~डा. विजय सुब्बा~
राति करिब ८ बजे भतिजा कृष्णलाई भेट्न म बोस्टन पुगेको थिएँ । उनले मलाई बोस्टनको साउथ स्टेसनबाट लिएर आफ्नो डेरा एल्स्टन पुर्याए । धेरै वर्षपछि भेट्दा मलाई कृष्णले त नमस्कार पो गरे ! यता गाउँमा म काका भए पनि सानो थिएँ र साइनो नलगाई तँ—तँ नै बोलिन्थ्यो क्यार ।
मैलेचाहिँ तिमी भन्थेँ होला । किनकि म दाजुलाई पनि तिमी नै भन्थेँ । त्यस्तै हुँदो रहेछ धेरै समय भएपछि पहिले सानो हुँदाको तँ—तँ म—म सबै तिमी र तपाईंमा तह लाग्दा रहेछन् । मान्छे जति परिपक्व हुँदै जान्छ त्यति नम्र र व्यावहारिक बन्दै जाँदो रहेछ र समाजमा आफूलाई मिसाउँदै लाँदो रहेछ । त्यसैले म सानोको विजयबाट काकामा बढुवा भएको थिएँ । सधंै गाउँमा बसेर हुर्किंदा गाउँका आफूभन्दा माथिका बाबुसरहका दाजु–भाउजू, काका–काकीहरूलाई त कहिले नमस्कार गरिएको थिएन । तर धेरै समयपछि गाउँ फर्कंदा पनि नमस्कार नगर्दा अशोभनीय हुँदो रहेछ ।
मेरै कुरा गरौं; मैले दाजुलाई आइएस्सी सकेर घर फर्कंदा पहिलेजस्तो तिमी भन्न सकिँन र तपाईं पनि भन्न सकिनँ । कृष्णलाई पनि त्यस्तै भएको होला ।
जेहोस्, कृष्णको डेरा पुगियो । डेरा अक्सर नेपालीहरू बस्ने गरेको जस्तै थियो । बेलुकी गफ गर्दैगर्दा पो थाहा भो— सिन्धुलीको मेरो सांसद साथी प्रकाश कोइराला त्यही घरको माथिल्लो तलामा बस्दा रहेछन् । उनको मृत्यु टेक्सासमा भएको थियो ।
मेरो बोस्टनको समय २६ तारिखमात्र थियो । अतः कम्तीमा बोस्टन कस्तो रहेछ भन्ने जानकारीका लागि म त्यहाँ पुगेको थिएँ । २६ तारिखको बिहानैदेखि बोस्टन घुम्नु थियो । कृष्णले मलाई क्यान्डल स्क्वायरको एवन पेन फ्रेन्च बेकरीमा लिएर गएका थिए । त्यहाँ हामीले कफी र डंकिन डुनट खाएका थियौं । त्यही बेला कृष्णले ‘यही है काका, मैले अमेरिकामा सबैभन्दा पहिले काम थालेको पसल’ भनेका थिए । मेरो मनमा त्यो भनाइ अहिले पनि ताजै छ । मान्छेको जीवनको कतिपय मोडहरू उसका लागि सधैं सम्झनायोग्य भइरहन्छन् । कृष्णलाई पनि त्यो पसलको सम्झना हुने नै भयो । सबैलाई त्यस्तो हुन्छ नै । आफ्ना जीवनका त्यस्तै मन पर्दो र मन छुँदो मोडहरू देखिइरहँदा रहेछन् पछिसम्म । त्यसैले मैले त्यस पसलको सबैथोक राम्ररी हेरेको थिएँ । तासी, दराज, फ्रिज, शोकेस, टेबल, कुर्सी, तासीमा सजाइएका तयारी खाद्यवस्तुहरू, कफी र चिया बनाउने मेसिन इत्यादि । अहिले पो लाग्दैछ— मैले त्यो पसलको फोटो पनि लिनुपथ्र्यो नि । हामीलाई त्यस बेला कफी र डुनट दिने मान्छेलाई हेर्दै कृष्णतिर फर्कें र मनमनै कल्पना गरेँ— कृष्ण पनि यसै गर्थे होलान् ।
भरसक गाडी नचढीकन सहर डुल्ने मेरो सोचाइ थियो । तर त्यो सम्भव भएन । जति गर्दा पनि बोस्टनको सबैभन्दा अग्लो हानकक टावर हेर्न भ्याइएन । जम्मा एक दिनमा केचाहिँ पो भ्याउनु । सहरभित्र भव्य चर्चहरू, सडकको चौडाइ, रूखहरू, रंगीबिरंगी फूलहरू छन्; स्याहार सम्भारले के सुन्दर हुन्न र ? ती फूलले मलाई सिकाइरहेझैं लाग्यो । पूर्वी बोस्टन, केन्द्र र पश्चिम आदिजस्ता भूमिगत र जमिनमाथि रहेका गाडीको स्टेशन र स्टेन्डहरू हेर्दै रमाइलो मानिरहेको थिएँ । उही दार्जिलिङ सिक्किमतिर जाँदा जिरो किलो, सात माइल, पंखाबारी, मङ्पु, रानीपुल आदि भन्दा त्यसैत्यसै मन परेकोजस्तो अमेरिकामा पनि मलाई त्यस्तै भइरहेको थियो । हुन त मान्छे पनि उही न थिएँ ।
हामी मेट्रो रेलबाट संसार प्रसिद्ध हार्वर्ड विश्वविद्यालय हेर्न गयौं चाल्र्स रिभरको किनारमा पुग्यौं । बाफ रे ! क्या हौ पानी त फोहोर–फोहोर पो छ त; भर्खर आएको बाढीको पानी थुनिँदा जमेजस्तो । यसो मुख धोऊँ भन्दा घीन नै लाग्ने । तर पनि फाँटिलो नदी र आसपासको दर्जनौं तले भव्य घर, सफा सडक, बगैंचा, रूखहरू, रूखमा मान्छेसँग नडराई यत्रतत्र कुदिरहेका लोखर्केहरूले पानीको फिँजलाई आँखाको एक झिम्काइसँगै बिर्साउँथे । यता गाउँमा लोखर्के देख्यो कि साथीहरूसँग मिलेर लखेटेरै मार्ने मान्छे, त्यहाँ पनि हिर्काऊँ–हिर्काऊँ त लागेको हो तर अमेरिकामा त्यसो गर्न पनि भएन ।
विश्वविद्यालयको प्रांगणमा जोन हार्वर्डको पूर्ण कदको मूर्ति राखिएको रहेछ । पर्यटकहरूले बडो श्रद्धासाथ मूर्तिको पाउ छुँदा रहेछन् । हार्वर्डकै एउटा ठूलो भवनको अगाडि सात–आठ जनाजति केटाहरू उभिएका थिए । तिनका वरिपरि त्यस्तै २०÷३० जनासहित हामी काका–भतिज पनि थपिएका थियौं । हामी पुग्नुअघि नै ती उभिरहेका विद्यार्थीहरूले केही प्रस्तुति गरिसकेका थिए जस्तो लाग्यो । हामी भवनअगाडि सिँढीको सिरानतिर बस्यौं र हेर्न थाल्यौं । केही बोलिसकेपछि उनीहरूले सांगीतक धुन प्रस्तुत गर्न थाले । मलाई त गजब लाग्यो । ती उभिएका सबैले प्रत्येकले एकएक सुर (नोट) समातेर आवाज निकाल्थे र गीतको धुन बजाउँथे । मानौं उनीहरू प्रत्येक हार्मोनियमको एकएक वटा पर्दा हुन् । उनीहरू कर्ड बज्थे, गीत बज्थे, कोरस बज्थे र पूर्ण रूपमा गीत बज्थे । तालको लागि भने हातको तालीमात्र थियो । मैले त्यस्तो तरिका दोस्रोपल्ट देखेको थिएँ । त्यसअघि पहिलोपल्ट कुलेखानी मार्खुमा जापानिजहरूले त्यसरी नै एउटा गीतको लागि आवश्यक पर्ने सुरको लागि बोतलमा पानी भरेर सुर मिलाएर बजाएको देखेको थिएँ । हामीले पनि त्यसो गर्न सके त नयाँ आकर्षण थपिन्थ्यो होला जस्तो लागेर नेपालमा फर्केपछि साथीहरूलाई भनेँ पनि । तर कसैले चासो नै लिएनन् ।
हार्वर्ड स्क्वायरमै रहेको नेचुरल हिस्ट्री म्युजियम पनि हेरेका थियौं हामीले । त्यहाँको ठूलो डाइनोसरको साथमा बेबी डाइनोसर उभिएको देख्दैे मलाई आमाको साथमा ढुक्क बच्चाको जस्तो भावनात्मक प्रभाव दिएको थियो । त्यहाँ सबैखाले मान्छेको विकासको इतिहास एउटै पाइन्छ । ओखली, बन्चरो, चाल्नु, भकारी, सुल्पा, गुलेली, वाण (तीर), डुंगा, जनावरका हड्डी, दाँत र पत्थरबाट बनेका गहना, बँदेल, बाँदर आदि धेरै चिजले नेपाल र अमेरिकामा के फरक रहेछ र ? जस्तो पार्दो रहेछ । अनि झुप्राहरू, घरको लिस्नु (भर्याङ), चम्चाजस्ता सामान देख्दा संसारका सबै ठाउँमा मान्छेहरू एउटै समय र पद्धतिबाट विकसित हुँदै आएको देखिन्छ । उस बेला प्रयोगमा ल्याइएको कृषि औजारहरू पनि युरोप, अमेरिका, एसियामा उस्तै पाइन्छन् । म्युजियमबाट बाहिर निस्केपछि मात्र मेरो त होस आयो— हामीलाई चाहिँ किन राजा महाराजाहरूको धर्म, कला, संस्कृति, साहित्य र इतिहासलाई मात्र जोगाउनुपरेको होला !
हिँड्दै जाँदा बाटोमा पर्ने सागसब्जीहरूको पसल पनि हेर्दै गएँ । त्यसले भने अमेरिकाको बेइज्जत नै गरेको थियो । कृष्णले त मैलेजस्तो याद गरेनन् होला । हेर्दै गएँ— पुदिना, कल्चौंडो, पिँडालुको डाँठ, बेथे, कागती घाँस (लेमन ग्रास) आदि राखिएका रहेछन् । यसो हेर्दा यता नेपालमा खाने नगरिएको हात्तीबार (घिउकुमारी हो कि) पनि तरकारीको साथमा देखेपछि त हैन हौ मान्छे त जे पनि खाँदा रहेछन् जस्तो लागेर आयो । त्यहाँ राखिएको बन्दाकोभी, मुला, सागजन्य पदार्थचाहिँ राम्रा थिएनन् । कोही कुहुन लागेका पनि थिए । नेपालमै पनि त्यस्तो अवस्थाको सागपात किनेर खाइँदैन है गाँठे ! अनि तयारी कपडामा चाहिँ चिनियाँ, भारतीय, बंगलादेशी र अन्य मुलुकबाट आएकाहरूले छाएका थिए । अमेरिकामा बनिएका कपडा कमैमात्र देखिन्थे । हामीले यसरी हार्वर्ड युनिभर्सिटीपछि नजिकै रहेको म्यासाचुसेट्स इन्स्टिच्युट टेक्नोलोजी ९एमआइटी० पनि घुमेका थियौं । त्यति प्रसिद्ध विश्वविद्यालयहरू डुल्न पाएकोमा म बाजी जितेको मुडमा थिएँ ।
हार्वर्ड परिसरबाट निस्कँदा हामीले एक जना तिवारी भाइलाई पनि भेटेका थियौं । अर्को ठाउँमा चाहिँ पोखराको भाइ फेला परे । भारतीय मान्छे देख्दा त आफ्नै मान्छे जस्तो लाग्दो रहेछ त्यहाँ; झन् नेपाली नै भेटेपछि त घरकै मान्छेजस्तो । त्यो ठाउँमा भने सडक फोहोर थिए, मान्छेको आवतजावत बढी र ट्राफिक पनि हाम्रो जस्तैजस्तै ।
सहर घुम्ने समय अझै बाँकी नै थियो । घुम्दै जाँदा त प्रायः छाती ह्वार्लांग देखिने खालको लुगामा ठूलठुलो आवाजमा गफ गर्दै हिँडेका महिला पो देखिए बा ! कुनै अन्य पुरुषहरूको आँखा परेको जस्तो लागेमा छाती छोपेजस्तो गर्दथे उनीहरू । त्यस्ताले त्यस्तो लुगै किन लाउनु ? नेपालमा पनि पो अचेल त्यस्तै गर्छन् है, कतिपय उमेरका र उमेर अझै छ भन्ठान्ने महिलाहरू !
बोस्टनकै कुरामा छु म । त्यहाँका सडकमा युवायुवतीको अचाक्ली मायागराइ उस्तै चर्को देखियो । उनीहरूबीच माया गर्नु÷नगर्नुको साँधी नै थिएन । यी पश्चिमी संस्कारका केटाकेटीहरूको सुम्सुम्याइ, चाटाचाट र छुटानामको कुरा पनि बुझ्नै नसकिने । कति त बिहे भयो रे अनि सम्बन्ध विच्छेद भयो रे भन्ने खबर झन्नैझन्नै सँगै सुन्न पाइन्थ्यो । त्यही भएर त यिनीहरूको मायागराइ साँच्चै कि ख्यालख्याल हो शंकै लाग्छ ।
एउटा पुरानो सडक रहेछ न्युबेरी स्ट्रीट, जहाँ पर्यटकहरू झुम्मिने गर्दा रहेछन् । तर म नेपालीलाई के पुरानो ! यहाँको न्युरोडभन्दा राम्रो र भव्य छँदै थियो । मेरो न्युरोड नै त्यहाँको पुरानो सडकभन्दा पुरानो भएपछि मेरो त बोली नै बन्द भइहाल्यो । सडकमा अधिकतम मोटी महिलाहरू देखिए र महिलाको संख्या पनि पुरुषको तुलनामा धेरै ।
मैले अमेरिका र जर्मनीजस्ता ठाउँहरूमा पैसा आर्जन गर्ने रमाइलो तरिका देखेँ । ती देशका सडकमा मान्छेहरू गितार वा मेन्डोलिन वा की बोर्डमात्र वा दुई–तीन वटा हल्का बाजाका साथ सानो साउन्ड सिस्टम लिएर गीत गाउँछन् । पैसा कमाउँछन् । मागिखानेहरूसँग त इजाजत पत्र पनि पो हुन्छ रे । हिजोआज काठमाडौंको सडकहरूमा पनि अपांगता भएकाहरू विशेषगरी दृष्टिविहीनहरू त्यसै गरी हातमुख जोर्ने काममा लागेको पाइन्छ । पहिलोचोटि अमेरिकामा यस्तो देख्दा के होला भन्ठानेको त पछि मात्र थाहा भयो— ती त नेपालीको भाषामा ‘मागिखानेहरू’ पो रहेछन् !
मलाई अहिले पनि लागिरहन्छ उताका मागिखानेहरूसँग त गिटार र साउन्ड सिस्टम पनि हुँदो रहेछ । उनीहरू की बोर्ड, गितार, मेन्डोलिनजस्ता बाजा राम्ररी बजाउन सक्छन् । जेहोस् त्यहाँ पनि घरबारविहीनहरू निकै हुँदा रहेछन् । र, त्यसो गरेर पैसा कमाउनेहरूमा काला जातिका धेरै, राता खालका र गोराहरू चाहिँ कम देखिन्थे ।
…
हामी भव्य बोस्टन कमन (बोस्टन गार्डेन) मा छौं । भतिज कृष्णले काकालाई बोस्टन घुमाइरहेका छन् । उनको चाहना छ— काकालाई सकेसम्म धेरै देख्नैपर्ने र हेर्नैपर्ने ठाउँचाहिँ डुलाउने । त्यो उनको हाउभाउले नै देखाइरहेको थियो । मचाहिँ जति भ्याइन्छ मिहिन पाराले हेर्ने, महसुस गर्ने र पछि लेख्ने सुरमा थिएँ ।
भतिजले मेरी भान्जी सुमित्रा वान्तावा डुलेको, घुमेको र बसेको पार्कका बेन्चहरू मलाई देखाएका थिए । भान्जी मेरा लागि अभिभावक सरहकी थिइन् । उनी नभएको भए वा उनको सहयोग नभएको भए मैले पुल्चोक क्याम्पसको सिभिल इन्जिनियरिङ पढाइ पूरा गर्न सक्थेँ कि सक्दिनथेँ भन्न सक्दिनँ । उनै भान्जी (जो अहिले छैनन्, क्यान्सरका कारण बितिसकिन्) बोस्टनमा आएको बेला डुलेका, बसेका ठाउँ देखाउनु नि भनेपछि कृष्णले मलाई सबै देखाएका थिए ।
आखिर जिन्दगी के रहेछ र ? बाँचुन्जेल अमेरिका र क्यानडा लगायतका मुलुकहरू ज्वाइँ महेन्द्र र भान्जीले डुले, सुखको अनुभूति पनि गरे तर उही बाँचुन्जेल त रहेछ नि । अहिले भान्जी भएको भए ती डुलाइहरूको अर्थ लागिरहेको हुन्थ्यो होला । तर उनी छैनन्, त्यो समय र खर्चको अर्थ पनि के रह्यो र ! ओम अस्पतालमा उनको असामयिक निधनपछि दिदीलाई अँगालो हालेर म पनि खुब रोएको थिएँ ।
त्यही दिनको खानापछि हामी मार्शल मल अलिअलि डुलेका थियौं भने हाइनेस कन्भेन्सन सेन्टरचाहिँ बाहिरैबाट हेर्दै हिँड्यौं । कृष्णले मलाई मार्शल मल हो या प्रुडेन्सियल सेन्टरको मुनि एक जोर जुत्ता किनिदिएका थिए ।
जुत्ताको कुरा रमाइलो छ । करबि आधा दर्जन जुत्ता पसल डुलियो । यसो हेर्यो मन पर्दैन उसो गर्यो मन पर्दैन । डुल्या’छ डुल्या’छ । कृष्णलाई पनि दिक्क लागेको होला । मचाहिँ यसो हेर्दै छाड्थँे दाम हेरेर । अन्तमा पारै लागेन र कृष्णले ‘काकालाई जुत्ताचाहिँ मनपर्यो कि परेन ?’ भनेर सिधै प्रश्न गर्न थाले । सायद मैले महँगो पर्ला भनेर जुत्ता छाडेको अुनमान लगाए कि ! मेरो आसयचाहिँ नेपालमा महँगो भनेको त्यही १५ सय देखि दुई हजारसम्म पर्ने खालको मात्र हेर्ने गरेको थिएँ, तर त्यहाँ मैले भनेको जस्तो दाममा मन परेको जुत्ता पाइनँ । बल्ल एउटा पसलमा मैले ‘योचाहिँ ठिकै छ’ भनेपछि सय डलरको छालाको जुत्ता बोकेर हिँडियो । अरू मैले केही पनि हेरिनँ । किनकि कस्तो दुःख गरेर कृष्णले आर्जन गरेको पैसालाई मैले बुझ्नै पर्दथ्यो । त्यही जुत्ताले त मलाई पोलेको थियो महँगो लागेर । मजस्तो मान्छेले यता नेपालको साढे छ हजार पर्ने जुत्ता जिन्दगीमा पहिलोचोटि लगाएको थिएँ । कृष्णलाई त्यसै बेला भनेको थिएँ ‘म यसको संस्मरण लेख्छु साढे छ हजारको जुत्ता शीर्षक राखेर’ भनेर । उनले ‘हैन काका, त्यसरी त नलेखूँ’ पनि भनेका थिए । आज म त्यो सम्झनालाई सात वर्षपछि लेखिरहेको छु । अहिले कृष्ण १७ वर्षपछि अमेरिका छाडेर नेपाल आइसकेका छन् । उनले त्यस १७ वर्षमा गरेका दुःखको आर्जनले काठमाडौं घट्टेकुलोमा घर बनाएर आरामको जीवन बिताइरहेका छन् ।
17 Oct 2015 – ३० असोज, २०७२
(स्रोत : नागरिक – शनिबार)