कथा : अमूर्त आकार जिन्दगीको

~गोविन्द श्रृङ्खला~

भावनाको आवेगमा पनि अनौठो कुटीलता हुंदो रहेछ । एउटा आत्मीय अन्तरहृदय भित्रको भावनाको पनि अर्थ लगाइदो रहेछ । कसैले नवोलेका र अभिव्यक्त नभएका शव्दहरुको अडकल काटिदो रहेछ । एउटा बिशेष परिस्थिीतीले सिर्जना गरेको समय भित्र कसैले नचाहेर पनि आफ्ना भावनाको उत्सर्ग दिनु पर्दो रहेछ । मेरो जीवनको एउटा यस्तै मोडले बर्तमानका पल पलमा विगतको अदूरदर्शीताको गहिरो छाप छोडिरहेको छ । एउटा त्यस्तो छाप जसलाई मैले चाहेर पनि मेटाउन सकेकी छैन । समयलाई मैले कसरी छोप्न सक्छु ? जुन बिगतलाई मैलै पछ्याउन सकिन त्यसैलाई आधार बनाएर म माथी प्रश्न उठाइदैछ । तर म भने मुक दर्शक बनेर त्यो क्रिया प्रतिक्रिया हेरिरहेकी छु ।अझ भनौ मलाई त्यस प्रक्रियासंग बाध्य बनाइदै छ । मैले यस्तै परिस्थितीको सामना दिन प्रति दिन गरिरहेकी छु र मेरा वरिपरिका परिवेशहरु पनि मेरो भावना र अन्तरमनको प्रतिकूल बन्दै गएका छन् । यस्तो प्रतिकुलताको सामना गर्न म डराइरहेकी छु । मेरो भीत्री मन कुन्नि किन त्रसित बनेको छ म आफैलाई थाहा छैन । मैले भन्ने गरेको मेरो साहस कुन्नि कुन कुनामा दविएको छ । जति सुकै अन्तरद्वन्दको धरातलमा उभिए पनि म मेरो जिन्दगीको यात्रालाई संभावनाका हिसावले सुनौलो देखिरहेकी छु तर पनि मेरो अन्तरमनमा एक खाले त्रासले झकझकाइरहेको छ । जिन्दगीका अट्टाइस बसन्त पार गरिसक्दा मैले धेरै बिषयमा अनुभव गरें र धेरै व्यक्ति संग आत्मीयताको अपेक्षा पनि गरें , मेरो अपेक्षा कतिपय बिषयमा सार्थक भयो भने कतिपय बिषयमा अस्मिता माथीको प्रहार पनि बन्न पुग्यो । मैले हरेक बिषयलाई सुक्ष्म रुपले हेर्न पनि सकिराखेकी छैन र मेरो दृष्टिकोणमा साथ दिने कोही पनि भेट्न पनि सकेकी छैन । म भित्र एक किसिमको छटपटाहट उव्जिएको छ र त्यो छटपटाहटमा मेरो बिगत र बर्तमान दुवै समावेश भएका छन् । म पनि मान्छे नै हुं मेरा पनि सवैका जस्ता चाहना छन् भावना छन् र जिन्दगीलाई हेर्ने एउटा आफ्नै दृष्टिकोण छ तर खै किन मैले आफ्नो आँखाबाट अरुको दृश्य देखिरहेकी छु । मेरा आँखाले मेरो दृश्य हेर्न सकिराखेको छैन र मेरो मन मस्तिष्कले मेरो भावना व्यक्त गर्न सकिराखेको छैन । लाग्छ म आफैमा एउटा स्वचालित रोबोट हुं र निर्देशन दिनेको निर्देशन नै मेरो अन्तिम सत्य हो । मेरा हरेक निर्णयहरु मलाइ निर्देशन गर्नेले नै गर्छ र म उसको त्यो निर्देशनलाई कम्प्युटरले स्विकार गरे झै गरिरहेकी हुन्छु । मैले पनि सवैले जस्तो आफ्नो जिन्दगीको एउटा खाका कोरेकी थिएँ तर आज त्यसको ठिक बिपरित कहि कतै मैले अनुमान गरेको मेरो जिन्दगीले कुनै पनि आकार लिन सकेको छैन । टाढा टाढा सम्म पनि जीन्दगीको आकार देख्न सकेकी छैन ।

आज मलाई बिगतका घटनाक्रमले झस्काउंछ, मैले एकान्त कोठामा आफ्नो एउटा इतिहास बनेको मेरो बिगत पल्टाउन थाल्छु । झण्डै सात बर्ष अघि सम्म मेरो र शितलको भावनात्मक संबन्ध थियो । शितल अत्यन्तै शालीन र भद्र व्यक्तित्वको मान्छे । उसको शालिनतालाई नै मैले भित्र भित्रै मन पराएकी थिएँ । ऊ पनि म प्रति आकर्षित भएको थियो । खै उसले ममा के त्यस्तो प्रतीभा देख्यो कुन्नि म प्रति सम्मोहित भएको थियो । म रुप रङ्गले त्यति राम्री पनि छैन तथापी ऊ म प्रति आकर्षित थियो । हामी बिच एउटा संबन्धको जग बसिसकेको थियो र त्यो जगको निर्माण हामी दुवैको सहमतीबाट भएको थियो । हाम्रो संबन्धले आकार लिए पनि हामी बिच भने सामाजिक सीमारेखा कायमै थियो । म यस बिषयमा अलि बढी नै सचेत थिएँ हुन त ऊ पनि संवेदनशील नभएको हैन तर पनि हाम्रो सामाजिक संरचनाले पुरुषलाई धेरै कुरामा छुट दिएको छ । हामी बिचको त्यो संबन्ध एका एक यस्तो मोडमा आएर समाप्तिको संघारमा पुग्यो त्यसको कल्पना न मैले गरेकी थिएँ न उसले नै गरेको थियो । एक दिन उसले मसंग भन्यो “शिखा घरमा मेरो विहेको कुरो चल्दै छ मैले तिम्रो वारेमा कुरा पनि गरेको थिएँ हाम्रो परिवार यस बिषयमा सकारात्मक छ” ।

उस्को कुराले म एक्कासी झस्कें । मैले सोच्दै नसोचेका घटनाक्रमहरु मेरो जिन्दगीमा एकाएक आएका थिए । मलाई लाग्यो यो कस्तो अग्निपरीक्षा हो जसलाई मैले सामना गर्न सकिराखेकी छैन । म भित्रका शब्दहरु रोकिए, मेरो बाक्य चाहेर पनि फुट्न सकेन । सायद मेरो मौनता शितलका लागि असजिलो भयो उसले पुन मलाई भन्यो “शिखा मैले तिम्रो मौनतालाई कुन अर्थमा बुझौं ? तिम्रा कुनै बाध्यता र सीमा छन् भने निर्धक्क मलाई भने हुन्छ” । उसको भनाइमा म प्रतिको अगाध समपर्ण झल्किरहेको छ । तर म भने उसको त्यो समपर्णमा कुनै किसिमले सहयोग गर्न नसकेको झै झेक्रिइरहेकी छु । उसलाई के थाहा मेरो घर परिवारको परम्परावादी सोंच र दोधारमा परेकी म भित्रको अन्र्तद्वन्द । उसले अर्कै अर्थ लगायो कि ? ऊ बोलेन विस्मयकारी नयनले मलाई एकोहोरो हेरिरह्यो । मैेले उसका आँखमा आँखा हालेर कुरा गर्न सकिन, अचानक मेरा नजर झुकें । म भित्रको दुर्वलता उसका सामु प्रष्ट भयो । मैले यति मात्र भने “शितल यस बिषयमा केही भन्न मलाई भोली सम्मको समय चाहन्छि” । उसले पनि सम्मती सूचक टाउको हल्लाउंदै भन्यो “ठिकै छ शिखा मैले तिम्रा हरेक भावनालाई सम्मान गरेकै छु जिन्दगीको निर्णय हतारमा गर्नु हुंदैन सोंचेर जवाफ दिए हुन्छ” । म भित्र एक किसिमको द्वन्द चलिरह्यो । शितलका पक्षमा कि घर परिवारका पक्षमा, मैले तत्काल निर्णय गर्न नसकेरै भोली सम्म थाती राखेकी हुं । हुन त मलाई थाहा छ मेरो घर परिवारले उसलाई कुनै पनि अवस्थामा स्विकार गर्न सक्दैन भनेर तर पनि म भित्र पलाएको झिनो आशालाइ मैले प्रयोग गर्न चाहन्थेें । मेरो घर परिवार, जातपातको बिषयमा अत्यन्तै कठोर छ भन्ने बिषयमा म प्रष्ट थिए तर पनि मैले सिन्काको सहारा खोज्दै थिएँ । मेरा सामु दुईवटा बिकल्प थिए या त घर परिवारको लागि शितलको प्रेमलाई आहुती दिने या घर परिवारबाट बिद्रोह गरि शितलसंग भागेर जाने । मैले दुइटै बिकल्प अपनाउन चाहेकी थिइन । घर परिवारबाट स्विकृती लिनु भनेको असम्भव प्राय थियो । बरु ढुंङ्गा पग्लिन सक्छ मेरो घर परिवारको मन पग्लिन सक्दैन भन्ने मलाई राम्ररी थाहा थियो । म रातभरी निदाउन सकिन भोली शितललाई के भनेर जवाफ दिने भन्ने कुराले मलाई पिरोली रह्यो । मैले बहिनी भाई र आमासंग जातभातको विभेदलाई अन्त गरि शितललाई मेरो जीवनसाथी बनाउन अनुनय विनय गरेंकी थिएँ । म बाट हुन सक्ने सवै प्रयासहरु गरेंंकी थिएँ तर मेरा सवै प्रयासहरु विफल भएका थिए अन्ततः मैले शितलसंग माफी मांगेकी थिएँ र उसलाई जिन्दगीको गोरेटोमा साथ दिन नसकेकोमा आत्मआलोचित पनि भएंकी थिएँ । वास्तवमा मैले शितललाई चित्त दुखाउने मेरो कुनै मनसाय थिएन तर घुमि फिरी परिस्थिती यस्तो बन्यो कि मैले शितलबाट टाढा नभै सुख्खै पाइन ।

मैले घर परिवारका लागि आफ्नो प्रेमको आहुती दिएँ । मलाई त्यस घटनाले कति सम्म पीडा दियो यसको अनुमान म बाहेक अरु कसैले गर्नै सक्दैन । मेरा बिगतका सात बर्षले मलाई दिएको पिडाले म भित्रको आत्मविश्वास पनि क्रमिक रुपमा कमजोर हुंदै गएको मैले अनुभव गरेकी छु । यस अवधीमा म भित्रको पीडामा साथ दिने कोही भएन मेरो परिवारले पनि म प्रति देखाउने सहानुभूमिमा कन्जुस्याइ गरेको हो कि भन्ने मलाई आशंका लागिरह्यो । समयको प्रवाहसंगै विगतका घटनाक्रम बिर्सनु नै पर्दो रहेछ । मैले पनि शितलसंगको त्यो संबन्धलाई इतिहासले मसंग गरेको ठट्टा सम्झेर बिर्सने प्रयास गरें ।

समयले मसंग गरेको यस्तो व्यङ्गलाई विर्सउन मैले केही न केही गर्नै पथ्र्यो मैले पनि गरें । मैले संपूर्ण ध्यान अध्ययन मै लगाउने दृढताका साथ आफुलाई फेरी अध्ययनकै क्रममा जोड्न पुगें । मैले आफुलाई सम्हाल्न गरेका प्रयासमा म धेरै हद सम्म सफल पनि भएँ । म शितलसंगको त्यो भयानक सपनाबाट विउझे पछि आफुले घरपरिवारलाई दिन सक्ने सवै योगदान म बाट सम्पादन भए । समय र परिघटनाको चक्रव्यूहमा परेर केही त्यस्ता त्रुटीहरु म बाट भए होलान वा हुन खोजे होलान तर समग्रमा भन्नु पर्दा मैले आफुलाई सम्हाल्ने कुरामा सफल भएकी छु । मेरो मन भित्र पनि भावनाका तरङ्गहरु तरङ्गित हुंदा हुन, मेरो मन पनि अरु मान्छेको जस्तै संबेदनशील हुंदो हो र आफ्ना संगी साथीहरु रातो सारीमा ढकमक्क चुरापोतेमा सजिएको देख्दा मेरो हृदयमा पनि च्वास्स घोच्दो हो भनेर मलाई उपदेश दिने मेरा अविभावकले कहिल्यै सोचेनन् । मैले परिवारको लागि आफ्नो मायालाई पनि बिर्सिदिएँ,घरको इज्जतका खातिर मेरा सवै रहरहरु कुल्चिदिएँ तर आज मेरो भित्री हृदयमा भक्कानो फुट्दा मलाई सम्झाउने कोही छैन । मान्छेले आदर्श छाट्न त सजिलो हुन्छ तर त्यसलाई व्यबहारमा लागु गर्न र जिम्मेवारी बहन गर्न त्यति नै कठिन पनि हुन्छ भन्ने कुराको बोध खै मेरा अविभावकलाई कहिले होला ?

हिजो मात्रै हो मलाई मेरी बहिनीले भनेकी मेरो बिहेको कुरो चल्दै छ रे । भारतको कुनै शहरमा चौकिदारी गर्ने अधबैशें सित । शरिरमा आकर्षण र मुहारमा रुप रहुन्जेल मेरो बारेमा नरहेको चिन्ता अव मेरो घरपरिवाका हरेक व्यक्तिलाई हुन थालेको छ रे । मलाई शितलले दिएको अगाध मायालाई पनि मैले घरपरिवारको लागि आहुति दिंदा मलाई स्यावास् छोरी भन्ने मेरा वुवा आमा “बहादुर”लाई ज्वाइ बनाउने परिवन्द बुन्दै छन् रे । मलाई आमा बाबाले बोझ ठानरे हो या मेरो भविश्यको चिन्ता भएर हो मेरो बिहेका लागि आतुर छन् । म आफ्नै माइतीको बोझ किन बनिरहेकी छु मलाइ थाहा छैन । मेरो हरेक अभिव्यक्तिले मलाई यस्तै प्रश्नहरु गरिरहेका छन् । म भित्रको धैर्यताको परिक्षा लिइरहेका छन् र मलाई अस्थिरता तर्फ धकेलीरहेका छन् । अव त मलाइ लाग्छ मेरो जिन्दगीले पहिल्याउन खोजेका रमाइला क्षणहरुले मलाई छोडेर जान थालेका छन् । म हुर्केको र बढेको घरले मलाई पराइ घरमा धकेल्ने प्रपञ्च गरिरहेको छ । मेरो जिन्दगीका हाँस्ने दिनहरु क्रमश आँशुमा डुव्न थालेका छन् ।

आज मेरो अगाडी अस्तित्वको प्रश्न खडा भएको छ । मैले बितेका सातबर्षमा गर्न नसकेका र मैले अनजान मै गरिएका कमजोरीलाई हतियार बनाएर मैले कल्पना सम्म नगरेको त्यो परदेशीलाई मेरो जीवनको सहयात्री बनाउन सवै कस्सिएका छन् । मेरो मन भित्र के छ ? मेरो भावनाले के भन्छ कसैलाई वास्ता छैन । सवैको मुखमा एउटै बिषय छ हुर्के बढेकी छोरी एक दिन परायी घरमा जानै पर्छ । घरका सवै सदस्यले मेरो भावनालाई किन बुझ्दैनन् के म भिन्न भावना राख्ने अरु नै ग्रह की प्राणी हुं ? भर्खरै सम्हालिंदै गरेको मेरो मनस्थिीतिलाई किन यति बिध्न मथिरहेका छन् म के गरुँ ? अध्ययनलाई सहारा बनाएर भर्खर मात्रै दोस्रो बर्षमा प्रवेश गरेकी छु । जीन्दगीको अन्तिम लक्ष्य भनेको बिहे त हैन नि । किन हाम्रो समाजले छेरी मान्छेको बिहेलाई जीवनको अन्तिम लक्ष्यका रुपमा परिभाषित गर्ने गर्छ ? म झनै अन्यौलग्रस्त बन्न पुग्छु । मेरो वरिपरिको संसार घुम्छ यसै घुमाइमा मेरा सवै चाहना भावना र आकांक्षाहरु फन्फन्ति घुमिरहेका छन् । मलाई भविश्यको डरलाग्दो तस्विर देखाएर बिहेका लागि बाध्य बनाउन खोजिदैं छ । तर म संभावित त्रास र मैले कोर्न खोजेको सुनौलो भविश्यको उत्तिकै संभावना देखिरहेकी छु । मैले यसै हो भनेर भन्न सक्ने स्थितीमा पनि छैन । यदि मैले भविश्यमा केही गर्न सकिन भने यसको संपूर्ण अपजझ मलाई नै आउने कुरामा कुनै शंका छैन । यदि त्यही बहादुरलाई स्विकार गरें भने मैले चाहेको जिन्दगीको अवशान हुनेछ । मेरो अन्तरहृदयमा द्वन्द चलिरहन्छ र यस्तै अन्तरद्वन्दको विचबाट मैले एउटा निर्णय गर्न पुग्छुं जुन निर्णय मैले गर्नै पर्ने थियो । मेरो जिन्दगी मैले चाहे अनुरुप नहुने भए पछि मलाइ खोजिएको त्यस मान्छेलाई मैले जिवनसाथी स्विकार गर्न कुनै जरुरी छैन भन्ने मेरो अन्तरमनको आवाजलाई मैले सम्मान गरें । मैले उसंग बिहे नगर्ने हो भने कमसे कम एउटा संभावना त बाँकी रहन्छ कहिं कतै मैले चाहेको जिन्दगीले आकार लिन सक्छ कि भन्ने आशाको त्यान्द्रो त शेष रहन्छ ? हुन त जीन्दगी कहिल्यै नफर्कने अमूर्त आकार हो भन्ने मैले बुझेकी छु तर पनि विश्वासको मधुरो बत्ति अझै निभेको छैन ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.