~घिमिरे युवराज ‘कर्जुना’~
मेरो आत्महत्यापछि
यस्तरी रोए केही दर्जन मानिस
मानौं-
उनीहरुले संसारकै आफ्नो प्रिय जिनिस गुमाए ।
देखेर मेरो मृत शरीर
थप केही दर्जन मानिसहरूले
यसरी गरे बिलौना
मानौं-
एक्कैछिनमा उनीहरूको आफ्नै स्वास गुम्दै छ ।
श्रद्धाञ्जली पुस्तिकामा सयौंले गरे हस्ताक्षर
एकादेशको मेरो उज्यालो फोटो राखेर
सामाजिक सन्जालहरूमा चल्यो गुणगान
उठाएर चन्दा अखबारमा छापिए गहिरो समवेदना पनि
अनगिन्तीले लेखिरहे ‘रिप..रिप…रिप…. !’
अनि एक हुल
जिन्दगी रमाइलो भोगेका बुज्रुकहरुले
घोषणा गरे – आत्महत्या अपराध हो
कायर हो – युवराज !
सुनेर यो सब पश्चातापमा पिरोलिएको छु
उफ्फ !
बाँचेकै बखत यति धेरै चासो
थाहा पाएको भए किन मर्थें म ?
० ० ०
हो
मेरो आत्महत्यापछि यस्तो भयो रे
किनकि
यो सब बतायो त्यसले
जो मपछि लगत्तै मरेर मसँगै उभिएको छ
मलाई विश्वास छ उसको कुरामा
किनकि
मरेपछि मात्रै मान्छेले बोल्दैन शायद झुट !!
JULY 20, 2017
(स्रोत : रचनाकारको ब्लगबाट सभार)