~अज्ञात~
इन्द्रको षडयन्त्रमा फस्न पुगेका बिश्वामित्र ऋषी मेनकाको स्वर्ग फिर्तीको कुरा सुन्ने बित्तिकै काखे छोरी शकुन्तलालाई भुइमा फ्याक्दै अनन्त जँगल यात्रा तिर लागे। माथिको घटना शिकारुले बिश्वामित्र ऋषीको बारेमा अध्ययन गर्दा जानेको वा मनन गरेको हो। आज हाम्रो मुलुकमा ठीक त्यस्तै बिश्वामित्रहरुको बिगबिगी रहेको शिकारुले देखेको र भोगेको छ। त्यसो भए आज मुलुकमा बिश्वामित्र को हुन्? किन यिनिहरु आफ्ना पुत्रीलाई छोडेर अनन्त जँगल यात्रामा निस्कने जमर्को गर्दैछन्? यसलाई अली राम्रो सँग बुझ्न र जान्न शिकारुको पूरै लेखलाई पढ्न र बुझ्न आबश्यक छ भन्दै आफ्ना पाठक ब्रिन्दसँग बिनम्र अनुरोध गर्दै कलमलाई अगाडि बढाउन चाहन्छु।
आफ्ना आफ्ना आन्तरिक स्वार्थलाई अस्थायी रूपमा थाती राख्दै सूदूर भबिष्यको सुन्दर राज्यसत्ताको चास्नी चाख्ने एउटै मन्त्रका साथ बार्ह बुँदे सम्झौता गर्ने राजनैतिक दलहरु र सो सम्झौतालाई आफ्नो भूमिमा सम्पन्न गर्न दिने साउथ ब्लकको स्वार्थले आफ्नो औचित्य गुमाउन पुग्दा मुलुकमा बिश्वामित्रको जन्म भएको तथ्य सम्बिधानसभा चुनाब अलपत्र बन्नुले प्रमाणित गरिसकेको कुरा यहांहरु सामू जगजाहेर नै छ।
मुलुकको सम्बिधान सभा चुनाब आज बिश्वामित्र र मेनुका पुत्री शकुन्तलाको जस्तो हुन जानुको प्रमुख जिम्मेबारी को हो?? यस्तो घटना घट्नुको आन्तरिक कारण के हो? यसलाई शिकारु अलि प्रष्ट पार्ने धुनमा सक्रीय भएको छ। परिणाम तपाईहरुले देख्नु र बुझ्नु हुनेछ भन्नेमा शिकारु ढुक्क छ। दोस्रो जन आन्दोलनको सफलता सँगै ठूला ठूला जन प्रदर्शन गर्न सफल माओबादीहरुको अतीमुल्याँकनले गर्दा एमाले ले राखेको हर प्रस्तावहरु गिरिजा बाबु र क प्रचण्डको मिलीभगतमा तुहिने गर्दथे। जस्तो कि राजा र राजसत्ताको भाग्य निर्धारण जनमत सँग्रहबाट गरौं भन्ने प्रस्ताव होस् कि पूर्ण समानुपातिक निर्वाचनमा जाने कुरा हुन्, दीर्घकालिन असर पार्न सक्ने मूल मुद्दालाई थाति राख्दै क्षणिक आत्मरतीमा रमाउने क प्रचण्डको बचकाना राजनितीले गर्दा साउथ ब्लक र व्हाइट हाउसले मुलुकको राजनितीलाई पिलोमा परिणत गरि दिएको प्रचण्डजीले बुझ्दै बुझ्नु भएन वा बुझ्न चाहनु नै भएन ।
अमेरिकी चाहनामा शेर बहादुर देउवालाई स्थापित गर्न असम्भव देखिए पछि अमेरिकीहरु शेर बहादुर मार्फत माओबादीलाई प्रयोग गर्न सफल हुनुले गर्दा एमालेको प्रस्तावहरु तुहिन पुगेको तथ्य क प्रचण्ड र गिरिजा बाबुले राम्रो सँग बुझेकाछन्। जब जब माओबादीहरु खुला राजनितीमा आएका थिए, त्यस समय देख्दा माओबादीलाई लाग्दथ्यो कि काँग्रेस जनतामा बदनाम छ, साथै फुटेको पनि। एमाले मूल सुकेको नदी हो। अब पूरा देश नै माओबादीमय हुनेछ। यस्तै आत्मरतीमा रमाउने क प्रचण्ड को आत्ममुल्याँकन बिस्तारै बिस्तारै भासिन जान थाल्यो जब कि उनका उरन्ठ्याउला ठिटाहरुले सानो गल्ती गर्दा पनि आफैले माफि माग्नुपर्ने स्थिती सिर्जना हुन थाल्यो।
जनता माओबादीको बिचार,सिधान्त र ब्यबहारलाई मन पराएर सडकमा ओर्लिएका थिएनन् दोस्रो जन आन्दोलनमा। उनिहरु हत्या, हिँसा, डर,धाक धम्कीबाट आजित भएर साथै राजा ज्ञानेन्द्रको भाट भटेनी र चौसठ्ठी योगीको बिरालो कुटाईबाट मुक्त हुन मात्र सडकमा निस्केका थिए। यस्तो बस्तुगत राजनितीलाई चटक्क बिर्सिएर गणेशको सवारी हुदा सबै झुम्मिएर मेरो दर्शन गर्न मानिस आए भन्ने गणेशजीको बिचार भए जस्तै (जब कि गणेशको कुरुपता यानि सुँढ हेर्न उपस्थित भएका मानिस आफ्नै सुन्दरता हेर्न उपस्थित भिड ठान्ने गणेश बिचार )जस्तै क प्रचण्डजी को बिचार हुन जानु मुलुकले पाएको राजनितीको एक पाटो हो।
नीती ठिक भएका नियत ठीक नभएका माओबादीका वाई सि यल जस्ताका ब्यबहारबाट पून: जनता दिक्क हुन जानुले माओबादीको “बन्सो मौलाई” राजनिती तुरुन्तै “बुहारी झार” मा परिणत भएको हामी सबैले बुझेकै हो। अन्तत उनिहरुले राम्रो सँग के बुझ्न पुगे भने खुल्ला राजनिती अनुसार बक्सा थाप्ने हो भने उहि २०४८ साल तिरकै स्थितीमा पुगिने थाहा पाउने बितिकै सम्बिधान सभा चुनाबलाई मेनका पुत्री शकुन्तला बनाउन पछि परेनन्। ऋशी बिश्वामित्रले आफ्नै पुत्री शकुन्तलालाई छोडेर अनन्त जँगल यात्रामा निस्कनुको प्रमुख कारण भनेको इन्द्रको षडयन्त्रलाई स्विकार नगर्नु नै हो। इन्द्र बिश्वामित्रको शक्ती बढेको देख्न चाहदैनथे।त्यसैको फलस्वरूप उनको शक्ति क्षण गर्न मेनका मार्फत इन्द्र सफल पनि भएका हुन्।
समग्रमा बिश्वामित्र ऋषी आफ्नै पुत्री शकुन्तलालाई इन्द्रको कपटको रूपमा मात्र लिन्थे र आफ्नो सिर्जनाको प्रतिफल हो भन्ने कुरालाई स्विकार गर्दैनथे। ठीक त्यस्तै आज माओवादीहरु सम्बिधानसभा चुनाबलाई शकुन्तला बनाउदै अगाडि बढ्नुमा दरवारीया षडयब्त्र ठान्दछन्। शिकारु राम्रो सँग के जान्दछ भने सम्बिधासभा चुनाब माओबादी सिदान्त नै हैन, उनिहरु त आफ्नो एकात्मक सत्ता जसलाई मार्क्सबाद, लेनिनबाद , माओबाद र प्रचण्दपथ बाट सञ्चालन गर्न चान्छन्। हात्तीको देखाउने दाँत जस्तै सम्बिधानसभा चुनाब उनिहरुको बाहिरी मुद्दा मात्र हो। यसो हुदा सम्बिधान सभा चुनाब हुनु वा नहुनुले उनिहरुलाई खासै असर पार्दैन तर सिहदरवारको सत्ता प्राप्त गर्न नसक्ने कारणले उनिहरुलाई ठूलो धक्का लाग्नेछ।त्यसैले आज उनिहरु पूर्ण समानुपातिक निर्वाचन र गणतन्त्र भन्नमा पछि परेका छैनन्। अब चाहि बास्तबिक कुरा बाहिर ल्याउन माओवादीहरु द्रिढ भएकाछन्। सांचो र खांटि कुरा के हो भने हरेक राजनैतिक नेत्रित्त्वको महत्त्वकांक्षा भनेको राज्यसत्ता नै हो। अन्य कुरा त मरमसला मात्र हुन्।
बिश्व राजनितीलाई राम्रो सँग अध्ययन गरेका क प्रचण्डले के बुझेका छन् भने सबैले बलेको आगो ताप्ने हुन्, निभेको आगो बाट खरानी सिबाय केहि प्राप्त हुदैन। त्यसैले अहिले उनि आगो बाल्ने र ताप्ने राजनिती गर्दैछन्। तर अन्तराष्ट्रीय राजनितीको शक्ति सन्तुलनले उनको आगो बाल्ने राजनितीमा पानी हालिदिने बातावरण सिर्जना हुन जाँदा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एक सुत्रीय नारा फलाक्न पुग्नु बाध्यता नै मान्नुपर्दछ। सो नारालाई यदि अरुले नमानिदिएमा पून: उनिहरु जँगल पस्ने कुरामा शँका नगरे पनि हुने कुरा शिकारु अग्रिम घोषणा गर्दछ।
अन्त्यमा बिश्वामित्र राजनितीको बिट नमार्ने हो भने मेनका पुत्री शकुन्तला र शकुन्तला- दिश्यन्त पुत्र भरतको महाभारत राजनिती हाम्रो मुलुकमा हुन जानेछ। पूनह ब्रिद्द भिष्म पितामह, अमर अस्वस्थामा, धुरन्धर धनुरधारी द्रोणाचार्य, बचनको पक्का प्रिय कर्णहरुले अमरत्त्व प्राप्त गर्नु पर्नेछ। साथै षडयन्त्र ,जालझेल र कपटबाट थुप्रै अभिमन्यूहरुले देशको लागि बलिदान दिनुपर्नेछ।
अन्धा ध्रितराष्ट्र गिरिजा बाबुलाई बेलैमा सद्बुदी प्राप्त भएन भने पाँच गाउँ नपाएका पाण्डबहरुले पूरै हस्तिनापूर कब्जा गर्नेछन् वा कलियूगको माग अनुसार ध्वंश गर्नेछन्। ध्रितराष्ट्र गिरिजाबाबुले पुत्र दुर्योधनको मोह नत्याग्ने हो भने बिचरा माधब बाबु युद्दको मैदान बाट भाग्दै बिधूर बन्नुपर्नेछ। साथै सम्पूर्ण मुलुकबासीले सञ्जयको भूमिका निभाउनुपर्नेछ। त्यसैले मुलुक र मुलुकबासीलाई बचाइराख्ने हो भने कलियूगका राजनैतिक हस्तीहरुले माओवादी बिश्वामित्रहरुका कुरा सुनिदिने र माओबादी बिश्वामित्रहरुलाई सम्बिधानसभा पुत्रीलाई छोड्ने बाताबरणबाट रोक्ने हो भने बेलैमा गिरिजा बाबुको बुद्दी खुलिहालोस् भन्ने कामना गर्दै साथै मुलुक र मुलुकबासीको शान्तिको इच्छा पूर्ण होस् भन्ने सदिक्षासाथ आजलाई बिदा ।