~प्रमिशा केसी~
फुटपाथ कम व्हिलपाथ भन्न सुहाउने बानेश्वर चोकको बाटो ! आफ्नै लागि भनेर बनाइएको बाटोमा पनि बाइक छल्दै हिँड्नुपर्ने बाध्यता । अझ रोडमै गएर बाटो छेकिदिएझैँ आँखा तर्ने बाइकवालाहरु । केहि पछाडी जहाँ छेवैमा नेपाल यातायात रोकिएर यात्रुलाई हैरान पार्दैछ, कुनैबेला त्यहाँ किङ्ग्स ममः हुने गथ्र्याे । हुन त यहाँ, जहाँ पार्क गरिएका बाइकको मेला लागेको छ , यहाँ पनि पार्क थियो कुनैबेला । जब पारिको भवनमा राजनितिले पाइला टेक्यो तब धर्नाको चपेटामा पर्याे यो ठाउँ । तर अझै पनि कती थाकेका खुट्टाले यसलाई पार्क मान्न छाडेका छैनन् ।
यस्तै थाकेर बसेका शरिरमध्ये कुनै एकले मलाई तान्यो । पाइला पछि सरे, टक्क अडिएर नियालेँ उसलाई । जिउडाल उस्तै तर पहिरनको ढङ बेग्लै थियो, कपाल पनि छोटो । म अलमलिएँ, यस्सै कसैलाई बोलाउँ कसरी ? र पनि अघी बढ्न सकिँन । भ्रम किन हुन्थ्यो मलाई ? जताततै उसैलाई देख्ने फिल्मी मान्छे होईन म । दुनियाँ सानो छ, साँच्चै भेट भएको पनि त हुनसक्छ ? सोच्दासोच्दै मोडेँ आफ्नो बाटो त्यतैतिर ।
“सारिका ?”
आइलाईनरका बाक्ला बाक्ला लाईनमा डुबेका एकजोडी आँखा मतिर फर्किए । म आफैँ अचम्ममा थिएँ मैले कसरी चिन्नसकेँ उसलाई । माथिसम्म उचालिएर कतै अड्डाइएको, कतै छरिएका उसका रङिबिरङी केश, लकेटले ढाक्न खोजेको खुल्ला घाँटिको टि–सर्ट अनि जती तन्किए पनि जमिन त के घुँडासम्म पनि छुन नपाउने हाफ प्यान्ट । ति साना कानले धान्न नसक्ने ठुलाठुला झुम्का, अनि ओठमा लाली त छँदैथियो । यो नयाँ रुप !
“तँ? कताबाट आइस् ?”
“हँ ? ए म?यस्सै, के एकैठाउँमा बस्नु भनेर हिँड्दै टाइम बिताइराको, तँलाइ देखेँ अनि !”
“ए! आइज बस, के गर्छस् डुलेर?”
म आशा गर्दै थिएँ उसले “कपिक्याट” भन्छे कि भन्ने । उसैबाट सिकेको थिएँ यो समय कटाउने मेसो कुनैबेला ।
“सारिका, राइट?”
“अँ, सबिन? कसरी चिन्यौ ?”
मनमनै भनेको थिएँ त्यो बेला “अरु कोही त्यती नराम्री छैन यता, किन नचिन्नु!”
“चिनेँ फेसबुकको फोटोले । अनि किन यताउता डुलिराको ?”
“एकैठाउँमा बसेर कुर्न अप्ठेरो लागेर, कसले के नजरले हेर्छ थाहै हुँदैन चोकमा एक्लै बसिराख्दा, अप्ठेरो लाग्छ । बरु गीत सुनेर हिँडिराखेकै बेस् !”
“यसलाई कसले हेथ्र्याे होला र!” मनमनै गिज्याएको थिएँ फेरी । नकोरी बाँधेको कपाल, ज्यान भन्दा ठुलो ज्याकेट्, ट्राउजर अनि मैलो सेतो स्पोर्ट शुज । मुख पनि धोएर मात्रै हिँडेकी थिइ सायद । हो, उसलाई कसैले हेर्ने थिएन ।
तर आज हेर्नेको कमी थिएन । राम्री देखे कि के देखे थाहा छैन, तर छेउबाट हिँड्नेले यसरी नियाले कि अफ्ठ्यारोलाई नैे लाग्यो ।
“यता किन बसिराकी ?” अचानकै सोधेँ, कुन्नी कुन अधिकारले ।
“किन? बस्न हुन्न र ? बस्ने ठाउँ त हो ।”
“एक्लै ?”
“मान्छेलाई कतिपटक बाँच्नु त एक्लै पर्छ, तँ एक्लै बस्न पनि नपाउने जस्तो कुरा गर्छस् त !”
“ह्या डाइलग नदे । तैँले भन्थिस् नि त, मान्छेले हेर्छन्, एक ठाउँमा बस्न मन लाग्दैन भनेर ।”
“ए, त्यो बेलाको कुरा ! हामी पनि अचम्मकै छौँ है? कहिले कसैले हे¥यो भनेर चिन्ता, कहिले कसैले हेरेन भनेर !”
मैले चिनेकी सारिकाभन्दा निकै कम बोल्दैथी उ । तर शब्द कम नै सही, तिखा थिए, बिझाइरहने । हो, कुनैबेला मेरै गुनासो थियो उसको रुपले अरुको ध्यान तान्न नसकेको । मिलाएर बाँधेको उसको केश फुकाइदिन्थेँ, उसले नरुचाउने लिपिस्टिकले उसको ओठ रँगाउन कर गर्थेँ । उसको हरेक ढंगसंग समस्या थियो मलाई । बदल्न चाहन्थेँ उसलाई । सायद घमण्ड थियो, रहर थियो संगै हिँड्दा हाम्रो जोडीको खिल्ली नउडोस् भन्ने!
आफ्नो भन्दैमा घरलाई सुहाउने–नसुहाउने सबै रङ र झिलिमिली बत्तीले सिंगारिदिएर जसरि घरको मालिक मख्ख पर्छ, त्यसैगरी गम्किने चाहना थियो ममा पनि उसलाई आफ्नो रङमा रङ्गाएर!
अतितको आवाज र वर्तमानको शुन्यता चिर्दै प्रश्न गरी उसलेः
“अनी तँ कताबाट यता ?”
“साथीलाई कुर्दैथेँ, तँ ?“
“म त एक्लो मान्छे, न कुनै काम छ न भएको ठेगानाको कुनै वास्ता । न हिँड्न कारण चाहिन्छ न रोकिन ।”
लाग्थ्यो हरेक वाक्य क्षणभरमै गहिराइमा डुबेर छानेर ल्याउँथी उ । तर जब उसको त्यो रुप हेर्थेँ तब सबै सङ्लो लाग्थ्यो । किनकिन उसको यो रुपले निसास्सिँदै थिएँ म । छेउबाटजाने हरेक नजरले उसलाई के सोचेर हेर्दो हो त्यो अन्दाजा थियो मलाई, र अपरिचित हुन्थेँ त सायद तिनैमध्ये एक हुन्थे मेरो नजर पनि ।
ब्यागमा केहि खोज्न व्यस्त भई उ अचानक । शिखरको सानो बट्टा निकाल्दै तेस्र्याइ मतिर, म झस्किएँ! कुनैबेला उसलाई आफ्नोलागी चुरोट किन्न पठाउने म, आज उसैले मलाई बट्टामा भरिएको प्रस्ताव राखिदिँदा चुप थिएँ । मेरो मौन अस्विकारको बानी परेझैँ बट्टाबाट मात्र एउटा छानी आफ्नो लागी । फेरी ब्यागमा व्यस्त भए हात, यसपटक निस्कियो लाईटर । मात्र हेरिरहन सकेँ उसलाई, जसरि कसैले नियालिरहन्छ कुनै नौलो, अनौठो प्राणीलाई। चुपचाप, जिज्ञासा र डर बोकेर !
चुरोट तान्नमा मस्त थिइ उ, धुँवा बिस्तारै बिस्तारै उडाउँदै । वर्तमान यती बिरानो लाग्दै थियो कि अतितको दुनियाँमा चाहार्नबाट आफुलाई रोक्न गाह्रो थियो ।
कुनैबेला उसका नङटोकिएका ससाना औँलालाई आफ्नोमा बेरेर चुरोट समात्न सिकाउने म नै थिएँ । उसले धुवाँ तानेको र हावामा चित्र कोरेझैँ बिष्तारै उडाएको हेर्न चाहन्थेँ । तर उसले मेरा आशा निभाइदिन्थी, सक्दिनथी सहन र साससँगै धुवाँ भित्र पस्दा हार मानेर खोकिदिन्थी । खोकीको चिन्ता होईन, रिस मात्र हुन्थ्यो ममा । आफुले चाहेको जस्तो उसले नगरिदिएको रिस ।
कुन्नी आज कसरी त्यो खोकी सम्झँदै मुस्काएछु म । तर त्यो मुस्कान एकपलमै बिलायो जब उसका नेल पोलिसले रङिएका लामा नङले सजिएका औँलाबिच च्यापिएको चुरोटबाट धुवाँ मस्त उडिरहेको देखेँ । अहँ, आज उ खोकिन ।
फेरी घिन लाग्यो मलाई उसको यो रुपदेखी !
“तँ कसरी यस्ती भइस् ?”
“यस्ती ? यस्ती मतलब कस्ती ?”
“नाटक नगर्,तँलाई थाहा छ कस्ती । र्हे एकपटक आफुलाई!”
मेरा कुरालाई मजाकमा उडाएझैँ एकपटक आफैँलाई ओल्टाइपल्टाइ हेरी उसले ।
“हाहा, यस्तै त बनाउन चाहन्थिस हैन तँ ?”
फेरी मलाई चुप गराउने तर्खरमा थिइ उ ।
“ह्या, डाइलग नदे ! था’छ कसरी हेरिराछन सबले ? केके सोचिराको होलान् तेरो बारेमा ?”
“सोच्नेलाई सोच्नबाट कसले रोक्न सक्दो रैछ र सबिन ? मलाई थाहा छ यहाँ कसले के सोच्दैछ । “चालु रैछे” भन्दै होलान् । यही भन्न खोजेको हैन तैँले ?”
सुनिरहेँ । उसले ब्रेक लिइ बिचमा, चुरोटलाई माया गर्न ।
“तर सोच्नेलाई त एउटा बहाना न चाहिन्छ, चाहे स्पोर्टशुज होस् वा हाइ हिल । यही कुरा पहिला पनि त कसै न कसैले सोचेकै थियो क्यारे मेरो बारेमा!”
लाग्थ्यो शब्दवाणले मलाई घाइते बनाउने पुरै तयारी छ उसँग । हो, उ जब फेसबुकको गफको भरमा पहिलो पटक हामीलाई भेट्न आएकी थिइ, त्यो सोझो रुपमा पनि उसको बारेमा यही सोचेको थिएँ मैले । यति सजिलै बोलिदिनु, भेटिदिनु, यो सब के ठिक केटीको लक्षण थियो र ?
हो, म चालु नै मान्थेँ उसलाई । अनि माया पिरतीका ठुल्ठुला गफ दिएर अल्झाइरहन्थेँ उसलाई । लाग्थ्यो उसको लागी पनि खेल न हो माया ! म उसलाई प्रयोग गर्न चाहन्थेँ,कुनै माटोको भाँडोलाई झैँ आफ्नो मनले चाहेको आकार दिन चाहन्थेँ । खेलौनासँग झैँ रमाउन चाहन्थेँ उसँग केहि पल । र खेलेँ पनि, मन भरुन्जेल ।
उसले गितार सिक्न चाहँदा उसका औँला तारसम्म पुर्याइदिन्थेँ, तर त्यसै त्यसै मातिएर अँगाल्थेँ । उसले गितार कहिले सिकिन ।
पुरानो फोन थियो उसको कुनै, मेरो ठुलो फोन उसलाई थमाइदिएर अलमलाएर खेलिरहन्थेँ उसको शरिरसँग । उ मेरो फोनमा टाँसिइरहन्थी, अनि म उसँग ।
“सबिन, मैले कुनैदिन नयाँ फोन किनेँ भने तेरै जस्तो किन्छु है ?”
“हाहा, यस्तोे फोन किन किन्नु नि केटाको जस्तो !”
“तेरो बानी लाग्याजस्तो यो फोनको पनि बानी लागिसक्यो के !”
हाँसिदिन्थेँ उसका यस्तै गफमा, अनि फर्काइदिन्थेँ यस्तै कुनै रोम्यान्टिक जवाफ । उसका शब्द, उसको व्यवहारले मेरो मन जित्न सकेनन् । लाग्थ्यो, जो मेरो जालमा यती सजिलै फसी, यति नजिक भइ, उ कतिसँग नजिक रहिसकेकी होली ? त्यसैले बिश्वास भएन उसका कुरामाथी कहिले । न उसले हरेक रात फोनमा सुनाएको “आइ लभ यु” को, न त्यो “आइ लभ्ड यु” को जुन मैले आफ्नो स्वार्थ पुगेपछी छाडिदिँदा अन्तिम पटक भनेकी थिइ उसले, आँसु झार्दै…।
“तेरो साथी आउँदैन ? फोन गर्न ! कतिन्जेल बस्छस् मेरो छेउमा अप्ठेरो मानेर !”
सही थियो उसको प्रश्न । त्यो चिसो मार्बलले भन्दा हामिबिचको त्यो चिसोपनाले गाह्रो पार्दै्थियो त्यहाँ बसिरहन ।
“ब्यालेन्स छैन । रिचार्ज कार्ड किन्नुपर्ने, बिर्सेछु । लिएर आउँछु, पख् !”
“जान त जा, तर मैले पर्खन्छु भन्ने आश नगर । तँ फर्किउन्जेल यहाँँ हुँदिन म ।”
उ फेरी चुरोटको धुवाँलाई हावामा उडाउन व्यस्त भइ, अनि म उसका कुरालाई ।
उभिएर प्यान्टमा नलागेको धुलो पनि बानी अनुसार टक्टकाएँं । त्यत्तिकैमा फोन बज्यो, मेरा हात खल्ती छाम्न लागे । तर आफ्नो भनेर झुक्किएको त्यो रिङ्गटोन उसको फोनको रहेछ ।
“हेल्लो!”
जानलाइ अघी बढिसकेका पाइला रोक्न सकिँन, तर मनमा प्रश्न थुप्रिँदै थिए । सोचेँ, उसले फोनमा बोलुन्जेल रिचार्ज कार्ड किनेर आइपुग्छु म । अनि बेतोडले दौडिएँ पसलतिर ।
धेरै प्रश्न थिए मनमा ।के मैले उसलाई चिन्न गल्ती गरेँ ? के उ साच्चैँ माया गर्थी मलाई ? के त्यसरी रुवाउने मजस्तो मान्छेको यादलाई पनि साथै राखेकी थिइ उसले ? यदी होइन र म पनि केवल एक खेल थिएँ उसका लागी भने किन पुरा गरी उसले त्यो वाचा ?
जे मैले देखेँ त्यो भ्रम थिएन । मेरोजस्तै रिङ्गटोन बजेको उसको नयाँ फोन दुरुस्तै मेरो फोनजस्तै थियो । दौडिएँ त्यसैगरी कार्ड लिएर फर्कँदा ।
यी प्रश्नबिच आफु निसास्सिएझैँ त्यो रिचार्ज कार्डलाई मुट्ठिभित्र कस्दै फेरी पुगेँ उहि ठाउँमा । यताउता नियालेँ, तीनै खोट भरिएका नजर अरु कसैलाई ताक्दै थिए त्यो भिडमा ।त्यो चिसो ठाउँ खाली थियो ।
“तँ फर्किउन्जेल यहाँँ हुँदिन म ।”फेरी अर्को वाचा पुरा !
उ गइसकिछे, चुरोटको ठुटो र मेरा अनुत्तरित प्रश्न त्यसै छाडेर ।