~चन्द्र रानाहँछा~
लसुन हैन नि आप्पा
लू शुन पो त !
जो लेख्थे विवेकले तातो विद्रोह
उभिन्थे मसाल बालेर अक्षरहरूको
विभेदका निशस्त्र मोर्चाहरूमा
र फर्फरन्थ्यो झन्डा स्वतन्त्रताको।
जारी छ-
त्यसरी नै तपाईंको स्वप्न-युद्ध
भीर, पहरा
रूख, लहरा
या खेतबारीका दोखिया आर्कहरूमा
र फर्फराइरहेछ शान्तिको हरियो झन्डा
भैँसीको गोठमा।
आप्पा!
तपाईं लू शुन जस्तै हुनुभएन महान्!
बरु लसुनलाई झैँ तपाईंको मस्तिष्कलाई
किच्यो ऋणको लोहोरोले
सन्तापले
या भोकले …
शासकले
चित्रा बुनेर तपाईंको शरीरको छाला
छाइरह्यो उसको छाना
उसैले
हलो ताछेर तपाईंको हात-पाउ
फुटाइरह्यो उसैको बाँझो जमिन
दुवाली छेकेर तपाईंभित्रको जलदेवतालाई
सुकाइपठायो सहस्र शक्ति-भँगालो
फलतः तपाईं
बाँचिरहनुभो निस्सार बगर …।
आप्पा!
तपाईं लू शुन जस्तो हुनै भएन अमर!
माटोको अक्षता निधारमा
चुलाको साइनो फेटामा
गोबरको साइत पैतालामा
आँखैआँखाले बनेको चोयाको कवचभरि
छादेर हजारौँ प्राण …
एकसाथ युद्धमा-
हिँडाउनुहुन्छ अनसन तोडाएर तारे र फुर्केलाई
चढाउनुहुन्छ मुरलीमा
प्रथम बिहानी साइत
र पर्खिरहेका बतासका जुवारीसित
साट्नुहुन्छ अन्तस्थ सुइसुइला।
भेटिन्छन्-
क्षयग्रस्त गोरेटोको कुइनेटाभरि
समय-ख्याकले चुसेका असहाय श्लोकहरू
जसलाई-
खुनको इनामेलले
हुबहु पोत्नुहुन्छ काँधको साइनबोर्डमा।
सात साल
छत्तीस साल
छयालीस
जनयुद्ध वा जनआन्दोलन …
बाँचेको दिग्भ्रमबीच तपाईं
पटक-पटक ढल्नुभो शहीद
अफसोच!
बन्नुभएन राष्ट्रिय विभूति!
बरु जहिल्यै हतारमा
आमाको पीरको गुन्यूमाथि विरूप पोखेर
अधकल्चो वीर्य
रहरको मजेत्रोले पुछेर प्रेमरगत
वा लट्टा नकोरेको सिउँदोमा सिउरी छाडेर
हृदयको फूल
बनाइरहनु भो अर्कैको महल
आँगन,
समाधि …
मेटाइरहनुभो धूलोमा पोखिएको आफ्नै अनुहार।
यो समय-
शासकको तिनै घरको चौघेरा
चक्कर लगाइरहेछु म
सोचिरहेछु कुन सुरबाट भत्काऊँ?
आप्पा !
यही आँगनमा उभ्याउनेछु म अब
बाँचिरहने तपाईंको पूर्ण सालिक!