~सुन्दर मानन्धर~
खरानी रङ्को झोला थाप्लोमा भिरेकी, हरियो–कालो मिसिएको प्लास्टिकको झोला हातमा बोकेकी एक वृद्धा परबाट आइन् । मैले बसको झ्यालको सिसा खोलेर पृथ्वीचोक÷लखनचोक वरिपरिको मोटरगाडी, मान्छे र पसलहरु हेरिरहेको थिएँ ।खलासीले बसको चाकमा हातले ड्याम–ड्याम हिर्काउदै स्याङ्जा है स्याङ्जा भन्दै यात्रुहरुलाई आकर्षित गरिरहेका थिए ।बस गुड्ने तरखरमा थियो–
ती वृद्धा बसभित्र छिरिन् । बसका प्रायशः सिटहरु भरिसकेको थियो । यद्यपि केही सिटहरु भने खाली थियो । म बसेको सिटको अर्को नम्बर खाली थियो ।
“यो सिट खाली छ ?”
“छ ।”
“मलाई झ्याल चाहिन्छ, तिमी यतापट्टि बस है बाबु !”
आज्ञाकारी बालकझँै बनेर ती वृद्धालाई झ्यालतिरको सिट छाडिदिएँ ।
लामो सुस्केरा छाड्दै दुवै झोला काखमा राखेर सिटमा थ्याच्च बसिन्– वृद्धा ।
“कहाँ पुग्ने हो आमै ?” मैले सोधेँ ।
“स्याङ्जाभन्दा अलिपर राङ्खोलासम्म हो बाबु ।” वृद्धाले निधारको पसिना पुछ्दै जवाफ दिइन् ।
बसले गति लिन थाल्यो ।
“तिमी कहाँसम्म हो त बाबु ?”
“त्रियासीसम्म जाने हो आमै ।”
यतिबेलासम्म बस पोखरा विमानस्थलको तेर्सो बाटोमा बेतोडसँग गुड्न थालिसकेको थियो ।
उड्न लागेको जहाजलाई झ्यालबाट फर्की–फर्की हेरिरहिन् ती वृद्धाले ।
छोरेपाटनपछि बस घुम्ती नै घुम्तीको सिद्धार्थ राजमार्गको छातीमाथि कुदिरह्यो ।
अनगिन्ती घुम्तीहरु, वरिपरि छरिएर रहेका बस्तीहरु, पहँेलपुर धानबालीहरु, साना–साना वन–जङ्गलहरु, खोलानालाहरु– दृष्यहरु नदी झै बग्दै गयो, फेरिदै गयो क्रमशः ।
भालुपहाड, नागडाँडा, स्याङ्जा क्रमशः टाढा हुदै गए ।
राङखोलामा ओर्लिइन् ती वृद्धा ।
बगालथोकतिर पुग्दा यसो हेरेँ– हरियो–कालो मिसिएको प्लास्टिकको झोला ।
सम्झेँ ती वृद्धालाई । विचरी !
त्यो प्लास्टिकको झोलाभित्र केही पुराना कपडाहरु र त्यसैको चेपमा एउटा कापी थियो । गाढा रातो र पहेँलो आधा–आधा मिसिएको उक्त कापीलाई डायरी भन्न मिल्ने किसिमको थियो, बाहिरपट्टि अङ्ग्रेजी भाषामा टि.आर. लेखिएको थियो । पाना पल्ट्याउदै जाँदा तेस्रो पानामा एउटा शीर्षक दिइएको–
२०३३ सालको पहिरो र मेरो जीवन
अवश्यम्भापवनोभाव भवन्ति पाहिमामपि नग्नत्वं निलकाठस्य शेषायि शयनम् हरे अर्थात् हुने कुरा अवस्य पनि नभै छाड्दैन जसरी भगवान शिवजी नाङ्गो हुनु पर्ने, विष्णु जलमा शपन गर्नुपर्ने नियति नै हो ।
म छक्क परेँ । कापीका पानाहरु सरसर्ती पल्टाउदै जाँदा यस्तो लाग्यो– यो त्यही वृद्धाको आत्माकथा हो ।
दुई दिनपछि पोखरा फर्किहाल्नु पर्ने हुनाले मैले उक्त प्लास्टिकको झोला आफैसँग लिएर जाने निधो गरे । पुनः पोखरा फर्किने क्रममा राङखोलामा ओर्लेर बुझाइदिने विचार गरे ।
घरमा पुगेँ । साँझ प्लास्टिकको झोलाबाट कापी झिकेँ, पढ्न थाले–
+ + +
निलो आकाश, आकाशमुनि अग्लो डाँडो, डाँडोको तल धुम्साइलो जमिन, केही सानो वनजङ्गल, उत्तर–पश्चिमतिर डाँडाको थुम्कोमा चण्डीकालिका देवीको मन्दिर, तल–तल एकनास निःशब्द कुदिरहेको आँधीखोला, आँधीपारिको भर्खरै खुलेको मोटरबाटो र अग्ला–अग्ला डाँडाहरु, सुनसान प्रकृति– मेरो घर र त्यहाँबाट देखिने दृश्य वर्णन हो यो ।
गाँउ नै भएपनि निकै ठाँटको थियो हाम्रो घर । ढुङ्गामाटाका गाहृाले बनेको, तीन तलाको, कौसीसहितको र घरको दुवै छेउतिर दुई–दुई तलाका ४ वटा कोठाहरु– घर निकै आकर्षक थियो । घर छेउमा वस्तुभाउ राख्न बनाइएको धन्सार, चारैतिर खाबो गाँडेर बनाइएको खरको छानो भएको मन्दिर समेत थियो ।
माघको आधाआधी हुँदो हो– हाम्रो घर र तल बग्ने आँधीखोला चारैतिर बाक्लो कुहिरो लागेको थियो । बिहान आँधीको मन्द सुसाइसँगै चिसो सिरेटो चलिरहेको थियो ।
करिब सात बजेतिर सेतो झोला कन्दनी झँै भिरेर एकजना मानिस घरमा आए । घरसँगै खरको छानो भएको मन्दिरमा ओछ्याइएको गुन्द्री र गुन्द्रीमाथिको काम्लोमा बस्दै उनले भने– “ल है म आएँ ।”
थाहा पाएँ– उनी गोपीकृष्ण पण्डित रहेछन् ।
“नमस्कार ! ज्योतिष बा ! ढोग गरँे है ।” शिरमा टोपी, शरीरमा कमिज र पटुका बाँधेका, छुस्स सेतै दाहृी फुलेका, पचासको हाराहारीको एकजना सदस्यले ज्योतिषीलाई स्वागत गरे ।
परिवारका सबै सदस्यहरु त्यहाँ जम्मा भए–
परिवारका सबै सदस्यको चिना जम्मा गरियो ।
ज्योतिषीले सबभन्दा पहिले घरमूलीको चिना हेरे– नेपाली कागज बाँसको ढुङ्ग्रो जस्तै बेरिएको थियो, त्यसलाई सरसर्ती फुकाए र श्रीगणेशाय नमोः भन्दै चिनो खुट्याउन थाले–
“……भन्दै गयो ज्योतिषी– ओहो ! परिवारका सारा सदस्यहरुलाई त नराम्रो साढेसातको दशाले पो घेरिएको रहेछ ।”
“के गरे यो दशा तर्ला त ?” घरमूली चिरञ्जीवीले सोधे ।
“कर्ममा लेखेर आएको त भोग्नै पर्छ नि, शास्त्रले भन्छ– जन्म, आयु, धन, विद्या र मरण यी पाँच थोक जन्मजात हुन्छन् ।” ज्योतिषीले शास्त्रको तर्क अघि सारे ।
“कस्तो दशा हो साढे सातको, भन्नोस् न ।” डर र उत्सुकता मिसिएको अनुहार र स्वरमा चिरञ्जीवीले भने ।
“हेर चिरञ्जीवी ! तिमीले तुरुन्त जेठा छोराको बिहे गरिदेऊ, अन्यथा तिम्रो सम्पूर्ण परिवारको मृत्यु हुनेछ, जेठो छोरो र बुहारीबाहेक वंश नै विनाश हुनेछ, त्यसैले जतिसक्दो चाँडो बिहे गरिदेऊ ।”
+ + +
यसरी म त्यो परिवारको रक्षा गर्न, वंश–नश्ल जोगाउन बुहारी बनेर भित्रिएकी रहिछु ।
+ + +
बिहे गरेर म त्यो घरमा भित्रिदा सासु, ससुरा, दुई देवरहरु, एकजना नन्द, मेरा श्रीमान् र म गरी सात जनाको परिवार थियाँै । मेरा ससुराहरु चारभाइ थिए, बूढीसासू कान्छा छोरासँग बस्थिन् । मेरा ससुरा चाँहि जेठा थिए ।
म बुहारी बनेर आएपनि त्यो घरमा उतिसारो बुहार्तन सहनु परेको थिएन मै ले । सासूले मलाई छोरीलाई जस्तै माया गर्थिन् । त्यो पुरानो समयमा पनि सासूबाट त्यति धेरै माया पाउनेहरुमध्ये म पनि थोरैमा एक भाग्यमानी नारी थिएँ ।
+ + +
शायद त्यो घरको रक्षार्थ खटिएकी थिएँ म, मलाई केही भइहल्यो वा म त्यो घर छाडेर अन्तै कतै गइहाले भनँे त्यहाँ विघ्नबाधा आउन सक्थ्यो, अनिष्ट हुनसक्थ्यो– बुहारीप्रति गरिएको माया यसैले रहेछ ।
+ + +
भदौको पहिलो सप्ताह– आइतबारदेखि झरी पर्न थाल्यो ।
सासू आमाले भनिन्– “यो आइतबारदेखि सुरु भएको भदौरे झरी रोकिन्न पार्वती, आज तऽऽऽऽल फाँटको खेतको धान गोड्न जानुपर्छ ।”
पानी दिनभरि दर्किरह्यो । स्याखु ओडेर भएपनि काम गरिरहेँ ।
झ्याउझ्याउझ्याउ…. झ्याउकिरी बासेपछि सबै घरतिर लागे ।
तल आधीँखोला उत्पातसँग उर्लेको देखियो । माथि कतातिर पहिरो गएछ खै ! नदीले ठूला–ठूला रुखहरु बोकेरै रातो हुँदै बग्न थाल्यो ।
“के सारो परेको हो यो कुकुरको मूत पनि, आकाशै खस्ला झँै गर्छ । यस्तो पानी परेको, यसरी लगातार झरी परिरहेको त मैले अझैसम्म पनि थाहा पाएकी थिइनँ ।”
“हे चण्डीकालिका देवी हामी सबैलाई रक्षा गर्नू, वर्षा कम गराइदिनू ।”
आँखा चिम्लेरै सासूआमाले दुई हात जोडी भाकल गरिन्– घरदेखि माथि डाँडाको थुम्कोमा रहेको मन्दिरतिर फर्केर ।
म टुलुटुलु हेरिरहेँ ।
तीज आउन एक साता बाँकी थियो । माइत नगएको पनि निकै भएको थियो, बुबा लिन आउने खबर पाएकी थिएँ । मन तीज सम्झेर यसै–यसै रमाइरहेको थियो ।
+ + +
रातसँगै पानी पनि छिप्पिदै गयो । घनघोर मुसलधारे वर्षा हुनथाल्यो । चूक घोप्ट्याएको जस्तो कालो रातले भयङ्कर यातना दिइरहेझैँ लाग्थ्यो ।
मिर्मिरे बिहानीसँगै वर्षाको वेग थामियो ।
सधैँ भैmँ त्यो दिन पनि बिहानै उठेँ । के भएर हो– म अलि छिटो ब्युँतेछु त्यो दिन । बुहारी मान्छे– उठेर घरको कामधन्दा गर्नुपर्ने, त्यसमा पनि तीजको रमझमले छोएको, मन यसै उडेर कहाँ–कहाँ पुग्थ्यो ।
आकाशबाट वर्षा भएको पानी वस्तुभाउलाई मात्र दिइन्थ्यो । मानिसका लागि भने पँधेरोको पानी लिन जानुपथ्र्यो । म डोकोमा गाग्रो बोकेर पानी भर्न पँधेरातिर लागेँ । परिवारका अन्य सदस्यहरु कोहीपनि उठेकै थिएनन् ।
पानी भरेर आउँदै थिएँ, एक्कासि केही गड्याङगुडुङ……..गरेको जस्तो आवाज सुनेँ, सुन्दासुन्दै त्यो आवाजले मेरो घरको भुइँतला सोहोरेर घरमुनिका अन्य घरहरुलाई पनि बढार्दै लैजान थाल्यो ।
हेर्दा–हेर्दै त्यो घरको दाँया र बाँयातिरको भाग तथा तेस्रो तलाको भग्नावशेष मात्र बाँकी देखियो । घर सुरुङ जस्तो देखियो । दुईतिरको गारोले टेकेर उभिएको घर……………।
मान्छेको आकृतिसम्म चिनिने उज्यालो भइसकेको थियो ।
म यसै–यसै भक्कानिएछु, कोहोलो हालेर चिच्याउन पुगेछु– स्वामी ! स्वामी !!
सिमसिमे वर्षा भइरहेकै थियो ।
“शान्ति !………. शान्ति !!………!!!.” आवाज आयो ।
आँधाआँधी शरीर हिलोले ढाकिएको, मान्छे नचिनिए पनि आवाज प्रष्टै चिनेकी थिएँ मैले । त्यो आवाज मेरै श्रीमान्को थियो ।
माथिबाट लेदो विस्तारै–विस्तारै बग्दै थियो, त्यो लेदोसँगै मेरो श्रीमान् पनि उँधैउँधो बग्दै थिए ।
हतारमा नजिकै रहेको लामो–लामो घोचो समाउन दिएँ । उनले दुबै हातले च्याप्प त्यो घोचो समात्न खोजे तर दाहिने हातले समात्नै सकेनन्, देब्रे हातले जोडसँग घोचो समाते, मैले न्वारानदेखिको बल लगाएर तानेँ, उनको शरीरभरि हिलैहिलो टाँस्सिएको, शरीरमा कपडाको नामनिसानै थिएन, उनी चिनिन सक्ने अवस्थामै थिएनन् । मेरो टाउकामा बाँधिराखेको मजेत्रो दिएँ । जसोतसो श्रीमान्को ज्यान बचाउन सफल भएँ । उनको दाहिने हात भाँच्चिएको रहेछ ।
एकैछिन पछि हस्याङ्फस्याङ् गर्दै ससुरा आए । म पँधेरा हिडेको केही समयपछि उनी शौच गर्न घरदेखि केही परको खोल्सातिर लागेका रहेछन् ।
घरका अन्य जहानलाई खोज्यौँ हामी तीन जनाले, कसैको नामोनिसान भेटिएन, कोही जीवितै छन् कि भनी निकै खोज्यौँ वरिपरि, कोही भेटिएनन् ।
“हैन कहाँ गए यिनीहरु ?” ससुरा बा बरबराउन थाले ।
मलाई त्यो पल सपना जस्तै लागिरहेको थियो ।
हामी तीन जनाको रुवाबासी चल्यो ।
केही छिनपछि आँधीपारिबाट आफन्त, छरछिमेकी, सहयोगी– हरुको धुइरो लाग्न थाल्यो ।
पहिरोले मेरा दुई सुकुमार देवरहरु, छोरी जस्तै माया गर्ने सासू, अप्सरा जस्तै नन्दलाई निलेछ, घर अगाडि धन्सार, मन्दिरलाई स्वात्तै चपाएर नामोनिशानै मेटाइदिएछ । हाम्रो मात्रै होइन, यताउता तलमाथिका अन्य सात घरलाई पनि भग्नावशेष बनाइदिएछ ।
सदरमुकाम नजिकै भएकाले घट्नास्थलमा छिट्टै प्रहरीहरु आए । गाँउलेहरु र प्रहरीको संयुक्त मिलिमतोमा पहिरोभित्र मानिसको देह खोस्रने कार्य भयो । गैँटी, झ्याम्पल, कोदालोको सहयोगले लास खोस्रदा कतिपयको शरीरमा त कोपिएको पनि । तीन वटा लाशहरु फेला परे । लास क्षतविक्षत् अवस्थामा हिलाम्मे भएकाले चिन्नै नसकिने थियो । एउटा बाँकी लाश निकै दिनसम्म खोजिरहे तर भेटिएन । त्यो लाश त्यहीँको माटोमा अलप भयो ।
श्रीमान्को हात भाँचिएको हुँदा गाउँका जान्ने मानिसले काम्रो बाँधिदिए । इष्टमित्रहरुले “मर्ने मरेपनि बाँच्नेले त बाँच्नु पर्यो नि” भन्दै पँधेरामा लगेर काजक्रिया गर्न लगाए । उनलाई अरुले छुन नहुने, एउटा हातमा काम्रो बाँधिएको, त्यसैले अर्को हातको सहाराले नुहाउनु, कपडा धुनु, पकाएको भाँडा माझ्नु आदि सारा काम आफै गर्नुपथ्यो, सायद यो नियतिकै फल थियो होला ।
आँधीपारि काजक्रिया सम्पन्न भयो । त्यहाँ हाम्रो बूढो घर थियो । जसमा बूढी सासू बस्थिन्, तिनै सासूले १४ औँ दिनमा आँधीपारि जानेक्रममा ओढ्ने, ओछ्याउने, थोत्रा कपडा आदि दिइन् । मैले ती सामानहरु बोकँे । मेरा श्रीमान् र मेरा ससुरा पनि सँगै आए । त्यस बेला मेरा श्रीमान् र ससुराको बिजोग सहनै नसकिने अवस्थाको थियो ।
घर भएको ठाउँमा पुग्याँै, खण्डहर घरले हामीलाई गिज्याइरहेझैँ लाग्यो । घरको भुइँतला पूरै बगाएपनि सिरानको आँटी भने सुरक्षित थियो– जुन तलामा अन्न राखिन्थ्यो, त्यहाँ रहेका वस्तुहरु सुरक्षित थिए, जसले बाँच्नलाई थोरै भएपनि सान्त्वना दिएको थियो ।
परिवारका सदस्यहरु विलुप्त भएको त्यही माटोदेखि करिब पचास हात पूर्वपट्टि घर बनाउने तय भयो । जग राखेको भोलिपल्टदेखि गाउँका सबै मानिसहरुले सहयोग गर्न आए । कुनै–कुनै दिनमा त सय जना भन्दा बढी मानिसका सहयोगी हातहरु जुट्थे । करिब एक महिनामा एउटा तीन तलाको ठूलो घरसहित दुई वटा गोठ–धन्सार तयार भयो । घर देखेपछि रगत बगिरहेको आलै घाउहरुमा मलमपट्टी लगाए जस्तै भयो ।
समय मानिसका एकमात्र अचूक औषधी रहेछ, यसले मानिसका जस्तोसुकै शारीरिक, मानसिक व्यथाहरु पनि निको पार्दै लैजादो रहेछ । परिवारजनसँगका बिछोडका पीडाहरु बिस्तारै–बिस्तारै धुमिलिदै गए । आकलझुकल यादहरु आउने–हराउने भए । सपनाहरुले पनि सताउन छाडे ।
यस्तैमा हाम्रो घरमा एकदिन अनौठो कुरा भयो–
पुरानै जमनाको समाज भएपनि मेरा ससुरा भने अलि बढी नै आधुनिक विचारका थिए । त्यसैले उनले बन्ध्यकरण गरिसकेका थिए । सामान्य लेखपढ गर्न जान्ने थिए । समाजमा नाम–इज्जत थियो ।
ठीक आठमहिना पछि एकदिन बिहानै बूढी सासु आँधीखोला तरेर आइन् । उनले मेरा ससुराले छिमेकी जिल्लाबाट नयाँ जीवनसाथी नयाँ सासू बिहे गरेर ल्याएको कुरा गरिन् । हामी लोग्नेस्वास्नी दुवै जना छाँगाबाट खसे जस्तै भयाँै । भर्खरै परिवारमा भित्रिएको त्यत्रो विनाश, त्यो आपत्ति फेरि तुरुन्तै ससुराको बिहे– यो अकल्पनीय थियो ।
“कस्तो कुरा गर्नुभएको हजुरआमा ? के साँचो हो ?” श्रीमान्ले भने ।
“म बूढीले पनि झूट कुरा गर्छु र ? ल ल, अब तिमीहरुले बिहेको तयारी गर्नू । नाति तँलाई थाहै होला– तैले बाबुको बिहे हेर्नु हुदैन, दिउँसोतिर घरमा नबस्नू ।” हजुरआमाले टर्रो आवाज निकालिन् ।
मेरा श्रीमान् एकछिन टोलाइरहे । आँखाबाट बरर्र आँसु झारे । उनको आँखाबाट निस्केको आँसु वर्षायामको पानी जस्तै सरर्र बग्दै चिउँडोबाट तल झर्दै गर्दा माटामा पर्यो, जमिन पनि चिसो देखियो । टाउकामा बेरेको सेतो घुम्टो, बाँकटे भोटो, कछाड, खाली पाउ, गहिरा आँखाहरु, झुस्स बढेको दाहृी– मेरा श्रीमान्को त्यो दशा देख्दा मन एक्कासि अमिलो भएर आयो । उनको आँसुसँगै मेरा आँखाबाट पनि बलिन्द्र धारा बगिरहे ।
बूढी सासू केही नबोली गइन् ।
अपराह्नतिर आँगनको डिलबाट तल आँधीखोलातिर हेरेँ– मान्छेका लस्करहरु झुण्ड–झुण्डमा बाँडिएर हाम्रै गाउँतिर आइरहेका थिए । सायद, ती नयाँ बेहुलीका जन्ती बनेका थिए । मेरा विधुर ससुरा नव–दुलाहाको उमङ्गले प्रपूmल्लित थिए ।
वैशाखको महिना, रुखहरुमा नयाँ मुनाहरु पलाएका, जमिनहरु भने सुख्खा, तल देखिने आँधीखोलामा पानी निकै घटेको, दायाँबायाँ किनारामा सेतै बगरहरु टल्केको– कस्तो कस्तो नरमाइलो देखिन्थ्यो ।
पचास हात परतिरको पहिरो भने मान्छे पचाएर ढुस्स फुलेको थियो । पहिरोले पचाउन नसकेको पीपलको रुखमाथि न्याउली चरीले एकोहोरो कोहोलो फुकिरहेको थियो ।
म घरभित्र काम गरिरहेकी थिएँ । मेरा श्रीमान्ले बोलाएपछि म पनि उनीसँगै आँगनको डिलको उँधोतिर हेरेँ– अब भने प्रष्टै मान्छे चिनिने भएका थिए । दसबाहृ जनाको समूह हाम्रै घरतिर ठडिँदै थिए ।
एकटक लगाएर हेरिरहेका मेरा श्रीमान्ले के सोचेछन् कुन्नि ? एक्कासि शिरमा बेरेको घुम्टो मतिर हुर्राउदै चिच्याए– “आमा……आमा…….. म पनि तिमी भएको ठाउँमा आउँछु, मलाई लिन आऊ, किन मलाई छाडेर गएको ?”
“पार्वती म मर्न हिडेँ है । तँ राम्ररी बसेस् ।” उनी दौडदै उँभैउँभो लागे ।
म धर्म सङ्कटमा परे । मैले घरमा नयाँ सासू भित्र्याउने तयारी गरुँ कि मेरा स्वामीलाई फर्काउन जाऊँ !
जन्ती बनेका एकदुई जना अघोरै मानिसहरु त्यतिञ्जेलसम्म आँगनको डिलमुनि आइपुगिसकेका रहेछन् ।
म चिच्याएको आवाज सुनेर उनीहरु दौडेर आए, मैले स्वामीलाई खोज्न जानुहोस् भनी अनुरोध गरेँ । उनीहरु पनि हतारिदैँ माथितिर दौडे ।
जन्तीसँगै बूढीसासू पनि आइन् । उनैले बुहारी भित्र्याउने चाँजोपाँजो मिलाइन् ।
नयाँ घरमा नयाँ दुलही भित्र्याइयो ।
केही छिनपछि मेरा स्वामीलाई ती मान्छेहरुले लिएर आए । उनका आँखा रसिला थिए । टाउको रित्तो थियो । अनुहार रुँदा–रुँदा थाकेको बालकको जस्तो मायालाग्दो देखिन्थ्यो ।
भर्खरै नव–दुलाहा बनेका, रातो टिका निधारभरि लगाएका ससुराले श्रीमान्लाई सोधे– “कहाँ गएको थिइस् जेठा !”
“म मर्न गएको थिएँ, प्राण फाल्न नसकेर ……….” मेरा श्रीमान् यतिमात्र के बोल्न भ्याएका थिए । ससुरा पड्किहाले– “त्यसो भए तँ अहिले भर्खरै मरिहाल्, जा ।”
ससुराको यस्तो दुर्वचनले मेरा श्रीमान् रुँदै–रुँदै पहिरो गएको ठाउँमा आए, त्यहाँको माटोलाई हातले खोस्रदै “हे मेरी आमा !” भन्दै रुन थाले ।
म पनि रुनुसिवाय के गर्न सक्थेँ र ! रोएरै श्रीमान्लाई साथ दिइरहेँ ।
घरमा सौतेनी आमाको उपस्थितले मेरा श्रीमान्लाई बेचैन गरिदिएको थियो । उनी सधेँजसो उदास र निराश–निराश देखिन्थे । बेला–बेलामा आफ्नी आमालाई सम्झेर रोइरहन्थे । सौतेनी आमा नै भएपनि उनी त्यति निष्ठुरी भने थिइनन् । ससुराले बन्ध्याकरण गरिससकेको हुँदा सन्तान जन्मनु सम्भव पनि थिएन । त्यसैले पिण्डदाताको रुपमा मेरै श्रीमान् भएकोले राम्रै व्यावहार गरेकी होलिन् ।
छोरी जन्मिई ।
“लौ लक्ष्मी प्राप्त भयो” सबैले खुशी मनाए ।
छोरी जन्मेको चार महिना पछि साथीहरुको लहैलहैमा लागेर मेरा श्रीमान् भारतीय सेनामा भर्ती हुन जान्छु भनी गोरखपुर तिर लागे । मैले कति सम्झाउँदा पनि उनी मानेनन् ।
बाहुनको छोरा भएपनि नामथर ढाँटेर भर्ती भएछन् ।
मलाई हर्ष–विस्मात एकैचोटी भयो ।
तीन वर्षपछि उनी छुट्टीमा घर आए ।
घरै हाँस्यो ।
एकदिन उनले भने– “पावर्ती ! तैँले त्यो घोचो मलाई दिएर नतानेकी भए म पनि आमासँगै हुन्थेँ, तैँले मलाई नयाँ जीवन दिएर आपूmसँगै राखिस् । अनि त्यो घोचो सुरक्षित राखेकी छेस् त ?” पल्टने पारामा कम्मरमा हात लगाउदै तलतल बगिरहेको आँधीखोला हेर्दै बोले ।
“त्यो घोचो त मेरो जीवन हो नि ! तपाँइको अनुपस्थितिमा पनि मैले त्यही घोचो हेरेर चित्त बुझाउथेँ ।”
मैले आफ्नो सुत्ने कोठाको दलिनमा घुसारिराखेको उक्त घोचो लिएर आँएँ र उनलाई देखाउँदै भनेँ– “लौ हेर्नोस् त, मैले काँटछाँट गरेर यो घोचोलाई कति आकर्षक बनाएकी छु ।”
उनी फिस्स हाँसे र घोचोलाई ओल्टाइपल्टाइ हेरे ।
“तर तपाईले समाउनु भएको ठाउँ चाहिँ जस्ताको तस्तै राखेकी छु नि ।”
फेदतिर थोरै आङ्कुशे परेको भाग देखाउँदै मैले भनेँ ।
उनको अनुहार प्रदीप्त देखिन्थ्यो ।
तीन महिनाको छुट्टी सकिएपछि उनी पुनः मुग्लानतिर हानिए ।
मैले छोरीलाई पछाडि मजेत्रोले बोकेर उनलाई राङ्खोलासम्म बस चढाउन गएकी थिएँ । उनी बस चढ्ने बेलामा छोरीको गालामा म्वाईँ खाए र मलाई एकटकले हेरिरहेका थिए ।
आज सम्झन्छु त्यो दिन– म रुँदै–रुँदै आँधी तरेकी थिएँ ।
कति नरमाइलो, कति उदासिन बनेको थियो त्यो क्षण– त्यो दिन अनि त्यो रात मेरा लागि ।
पल्टनबाट चिठी आइरहन्थ्यो, यताबाट पनि ससुराले हालखबर ठीकै भएको चिठी पठाइरहन्थे– खुशीमा रमाउथ्यो मन ।
उनी गएको दस महिनामा फेरि छोरी जन्मी ।
ससुराले नाक खुम्चाए, नयाँ दुलही बनेर आएकी सासूले पनि उतिसारो स्याहार गरिनन् ।
श्रीमान् पल्टन गएको झण्डै पन्ध्र महिनापछि छुट्टीमा घर आए । उनी भने छोरी जन्मिएकोमा खुशी नै थिए । उनले भने–“पार्वती ! तँ फेरिपनि छोरी पाएँ भनेर दुःखी न हो । भगवान्ले जे दिन्छन्, त्यसैमा हात थाप्नुपर्छ, चित्त बुझाउनु पर्छ ।”
म ढुक्क भएकी थिएँ ।
+ + +
“बिहे गरेको दस वर्ष पुग्न आँटिसक्यो । तेरी स्वास्नीले अब सन्तान जन्माउन नसक्ने भई । यी दुईटी छोरीको मुख हेरेर मात्र भएन । पछि हामीलाई पिण्ड दिने, वंश जोगाउने पनि कोही हुँदैनन्, त्यसैले बिहे गर् जेठा ।” छुट्टीमा आएको करिब एकहप्तापछि साँझ भात खाने बेलामा मेरा श्रीमान्लाई आफ्ना बाबुले घरभित्रै अँगेनानेर भन्दै थिए ।
मैले बाहिरै पिँढीमा नानीहरुलाई दूध–भात खान दिँदै थिएँ ।
“सौता ! ! !” शरीरभरि काँडा उम्रिए भैmँ भयो, मनमा कता–कता ऐँठन लागे जस्तो भयो । मेरा ससुराको बोलीमा शब्दैपिच्छे आगाको ज्वाला ह्वार्ह्वार्ती निस्केजस्तो लाग्यो मलाई ।
मेरा श्रीमान् चूपचाप रहे ।
एकदिन उनले मसँग भने– “पार्वती बुबा र हजुरआमाले मलाई बिहे गर्न साहृै कर गर्नुभएको छ, मलाई भने कत्ति पनि बिहे गर्ने रहर छैन ।”
म केही बोलिन । छोरीहरुलाई हेरेर टोलाइरहेँ ।
कति पापी छ यो समाज, कति निष्ठुर छ यो समय ! कति–कति अन्धो आदर्शका पछाडि कुद्छन् मान्छेहरु !
मेरा श्रीमान्का लागि बूढीसासू र ससुराले केटी ठिक्क पारिदिएका रहेछन् ।
बिहे हुने नै भयो आखिर ।
एकदिन मैले श्रीमान्लाई लठ्ठी देखाएँ, उनी त्यो लठ्ठी हेरिरहे ।
उनले न आफ्नो अडान राख्न सके, न त अरुको कुरा काट्न नै सके । आँधीको बगरमा अल्झिएको डुङ्गाजस्तै बने उनी ।
जन्ती जानका लागि आँगनमा नौदस जना आफन्तहरु भेला भए । म पानी लिने निहुँ पारेर पँधेरातिर हिडेँ ।
घरमा पुग्दा जन्ती हिडिसकेका रहेछन् । माईली दिदीले भनिन्– “तिम्रो लोग्नेले त हिड्ने बेलामा बरर्र आँसु झारेका थिए नि ।”
मन कस्तो–कस्तो अमिलो बनेर आयो ।
साँझ झमक्क परेपछि बेहुली लिएर आए । मलाई घरमा बस्नै मन लागेन, अँध्यारोमै दुईटी छोरीलाई काखी च्यापेर आँधीपारिको पुरानो घरतर्फ लागेँ ।
सोचेँ– “जसका निम्ति भनेर सिउँदोमा सिन्दुर पहिरेँ, जसका निम्ति प्राणको बाजी थापेर घोचो दिएर जीवन बचाइदिएँ, जसले जीवन बचाइदिएकोमा कृतज्ञ बनेथ्यो, उही आज मेरा निम्ति मुटुको शूल बने ।”
आँधीपारि बूढी सासू बस्थिन् । दुई छोरी म केही दिनसम्म त्यही बस्यौँ । एकदिन ती बूढीले अर्ती दिदै भनिन्– “हेर बुहारी ! हामी आइमाईको भाग्य पाइतालामा लागेको धुलो जस्तै हो, कतिखेर पखालिन्छ, कतिखेर हावाले उडाएर लैजान्छ, कतिखेर माटामै मिसिन्छ–
थाहै हुँदैन । प्रारब्धमा लेखेर आएपछि नभोगी सुखै छैन, छोरो नभए मृत्युउप्रान्त स्वर्ग गइँदैन, वैतरिणी तरिदैन, त्यसैले पीर नमान् । अरुलाई हेरेर चित्त बुझा ।”
बूढी सासूको कुरा “हो” जस्तै लाग्यो ।
बिहे गरेको एकहप्तापछि श्रीमान्ले कान्छी लिएर पल्टन हिडेछन् । त्यतिञ्जेलसम्म उनी एकपटक पनि हामी आमा–छोरीहरुलाई भेट्न समेत आएनन् ।
कति कठोर हुँदोरहेछ छोरामान्छेको मन, बिहे गर्र्न जानुअघि खसाएको त्यो आँसुको अर्थ मैले बुझ्नै सकिनँ ।
गोहीले खाँदा आँसु चुहाउँछ रे । त्यसैले उनले पनि अग्रीम आँसु चुहाएका रहेछन्– मेरो भाग्य खान ।
त्यसपछिका मेरा दिनहरु निकै अप्ठ्यारामा बिते । ती लामा–लामा दिनहरु अनि भयङ्कर काला–काला रातहरुले मलाई जीर्ण बनाउँदै लग्यो ।
सोचेँ– यी छोरीहरुका लागि म बाँच्नुपर्छ ।
पल्टनबाट चिठी आयो– कान्छीले छोरो जन्माई ।
ससुराको अनुहार उज्यालो भयो । पहेँलिएका दाँतहरु खिस्स हाँसिरहे ।
मलाई हर्ष–विस्मात् केही लागेन । तटस्थ भएँ ।
झण्डै तीन वर्षपछि पल्टनबाट फर्के– मेरा श्रीमान्, सौता र दुई छोराहरु ।
आफ्नो समाज र संस्कार विपरीत काम गर्नपनि भएन । माइतबाट पनि बुबा आमाले सम्झाउथे– “ती छोराहरु आफ्नै त हो– भविष्यका पिण्डदाता, राम्रो व्यवहार गर्नू, मिलेर बस्नु कान्छीसँग ।”
मन यत्तिकै कहाँ मान्थ्यो र ।
मेरा श्रीमान्ले रक्सी खान सिकेका रहेछन्, कहिले स्याङ्जा त कहिले राङ्खोलातिरबाट फर्केर आउँदा उनको मुखमा सधैँ रक्सीको ह्वास्स गन्ध निस्कन्थ्यो ।
महिनदिन पछि तिनी पल्टन गए ।
मेरी छोरीहरुले भने सौताका छोरहरुलाई भाइ भनेर असाध्यै माया गर्थे । यतिसम्म कि सानो छोरो त जतिबेला पनि मेरी ठूली छोरीसँगै हुन्थे ।
सौतासँग सानोतिनो कुरामा पनि झगडा हुन थाल्यो । उनले मलाई छोरी पाएकी भनेर निकै होच्याउने, वचन लाउने गर्थी । माइत गएपछि निकै लामो समयसम्म बस्थी । मलाई र मेरी छोरीहरु देखिसहन्नथी । रातदिन कच्कच् हुन्थ्यो– घरमा बूढीसासूसँग पनि ठाडठाडै बाझ्थी ।
तुलना गरेरै होला– दुवै सासूहरुले मलाई नराम्रो गरेनन् ।
पाँच महिना पनि नबित्दै श्रीमान् पल्टनबाट आए । पछि थाहा भयो– कान्छी चिठी पठाएर आएका रे !
पल्टनबाटै रक्सीका बोतलहरु लिएर आएका रहेछन् । एकदिन सेतो गिलासमा तुरुक्क पार्दै रातो रङ्को तरल पदार्थ खन्याए, त्यसपछि पानी खन्याउदा पनि रातै देखियो, उनले त्यसलाई पानी पिए झैँ स्वात्तै पारे ।
राम ! राम !! राम !!! बाहुनको छोराले रम खाएको पहिलो चोटि देखेको थिएँ, त्यसमा पनि आफ्नै लोग्नेले ।
एकछिनपछि निहुँ खोज्दै भन्न थाले– “पार्वती ! तैँले कान्छीलाई किन देखिनसहेको ? यो घर तेरो मात्रै हो र, के उसको केही अधिकार छैन ?”
“यस्तो जँड्याहासँग पनि के बोल्नु” भनी चूपचाप बसिरहे ।
उनी हरेक दिन टिल्ल परेर आउँथे, त्यतिले मात्र नपुगेर घरमा आएर थप्थे, दिनहँु घरमा झगडा, कुटाकुट हुन थाल्यो । नमीठा वचनहरु मुटुभित्र पसेर गाँठो पर्दथ्यो, सौताकै निहुँमा एकरात मलाई नराम्रोसँग कुटे, शरीरभरि निलडाम भयो, जतिनै सहेर राम्रो गरेर बस्छु भन्दा पनि श्रीमान् कहलाएका राक्षस र राक्षसनी जस्ती सौताको ताडनाबाट मुक्त हुन सकिनँ ।
एकदिन बिहानै दुईटी छोरीहरुका साथ पोकोपुन्टुरो बोकेर निस्कदै भनेँ– “ आजदेखि मैले यो घर छाडेँ, तपाईजस्तो कुपुत्र लोग्नेसँग म बस्न सक्दिन । जसलाई नयाँ जीवन दिए, उसैबाट अपहेलित भएर बाँच्नुभन्दा एक्लै नै ठीक ।”
हिड्ने बेलामा घोचो देखाउँदै भनेँ– “यो घोचोले तपाईको मात्र होइन, अरुको पनि प्राण बचाउने छ । तपाईले समातेको ठाउँ हिजै खुर्केर फ्याकिदिइसकेकी छु ।”
घोचोको फेदलाई जमिनपट्टि टेक्दै घरमाथिको उकालो बाटो दुई छोरीलाई साथ लिएर हिडिरहेँ……हिडिरहेँ…….।
+ + +
डायरी पढिसकैँ– एकै बसाइमा ।
+ + +
दुई दिनपछि पोखरा फर्कने क्रममा राङ्खोलामा ओर्ले । उनको डायरी पढेपछि नाम ठेगाना स्पष्ट भइसकेको थियो मलाई–
सिस्नेरी, सातुपसल ।
पार्वती ।
आँधी तरेपछि केही छिनमै सिस्नेरी पुगेँ । झण्डै छत्तीस वर्षअघि गएको पहिरोको नामोनिसान थिएन । वरिपरि थुप्रै घरहरु थिए ।
“पार्वती आमैको घर कुन चाहिँ हो ?” बाटामा घाँसको भारी बोकेर हिड्दै गरेकी एकजना अधवैँशे जस्तो देखिने महिलालाई सोधेँ ।
“खै यो गाउँमा त पार्वती नामकी बूढी आइमाई कोही भएजस्तो लाग्दैन मलाई” निधारको पसिनालाई चोर औँलाले पुछ्दै भनिन् ।
त्यहीबेला माथितिरबाट एकजना पच्चीस–छब्बीस वर्षको देखिने युवक तलतिर ओर्लिरहेको थियो ।
“भाइ तपाई पार्वती आमैलाई चिन्नुहुन्छ, यही सिस्नेरीकै ?”
एकछिन केही सोचेजस्तो हुँदै अक्मकिए तिनी । भने– “पार्वती नामकी महिला त अहिले यो गाउँमा कोही छैनन् । बरु मेरै ठूली आमा थिइन् । पहिल्यै घर छाडेर माइत बसेकी ।”
अनुमान गरेँ– यो भाइ पक्का पनि त्यही पार्वती आमैकी सौताकी छोरो हुनुपर्छ ।
“मैले बहाँलाई नै खोजेको हो, तपाईले भन्नुभएकै मान्छेलाई ।”
“ए……!” ऊ दङ्ग पर्यो र सोध्यो– “तपाई को हुनुहुन्छ वहाँको ?”
“आफन्त होइन म, अस्ति गाडीमा आउँदा सँगै थियाँै । वहाँले यो प्लास्टिकको झोला गाडीमै छोड्नुभएको थियो । यही दिनलाई आएको ।” मैले स्पष्ट पारेँ ।
“गाडीमा आउँदा वहाँले सिस्नेरी जाने भन्नुभएको थियो ।” झन् स्पष्ट मारेँ ।
त्यो भाइले सिस्नेरीबाटै राङ्खोला नजिकैको एउटा घरलाई चोर औँलाले देखाउँदै भन्यो– “वहाँ आज ऊ….. त्यो परको घरमा हुनुहुन्छ ।”
घर पछ्याउँदै पुगेँ । पार्वती आमै घरसँगैको मन्दिरमा धागो काट्दै थिइन् ।
मलाई र प्लास्टिकको झोला देखेपछि उनले भनिन्– “ओहो बाबु ! मैले त आशै मेटेकी थिएँ । अरु सामानभन्दा पनि कति दुःख गरेर ज्वाइँलाई लेख्न लगाएको डायरीकै पीर थियो । झण्डै ल्याइदिएछौँ । कत्ति सज्जन मान्छे तिमी ! कलियुगमा पनि देवता भेटेँ आज ।”
बूढी आमैले मलाई निकै सर्काइन् ।
डायरी निकाल्दै भनिन्– “बाबु ! यहाँ लेखिएको छ नि, यो मेरो आफ्नै कथा हो । यसलाई प्रकाशित गर्नु पर्यो भनेर लिएर आएकी नि । स्याङ्जाबाट त्रैमासिक रुपमा प्रकाशित हुने रजस्थल पत्रिकाको लागि हो यो । त्यस पत्रिकाका सम्पादक विश्वप्रेम अधिकारीलाई बुझाउन भनेर ल्याएकी ।”
ती बूढी आमैले राङ्खोलास्थित विश्वप्रेम अधिकारीको घर देखाइन् ।
“ल आमै ! अब म लागेँ है पोखरातिर ।”– मैले यत्ति के बोलेको थिएँ, उनले भनिन्– “बाबु म पनि पोखरा जाने हो, सँगै जाँउला हुन्न ।”
ती आमैको कुरा काट्न मनै लागेन । तलमाथि टाउको हल्लाएरै “हुन्छ” को सङ्केत गरिदिएँ ।
विश्वप्रेम अधिकारीको घरमा पुग्यौँ । संयोगले वहाँलाई घरमै भेटियो । ती आमैले मलाई विश्वप्रेमजीसँग परिचय गराइन् । उनको अगाडि डायरीसहितको झोला बुझाइदिएकोमा कति–कति आशीर्वाद दिइन् मलाई ।
विश्वप्रेमजीले आगामी शिशिर अङ्कमा समावेश गर्ने वचन दिनुभयो ।
पोखरा आउने बस चढियो, बस खाली नै थियो । एउटै सीटमा लहरै बस्यौँ ।
मैले ती आमैलाई दुईटी छोरीहरुको बारेमा सोधेँ –
आमैले भनिन्– “हेर बाबु ! त्यो घर छाडेपछि मेरो सङ्घर्षको कथा ज्वाइँले अर्को डायरीमा लेख्नुभएको छ । त्यो अर्को खण्डमा प्रकाशित गर्नुपर्ला । त्यसमा मेरी छोरीहरुको वर्तमानस्थितिसम्मका कुराहरु लेखिएका छन् ।”
“के गर्छन् त आमै छोरीहरु ? अहिले त निकै ठूल्ठूला भए होलान् ?” मैले जिज्ञासु बनेर सोधेँ ।
भालुपहाडको चुच्चे ढुङ्गातिर आँखा गाड्दै आमैले भनिन्– “अहिले मेरा छोरीहरुमध्ये जेठीले बि.ए.सम्म पढी, उसको बिहे क्याम्पसको लेक्चरसँग भएको छ, नाति–नातिनी छन्– जेठी स्कुलमा पढाउछे । कान्छी छोरी नेपाल प्रहरीमा इन्स्पेक्टर छे । निकै टाठी छे कान्छी । म अहिले जेठी छोरी ज्वाँइसँगै पोखरामा बस्छु ।” आमैको अनुहार ढपक्क बलेको देखियो ।
पृथ्वीचोक–लखनचोकमा ओर्लेपछि आ–आफ्नै बाटो लाग्याँै ।
+ + +
यस्तो लाग्यो– यी आमै अन्य पीडित आमैहरुका लागि प्रेरणाको स्रोत बन्नेछिन् ।
बाटुलेचौर–१६,पोखरा
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)