~गीता केशरी~
बिहानको साढे पाँच बज्न पाउँदैन, त्यति बेलादेखि भानु बसेको घरको तल्लो भुइँ तलामा हल्लीखल्ली सुरू हुन्छ । ट्याम्पोचालक एक महिला आफ्नो परिवारसहित बस्न आएकी छन् । भनेको सुनिन्छ उनलाई बिहानै ६ बजे ग्यारेजमा पुगेर ट्याम्पो लिई रूटसर्भिस चलाउनका लागि हाल्नु पर्छ नत्र उनी एक्लैको कमाइले घर खर्च धान्न नै गाह्रो पर्छ । तिन छोराछोरी र एक बूढी सासुको जिम्मा उनी एक्लैको काँधमा आइपरेको छ ।
पैसा कमाएर सुख पाउँला भन्ने आश लिई भएका घरखेत बेची मलेसिया पुगेका उनका पतिलाई काठमाडौँको छट्टु म्यानपावर कम्पनीले नक्कली भिसा लगाएर पठाइदिएकोले त्यहाँ पुग्नासाथ उनी र उनका त्यस्तै सिधासिधा साथीहरूलाई एअरपोर्टदेखि नै गैरकानुनी तरिकाले प्रवेश गरेको भनेर थुनिदिएकाले न त कमाइ गर्न पाएका थिए, न त घर फर्किन नै । चकनाचुर भएका सपनाहरू केलाउँदै तिनीहरू त्यहाँ थुनिएर समय बिताउन थालेका छन् भने यता गाउँमा तिनका परिवारहरू खस्कँदो आर्थिक अवस्था र बेइज्जतीले गर्दा बस्न, टिक्न नसकी यताउता लाग्न थालेका छन् ।
यिनै परिवारहरू मध्येकी एक हुन् यी टेम्पोचालक महिला पनि । गाउँमा रहँदा यिनले दुःख पाएकी देखेर उनकै एउटी साथीले काठमाडौँमा आई भाडामा टेम्पो लिएर चलाउन थाल्यौ भने तिमीलाई जीविका चलाउन कुनै कष्ट हुँदैन । यहाँ किन यस्तो दुःख बेहोरेर बस्छौै भन्ने सल्लाह दिएकीले उनले बाँकी बचेका घरघडेरी समेत बन्धकीमा राखेर केही रकमको जोहो गरी सपरिवार काठमाडौँ छिरेकी थिइन् । नभन्दै अहिले उनले परिवार मात्र पालेकी छैनन्, छोराछोरीहरूलाई स्कुलमा पढाएकी पनि छन् । सबै परिवार मिलेर बसेका छन् । घरमा कामहरू सासुले समालिदिएकी छन् भने छोराछोरीहरूले मन लगाएर पढेका छन्, तर पनि कहिलेकाहीँ के हुन्छ कुन्नि परिवारमा अनौठो प्रकारको समस्या देखा परिरहन्छ । लाग्छ, जीवनमा कहिल्यै पनि सन्तुष्टि पाइँदो रहेनछ केले न केले सताइरहेको हुँदो रहेछ । यसैले च्याट्ठिने र कराउने त्यहाँ चलिरहन्थ्यो । यिनीहरूको कोठाभन्दा एकतला माथि बस्ने भानुकहाँ यिनीहरू बिच चलेको वादविवाद प्रष्टसँगै सुनिन्थ्यो ।
भानुलाई यस्ता कुराहरू सुनेर पहिले त निकै झर्को लाग्ने गथ्र्यो । अब भने उनलाई पनि बिउँझने समय यही भएको छ । आज पनि उनले सुनिरहेका छन् आमाछोरीको संवाद र थाहा पाइरहेका छन् उनीहरूकी हजुरआमा बिरामी परेकी छन् र जेठी छोरीको जाँच आए पनि घरको पकाउने खुवाउने काम उसैमाथि थोपरिएको छ ।
ऊ आफ्नो गुनगुन आमालाई सुनाउँदै भन्छे – “अहिले चिया त बनाउँछु आमा तर म भात पकाउन र यिनीहरूलाई खुवाउन भने सक्दिनँ । आज मेरो म्याथको जाँच छ क्या ! कति प्राक्टिस गर्न बाँकी छ ।”
“अनि कसले पकाउँछ र खुवाउँछ । के खाएर तँ स्कुल जान्छेस् ? वर्ष दिनसम्म पढेर तँलाई पुगेन र अहिले नै पढ्नुप¥यो । हजुरआमा बिरामी नहुनु भएको भए उहाँले गर्नुहुन्थ्यो ।” यसो भन्दै उनी आफू तयार हुन लाग्छिन् भने छोरी भान्छामा च्याँठ्ठिएर भनिरहन्छे – “हाम्रा बालाई पनि किन हामीलाई छोडेर त्यहाँ जानु परेको ? स्कुलमा साथीहरू भन्छन्, “आमाले बिहानै चिया ल्याएर दिँदै खेरिबाट पढ्न बस जाँचमा राम्रो गर्नुपर्छ” भन्नु हुन्छ रे । यहाँ हाम्री आमा भने यो गर त्यो गर भन्नुहुन्छ अनि जाँचमा नम्बर थोरै आयो भने कराउनु हुन्छ, । “यस्तो पनि नम्बर ल्याउने हो ? हाम्रो सङ्घर्ष बुझ्दै बुझ्दैनौ तिमीहरू ।”
छोरीका यस्ता तीता कुरा सुन्दा उनलाई पनि नरमाइलो त लाग्छ तर के गर्नु उनी विवश थिइन् र हातबाट चिया लिएर सम्झाउँदै भन्छिन् – “हो, तैँले दुःख पाएकी छस् तर के गर्नु जेठी तँ नै छेस् । मैले काम छोडेर यसमा लागेँ भने तिमीहरूलाई के खुवाउनु र कसरी पढाउनु लौ भन त ? त्यसैले सुन्, भाइबहिनीलाई पनि आफूसँग काम गर्न आइज भनेर साथमा लिएर गरिस् भने सबै भ्याइहाल्छेस् नि भ्याइँदैन र ?”
“अँ, मैले भनेको तिनीहरूले मान्लान् । तँ नै गर् भनेर भागिहाल्छन् नि ?”
त्यसपछि उनले के भन्ने चुपो लागेर चियाको एक दुई सिप मात्र के लिएकी थिइन् होला उही छोरीको खुसीले भरिएको स्वर सुनिन्छ । ऊ भनिरहेकी छे – “आमा ! आमा ! यता हेर्नोस् त, भाँडोमा चामलै छैन । मैले पकाउनै परेन । अब त मज्जाले पढ्न जान्छु” भनेर जान्छिन् ।
ऊ त खुसी भई तर आमा ! चिन्ताको पोको लिएर बाहिरिन्छिन् । यो जस्तो आकर्षक विषय मेरो लागि कथा लेख्न अरू कुन हुन सक्छ ? यस्तो सोच्दै भानुले कलम समात्छन् र लेख्न खोज्छन् एउटा यस्तो सङ्घर्षको कथा जुन सत्यमा आधारित होस् ।
यत्तिकैमा तल बोलेको आवाज सुनिन्छ, उनी टक्क अडिन्छन् । थकित नारीस्वरले भनिरहेकी थिइन्, “ए नानी उठ् न, मलाई अलिकति तातो पानी पिउन दे । खोकेर प्राण जालाजस्तो भइसक्यो ।”
उही जेठी नातिनीको स्वर सुनिन्छ, “एकछिन पर्खनोस् है आमा, मेरो हिसाब मिल्न लाग्यो । अहिले नै यो गरिहालिनँ भने फेरि बिर्सन्छु क्या !”
एकछिन हजुरआमाको लामो खोकाइ सुनिन्छ र उनी दिक्क भएर भन्छिन् – तेरो हिसाब पनि मिल्छ, मेरो प्राण पनि जान्छ । यी यसरी खोकेको खोकै छु । तँ भने पर्खिनोस् पर्खिनोस् मात्र भन्दैछेस् ।
“के गरूँ त तपाईंहरू मलाई पढ्नै दिनुहुन्न । कहिले के कहिले के भन्नुहुन्छ, बहिनीलाई भने पनि हुन्छ नि । त्यति त गर्न सक्छे । “ए भुन्टी जा पानी तताएर हजुरआमालाई दे” भनेर अह्राउँछे ।
तर, भुन्टी किन मान्थी । भन्छे – “हजुर आमाले तँलाई अह्राउनु भएको, तँ नै गर् म त सक्दिनँ” भनेर उठ्दै उठ्दिन ।
हे भगवान् ! मलाई कहिले आमाहरूले – “ए छोरी, तेरो जाँच आयो राम्ररी पढ् भन्लान् जहिले पनि काम गर् हामीलाई काममा सहयोग गर् मात्र भन्नुहुन्छ । कान्छी भएर जन्मनु पर्दोरहेछ” भन्दै ऊ उठेर भान्छामा जान्छे ।
बिरामी हजुरआमा भनिरहनु हुन्छ – “त्यति पानी के मागेकी थिएँ सुनाएकी सुनाएकी नै छ । ठीक भएपछि त म पनि त काम गर्छु नि । यसै बस्दिनँ । के गर्नु आफ्नो छोराले छोडेर गएपछि ।”
माथि कोठामा बसेका भानुले फेरि सोच्छन्, म तलै गएर हजुरआमासँग सबै कुरा सोधेर मात्र कथा सुरू गर्छु । यहाँ तिनै अवस्थामा जीवन बिताइरहेका व्यक्तिहरू छन् । यी सबै आ – आफ्नो ठाउँमा सङ्घर्ष गर्दै छन् । के यसको अन्त्य हुँदैन ? तल ढोकामा ट्वाकट्वाकको आवाज आउँछ ।
“ए भुन्टी, ढोका खोलिदे आमाले चामल ल्याउनु भयो कि क्या हो ?” भनेर पानी तताउँदै गरेकी दिदीले बहिनीलाई अह्राउँछे ।
ढोका खोल्दा त्यहाँ उपस्थित आगन्तुकलाई देख्दा बहिनीले केही बोल्न नसकेर हेरिरहन्छे ।
“को आयो, किन नबोलेकी” भनेर दिदीले भित्रबाट कराएपछि पनि बहिनीले जवाफ दिन नसकेर ऊ…ऊ मात्र भन्छे ।
दिदी आफैँ आएर हेर्छे र ऊ पनि छक्क परेर भन्छे – “आमा हुनुहुन्न भरे मात्र आउनु हुन्छ” भनेर विनाप्रश्नको छोटो जवाफ दिन्छे ।
उनी भित्र पस्न खोज्दै भन्छन् “ म तिम्रो आमालाई भेट्न आएको होइन, तिम्रो हजुरआमासँग कुरा गर्न आएको । अनि सुन, तिमीहरू पढ्न बस । जाँच आएको छ होइन ? तिमीहरूलाई भात माथि पकाउन लगाइदिएको छु । जाँचमा राम्रो नम्बर ल्याऊ है” भन्दै उनी भित्र पस्न खोज्छन् । पारू र भाइबहिनीहरू पनि ढोकै छेकुँला जस्तो गरी त्यहीँ आइपुग्छन् र भित्रबाट पानी उम्लेर खटखट गरेको आवाज आउँछ । हजुरआमाले पनि बिछौनाबाट सोध्छिन् – ए नानी ! को आएको के भन्दै छ ?”
म आएको आमा भानु । माथिको तलामा बस्छु । म तपाईसँग कुरा गर्न आएको ।” के कुरा गर्छौ बाबु, म बूढीसँग । बिरामी छु । अहिले जाऊ । मलाई बोल्न पनि गाह्रो भएको छ । केटाकेटीहरू बुझ्दैनन् कराइरहन्छन् । बाबुलाई अशान्ति भयो कि कसो बाबु ?”
“होइन, आमा त्यस्तो केही छैन, अलिकति तपाईंसँग नै सोध्नु छ । तपाईले गर्नु भएको यो मद्दतले धेरैलाई सहयोग गर्छ आमा नाइँ नभन्नोस्”
त्यसपछि भने भानुलाई भित्र छिर्न दिन्छिन् । उनी पनि कागज कलम लिएर आमाको अगाडि गएर बस्छन् ।
पारू, तातो पानी लिएर आउँदा भानुलाई कागज कलमको साथ देख्दा छक्क पर्छे र सोध्छे – “तपाईं को ? पत्रकार कि साहित्यकार ?”
उसले जवाफ दिनुभन्दा पहिले बहिनी आएर सोध्छे – “दिदीले भनेको, आमालाई पनि भात पकाएको छ कि छैन रे ?”
यस्तो प्रश्न सुनेर भानु छक्क पर्छन् र भन्छन् – “छ, बहिनी तिमीहरू सबैलाई छ हजुरआमालाई पनि छ । बाजेले माथिबाट ल्याइदिन्छन् । तिमीहरू पढिरहू जाँचमा राम्रो नम्बर ल्याउने इच्छा छ होइन ?
उनीहरू टाउको हल्लाउँछन् र जान्छन् । भानु आमापट्टि फर्केर कुरा सोध्न थाल्छन् – “आमा ! तपाईंको घर कहाँ हो ? कहाँबाट काठमाडौँ आइपुग्नु भयो ? घर छोडेर किन यस बिरानो ठाउँमा आएर यस्ता कष्टहरू भोग्न चाहनु भयो ?”
“हामी दाङ देउखुरीबाट आएका हाँै नानी । हाम्रो त्यहाँ पुग्दो खेतबारी घरघडेरी थियो । राम्रैसँग हुने खाने नै भएर बसेका थियौँ । के भयो के हुरीबतास चलेझैँ गरी सबै सोहोरेर उडाइ लग्यो र हामी अहिले यहाँ आएर यो सकसमा बसिरहेका छौँ । बुहारी हिम्मतिली थिई र यहाँ ल्याएर दुःखसुख गरी जीवन निर्वाह गरेका छौँ ।
कसरी हुरीबतास चल्यो त आमा ?
उनी आँखा पुछ्दै भन्छिन् – लोभ, बाबु लोभ ! पैसा कमाउने र विदेशको झिलिमिली हेर्ने चाहना ।
एउटा मात्र छोरो सानोमा बाबुले पढ, पढ्नु पर्छ भन्दा छल्दै भाग्थ्यो । हेर्दा ऊ राम्रो देखिन्थ्यो, फिलिमे गाना हरबखत गाइरहन्थ्यो । सबैले भन्थे – त्यसको स्वर पनि मीठो थियो रे । गाउँलेहरूले भन्थे – तिमी त सिनेमामा हिरो बन्न जानुपर्छ । ऊ मख्ख पथ्र्यो । त्यसको बाबु पनि छिट्टै बित्नुभयो अनि हामीलाई के टेथ्र्यो ? पहिले पाखापाखाको जग्गा बेचेर सिनेमाको हिरो बन्न भनेर काठमाडौँ गयो र पैसा सिद्धाएर फर्कियो ।
पछि विदेशमा गई काम गर्ने पैसा कमाउने र रमाइलो गर्ने भनेर गाउँगाउँमा काठमाडौँबाट मानिसहरू आएर तहल्का मच्चाए । जानेहरूको नाम लेखेर अलिअलि भएका पैसा पनि मान्छेपिच्छे सोहोरेर लगे । दोस्रो लडाइँको समयमा फौजमा भर्ना हुन गएका ताँती देखिएको थियो, अहिले फेरि नोकरी गर्न विदेशमा जान लागकोहरूलाई देखिन थाल्यो । बाजेबराजुले कमाएर गाउँमा जोडेको खेतबारी सबै सिध्याएर एउटा घर र सानो तरकारी बारी मात्र बाँकी राखेर अरू सबै बेचबिखन गरेर छोरा गयो । भन्थ्यो म धेरै बस्दिनँ आमा अहिले लागेको खर्च उठाएपछि फर्किहाल्छु । मौका मिल्यो भने खर्च भएको भन्दा बढी कमाएर आउँछु, अरू धेरै जग्गा जोड्छु, तपाईंको हातभरि सुनका चुरा लगाइदिन्छु । एकदुई वर्ष तपाईंहरू दुःखजिलो गरी बस्नोस् भनेर बाटो लागेको मेरो छोरा अहिले जेलमा परेको छ रे । कहिले आउँछ थाहा छैन । गाउँका हामी आमाहरूको र स्वास्नीहरूको आँसु जम्मा पारे एउटा पोखरी बन्छ बाबु पोखरी । अब त कसैले छोरो जन्मियो भनेर सुनाउन आए भने मनमा च्वास्स लाग्छ । सोच्छु – त्यो पनि ठूलो भए पछि विदेशमा लाग्ने त होला नि । पढ्नलाई हो र ? यहाँ तिनीहरूलाई काम गर्न वस्तु लिएर खेतमा जा भन्दा मान्दैनन् त्यहाँ भने जेजस्तो काम पाए पनि गर्छन् रे । अहिले त हामी नेपाली आमाहरू गाईले गोरू बनाउन साँढे जन्माएको जस्तो गरी छोरा जन्माउन हुर्काई बढाई गरी ठूलो बनाएर त्यसको शक्ति प्रयोग गर्न विदेशमा पठाउने त हाँै नि ?
यति भने पछि दुवैजना भारी मन पारेर चुप लाग्छन् र केही बेरपछि लामो सुइय् श्वास तानेर आमाले प्रश्न राख्छिन् – होइन, बाबु विदेशको एअरपोर्टमा पुगेपछि नक्कली भिसा भन्ने थाहा हुने त्यो यहाँको एअरपोर्टमा उड्नुभन्दा पहिले किन थाहा नहुने ? किन त्यसैबेला यहाँ रोक्न नसकेको ? त्यतिका नेपालका छोराछोरीहरूलाई किन सताएको ? काम गर्न जानेहरूलाई त सम्मान गर्नु पर्नेमा बेइज्जत गर्ने ? सुन्छु, यसरी छोराहरूलाई देशदेशमा मजदुर बनाएर पठाएकामा हाम्रो देशले पनि पैसा पाउँछ रे भन्दारहेछन् । अनि आफ्नो नागरिकमाथि निगरानी राख्नु पर्ने होइन र बाबु ? अझ कत्तिको त छोरा फर्कला भन्दाभन्दै मरेको खबर आउँछ रे ? लास पो पठाइदिन्छन् रे । हाम्रो छोरालाई लिनोस् न । सबै अफिसले मिलाइदिएको छ भनेर कत्रो फुरफुर गरेर गएको थियो, लौ त्यहाँ पुगेपछि कस्तो अवस्था भोग्नु प¥यो । नखाएको विष पनि कहिलेकाहीँ लाग्छ भनेको यही नै रहेछ ।
उनी फेरि तुरूक्क आँसु चुहाउँछिन् । भानु, हजुरआमालाई हेरिरहन्छ । उनी फेरि आँसु पुछेर भन्छिन् – हामी यस्तो चिन्तामा परेको बेला भेट्न आउने टाढाटाढाका गाउँलेहरू पनि भनिरहेका थिए – आमा ! यस्तो वज्रपात तपाईंलाई मात्र परेको छैन । सबैलाई परेको छ, चित्त बुझाउनुहोस् । हामीकहाँ केटा जवानहरू गाउँमा नभएर आइमाईहरू नै गोरू नारेर खेत जोत्न थालेका छन् । उनी अड्की खोक्दै यी कुराहरू भनिरहन्छिन् र अन्त्यमा भानुलाई अनुरोध गर्दै भन्छिन् – “ए बाबु ! तिमीले हाम्रो मनको घाउ र सहँदै आएको यस्ता वेदनाहरू सबैलाई राम्ररी बताइदेऊ । फेरि कसैका आमाहरू हामीले जस्तो गरी रूनु नपरोस् । सरकारलाई पनि भनिदेऊ – देशबाट ठगीलाई सबैभन्दा पहिले हटाउने कोसिस गर । विदेश जान पाउँदैनन् भने नपठाऊन् तर चोरडाँका जस्तो भई जेलमा कोचिन बिरानो देशमा जान नपरोस् हाम्रा छोराहरूलाई ।
यस्तै कुरा यी दुईबिच चल्दै थियो ढोकामा फेरि ट्वाकट्वाक आवाज आउँछ । छोरीले दौड्दै गई ढोका खोल्छे । हँसिलो अनुहार लिई हातमा मिठाईको बट्टा लिएर उभिएकी आमालाई देखी खुसी हुँदै छोरी उफ्रन्छे र के ल्याउनु भएको आमा भन्छे । आमालाई जवाफ दिने फुर्सत छैन उनी सोझै सासुको नजिक पुग्छिन् र सानो टुक्रा मिठाई सासुलाई खुवाउँदै भन्छिन् – “आमा ! तपाईंको छोरा अब फर्कने हुनु भयो । आजको अखबारमा नाम लेखेको छ यी हेर्नोस् भन्दै अखबार देखाउँछिन् ।
सासु पनि खुसीले हाँस्दै सोध्छिन् “ए हो र !”
भानु पनि त्यस परिवारमा आएको खुसी देखेर आफू पनि खुसी हुँदै मनमनै सोच्छन् – “मेरो कथाले नसोचेको सुखद अन्त्य पायो । यस्तै सुखले यी परिवारलाई नछोडोस्” भानु कोठाबाट बाहिर निस्कन्छन् ।
(१९९७)