~भेषराज रिजाल~
केटौले मस्तिष्कमा अमिट बनेका रहेछन्, छिमेकीले सुनाएका नैनीताल, मसुरी, देहरादून र दिल्ली पुगेका सुन्दर संस्मरणहरू ।
महेन्द्रनगर पुगेको मौकामा नैनीताल नियाल्ने अभिलाषा बोकेर एउटा भारतीय ट्याक्सी लिएर हानिएथ्यौँ युवराज गुरागाईं, हेम अर्याल र म । ट्याक्सी चालक थियो नेपालका कुनै न्यायाधीशको भतिजो हूँ भन्ने एकजना मोटे इण्डियन ।
गड्डाचौकी पार गर्दा हाम्रो पछाडिपट्टि सूर्यले अनुहार उठाउँदै थियो । शायद भनिरहेथ्यो, ‘स्वदेशका सुन्दर ठाउँ हेर्न छाडेर कता ?’ मनमनै भनिरहेथेँ, ‘आइहाल्छु भरे, आफ्नै आमाको न्यानो काखमा । सुन्दर भनिएको परदेश हेरे पनि घट्ने छैन ममा स्वदेशप्रेम । आमाको माया यसरी बसेको छ दिलमा, लाग्छ उनीबाहेक अर्को कोही छैन यो दुनियाँमा’ ।
सिमाना रूँघिरहेको जङ्गे पिलरलाई नमन गर्दै अगाडि बढेथेँ जसरी मुलुक जोगाउन प्राणाहुति गरेका बहादुर सेनानीहरूको स्मरण गरिन्छ इतिहासका संगीन मोडहरूमा । मुलुकको स्वतन्त्रता र राष्ट्रिय अखण्डताका लागि ती आफ्नो माटोमा मिल्न तयार भएथे, त्यसैले त सदाका लागि नेपाली आकासमा चम्किला तारा बने । तिनबाट निःसृत प्रकाश छहलिएर अँध्यारामा पनि पथप्रदर्शन भइरहेछ । म एउटा उज्यालो संसारमा पुगेझैँ अनुभूत गर्दछु ।
महाकालीको शारदा व्यारेज तरेर वनबासा, खटिमा हुँदै पानीको विशाल उपत्यका ‘नानक सागर’ को छेउमा रोकिथ्यो गाडी । ताल परिक्रमा गर्न गाडीलाई पनि लाग्ला एकदुई घण्टा । विशाल तालमा तरङ्ग फैलाउँदै सुस्तरी छुन आइपुगेको हावाका भोक्काले मनमा पनि एउटा रोमाञ्चक उत्तेजना फैलाइदिएको थियो । छेउमा राखिएका उरुङ काँचा नरिवल देखाएथेँ साथीहरूलाई नजरका इशाराले । त्यसको पानी पिउन त परको कुरा फर्केर हेर्नसमेत चाहेनन् साथीहरूले । फेरि अगाडि बढिएथ्यो हावासँग बत्तिँदै ।
सितारगञ्जमा पुग्दा भारी बोकेका खच्चडहरू देखिएथे । आँखामा टल्ली बाँधेका टाँगाहरू कुदिरहेथे । युग बदलिएर आधुनिक सवारी साधन भित्रिँदा पनि यिनले उठाइरहनपर्ने पहाड अनि कुदेर र घोटिएरै समाप्त गर्नुपर्ने जीवन ! भारीले थिचिँदा पिठ्युँमा एक्कुवा बसेका घाउ त छँदैछन्, बाली जोगाउने बहानामा उनीहरूकै चरनक्षेत्रबाट धपाउँदासमेत कति मर्माहत भएका होलान् बिचराहरू ? सानो छँदा पहाडी बाटामा घाँटीमा घण्टी बजाउँदै हिँडेका, कतै बिरामी भएर वा लडेर थलिएका गधा, घोडा, खच्चड देखेको सम्झना आउँछ । कठिन गोरेटोमा हिँड्ने अन्तरप्रेरणा जगाउन र बाटामा हिँड्ने यात्रुहरूलाई सचेत गराउन तिनका घाँटीमा झुण्ड्याइएको होला घण्टी, अचेल म अनुमान गर्छु ।
‘मान्छेले गधा खच्चडको आयु थपेर होला, भारी नबोकी सुखै छैन नि !’
‘हामीले पनि अरूलाई नाफा कुम्ल्याइदिन गधाले जसरी बोकेका छौँ त अनेक भारी ।’
खच्चड हामीबाट ओझेल भए पनि विस्मृतिको गर्तबाट ब्युँझिएको अन्तरवेदना छचल्किँदै ठट्टा भइरहेथ्यो हामीबीच ।
‘होची, अर्घेली र पनपच्छे सहँदा सहँदा थिलोथिलो भएको होला गधाहरूको मुटु पनि’, एउटा लामो सुस्केराले सहनै नसकिनेगरी हल्लाएथ्यो मुटु ।
‘गधा इमान्दार भएर काम गरे पनि जस लिने बेलामा अर्कै अघि सर्छ, इमान्दारहरू त सधैँ प्रतिपक्ष जस्तो’ अर्काले थपेथ्यौँ मनको बह ।
‘ठगहरूको जमातमा इमानदार मान्छेहरू प्रतिपक्षमा गनिनु स्वाभाविकै हो’ दर्शन छाँटेजसरी बोलेथ्यौँ कोही । निःशब्द भएथे ओठहरू, स्तब्ध भएथ्यो वातावरण धेरैबेरसम्म ।
‘भ्रष्टाचारी समाउन परे नेपालका विशिष्ट पदमा आसिनहरूतिर हेर्नुपर्ने, कस्तो बिडम्बना ! भ्रष्टाचारीहरूको कठालो समातेर लघार्ने दिन कहिले आउला नेपालमा ?’ प्रतिक्रियास्वरूप एउटा आक्रोश निस्केथ्यो तातो उच्छ्वाससरि ।
चोरगलिया र दानीबंकरपछि हल्द्वानी आइपुग्दोरहेछ । हल्द्वानीदेखि काठ गादोमसम्मको सुन्दर बस्ती देख्दा मैले सम्झेथेँ धरानी भूगोल । लमतन्न फैलिएको चुरे पहाडको फेदीमा लहलहाउँदो खेती झुलाउने फाँट रहेछ त्यो । धेरैजसो गहुँ, तोरी, उखु बाली, आँपका रुख र कतै त फूलका खेतहरूले सुन्दर बनेको थियो त्यो ।
दुवै मृगौलामा ढुङ्गा पालेर यात्रामा रमाउने शायदै भेटिएलान् मजस्ता अरु कोही । अर्को महिना फेरि भिडियो एक्सरे गर्न सुझाएको डाक्टरले पानी खाएरै बगाउनुपर्छ भनेको छ । दैनन्दिनका दौडधूपले झन् बढेझैँ लाग्छ मलाई तिनका आकार । खसिहाल्लाझैँ भएर पनि भीरमा अड्किरहेका एमानका चट्टान हेर्दै अली बढी चस्कने दायाँ कोखा समातेर आफैसँग हाँसेको थिएँ म, ‘टेक्ने अखेटो न समाउने डाली जस्तो भएको गह्रुङ्गो जिन्दगी बोकेर जिन्दगीको उकालोमा लागिरहेको मान्छेले थप दुइटा ढुङ्गा बोक्न के गाह्रो मान्नु ?’
फनफनी घुम्ने पहाडी बाटो उक्लिँदै थियो, रानी खेत, अल्मोडा जाने बाटो छोडियो । गन्तब्यहीन भएर यस्तै सुन्दर पहाडी घुम्तीमा कोही कतै हराएको होला कि नहोला ? यसरी नै सुन्दर घुम्तीहरूमा घुमिरहन पाए कालीप्रसाद रिजाल दाइका शब्द सापट लिएर गुन्गुगाउथेँ होला म पनि –‘यसैगरी बिताइदिन्थेँ दुईदिनको जिन्दगी, …’
सल्लाका छहारीमा एकछिन रोकियो बाटो । चिसो बताससँग सुस्तरी छोइँदै पहाडी बस्तीसँग भुलेको थिएँ म, हृदय बोल्दै थियो, ‘आफैभित्र हिमाल र पहाड बोकेर हिउँ र शिखर नियाल्न परदेशी पहाडतिर किन विरक्तिएको ?’
मनमनै भनेको थिएँ, ‘परचक्रीको हातबाट स्वदेश जोगाउन भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा आदि योद्धा लडेका थिए रे यही भूमिमा । त्यसैले यी बस्ती र पाखापखेरा आफ्नो गाउँघर जस्तै लागिरहेछन्’ ।
एउटा स–सानो फुच्चे बोलिरहेथ्यो धेरैबेर अघिदेखि मसँग, ‘धेरै वर्ष अघिको कथा नालापानीको, …, नसुती चारै प्रहर, खुवैसित लडे रे बलभद्र कुँवर, …’ । निकै जोस्सिएर कविता वाचन गरिरहेको त्यो फुच्चे आफैभित्र समाहित बाल्यकाल रहेछ । बलभद्र कुँवरले स्वास्नीमान्छे, केटाकेटीसमेत लिएर सामान्य हतियारका भरमा अङ्ग्रेजसँग विरतापूर्वक लडेको कविता भाका हालेर पढिएथ्यो चारपाँच कक्षातिर । गला र मनमा बसेको त्यही लय सम्झनाका तरेलीसँग लहरिँदै निस्किएथ्यो स्वस्फूर्तः ।
‘म बाघको डमरू हूँ सिनो खाने कुकुर नसम्झ’ शत्रुलाई दुत्कारेको एउटा गौरवपूर्ण इतिहास जीवित छ हामीसँग, म हर्षले गद्गद् भइरहेथेँ । अङ्ग्रेजको पलायनपछि आफ्नो भूमि फिर्ता ल्याउन नसकेको इतिहास सम्झेर भने मर्माहत भएँ ।
‘यताबाट लघार्दै उताबाट पछारे हुनन् वैरीलाई’, वृद्ध भक्ति थापा लडेर रक्ताम्मे भएका डाँडापाखा र बलभद्रका रक्ताम्मे पयरका निशाना खोजिरहेथेँ ती डाँडापाखामा मैले । थाहा छ, ती भौतिक निशाना भेटिनु असम्भव छ अब । ती मजस्तै नेपालीभित्र जीवित स्वदेश प्रेमका झिल्कामात्र रहन गए अब । तथापि, आँखाहरू दगुरिरहे एउटा अद्भुत कालखण्डको गौरवशाली घटनाक्रम पहिल्याउन ।
तुवाँलोविहीन सफा दृश्यको सानिध्यमा रमाउँदै सुन्दरता खोज्ने तिर्सनाले हिउँ जसरी पहाडी भित्तामा टाँसिएका सेता घरहरू हेरिरहेँ । सोच्छु, यस्तै तिर्सनाले लम्बेतान यात्रा तय गर्दै चलिरहन्छ जिन्दगी अनवरत । क्रियाशीलता, छटपटी र संघर्ष रोज्दै जति लयात्मक रूपमा चल्दछ जिन्दगी, उति सुन्दर लाग्छ त्यो ।
तनको भोक तृप्त भइसक्यो । मनको भोक आँतमै सुक्यो । आँखाको प्यास आँसुले मेटायो । जीवनका रहर, पीडा र छटपटी कहरले बगाए । यो कायारूपी कङ्काल धारण गरेको ‘म’ भने ढल्न चाहँदैन । घस्रिन, हिँड्न वा दौडन गर्नुपर्दोरहेछ निरन्तर संघर्ष । संघर्ष नगरेको भए जीवन उहिल्यै सकिन्थ्यो बगर बनेर । मेरो मनका स्थायी सम्झना उधारेर नियतिले कुरूप छायाँ भर्न खोज्छ । मैले एउटा बाटो रोज्छु, नियति ठ्याक्कै उल्टो गर्न खोज्छ । नियति र मबीच चलिरहेछ संघर्षपूर्ण अविराम दौड तथापि म हार खान्न । गति समातिरहेको यात्रासँग आफ्नो जीवन यात्राको तुलना गरेर मनमनै रमाएको रहेछु म ।
ड्राइभरका घरिघरिका हरकतले भने दाँतमा ढुङ्गा लागेझैँ भइरहन्छ । बुकिङ छुट्ने डरले ऊ घरि मोबाइलमा अल्झिरहन्छ त घरि कुरा गर्दै हुइँक्याउँछ गाडी । ‘केही नहुँदासम्म रोमाञ्चक लाग्छ’, मनमनै भनिरहेथेँ, साथीहरूले भने केबल तीन शब्द सुने होलान् मेरो मुखबाट, ‘ओहो, गाडीको स्पिड’ । आङै सिरिङ्ग हुनेगरी हुइँक्याएर घ्याच्चै ब्रेक लगाउँथ्यो ऊ । ट्राफिक नियमको पालना गर्दैनथ्यो । अरूहरूलाई गुण्डागर्दी पाराले धम्क्याउँथ्यो । घरिघरि सडकमा गुडिरहेका गाडी देखाएर तिनको मोल सुनाउँथ्यो हामीलाई । हामी त्यसको मातृभूमिमा पुगेका पर्यटक हौँ भन्ने पूर्णतः हेक्का थिएन त्यसलाई । हिन्दी फिल्ममा डराईडराई हेरिने खलनायकको जस्तो थियो त्यसको त्रासद व्यवहार ! अनगिन्ति संयोगले भरिएको जीवन यात्रामा एउटा संयोगवश जुरेछ यस्तो ड्राइभर ! हामी जस्ता सबैलाई यस्तै व्यवहार गर्दो हो उसले, झन् खिन्न भएको थियो मन ।
दुईलेनको सडकमा केही ठूल्ठूला र अनगिन्ती स–साना सवारीको ओइरो लागिरहेथ्यो । लाग्थ्यो, उखरमाउलो गर्मी हुने दिल्ली तथा आसपासका क्षेत्रबाट शितल, सुरम्य नैनीतालतर्फ आवतजावत भइरहेछ । ‘सुन्दरता पनि समभोगले बढ्ने कुरा रहेछ’, बाइकमा कुदिरहेका जोडीहरूलाई हेरेर मनमनै भनेको थिएँ मैले ।
विशाल फाँट तलतिर ओच्छ्याएर थुम्काथुम्कीले बनेको चिसो पहाड छोइन आइपुगेथ्यो । त्यसका घुम्ती छिचल्दै जाँदा भर्खरै बर्षिएला जस्तो हुस्सुको टोपी लाएको शिखर बोकेर गह्रा कान्लाको विभेद नगरी एउटा चिसो तलाउछेउमा फैलिएको सहर देखिएथ्यो । नैनीताल हुनुपर्छ यो बोलेथेँ म मनमनै । ‘हाँ, यही नैनीताल है’ मेरो कुरा सुनेझैँ गरी बोलेको थियो, मोटे ड्राइभर ।
पहाडको फेदीमा तैरिरहेको थियो हरियो ताल । चिसो लागेर थलिएझैँ तालमा घिस्रिरहेका थिए केही डुङ्गाहरू । नजिकै पहाडमा खसिरहेथ्यो हिउँ । भित्तामा बनेका संरचना र हिउँको रङबीच तालमेल भइरहेथ्यो जसरी नियाल्ने आँखा र पर्गेल्ने मन–मस्तिष्कबीच बातचित भइरहेछ मभित्र ।
गोविन्दबल्लभ पन्तको सालिक उभ्याइएको रहेछ तालछेउमा, जसरी इमान्दारलाई किनारमा साक्षी राखेर अपराध गर्छ दुनियाँ । योद्धाहरूका इतिहास लेखेर, सालिक बनाएर उनीहरूकै दुर्व्यहार गरिन्छ दुनियाँमा । लाग्थ्यो, मूर्तिमा रूपान्तरित उनी सहरका यावत विसंगती हेरेर बोल्नै नसक्ने भएका छन्, सुन्दासुन्दै कोलाहल सुन्नै नसक्ने भएका छन्, नत्र त्यत्रो जिउँदो जाग्दो शरीरले थर्काउनुपर्ने हो यो सानो सहर !
तालको छेउमा रहेछ विशाल प्राङ्गण । त्यसको छेउमा रहेछन् नयनादेवी मन्दिर, जामा मस्जिद, घण्टाघर, अमर उजाला प्रकाशन गृह, … । छेउमै एउटा तारमा सर्किरहेथ्यो केबुलकारको बट्टा । केही ट्याक्सी पहाडतिर उक्लिरहेथे । हिउँ फुस्फुसाइरहेका पहाड हेर्न एउटा ट्याक्सी लिएर उक्लिन लाग्यौँ हामी पनि । जसै उत्तराञ्चल हाइकोर्ट पार भयो, विपरिततिरबाट आएको अर्को ट्याक्सीको ड्राइभरलाई हामी चढेको ट्याक्सीको ड्राइभरले झण्डै कुटौँलाझैँ गरी गाली गर्यो । अर्कैलाई भनेका भए पनि त्यसका अपशब्दले कताकता दुखेझैँ भयो । लाग्यो, सभ्यता र संस्कारबिना पर्यटन विकास असम्भव छ ।
फुस्फुसाइरहेको हिउँमा पुगियो । कम उचाइमै परिरहेथ्यो हिउँ । त्यहाँको उचाइ करिब पच्चीस सय मिटर होला भन्दै थिए भुक्तभोगीहरू । हिउँमा लडिबुडी खेलिरहेका, हिउँ हातमा लिएर पोज दिइरहेका, हिउँछेउमा खानेकुराको व्यापार गरिरहेका अनेक आकृति हेर्न छोडेर तल भुइँमा सुतिरहेको तालतिर नजर लगाएथेँ मैले । माथिबाट हेर्दा हरिया डाँडा र बस्तीले घेरिएर झन् सुन्दर देखियो त्यो । त्यसलाई आँप आकारको छ भन्दै थिए कोही । मैले भने आँखा आकारमा प्रत्यारोपण गर्दै त्यसको नाम सार्थक ठानिरहेथेँ, नयनताल वा नैनीताल । त्यो मेरै आँखामा राखे पनि नबिझाउने लागेर खिचेथेँ अनेक पोजमा मैले पनि ।
आफ्नो मुलुकमा यस्तै हिउँ थुप्रिएका पाखामा तीनचार घण्टा एक्लै हिँडेको छु तर यहाँ भने धेरै टाढा जान मन लागेन । जम्न थालेपछि रम्न कठिन हुँदोरहेछ । स्वदेशी हिउँ संसारमा पुगिएको भए रमिरहन्थ्यो मन, छोडेरै हिँड्न नसकिनेगरी । तब, मनमनै अनुभूत गरेथेँ स्वदेश प्रेमको भुकभुके ।
डाँडाबाट फर्किएथ्यौँ छिटै । फर्कँदा छिपछिपे पानी जमेको एउटा पोखरीलाई देखाउँदै ड्राइभर भन्दै थियो, ‘सुख्खा ताल’ । मैले मनमनै भनिरहेथेँ, कहाँ नेपालका रारा, तिलिचो, फेवालगायतका तालहरू त कहाँ नैनीताल ? अझ घिनलाग्दो पोखरी पनि गणना भइरहेछ तालमै । राम्ररी प्रवर्धन गरे नेपालमा यस्ता हजारौँ सम्भावनाहरू छन्, अनि छ, अतिथि सत्कारमा समर्पित नेपाली संस्कार पनि । केबल अभाव हो मुलुक डोर्याउने सही नेतृत्वको । बाधक हो त ‘न गर्ने न बाटो छोड्ने’ भएर तेर्सिएका प्रवृत्ति । म झन् चिन्तित हुन्छु ।
एकदिने घुमफिरका लागि निस्केका हामी फर्कन थाल्यौँ । बजारको गेटले ‘सरोवर नगरी नैनीतालमा पुनर्आगमन प्राथर्नीय छ’ विदाइको हात हल्लायो । एकेकवटा हेड मसाजर र केही दाना सुन्तलताबाहेक केही नकिनी तुरुन्त फर्कन लागेका हामीलाई समेत त्यसले साधुवाद टक्र्याउँदै अनुनय गरिरहेथ्यो, ‘फेरि आउ है’ ।
स–सानो ताललाई सिंगारेर त्यसको वरिपरिको पहाडी भू–दृश्यको उपयोग गरी पर्यटन प्रवर्धन गरेको उपदेशात्मक यथार्थसमेत स्वीकार गर्दै नैनीताललाई हात हल्लाएको थिएँ मैले पनि, ‘हुन्छ, यी डाँडाभर छपक्क हिउँ पर्दा आउनेछु फेरि कुनै दिन, जोगाएर राख तिम्रो उर्वर हिम संसार’ !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )