~लेखनाथ छेत्री~
कुनै पनि बेला
आकाशमा बादल भेला हुन सक्छन्
र एकाएक दर्के झरी पर्नेछ
अनिकालको बेला
बारीमा गाडिराखेको बिउले फेरेको सास
अथवा त्यसको ढुकढुकी
माटोमा कान थापेर सुन्न
आतुर छन् बाबा।
कोइरीमा बालुवा उठाइरहँदा
छेवैबाट रङ्गीतमा कति पानी बगेर जान्छ?
बाबालाई थाहा हुँदैन।
किनकि समय उनलाई एक आदत भइसकेको छ।
बिसौनीमा भारी टेकाएर
एकएक गर्दै पतलुङमा टाँसिएको कुरो टिप्छन् बाबा
अथवा जब चप्पलको फुक्लिएको फिता ठाउँमा हुल्छन्,
साना साना कुरा काफी हुन्छ
शहर पढिरहेको छोराको सम्झना गराउन।
मलाई थाहा छ
बाबा मेरो बारेमा के के सोंच्छन्।
थाप्लोमा चुइँकिरहने नाम्लोले
बाबाको साथ छोड्न अगवै
छोडिदिनेछन् बाबाले त्यो नाम्लो।
बाबालाई विश्वास छ।
आधारातमा काठकिराले एकहोरो धुरीखाँबो खाइरहेको आवाज नजिक
बाबाले आफ्नु एकाध दिनलाई साँचिराखेको
सपनाको पोको हरेक दिन खोल्छन्।
मलाई थाहा छ,
ती सारा सपनाको नायक म हुन्छु।
शहरमा मजस्तो हजार छोरा
काखीमा फाइल च्यापेर
एक दफ्तरदेखि अर्को दफ्तर हुँदै हतास
एकदिन नशाखोरहरुको अड्डामा हुत्तिएर
जिउमा सुइ घोप्न थाल्छन्।
अथवा कुनै लोकल नेताको खटनमा
हरेक दिन तमाशा मचाइरहेको हुन्छन् ।
टिभीमा रोजगार ग्यारेन्टीको भाषण छाँटने प्रधानमन्त्रीलाई
केटाहरु भद्दा गाली बकिरहेको हुन्छन्।
शहरमा म जस्तो हजार छन्।
बाबालाई यस्तो केही केही केही थाहा छैन।
एउटा कुरा छ
जो सधैं म बाबालाई भन्न खोजेर पनि सक्दिन
कि बीउ नउम्रेरै त लागेको हो अनिकाल
ए बाबा! तिमीले देखेको सपनाले
न तिमीलाई मर्न दिइरहेको छ
न मलाई बाँच्न।
यो के जिद्दी हो?
छोडदेउ यसरी सपना देख्न।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)