~प्रकाश आस्था~
‘हैन हे, हस्पिटल नै लानुपर्ने गरी कुटाकुट पो भएछ त।’ थुम्कोका चियापसले शम्सेर दाइले तराजुमा ढक राख्दै मंगलेसामु चासो जाहेर गरे। खासमा कुरो साँध सिमानाको रहेछ। पाखाथोके कान्छो र साँइलोको गत शुक्रबार साँझ खेतको सिमानाको विषयमा हात हालाहालै भयो। देख्नेहरु भन्छन् , ‘दुवैले सकेसम्म एकअर्कालाई भकुरे। साँइलाले त कोदालाको बिँडले नै पो हान्यो रे त।’ पछि सरस्वती ग्राम प्राविका शिक्षक परशुराम यादव आएर छुट्याए रे। मंगले चिया सुरुप्प पार्दै बोल्छ, ‘हो शम्सेर दाइ, मैले पनि देखेको थिए माथी चौताराबाट। बोकाएरै लगेका छन् कान्छो काकालाई आज विहान अस्पताल। शुक्रबार कुटाकुट भाको, आज मंगलबारको दिन भो। केस ‘सिरेस’ होला जस्तो छ।’
टुप्लुक्क टुप्लुक्किए उखाने लामा। उखानतुक्का मिसाएर गफ हाल्न सिपालु सिंहबहादुर लामाको नाम कालान्तरमा उखाने लामा भो। ‘आ….’ पसलभित्र छिर्दानछिर्दै लेघ्रो तान्दै बोले उनी, ‘अंशको झगडा बंश भएसम्म।’ घेवा, अर्घो, छेवर, बिहेबर्तुन र अन्य सामाजिक अवसरमा गाउँमा जोसुकैका घरमा कहिल्यै कतै नछुटने यी ‘अजम्मरी बुढा’ डाँडोको यो पसलमा झुल्किएपछि डाँडाको ताल नै अर्कै हुन्छ। स्वादे गफमा गफिन सौखिन बुढाले नब्बे बशन्त काटिसके। तैपनि उस्तै तगडा। नौरंगी गफ गर्ने बुढाको सान र रवाफ बेग्लै। उखाने भन्छन् , ‘कौमदी पढेका बाहुनलाई समेत खान्छु भाषा साइत्तेमा। म तमाङ भनेर हुन्छ र?’ हुन पनि गाउँका कुनै पण्डितले समेत बुढालाई नसक्ने। यिनलाई देवकोटाका मुनामदन कण्ठस्थ थियो। भानुभक्तको रामायण आदीसरो आउँथ्यो। धम्मपद र त्रिपिटकका क्रृचाका ज्ञान भएका गुनिला यी लामा यतिखेर कुराको चुरो समात्दै बोल्छन् , ‘माने, मरेर के लानु छ र। के भएको यी पाखाथोकका दाजुभाइलाई?’
दिन विस्तारै ओइलाउँदो छ। शम्सेरको पसलको बाटो हुँदै मान्छेहरु उकालो लाग्ने क्रम बढ्दो छ। पसलमा चिया, मसला, चिउरा, नुनचिनी र अन्य खिच्रीमिच्री किन्नेहरु बढ्दो छन्। डाँडाको यो पसलले दुई दशकको चौडा इतिहास पार गरेको छ। सदावहार शम्सेर दाइको पसल। सधैँ सफेद पहिरनमा ठाँटिने हँसिला सबैका प्यारा ‘शम्सेर दाई।’ मिस्रीको डल्लो ढकमा राख्दै शम्सेर बोले, ‘खेतको आँठोको विचमा एउटा खर्सेताको बोट छ रे। हेर्नुस् है, मैले त यो कुरो चन्द्रदेव शुवेदी सरबाट सुनेको। दुवै भाइले खर्सेताको बोट मेरो भनेर दावी गर्दारहेछन्।’ झगडाको कारण एउटा बुटो रहेछ। उखानेले थपिहाले, ‘माने ..आँठोको गाँठो, के ल्याइस् लाठो?’
एउटा मामुली घाँसको बुटो झगडाको कारण भइदिन्छ। त्यसमाथी उति पढेलेखेको पाखाथोके कान्छो। गाउँमै रहेरै पनि स्नातकसम्मको अध्ययन भ्याइसकेको कान्छोको कमाइ कुस्त छ। ठेकेदारी गर्छ। साइँलोलाई पनि नपुग्दो के छ? गाउँमा सडकबाटो आएपछि उसका पनि दिन फिरेका छन्। छोरी सरकारी जागिरे। बेमौसमी तरकारी खेती गरेरै वार्षिक लाख हाराहारी कमाउँछ। तर पनि आरिस र लोभ गंगाजस्तै नटुंगिने रहेछ। भाग र वण्डाको माम्लो नै महंगो। शायद यो मानविय प्रवृत्ति नै पो हो की? तर मानविय प्रवृत्ति नै यही हो भनेर पार पाउँछौँ र हामीजस्ता चेतनसिल प्राणीले?
जगत सबैको हो। त्यो आकाश भाग लाउन मिल्छ? चन्द्रमा कसको? बुध? मंगल? ती अनगिन्ती तारा? अनि सम्पुर्ण ब्रम्हाण्ड? यो हावा? यी आकाशमा वेपरवाह कावा खाने चराहरु कसको सम्पती? हामी हिड्ने बाटो कसको? तर पनि मान्छे छोटो अस्तित्वमा नै धेरै कुराहरु भाग लगाउन खोज्छ। एउटा खर्सेताको बुटो। ‘यी मेरा, यो मेरो। मेरोमा अरुको हकदावी र स्वामित्व हुनुहुन्न।’ यसले के गरेको छ? उही बैमन्यष्यता, द्धन्द्ध र हिंसा। ‘बसुधैव कुटुम्बकम्’को पुर्विय आह्वान कहिले सार्थक होला?
‘माने, ठ्याक्कै हो।’ केही सम्झझैँ गरी शम्सेरलाई चार कप चियाको जंगी उर्दी जारी गर्दै उखाने बोले, ‘यो संविधान बनाउने कुरो जो देशमा भइराछ, ठ्याक्कै त्यहि हो।’ बुढाले जतापटिबाट पनि राजनितीकै कुरा निकाल्छन् झैँ भावमा उपरखटि्ट लगाएर काठको मेचमा बसेका साहुजी शम्सेर मुसुक्क हाँसे। पसलबाहिर आइपुगेका रहेछन् चन्द्रदेव सुवेदी सर। सरस्वती प्रावीका चार दशकदेखीका शिक्षक।
‘उखाने दाईको गर्जन पारी डाँडाबाटै सुनेकोले यता आएको। के हो कुन्नी ‘ठ्याक्कै हो’ भन्दै हुनुहुन्थ्यो। कुरो के हो लौ भनिहाल्नुस्।’ चन्द्रदेब सरले ढाका टोपी फुकाल्दै बोले, ‘कस्तो गर्मी भो हँ।’ अब भने खास्सा भयो पसलको माहौल। कुरोमा ‘चाइन्जो’को फुँदो जोड्दै मंगले बोल्यो, ‘लौ भनिहाल्नोस ए उखाने बा। त्यो ‘ठ्याक्कै’ भन्या के हो त?’
उखाने बोले, ‘माने, देश बनाउनु र घर बनाउनु एकै हो हेर्। सबैका मत मिले पो मस्ताराम। अहिले संविधान बनाउने कुरो जो भइराछ देशमा, त्यसको कुरो पनि यहि हो। साइँला र कान्छाको जस्तै झगडामा छन् हामीले भोट हालेका पाटी र तिनका ‘मुख्खे’हरु अहिले। मेरा गोरुका बार्है टक्का गर्दैछन् तिनीहरु। उतीबेला हाम्ले त्यस्ता दुखले चुनाउमा जिताएर पठायौँ। दुक्खका कुरा।’ चिया आइपुग्यो। चियाको गिलास सम्ाात्दै मंगले बोल्यो, ‘अनि यो आँठो र सिमानका कुरा चाहीँ कहाँनिर आयो त ए उखाने बा?’
‘हैन ए तैँले कति पढेको रे?’ चिया सुरुप्प पार्दै उखाने जंगिए, ‘कखरा नास्ती, गुरुबालाई सास्ती भनझैँ। मैले तलाई कतिचोटी भने ए। देशमा चलिरहेको संघियताको बहस जो छ , त्यो पनि यस्तै यस्तै भाग लाउने कुरा हो…। किन्तु योचाहीँ विकाशका लागी सजिलो पार्न र आफ्नोपनाका लागी देशलाई भिन्नभिन्न प्रदेश र प्रान्त बनाउने कुरा हो।’
‘लौ मनकै कुरो बोल्नु भो दाई। म बुढो मास्टर भइखाएर पनि यतातर्फ सोचेकै थिइन। यो संघियताको कुराले पनि कतै यि दुवै भाइको झगडाले झैँ देश फेरी बर्वाद हुने त होइन?’ , चन्द्रदेव सर बोले, ‘एउटा एकिकृत देश हुँदा त यो हंगामा छ। अनेक भागमा देशलाई बाँड्दा, कतै?’ यी दुई प्रौढको चासो र चिन्ता वास्तवमै अब्बल थियो।
बहसको विचमा थपिएको थियो हर्के। ठुस्स जाँड गनाएको उसलाई त्यो नसाले छ्वास्स छोएझैँ लाग्थ्यो। हल्का लर्बराउँदो स्वरमा माहौललाई विथोल्दै बोल्यो उ, ‘लौ भन्नुस् , त्यो जाबा चुनाबले हाम्लाई के दियो? भन् त मंगले, के दियो? के खान दिन्छ त्यो के के सभा रे? जे सुकै होस्। त्यो सभासभाले केही गर्दैन।’ उसले संविधानसभा भन्न खोजेको थियो। शम्सेर दाइले गौर गरेर आँखा तरेकाले हर्के चुप लाग्यो।
कायाले मात्र होइन, कर्मले समेत पाका उखानेसँग विवेकी तर्कको कमी थएन। अन्ततर्मनले बोलेको कुरा बाणीमा उतार्थे, ‘ माने, चन्द्र गुरुको कुरा सोर्है आना मनासिव। देशलाई भिन्नाभिन्नै प्रान्त र प्रदेश बनाउँदैमा सब ठाकठुक हुन्छ भन्ने कुरो त कसले मान्ला? त्यो त म पनि मान्दिन तर…’ बुढा रोकिए, ‘तर स्थानिय स्तरमा आफ्ना, सँस्कृति, पहिचान, श्रोत र साधनको परिचालन गर्न त्यहीँका मान्छेलाई विशेषाअधिकार दिइनुपर्छ भन्ने संघियतावादीहरुको कुरो भने मलाई मनासिव लाग्छ। यहाँलाई…..।’
यतिखेर भने अघिसम्म मौन शम्सेर दाई समेत बहसमा गम्भिर ढंगले सहभागी भए। शम्सेरका तर्क यस्ता थिए, ‘संविधान नभएकै कारण मात्रै हामी नेपाली गरिवीको सुचीमा अगाडी परेका हौइनौँ। बेलायतमा लिखित संविधान छैन। संघसंघ भाग नलागेकै कारण हामी विकाशमा ढिला भएका हौँ र? संघियता नभएका देश धेरै छन् विश्वमा। त्यसकारण यो मात्रै राजनितीकर्मीको जनता बराल्ने नारा हो। जनतालाई जे भए नि उस्तै, जो आए नि उस्तै।’
सरल शम्सेर केही उत्तेजित देखिए। वास्तवमा शम्सेरको तर्कमा केही दम अवश्य थियो, छ। तर पनि राजनितीप्रतिको उनको वितृष्णा र आवेगलाई त्यहीँ रहिरहन दिँदा पनि देश त बन्दैन, झनै भताभुंग हुन्छ। र, आजको नेपालको कुरा गर्ने हो भने जो कोही नेपाली पनि यो वास्तविकताबाट भाग्न मिल्दैन कि हाम्रै कुसलताले या अथवा अदक्षपनाले आजको स्थिती आइपुगेको हो। विश्वसँग प्रतिस्पर्धी देश बनाउन, विश्वनगारिकसँग कुममा कुम मिलाएर हिँड्ने नागरिक बन्न हामीले नै अब चितुवाको गति समात्नु छ। कमिलाको एकता, धैर्य र अठोट बोक्नु छ। संविधान बनाउनकै लागी नागरिकको उत्रो धन, ज्यान र परिश्रम खर्चिइएको छ। अब संविधान निर्माणको यो महायज्ञ सम्पन्न नगरी त कसले पो राहत पाउला?
यो राजनैतिक मन्थनको माहौलामा हर्केको ‘आल्कोहालिक डिस्टब्यान्स’ बेलाबेला दोहोरिन्थ्यो।
‘ऐ शम्सेर , तँ मुला जन्मदा त म गोरु जोत्ने लाठो भइसकेको थिएँ। सुन कुरा।’ बुढाले संविधान निर्माणको बारेमा भट्याए , ‘ माने , कुनै पनि कुरालाई एकपक्षिय कोणबाट हेर्नु हुँदैन। हाम्रो गेम्मो डाँडाको गुम्बामा पनि त चार ढोका छन् नि। एउटा ढोकाबाट हेर्दा बुद्धको चेहरा, अर्कापटिबाट हेर्दा बुद्धको ढाड। सबैकुरा त्यहि हो। अहिलेसम्म इतिहासमै नेपाली जनताले आफ्नो संविधान कहिल्यै लेख्न पाएका थिए? थिएनन्। अहिले चानस मिल्या छ। एतिखेर जनताले आफैँले आफँैलाई सार्वभौम घोषणा गरे। संविधान बनाउने कुरो त्यही अधिकारको प्रयोग होइन? यो अनमोल प्राप्ति हो। हो संघियताको सवाल एउटा गम्भिर सवाल हो, त्यसमा त अझै छलफल हुनु जरुरी छ। ‘
चन्द्रदेवले थपे, ‘हो, तर समय घर्कन लागिसक्यो त। अब त कति नै महिना बाँकी छ र संविधान बनाउने म्याद सकिन? खोइ त यि दलहरु गम्भिर भएका? संघियताकै सवालमा यिनीहरु मतैक्य छैनन्। सवैका आआफ्ना डम्फु।’
पसलमा झुल्किए पर्शुराम यादव सर। बोले, ‘जयरामजीकी।’ उनैसँग कुरा राखे उखाने बुढाले, ‘लौ थपिदिनुस् मास्टर साप, यो संघियताको कुरो…।’ उनी अन्कनाए। ‘मैले यहाँहरुको जो गफै पुरा सुनेको छैन त कहाँबाट शुरु गरुँ? किन यस्तो फसादमा पारिदिनुहन्छ?’ अनि बोल्न थाले, ‘मलाई संघियताको कुरो सोध्नुहून्छ भने म केही कुरो राख्छु। सुन्नुस्। भारत पनि त संघिय मुलुक नै हो। म जन्मेको बारा जिल्ला जो छ, त्यसको सिमानामै जोडिएको देश हो भारत। तर के भारतका सबै संघ समृद्ध छन्? सम्पन्न छन्? त्यहाँ गरिवी छैन? त्यस्तो होइन। मैले नजिकै दखेको कुरो बोलेको। म पढाउने शिक्षक, मैले जानेको यत्ति हो। होलान् अरु देशहरु जसको भुगोल, जनशंख्या, जमिन जटिल र विशाल भएका कराण उनीहरुले संघिय व्यवस्था रोजे होलान्। तर म भनु? संघिय व्यवस्था सबै कुराको दवाई होइन। फेरी जातिय र क्षेत्रिय आधारमा संघ नभई नहुने खालका जो कुरा छन् , त्यो उति वान्छनिय लाग्दैन।’ यति भनेर टेबलमा रहेको करुवाको पानी सिनित्त पारे र पर्शुराम सर बोले, ‘लौ शम्सेर दाई, नास्ता बनाइहाल्नोस्।’
अल्छे मंगलेले लाज पचाएर बोल्यो, ‘पर्शुराम सर आउनु भो र नास्ता पाक्ने भो। लौ शम्सेर दाई , पर्शुराम सरकै तर्फबाट मलाई पनि नास्ता है।’ ‘आज पनि यो मंगलेले फेरी सित्तैमा खाने भो’ भन्ने भावमा देखिए पर्शुराम सर। बरा, प्रावी शिक्षक। त्यसमाथी कमाई एक्लै खान पाउनु होइन। एक छोरा र श्रीमतीलाई उता मधेसमा पनि पैसा पठाउनै पर्यो। फेरी सरको बानी कस्तो भने कसैले खाउँ भन्दा नाईँ भन्न नसक्ने।
खुइय सुसेल्दै उखाने बुढाले गफलाई गति दिए, ‘माने, दुवै सरको कुरा ठिक। तर कर्णालीजस्ता अंचल जो राज्यबाट सधैँ उपेक्षित छन् , तिनलाई भने यो संघिय व्यवस्थाले फाइदै गर्छ क्यार। तर..’ रोकिएर बुढा बोले, ‘संघियता चाहिने, नचाहिने, कस्तो खालको व्यवस्था ठिक हुने भन्ने कुरोको ठेगान पढेगुनेका र देश खाएकाहरुले लगाउने कुरो।’ अनि झल्याँस्स भएझै गरी बुढा बोले, ‘लौजा… के गर्न हिँडेको…गफैमा भुल्यो। उता भोलीको धान काट्ने मेलो छ। खेताला खोज्न हिँडेको वर्वादै भो। लौ म त हिँडे। जब पर्यो राती अनि बुढी ताती।’
हिँड्दाहिँड्दै बुढाले औँलो ठड्याए, ‘तर एउटा कुरो….अरुलाई जिस्काए नि जातलाई नजिस्काउनु भन्छन्। सयभन्दा बढि भाषा र जात भएको यो देशमा जातैपिच्छे राज्जे बनाउने कुराचाहीँ मलाई पनि नसुहाउँदो लाग्छ। बुझ्यौ?’। बुढाले घर फर्कने निधो गरे। घर फिर्न सल्लेभीरको छोटो ओरालो ओर्लनु पर्थ्यो। बाटामा गाईबाख्राका हुल र तिनका गोठाला, मेलाबाट फर्केका खेताला, घाँस र सोत्तर बोकेर उकालिएका घँसियाहरु भेटिन्थे। उता डाँडापारी डुब्नै लागेको घामको पृष्ठभुमीमा बरचौतारीका बोट अप्रतिम सुन्दर देखिन्थे।
सन्ध्याको सितलतामा बुढालो बाटामा एउटा युगल जोडीको स्वर सुने, ‘ङाला माया आरु आइन, म्हेन्दो राडबा, एभन्दा नक्कले खाना याङबा?’ (मेरो माया अरु होइन, फुलजस्तो, तिमीभन्दा नक्कले कहाँ पाउनु?) बुढाले मनमनै मायाको यो गीतलाई पनि देशसँगै जोडे। सोचे, ‘यो जोडीको प्रेमजस्तै मेरो देशमा रहेका सबै जातजातीका दाजुभाइदिदीबहिनी सधैँ हाँसिरहुन्।’ रौसै बुढालाई गीतले छोएछ क्यार, गुन्गुनाउन थाले, ‘ङाला माया आरु आइन् …’
December 19th, 2009
(स्रोत : Mysansar.com)