कविता : मेरो अपहरण

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

कसैले मलाई दागा धर्यो
र, मेरो अपहरण गर्यो
दस लाख फिरौती माग्यो
र, मैले दिन सकिनँ
अब मेरो हालत के हुन्छ !
अचेल म-
यस्तो सोचमा अल्झेको छु !
म किन अपहरण हुने ?
आफैँलाई सोधिरहेँछु
यसका पर्याप्त कारणहरू छन्
आफैँलाई भनिरहेँछु-
तैँले टनकपुरको विरोध गरिस्
पञ्चेश्वरको विरोध गरिरहेछस्
कालापानीले नपुगेर
नालापानीको सपना देखिस्
सुस्तामा सानो अतिक्रमण हुँदा
टिष्टाको घाउ लेखिस्
हो, तँ अपहरण हुने
पर्याप्त कारणहरू छन् ।

तँ अरूको कर्कलोबारी फाँड्छस्
ठूल्ठूला नेतालाई पनि
भ्रष्ट भस्मासुर भन्छस्
कति कोट्याएको धमिजाकाण्ड
कति होच्याएको अग्ला मान्छेलाई
ए पटमूर्ख क्षेत्रे !
तँ जसलाई देशद्रोही भन्छस्
देशमा त्यसकै ढलीमली छ
तेरो फतफत र
जनमतको अर्थ छैन
रिमोट-कन्ट्रोलबाट जे निगाह हुन्छ
त्यही आत्मसात् गर्
गर्न नसके मर् !
अब कुरो प्रस्ट भयो
मेरो अपहरण हुनुपर्छ
तर त्यो दस लाख फिरौती
सारै ठूलो रकम हो
म तिर्न सक्तिन
मलाई मार
तर बैनी ख्यातीलाई जस्तै
टुक्राटुक्रा नपार
नफाल, नगाड, नपोल
किनकि मैले
वीपी कोइराला प्रतिष्ठानलाई
मृत्युपश्चात् शरीरदान गरेको छु ।

(स्रोत : मधुपर्क २०६६ मंसिर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.