमान्डू हैन रमिते, पपकर्न सपकर्न भनेर चिच्याउन,” ओठबाट शब्द फुत्कन आँटिसकेको थियो, मनभित्रै दबाएँ ।
फिँजाएको रुमालमाथिबाट दुई दाना मकै झिकेर के खाएकी थिई, रमिताले दाँत दुख्यो पो भन्न थाली ।
“हामी त्यो उमेरमा दुई घान मकै पोल्टामा हालेर हिँड्थ्यौं, अचेलका युगल ठिटा ठिटीलाई के हुन्छ कुन्नि ! दुई दाना नचपाउँदै बंगारा दुख्यो भन्छन् !” अनुहारमा आश्चर्यको रेखा दौडाउँदै बाजेले प्रश्न गरे ।
“अघि त मुख मिठ्याएर खुब वाउ पपकर्न भन्दै थ्यौ त ! दुई दानामै अघायौ ?” मैले पनि भन्न बाँकी राखिनँ ।
“काठमान्डूको जस्तो हुँदो रहेनछ,” उसले झनै मुख अमिलो पारी ।
“पपकर्नझैं मकै मीठो हुन्थ्यो भने गाउँबाट मान्छे निख्रिएर किन सहर छिर्थे ! फेरि ठेट्ना मकै मीठो हुन त पेट भोकले हुँडल्नु पर्छ, कुरा बुझ्यौ ?” रिसको पारो यसरी सेलाएँ ।
ऊ रिसाएको सिंहिनीझैं देखिई र पलभरमै ती वृद्धको पिठ्युमा आँखा पुर्याई ।
रमिताले निधार खुम्च्याएर बाजेलाई सोधी, “तपाईंको पिठ्युँमा के भएको नि ?”
वर्षौं नधोएझैँ मैलो लाग्ने कमिजको फेरले पिठ्युँ छोप्न खोज्दै बाजेले एकटकले रमिताको अनुहार नियाले ।
उनको मुहारको चमक एक्कासि गायब भयो । अनुहारमा औँसीको रात देखियो । ओठ खङ्ग्रङ्ग देखियो । पुस–माघको महिना भए पनि उनको अनुहारमा वैशाखको धूप छायो । निधारमा पसिनाको बुँद देखापर्यो । उठेर हिँड्न खोजूँलाझैँ गरे । खै के सम्झिए ! कमिजको फेरले पसिना पुछ्दै बेलिबिस्तार लगाउन थाले ।
० ० ०
आज भन्दा नौ वर्षअघिको कुरा हो । मध्यअसारको एक बिहान, झमझम झरी परिरहेको थियो । डोकाको पिँधबाट पानीको धारा चुहाउँदै घाँसको भारी बोकेर घर के पुगेको थिएँ, आँगनको डिल नकाट्दै घरभरि मानिसको भीड देखेँ । मेरो हंशले ठाउँ छोड्यो । मुटुमा ढ्यांग्रो बज्न थाल्यो । आकाश कालोनीलो थियो । एकसरो प्लास्टिक छिचोल्दै पानीको थोप्लाले एकनास हिर्काइरहेको थियो । बेला–बेला बलेसीको तप्किन पिडुँलासम्म आइपुग्थ्यो ।
म आएको देख्नेबित्तिकै गाउँलेले सम्झाइ–बुझाइ पो गर्न थाले । के भएको हो, मैलेचाहिँ पत्तै पाएको थिइनँ ।
जेठा दाजुको गहभरि आँसु देखेँ । उहाँको हात हिलाम्य थियो । धोतीको फेर खुस्किएर भुइँ बढारिरहेको थियो । मलाई सम्झाउन थाल्नुभयो, “जे नहुनु थियो, त्यो भई नै सक्योे, अब चिन्ता लिएर केही हुँदैन भाइ । धन्न परिवारलाई केही भएन । वर्षा लागिसकेकाले सक्दैनस्, भदौ सकिनेबित्तिकै घरको धुरी छा । हामी पनि सकेको मद्दत गरौँला ।”
घरको धुरी अघिल्लो साल नै चुहिएको थियो । वैशाख नलाग्दै पर्न थालेको पानीले सिधै वर्षा जोडेपछि छानामा आँखा लगाउन भ्याएको थिइनँ । पानी चुहिएको चुहियै गरेर घरको एक पाखो गारो लडेछ । घरपछाडि भैंसी बाँधेर घाँस काट्न गएको थिएँ । घरको पाखो ढलेर लाग्दा भैँसी किलोको किलै ठहरै भएछ ।
भोलि भन्दाभन्दै खेतमा खोली पस्छ– बा सधैँ भन्नहुन्थ्यो । चैतमै घर छाएको भए, यो दशा त बेहोर्नु पर्दैनथ्यो । आफूले आफैँलाई सरापेँ । भित्रभित्रै कोपरिएँ । चिथोरिएँ । मुर्मुरिएँ ।
फेरि एकछिनपछि सोचेँ– घर छाउन भनेर नकाटी राखेको खरमा फागुनमा कुनचाहिँ अपराधीले डढेलो लगाइदियो । माग्दा कसैले दिएनन्, कसरी छाउन सक्थेँ छानो ?
घर छाउन भनेर डाँडा, भाटा, साटा ठिक्क नपारेको पनि होइन । चोया पनि काटिसकेको थिएँ । तर, के गर्नु ! खर खोज्दा खोज्दै वर्षा लागिहाल्यो !
“यो सब् तिमीले गर्दा भएको हो, तिमीजस्ता नामर्द पोइले गर्दा नै मैले यो दुख्ख बेहोर्नु पर्यो । जोरीपारी र शत्रू हाँसे,” आँखबाट बलिन्द्र धारा आँसु झार्दै स्वास्नीले एकोहोरो गाली गरिरहेकी थिई ।
“भो नकराऊ बुहारी, उसले पनि जानी–जानी गरेको हो र ? बिगारौँ भन्ने त कसलाई हुन्छ र ? नहुनु पर्ने भइगयो, अब कराएर केही फाइदा छैन,” दाजु बुहारीलाई सम्झाउँदै थिए ।
धान्नी पूर्णेमा तिरौँला भनेर एक महिनाअघि मात्रै २० हजार रुपैयाँमा भैँसी किनेर ल्याएको थिएँ । अघिल्लो साल पनि ब्याउने भैँसी खोरेतले चपाइहाल्यो ।
डोब मासिएकाले बल्लतल्ल साहू मनाएर भैँसी जोडेको थिएँ । त्यही पनि मरेपछि मेरो त उठिबासै लाग्यो । चिच्याएर रुन खोजेँ । फेरि आँखाको आँसु आँखामै दबाएँ ।
पोहोर मरेको भैँसीकै १० हजार ऋण बुझाउन बाँकी थियो । यसपटक त टेक्ने खुड्किलो पनि भत्किएको थियो भने समाउने हाँगो पनि लाछिएको थियो । उता घरको एक पाखै लडेको छ । कता बस्ने, के गर्ने, कुनै टुंगो छैन । स्वास्नी एकोहोरो फलाकिरहेकी छे । छोरो पनि सुक्सुकाउँदै आमाको काखमा पल्टिराखेको छ ।
हे भगवान् ! यो कस्तो भुर्णहत्ते आइलाग्यो मलाई ! डाको छोडेर रोऊँ भने गाउँलेले लाक्षी भन्लान्, नरोऊँ भने बाउ–आमा बितेको बेलामा पनि यत्रो बज्रपात आइलागेको थिएन । दैवले पनि दीनदुःखीलाई सहन सक्ने मात्रै दुःख दिनू नि ! मनमा भगवान्प्रति ठूलो रिस जाग्यो ।
सहन सक्ने मात्रै दुःख परेको भए पो आँखाबाट आँसु नआउनु, कल्पनै नगरेका विपत्ति आइलागेपछि मेरो नौ नाडी फतक्क गल्यो । टेकेको जमिन भासिएलाझैँ भयो ।
घाँसको भारी बोकेर म त उभिएको उभिए पो भएछु । डोको फुत्त मिल्काएर भैँसी पुरिएको ठाउँमा गएँ । गाउँलेले भैँसी उधिनिसकेछन् र खाल्डो खनेर पुर्ने तरखरमा लागिसकेछन् । भैँसी देख्नेबित्तिकै मन बेचैन भो । घाँस देख्नेबित्तिकै जुरुक्क उठ्लाझैँ लाग्यो । ‘आईं….’ गरेर कराउलाझैं जस्तै गरी लम्पसार परिरहेको थियो भैँसी ।
ल्याएको एक महिनामात्रै भए पनि ऊ परिवारको सदस्यजस्तै थियो । कत्रो रहरले र गाउँलेलाई देखाउन ऋण काढेर भैँसी ल्याएको थिएँ मैले ।
स्वास्नीले त भनेकी थिई, “भाखामा भैँसी ल्याउनु पर्दैन ।”
मैले नै जिद्दी गरेर साहुको किलोबाट भैँसी फुकाएको थिएँ । हर्के साहुको किलोबाट दाम्लो खुस्क्याउँदा गर्वले छाती ढक्क फुलेको थियो ।
राँगो लागेको भैँसी ल्याएर वर्षाभरि घाँस खुवाउँछु, हिउँद लागेपछि ब्याउँछ, राम्रो पैसामा बेचेर अघिल्लो भैँसीको पनि ऋण तिर्छु भनेर कत्रो इच्छा पालेको थिएँ ।
आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भनेझैं नियतिले मैमाथि बज्र हान्यो । ऋण तिरुँला भनेर ल्याएको भैँसीले उल्टै थाप्लोमा ऋण थपेर अकाल मर्यो ।
एक मनले सोचें– झुन्डेर मरुँ ।
अर्को मनले भन्यो– धत् ! छोरो मान्छे भएर हरेश खानु हुन्छ ?
मरेको भैँसी तह लगाएपछि छरछिमेकले पारि गाउँबाट कर्मी डाकेर ल्याए । सबै मिलेर भत्किएको घरको पाखो ठड्याउन सकेको सघाए । संयोगले दिउँसो झरी रोकियो र भोलिपल्ट बेलुकासम्म पनि पानी छिट्टयाएन । बेलुकासम्म भत्किएको पाखो पनि जेततेन टालियो ।
घर त टालियो तर मन टालिएको थिएन । बेलुका श्रीमतीले कोदाको ढिँडो अरालिछे । तरकारी रहेछ फर्सीको मुन्टा । एक गाँस मुखमा छिरेन । ढिँडो नकोट्टिएको देखेर श्रीमतीले च्याँठ्ठिई, “मीठो–मीठो खान त तिम्रो औकात हुनुपर्यो नि ! के छ र तिम्रो कमाइ, भएको पकाएको हुँ, खाए खाऊ, नखाए घिच ।”
“नकरा राँड ! केसँग खानू ढिँडो ? बरु गुन्द्रुक पकाएको भए हुन्नथ्यो ?” म झर्किएँ ।
“मुन्टाको स्वादै छैन,” श्रीमतीको वचनले असैह्य भयो ।
ऊ अझै चिच्याई, “भुटुनको थोप्पो छैन । कोल पुगेर तेल ल्याऊ भनेको कानमा बतास लागेको होइन, पानीमा मुन्टा ओइरिएपछि कहीँ मीठो हुन्छ त ?”
भकारीमा तोरीको गेडा छैन । गोजीमा फुट्या कौडी हैन । कसरी ल्याउन सक्थेँ कोलबाट तेल ?
छोरो पनि गाँस मुखमा नहाली जुरुक्क उठ्यो ।
“कमाइ छैन, मिठ्मीठो खानुपर्ने ? यो पनि बाउकै गोता जालाजस्तो छ,” उसले मेरो रिस छोरालाई पनि पोखी ।
हातमुख चुठेर ओछ्यानमा पुगेँ । निद्रा पटक्कै परेन । मनमा के–के तर्कना आइरह्यो ।
चुल्होचौको सकेर श्रीमती ओछ्यानमा आई र बमझैं पड्कन थाली ।
“जान्ने भएर ऋण काढेर ल्याएको भैँसी त मरिहाल्यो । के विचार गरेका छौ ? अझै केही सोच्दैनौ भने म त माइत जान्छु । सक्दिनँ तिमीसँग बस्न । यत्रो ऋण के गरी तिर्छौ अब ?”
“दुःख परेको बेलामा सान्त्वना दिने पो स्वास्नी ! यो त उल्टै थाल खाऊँ न भात खाऊँ बनाउँछे । पख न म पनि त केही सोच्दै छु नि !” आफैँलाई कसले सम्झाउने भएको बेला उसलाई सम्झाउन थालेँ ।
उसले अझै बोली, “अझै कतिन्जेल पर्खने ? पानीमरुवा, लाजशरम छैन है तिमीलाई ? छानो फेर्न नसकेर घरको पाखो भत्कियो, भैँसी मर्यो । अहिले पनि नलागेका घैँटोमा घाम कहिले लाग्छ हँ तिम्रो ?” ऊ रोकिएकी थिइन, मानौँ म अपराधी हुँ । त्यसैगरी ऊ खोर्याइरहेकी थिई ।
“मेरो मनमा पनि तिल, जौं नपाकेको हो र ? पीरले मन भतभती पोलेको छ । पहिला खेत रोपौँ, त्यसपछि सहरमा भारी बोकेर भए पनि हिउँदमा जस्ताको छानो हाल्छु,” आश्वासन दिन छाडिन ।
ऊ रातभरि के–के भनेर कराइरही । त्यसका केही दिनमा रोपाइँ सकियो र रोपाइँ सकेको केही दिनपछि श्रीमतीलाई घर जिम्मा लगाएर सहर हानिएँ ।
म सहर हिँडेपछि पनि उसको अनुहारमा खुसी देखिएन । सोचेँ– मैले पैसा कमाउँछु भनेर उसले पत्याउँदै पत्याइन ।
० ० ०
बर्मा गए कर्मसँगै न
(स्रोत : बाह्रखरी डट कम)