~टेकब कोइराला~
विवाह गरेर ल्याएकै भोलिपल्ट धर्माले स्वास्नीलाई चिर्पटले हान्यो । अमूर्त चित्रजस्ता डामहरु पिठ्युँमा मसार्दै स्वास्नी बेस्कन रोई । धेरै बेरसम्म रोइरही । साँझ ढल्केपछि चिसो भुईँमा एउटा फ्याङलो ओछ्याएर त्यहीं ढल्की । त्यो घरमा आज साँझका लागि भात–तिहुनको केही पनि सुरसार देखिएन । त्यही रिसले धर्माले आँखा देखेन । स्वास्नीलाई मज्जासँग भकुर्यो । भोको पेट र चुटाइको रन्कोले भुमीलाई निद्रा भने परेन । धर्माचाहिँ साविककै बिछ्यौनामा घुर्न थाल्यो । उसको भने पेट भोको थिएन । साँझपख भट्टीमै चिउरा र आलुचप मनग्ये हसुरेको थियो, ‘दारु’सँग । दारु उसको लागि आधारभूत आवश्यकताभित्रै पर्छ । दिनभरिको कमाइ भट्टीमै सिध्याउँछ । साहुको दोकान बन्द भएको दिन उसको कमाइ पनि बन्द हुन्छ ।
आज त चार/पाँच ट्रिप सिमेन्ट ओसारेपछि दुई सयभन्दा बढी नै हात पारेको थियो । सिमेन्ट ओसार्न मानवगाडा साहुकोमा नै थन्याएर सीधै भट्टीमा पसेको थियो । गोजी गहु्रंगो भएको दिन धर्मा अलि बढी नै उत्ताउलिन्छ । आज एक प्लेट सिकार पनि माग्यो । पीरो–पीरो मासु, स्वाद मानी–मानी डकार्यो दारुसँग । रक्सी पनि साविकको भन्दा बढी नै तान्यो । घर जानेबेलामा भुमीलाई सम्झ्यो । ‘भख्खर–भख्खर आएकी दुलही, यसो मीठो मसिनो खुवाएर रत्याउनुपर्ने’ मनमनै गुन्यो ।
“खै, एक पिलेट शिखार पोको पार्देऊ त समाली भाउजू,” लरखराउँदै आदेश दियो ।
“कत्ति घिच्न सक्या हो कुन्नि यो धर्मा त !” स्वाङ पार्दै समालीले मासु पोको पारिदिई ।
“काँ मै खानी हो त ? यो त …..” अड्कियो धर्मा ।
पैसा दिएर निस्कनै लाग्दा समालीले झन्डै चिच्याएको स्वरमा सोधी, “अनि कस्का लागि लग्दिन लाग्या त ? कि ……?”
समालीले प्रश्न तुर्न नपाउँदै धर्मा हौसिदै बोल्यो, “यी समाली भाउजू पनि…. कत्ति खोजिनिती चाइया हो । हो….. हो ल, ब्या गर्या हुँ, अर्की दुलै ल्या हुँ, हो त्यसैलाई लैदिन लाग्या मासु । भो अब त ?” धर्म लर्खराउँदै घरतर्फ हान्नियो ।
“छँदाखाँदाको स्वास्नीलाई चुटी–चुटी लगार्यो । लाठे भैसक्या त्यै एउटा छोरो पनि घर छोडेर हिँडिरुच । कुन चौरस्ताँ चारिहिँड्याछ । यता बाउचैं अर्की स्वास्नी ब्यार्छु भन्च…. .. । कस्तो छँडुल्नीलाई उठा’र ल्यायो यो धर्मले, हरे ……!” समाली एकछिन भुत्भुताई । अरु ग्राहकहरु पनि चिउरासँगै समालीका कुरा चपाइरहे ।
यता भुमी साँझको खान्की तयार गर्ने तरखरमा लागी । दाउरा जोडजाड गरेर आगो बाल्न पहिलो मुस्लो धुवाँ प्रक्षेपण गरी आकासतर्फ । धुवाँ झुपडीमाथिसम्म उड्यो । तर, अन्नपानी केही पनि नदेख्दा त्यसै बिरक्तिएर झोक्राई ।
अब के बसाल्ने ? केही मेसोमेलो पाइन उसले । यत्तिकैमा धङ्धङाउदै आइपुग्यो धर्मा ।
“हन, के छ यो घरको चाला ?” जिब्रो बटार्दै बाहिरैदेखि डुक्रँदै छिर्यो ।
स्वास्नीले ऊतर्प एक दृष्टि फ्याँकी । तम्तमाउँदो अनुहार, रसिला बाउँडिएका आँखा । भित्ता समाउँदै आएको धर्मालाई देखेर भुमी एकछिन अवाक भई । ताउलो बसाल्न नपाएको पीर, त्यहीमाथि लोग्ने भनाउँदोको चर्तिकला देखेर भुमीले मन बेस्कन अमिल्याई ।
भर्खरै सल्किन लागेको त्यही अगुल्टो थुतेर हानुँझैँ लाग्यो उसलाई । नयाँ दुलही, त्यसो गर्न किन सक्थी र ! आँखा डब्डबाउँदो बनाउँदै भित्तातिर मुन्टो बटारी । धर्माले चाल पायो, यो घरमा आज पनि भाग बस्न पाइने छाँट छैन । रिस आगो भएर निस्कनमात्र बाँकी थियो । आज पनि झन्डै चिर्पट उजाइसकेको थियो तर आफूलाई सम्हाल्यो । हातको मासुको पोको फ्यात्त भुँइमा पछारेर ढुन्मुनिदै गयो ओछ्यानतर्फ ।
भुमीले फेरि एकपल्ट हेरी धर्मालाई । रक्सीले धुष्ण भइसकेको रहेछ । गन्धले घरै रंगमगियो । मरेको पाओझैँ आफ्नो ज्यानलाई ओछ्यानमा पछारिदियो धर्माले । एकैछिनमा लयबद्ध भाकाले घुर्नथाल्यो । आज चिर्पटले हानेन । यसैमा सन्तुष्ट भई भुमी । पेटको पीर त छँदैथियो । बिहान चारगास चेपेपछि दिनभर निस्लाम बस्नुपर्यो । अस्ति बिहान ल्याएको डेढकिलो चामल आज बिहानसम्मलाई जेनतेन पुगेको थियो । साँझसम्म त धर्माले ल्याइहाल्ला नि ! यही आसमा दिनभरि ढुक्कको सास फेरिरही ।
तर, साँझमा त मुट्टीभरिको प्लास्टिकको पोको फ्यात्त र्याँक्यो । के रहेछ त, उसलाई जिज्ञासा जाग्यो । खोलेर हेरी । मोटो–मोटो छाला भएको पाँच–सात टुक्रा मासु । ”हेर बुद्धि ! यसको साटो चामलै ल्या’भए बरु पेट उक्सिनेगरी भातै पुग्थ्यो । यो छोरामान्छेका जात, घरको सावगाँसको केही छ्यानपैचान गर्न सक्दैनन् । घरमा सामलतुमल छ छैन, के छ, कति छ, केही विचार गर्नसक्दैनन् । अब यो चा’डा फिर्को मासुले न पेट भरिनु, त्यै’नि के सित खाने !” भुमी मनमनै गनगनाई ।
दलिनतिर आँखा पुग्यो । दुइटा पुड्को मकै झुन्डिरहेको देखी । ध्वाँसोले आफ्नो मौलिक रंग गुमाइसकेको खोसेल्टा नंग्याएर फ्याँकी । मकै छोडाएर भुटी । धर्मालाई उठाउने कोसिस गरी । उसको चेत सातौं आसमानमाथि विचरण गरिरहेको छ । उठेर के मकै टोक्ला ! भुमी एक्लै मकै मक्र्याउन थाली । मासु र मकै, आहा…. हा…. हा….! अन्त्यमा एक अम्खोरा पानी । उसलाई पेट भरिएको अनुभूति भयो । धर्माको फैलिएर पस्रिएको हातखुट्टा समेटेर राखिदिई । आफू कुनापट्टि घुसुल्टिई ।
आज घर वरिपरिका झार–झ्याङहरु सफा गरी भुमीले । बिहानीको घाम भएपनि चस्स पोल्ने भइसकेको थियो । डिलमा अग्लो साजको रुख । त्यसैको सियाँलमा सुस्ताउन लागी । रुखको एउटा बलियोचाहिँ हाँगोमा बनाइएको गुँड । गुँडमाथि उडुँ–उडुँ गर्दै पखेटालाई फट्फटाएर अभ्यास गरिरहेका कागका तीन बचेराहरु । एउटाचाहिँ अलि दुब्लो र लाम्चो आकारको बचेरा ।
“त्यो त कोइलीको हो क्यारे । त्यल्ले त आफ्नो फुल कागको जिम्मा लाउँछ भन्याभैंm लाग्थ्यो,” भुमीले अड्कल काटी, “आफू धर्मासँग पोइल आउँदा भख्खर गुँड बनाउँदैथे ती माउ कागहरुले । आज बच्चा हुर्काइकन उडाउने तरखरमा पुगिसके । आफू भने…….!” मन पिल्पिलाउँदो बनाई ।
“आफ्नो पनि त छोरी छे नि, हुर्किसकेकी,” आफैलाई ढाडस दिई । ‘
“तर साथमा छैने । काठमाडौंको कुन्नि के नामको हुटेलमा जागिर गर्या’छु भन्थी,” भुमी विगतमा विचरण गर्न पुगी । “काठमाडौं जाने मायालु यातायातको डाइबरले खबर ल्याको, उसले त बेलाबेलामा भेटिराख्छ रे ! त्यस्तै हुटेल सुटेलमा जागिर पाए त मलाई पनि उतै बोला भनेर खबर पठाको । तर त्यस्ता हुटेलमा त तरुनी–बरुनीमात्र भरना गर्छ रे भन्ने खबर पठाइछ । आफू त….! यही भदौले सैंतीस कटेर अठतीस लागिसकियो …. ।” भुमीले आफू निर्धो र निरीह भएको महसुस गरी ।
“ए दिदी ! के हेरिराखेको ?” पल्लोघरको बगैंचाको बारभित्रबाट आएको एउटी महिलाको आवाजले भुमी झल्याँस्स भई ।
अस्ति भख्खरदेखि डेरा लिएर बसेका इन्जिनियरकी स्वास्नी हो क्यारे, भुमीले ठम्याई । ऊ आवाजतर्फ अघि बढी । “खाना पाक्यो ?” इन्जिनियरपत्नीले औपचारिकतावश प्रश्न तेस्याई । “पकाउन पर्ला नि ! नजिकै पुगिसकेपछि भुमीले पनि आफ्नो मर्यादा निर्वाह गरी ।
केहीछिनको भलाकुसारीपछि भुमीले आफ्नो इतिहास र वर्तमान इन्जिनियरकी पत्नीसामु छताछुल्ल पारिदिई, “लोग्ने मूर्दोले आर्की टिपेर हिँड्देपछि आपूm ओल्लो घाट न पल्लोतिरको भइयो । खेलो–खिप्ती केही नजाने’सी हातमुख जोर्न नि धौ भयो । यै धर्म मोरो घरी–घरी आएर साखुल्ले बन्यो । हिन्न त हिन्, तँ पनि एक्लै भइस्, म पनि एक्लो । बनिबुतो गरेर दो’डा ज्यान त कसो नपालुम्ला त भन्दै कर गर्न थाल्यो । मान्छेको शरीर, कत्तिखेर के हुन्छ, ओछ्यान पर्या बेला यस्सो तातोपानी दिनी मान्छे नि हुँदैन, एउटा न एउटा सहारा भएकै राम्रो भन्ठानेर धर्मको पछि लागें । खै….! याँ पनि दुःख उस्तै ….. । कमाको दुई–चार पैसा जाँड धोकेरै सिध्याउँदो र’च । घर–परिवारको वास्तै छैन । कैलेकाइँ सय–पचास ल्याएर मिल्काइदिन्च । भाउ–बेसा यस्तो महँगो । दुई छाक खाएपछि फेरि ठन्नाराम । बरु कतै केई काममा अल्जिन पाए नि साँज–ब्यानको गर्जो टथ्र्यो कि !”
“हाम्लाई नि एउटी सहयोगी महिलाको आवश्यक थ्यो । अप्ठ्यारो पर्दैन भने, यहीं …… । कामै त त्यति धेरै छैन । बिहान–बेलुकी सरसफाइ गरिदिने, दिउँसो यो सानुबाबु हेरिदिने, बस् यत्ति त हो । खानपिन यतै भइहाल्छ । सुत्न घरमै जानू । महिनाको हजार–बाह्रसय तलब पनि दिउँला, के छ विचार ?” इन्जिनियरपत्नीले दया देखाई ।
काम पनि, माम पनि, दाम पनि हुने ! इन्जिनियरपत्नीको प्रस्ताव सहर्ष स्वीकार गरी भुमीले । आफ्नो पेट पनि राम्रैसँग पाल्नथाली । धर्माको लागि पनि जोहो गरिदिने सामथ्र्य बनाई ।
त्यसपछिका साँझहरु क्रमशः धर्माको चिर्पट आक्रमणबेगर बित्न थाले । कागका बचेराहरु गुँडबाट उडे । भुमी पुलकित भई । गुँड भत्कियो, भुँइमा झर्यो । “बच्चाहरु उड्न थालेपछि किन पो चाहियो र गुँड !” भुमीले मनमनै तर्क गरी । तैपनि हरेक साँझ ती कागका परिवार त्यही रुखमा बास बस्न आइपुग्थे । धर्माकी पूर्वपत्नीतर्फको छोरो र भुमीको पूर्वलोग्नेतर्पकी छोरी भने घर सम्झेर आएको देखिएन । झरी–बादल हट्यो । भदौ सक्किएर असोज लाग्यो । दसैंको चहलपहल सुरु भयो ।
इन्जिनियरपत्नीले दिएको साडी देखाउँदै एकसाँझ भुमीले लोग्नेलाई सोधी, “कस्तो छ ?”
“यो फरिया लाएर हिँडिस भने त फेरि पोइला जालिस एई…..!” धर्मा ठर्टाभावमा बोल्यो ।
“म पोइल गए, तिम्लाई कल्ले पाल्दिने नि ?” भुमीले पनि छेड हानी ।
“धेरै घोचेर नबोल्न भुमी, दुख्छ । बरु बत्ती मार, सुतुम अब ।”
झुपडीलाई अँध्यारोले छोप्यो । धरतीमा चकमन्नता छायो । भुमीको चौबन्दीका माथिल्ला तुनाहरु फुस्किए र क्रमैसँग तल्ला तुनाहरु…… ।
प……र कुकुर भुकेको एकाध आवाजमात्र सुनियो ।