कविता : आइसब्रेक

~महेश रेग्मी~

मलाई मारेर जानेहरू
मलाई न्यूरोड बनाएर हिँडिरहे
मलाई सत्ता बनाएर हिँडिरहे
तर म मरेको छैन
म कहाँ मरेँ –
म अझै समय चपाउन सक्छु
म अझै मृत्यु चपाउन सक्छु
को खोस्छ मेरो रसायन –
को खोस्छ मेरो ज्रि्रो –
को खोस्छ मेरो जवानी –
को खोस्छ मेरो सिद्धान्त –
मेरो देशको माटोको बास्नाको स्वाद मसँग छ
त्यो बास्नाको स्वाद पनि कोही खोस्न सक्दैन ।

मेरो देशलाई गाली गर्नेहरू
मेरा परम् शत्रु हुन्
शत्रुहरूका लागि पनि म मर्ने छैन ।

बुबाले आफ्नो शरीरको करङ तेर्स्याएर बनाएको घर
आमाको आँसुले मुछेको माटोले बनेको घर
छोरी ओजस्वीको मुस्कानले धपक्क बलेको घरको त्यो उज्यालो
आज निवासजस्तो पनि छैन
म प्रत्येक दिनजसो घाइते प्यालेस्ट्याइनी भएर घर र्फकन्छु
मेरो घर
मेरो देश
गाजापट्टी र पश्चिमी किनाराजस्तो भएको छ
आज आफ्नै घर पनि
प्यालेस्ट्याइनीको झुपडीजस्तो भएको छ
अब प्रत्येक जन्मने शिशुले गर्भमै
युद्धविराम कुर्नु नपरोस्
उसले देश हार्नु नपरोस्

देश हुनुको पीडा
देश नहुनुको पनि पीडा प्यालेस्ट्याइनीलाई हेरोस् ।

मलाई मारेर जानेहरू
सम्झ म मरेको छैन
अब लुकाउने छैन आफूलाई चिसा पर्वतहरूमा
र हल्लाउने छैन कसैलाई
बिदाइका हातहरू
यो बूढो शरीरबाट
अझै केही उम्रने छ
अझै केही फल्ने छ
अझै बल्ने छ आगो

अन्तिम समयसम्म समाउने छु
कलम र फूल
र माग्ने छु समयसँग जवानी
म देश हार्न सक्दिनँ र त मर्न सक्दिनँ
कहिले होला
तिमी र मबीच
तपाईं र हामीबीच
र सबै-सबैबीच आइसब्रेक ।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.