कविता : काँडा, फूल र मान्छे

~निर्मोही व्यास~Nirmohi Vyas

१
काँडाका बोट आफ्नै छन्, छन् आफ्नै बोट फूलका
देखिन्छ सह–सम्बन्ध पनि उस्तै जतातता
उमे्रकै छन् यहाँ काँडा फूलका बोटमा पनि
फुलेकै छन् यहाँ फूल काँडाका बोटमा पनि

२
यिनको साथ–सान्निध्य उदाहरणयोग्य छ
गुण, आयु भने फेरि सर्वथा विपरीत छ
बिहानै फक्रिई फूल झर्छन् वैलेर बेलुका
काँडा भने युगौँसम्म रहन्छन् उसरी खडा

३
त्यस्तै, स्वभाव सर्दैन काँडामा फूलको पनि
कुनै प्रभाव पर्दैन काँडाको फूलमा पनि
काँडा दुच्छर नै हुन्छन् चाहे उम्रून् जहाँसुकै
फूलको दिल सङ्लो छ फुले पनि रछानमै

४
आश्चर्य ! यी बसेका छन् मिलेर सृष्टिदेखि नै
मिल्दैन किन हो मान्छे भने मान्छेहरूसँगै !
खलनायक भो मान्छे बन्न छोडेर “नायक”
कैले होला यहाँ मान्छे “मान्छे”भनिनलायक !

५
आएको छ यहाँ मान्छे आयु बोकेर फूलको
गुण धेरै छ पाएको काँडाको, थोर फूलको
मान्छेले आयु काँडाको, बास्ना–सौन्दर्य फूलको
लिएरै बाँच्न पाएमा, अहा ! कस्तो हुने थियो !

(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ ६८—६९)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.