कथा : गम्भीरे

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ ।

“मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ,” मानेले भनेको थियो ।

दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै पानी नचल्ने । भरखर जुंगा रेखी बसेका मने र गम्भीरे झरेका थिए, मधेश । अलिकति खोरिया पनि नफाँडेका हैनन, तर जमिन्दारको आँखा लाग्यो । नेपाली कागतमा ल्याप्चे ठोकाएका हुन ।

ए भाते, मेरो जग्गा छाड, एक दिन जिम्मुवालले घोडामा आएर कोर्रा घुमाउँदै उर्दी जारी गरे ।

मालिक यो त हाम्रो जग्गा, हाम्ले खोरिया फाँड्या, गम्भीरेले आँट कसेर भन्यो ।

तेरीमा फलान्थोक गर्ने, तेरो बाउको हो? हेर माथि कपुरबोटेदेखि माझनदीसम्म १२८ बिघा मेरो नाममा राजाले पञ्चापत्र गर्या छन्, एउटा कागजको खोस्टो देखाउँदै छालाको कोर्राले कमिज फाट्ने गरी जमिन्दार रामबहादुर काजीले बजाए ।
स्वाँठठठठठठठ कोर्राले बज्रेर छर्ररर रगत निस्क्यो ।

के जानुँ मालिक राजाका कुरा, तर त्यतातिर बोटेको, उता थारूको, त्यो दमै गाउँ पो पर्छ त मालिक, अलि उग्र हुँदै मानेले के भनेको थियो ।

डम्बरबहादुरको भरूवा पड्कियो ड्याम्म

मरे आम्मा, माजेठाउँ ठाउँ भयो, वरपर रगतको आहाल बग्यो ।

जजसले हाम्रा विरोध गर्छ, यही गति हुन्छ । अंग्रेजसँग लडेका थापाका सन्तान हौ याद गर….. जमिन्दारहरू उर्दी गर्दै हिँडे, पुलिस प्रशासन हाम्रा गोजीमा छन, नेपाल खाल्डोमा राजाले हाम्लाई अधिकार द्या छन् ।
दुईचार भाइ बोटे र थारूहरूको साथ लिएर त्यही रात वनमारा झाडीमा मनेका लास गाडियो ।

………………

हितको साथी सामन्तको हातबाट मारिएपछि गम्भीरे त्यस रातभर सुत्न सकेन ।

गम्भीरेको मन अशान्त छ, सुत्न सक्या छैन । सँगको साथी पनि मरी गो । कि त पहाड फर्कन्छु कि कोइलाखाततिर लाग्छु मनमनै सोच्यो, यहाँ बसिरह्यो भने ज्यानै नरहने भो ।

जसै भाले बास्यो, उ कहीँ कसैलाई खबर नगरी कोइलाखादतिर जान भनेर हिँड्यो ।

कहाँ पर्छ, कसरी जानु पर्छ केही थाह थिएन । पूर्व झापाबाट जान्छन रे, त्यतिमात्र सुनेको थियो । सात दिनको हिँडाइपछि सिलगढी आइपुग्यो । कालो डिब्बा भएको भ्वाँक भ्वाँक कराउने रेल कुद्दो रैछ । जसोतसो वनका फलका खाएकै भरमा पुगेको गम्भीरे भोकले लखतरान थियो । माटो खाउँकी ढुंगा खाउँ भइसकेको थियो ।

ओ नेपाली छोकरा काम कर्थो है? रेल्वे स्टेशनमा जुलेबी-पुरीको दोकान चलाउने एउटा बंगाली साहुले सोध्यो ।

नेपालीमात्र जान्ने गम्भीरे के भनेको भनेर अलमलमा पर्यो, नेपाली र काम भन्नेचाहिँ उसले बुझ्यो । नबुझे पनि उसले टाउको हल्लायो ।

परधान यिसको काम दिखायो ।

सिलगुढी स्टेशनमा भेटिएका उही रामप्रसाद प्रधानले गम्भीरेलाई दार्जिलिङ पुर्याएका थिए ।

…………….

दार्जेलिङको चौरास्तामा देख्या हो गम्भीरेले इन्दिरालाई । घुमतिर घर अरे भन्ने सुनेको थियो, त्यतिखेर ऊ बंगाली बाबुको मिठाइ पसलमा काम गर्थ्यो । मिरिकको चिया बगान जान्थे, हुलै बाँधेर पत्ती टिप्न ।

“डेढ रूप्पेको जुलेबी देउ त,” मिठो लयमा इन्दिराले जुलेबी माँगेकी थिइ ।

गम्भीरे हेरेको हेरै भयो । हरेक बिहान ऊ डेढ रूप्पेको तीनटा जुलेबी किन्थी, गम्भीरे कहिले काँही साहुको आँखा छलेर चार वटा दिन्थ्यो ।

“संसारको जति पनि खराबी छ, मैमा छ । नराम्रो छु, …..गरिब छु,…..बोल्न ढंग पुर्याउँदिन,….. थातबासको टुंगो छैन, ……तर एउटा गुनचैं छ है ममा, तिमीलाई औधि मन परपाउँछु,” गम्भीरेले एक दिन मिरिक चियाबगानमै पुगेर हात थामेर भन्यो ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.