~केदार शर्मा~
घस्रिनुको गह्रुँगो दुर्गतिबाट आजित भएर
त्यागेर घिनलाग्दा काँडाहरूको अत्याउँदो मोह
र छाडेर हरिया पातहरूको अदम्य भोक
ध्यानमा बस्छ झुसिल्किरो – निश्चल, निर्विकार निकै दिन
अनि बल्ल पलाउँछन् रङ्गीविरङ्गी पखेटाहरू
र ऊ उक्लन्छ झारपातबाट फूलहरूमा
र उड्न थाल्छ बोटबाट बोटमा
फूलबाट फूलमा
उड्ने हो भने घस्रिन छाड्नै पर्छ
रहरलाग्दो हुने हो भने डर देखाउन छाड्नैपर्छ
फूलको माधुर्य मनपर्छ भने पात मास्न छाड्नैपर्छ
बिचरा एउटा अबोध कीटले उहिल्यैदेखि देखाइरहेको छ
कायाकल्पको सुन्दर सम्भावना
हजुरको चाहिँ अझै
भयमा किन यत्रो विश्वास?
August 8, 2011
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)