~योगेन पौडेल~
“अमेरीकामा ह्याँ जस्तो हैन, मान्छेले मान्छेलाई सम्मान गर्छन् बुझ्नु भो, ‘रेस्पेक्ट’ गर्छन् ‘रेस्पेक्ट’, ‘नट लाईक हियर’ ”। त्यसै त अमेरीकाबाट आएको, ‘स्कच’को पाँचौँ ‘लार्ज पेग’पछि अँग्रेजी बोल्नु उसको ‘जन्मसिद्ध अधिकार’ हुने नै भयो। आज अघिदेखी नै अमेरीका र यहाँको ‘पोल्टिक्स’ ‘मोरल भ्यालु’, ‘सोसल सेक्युरिटि’, ‘सिष्टम’, सडक, ‘पब्लीक’, ‘धुवाँ-धुलो’, ‘नोईज पोलुसन’ आदिको तुलना बुझ्दा-बुझ्दा अरू धेरै कुरा बुझ्ने काम झन्झटिलो लाग्दैथ्यो। बरू उसैको पैसामा शुरुमा ‘चिकेन’ मो:मो एक प्लेट बुझीसकेपछी दोश्रो प्लेट ‘चिकेन रोष्ट’ सँग ‘स्कच’को तेस्रो ‘लार्ज पेग’ बुझ्ने प्रयासले चाँहि आज सरीर र आत्मा दुबै धेरैदिन पछी सन्तुष्ट थिए। सन्तुष्ट आँखाले पहिले प्लेटमा बाँकी रहेको ‘मुर्गी’को रोष्ट, त्यसपछी टेबलको अर्को पट्टी सोफामै ढलुँला झैँ स्थीती भईसकेको मेरो स्कुल पढ्दाताकाको मित्रलाई हेरेँ, जो अहिले चाँडै नै बिल तिर्ने बेलामा ‘मुर्गा’ बन्नेवाला छ। त्यसैबेला साथिको पछाडी अली माथी झुण्डिएको भित्तेघडी देखेँ। ओहो, पौने एघार! आज बुढीले मार्ने भई। “आजकल मापसे चेकीँगले हैरान बनाउँछन्, निस्कनु पर्ला है अब” म निस्कने राम्रो बहाना निकाल्छु। ,”म ‘क्याब हायर’ गर्छु, तपाँईलाई ‘ड्रप’ गर्दीन्छु”। थुईक्क मेरो बुद्धी, ट्याक्सीमा जान पाईने रहेछ, त्यो मेरो ‘खटारा’ आजको दिन त नल्या’भए हुने नि, यो तेलको अनिकालमा। मैले “भै गो” भनेँ। उसके दाहिने हात उठाएर “बिल” भनेर करायो। केही रक्स्याहाहरुले हामीतिर हेरे।
“कामको ‘रेस्पेक्ट’ हुन्छ, ‘ह्वाटएभर यु डु, द्याट डजन्ट म्याटर, वर्क ईज रेस्पेक्टेड, यु नो’ ”। साथीको धारा-प्रवाह अँग्रेजीले आज रोकिने छाँट देखाएन। अझै केहीबेर साथीको अँग्रेजी ‘मीसाईल’ले मलाई आक्रमण गरी नै रह्यो। मैले “अली ढीला पो हुने भो कि क्या हो” भन्दै गर्दा मसला-सुपडी सहित वील राखेको ट्रे लिएर वेटर आईपुग्यो। साथीले “ यत्रो बेर कुराउने? यहि हो ड्युटी? ईज दिस ह्वाट यु कल ड्युटी?” भन्दै वेटरलाई धकेल्यो। अली लड्खडाउँदै वेटरले आफुलाई सम्हाल्यो। ट्रे भुँईमा खस्यो र मसला सुपाडी भुँईभरी छरपस्ट भयो। वीलचाँही हावामा तैरीँदै बिस्तारै भुँईतिर खस्यो।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)