~केदार शर्मा~
यसवर्ष
रौरव नर्क बनोस् मेरो देश
चारैतिर कोलाहल मच्चियोस् सजायको
पापी, अपराधीहरूको छट्पटी देखेर
अपराध आफैँ कहालियोस्।
यसवर्ष
मान्छे मार्नेहरूलाई
पछुतो होस्, ग्लानी होस्, अपराधबोध होस् र भइरहोस्
उनीहरूको प्रत्येक निद्रा
ऐँठनबाट खुलोस्
र आँसु पुछ्दा
हातमा रगत देखून् प्रत्येक पटक;
दासताको बजारमा मान्छे बेच्नेहरूलाई
लागोस् पसिनाको सराप,
मरुभूमि बनोस् तिनको सपना
तर पैसा भने कहीँ नअटेर
आफैँले पठाएका कामदारहरूको लास ल्याएका कफीनहरूमा
खात लगाएर राख्नुमपरोस्;
नफल्ने बीऊ बेच्नेहरूको
र अन्नपातको कालोबजार चलाउनेहरूको
घाँटीमै अड्कियोस् मेवा मिष्ठान्न
र आँसुसित मात्र निलियोस् प्रत्येक गाँस;
अर्काको धन लुट्ने-कब्जा गर्नेहरूलाई
कहिल्यै नलागोस् सुखको निद्रा
र कहाली लागोस् हरेक पल;
सडकको पैसा चोरेर घर बनाउनेहरूको घर
सडक जस्तै होस्
तिनका सन्तान
सम्पत्तिका बीचमा,
बाँचून् सडक बालकको नियति;
नहरको पैसा लुटेर मोजगर्नेहरूको मन
बाँझो खेतको बाली जस्तो होस्
कहिल्यै नफूलोस् फूल, कहिल्यै नलागोस् बाला;
अपराध र आतङ्कको बीऊ रोप्नेहरू
डरसरी, भागेरै मात्र बाँचून्
बाँच्नका लागि
सदैव भागिरहून,
आफ्ना मतियारहरू पछि लगाएर दौडिइरहून्,
तिनैको डरको स्याँ स्याँ बनोस् तिनीहरूको श्वासप्रश्वास
र मरूँ भन्दा पनि नलैजाओस् तिनलाई कालले;
चोर पुलिसहरूलाई
सोधून् तिनका सन्तानले
“बाबा, मैले पनि तपाईँले जसरी नै पैसा कमाए,
तपाईँकै जस्तो आचरण गरे
तपाईँलाई कस्तो लाग्छ?”;
कानून लेख्न् नसक्ने विधायकहरूलाई
प्रत्येक रात ओछ्यानमा होओस्
नपुंशकताको लज्जास्पद अनुभव
र आफैँलाई घृणा गर्न थालून् भित्रदेखि,
आत्महत्या गरून् कोही
नागरिकलाई ढाँटेको अपराधबोधले थिचिएर;
अकर्मण्य मन्त्री, भ्रष्ट कर्मचारी र तस्करहरूलाई
पैसै मात्र गनिरहन पुगोस्
र कहिल्यै पनि, खर्च गर्ने मौकै नपाऊन् तिनले लूटको धन,
तिर्खा लागोस्
र पिउन खोज्दा देखून पानीको भाँडोमा नागरिकहरूको रगत;
कानूनलाई कुल्चिनेहरू
न्यायलाई हेप्नेहरू
आफ्ना मतियारहरूलाई सजायबाट भगाइरहनेहरूको मनभित्रको पाप,
यसवर्ष पाकोस् र फुटोस्
तिनका मनभित्र भित्र भित्रको नर्क
भलभल पीप रगत निकाल्दै छताछुल्ल होओस्
तिनका मन मनबाट ताता तेलका कराहीहरूको खार छुटोस्।
ढाँट्नेहरू ढाँटियून आफ्ना विश्वासपात्रहरूबाट
काट्नेहरू काटियून आफ्नै अङ्गरक्षकहरूबाट
मार्नेहरू नमारिऊन् तर कामना गरिरहून् मृत्युको मात्र
यस सूचिमा नपरेका पापीहरूलाई पनि ढुक्क नहोओस्
यसवर्ष सबैले सम्झिऊन् आफ्ना कर्तुतहरू
तिनका आमाबाबुलाई थाहा होओस् तिनको चलित्र
तिनका सन्तानले गरून तिनलाई घृणा
र व्याधा रत्नाकरलाई झैँ भनून्
“मेरो भविष्यका नाममा नकाम गरेर मलाई पाप नबोकाउनुस् बाबा आमा”
र नचाहँदा नचाहँदै पनि
तिनको मनले तोकोस् आफैँलाई सजाय।
स्वर्ग बनाउन सकिएन देशलाई
यस वर्ष
मेरो देश नर्क बनोस्
रौरव नर्क बनोस्
चारैतिर सजायको कोलाहल मच्चियोस्
अपराधीहरूको छट्पटी देखेर
अपराध आफैँ कहालियोस्।
April 13, 2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)