~भेषराज रिजाल~
अधमरा इच्छाहरू व्युँझाएर
जिउँदै मरेको आफूलाई सम्हालेर
जसोतसो बाँचू कि भन्दै
आफ्नै प्रतिच्छाँया अन्यत्र खोज्दै
दौडिरहेथेँ रनवन पराई पच्छ्याउँदै
पालिरहेथेँ विरह विश्वास बेच्दै
त्यो सबै विरह भो अब त मिल्काउँछु
म तिम्रो साथ यही प्रण गर्छु ।
अलिकति कुहिरो च्यातिएछ
अलिकति क्षितिज उघ्रिएछ
तुँवालोले छेके पनि सूर्यलाई
न्यानो किरण जताततै फैलिएछ
व्यर्थै डुलेँछु आँगन छोडी अन्त
तिम्रो साथ पाई म भएँ जीवन्त
तिम्रो दिलभित्र सबैथोक रहेछ
आफूलाई अन्त खोज्नु मेरो गल्ती भएछ
त्यो सबै तिर्सना भो अब त मिल्काउँछु
म तिम्रो साथ यही प्रण गर्छु ।
धुजा धुजा च्यातिएको विदीर्ण मनलाई
हिउँद बर्खाले चुसेको जीर्ण जीर्ण तनलाई
जसोतसो आकासले टालेर सिलाउँदै
बाँझो धर्ती खनी खोस्री पारेर मिलाउँदै
तिमीभित्र विश्वासको बिऊ रोपिदिन्छु
तिम्रो हातले नवयुग सिर्जिदिन्छु
म तिम्रो साथ यही प्रण गर्छु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )