~पवन भन्डारी “किरण”~
बसस्टप नजिकै
एकोर्डियन बजाउने
दुःखी बृद्धको कथा
“सब वे” मा
बूढो भ्वायलिन बजाएर
टाइटनिकको धुन बजाउने
बूढी आमैको कथा
म्यानह्याटनका
फराकिला गल्लीहरुमा
सेकुवा बेच्ने राम दिदीहरु
ट्रेड सेन्टर परिपरी
जीवनसँग हारेर
गाली वाक्दै हिंड्ने
निर्दोष पागलहरु
दिनको हजारौं डलर खाएर
बी.एम.डब्लु, हाँकेर हिंड्ने
धनी मालिकहरु
सबै भन्छन् अरु नै
तर म
खुशीभन्दा पीडा धेरै देख्छु
न्यूयोर्कका गल्लीहरुमा
चिल्ला सडकमा
खस्रा पाइतालाहरु घोट्दै
जागिरको खोजीमा
भौतारिने मान्छेहरु
दिउँसै कोकिन खाएर
गल्लीमा सुतेका
बाबु–आमाको माया नपाएका
लाचार टुहुराहरु
आफ्नो जीविका चलाउन
अरुका महंगा जुत्ता टल्काउने
मिहिनेती दाजुहरुको भोक
रेलको डिब्बाडिब्बामा
गिटार बजाउँदै टोपी थाप्ने
मगन्तेहरु
रेडलाइट एरियामा
टोपलिंदै हिंड्ने
लाइसेन्स प्राप्त
जीउ बेच्नेहरुको जिन्दगी
महंगा इम्पोर्टेट सुट लगाएर
आइपट सुन्दै हिंड्नेहरु
चानचुन छ भन्दै
माग्दै हिंड्ने अपांग आमा
अर्काको कामको पसिनाबाट
ट्याक्स काटेर पालिएका
कथित बेरोजगारहरु
सबै देख्छन् अरु नै
तर म
पुँजीभन्दा भोक धेरै देख्छु
सम्पन्न न्युयोर्कका गल्लीहरुमा
– मिति ०६, २००८, न्युयोर्क, अमेरिका
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३६ – २०६८ श्रावण १८ गते, बुधबार)