कविता : खोला

~छविलाल कोपिला~chhabilal-kopila

मेरो घरको छेउमै बग्ने खोला
छङ–छङ बग्ने खोला
अनि, मीठो निद्रसंगै सुसाउने खोला
होे, उही खोलामा
ढुङ्गासंगै कति आनन्दसित पानी खेल्छन्
पानीसंगै मिलेर बालुवाहरु पनि खेल्छन्
त्यस्तै कैयौं वनस्पति÷कैयौं जीवहरु पनि,
यसरी,
ऊ हजारौकों भविष्य लेखिरहन्छ संधै ।

मेरो ‘घुच्ची’ खेल्ने चेप्टो ढुङ्गा
गुलेली हान्ने मटेङ्ग्रो
अनि, बालुवा–ढुङ्गा दिएर
हाम्रो जीवन सजाउँछ
घर, सडक, नहर….. के–के हो के–के,
उसैले बनाएको हो
तर, खै ! ऊ कहिल्यै हिसाब÷किताब खोज्दैन ।

सायद, त्यसैले होला
जब ऊ सुख्खा भएर निरस हुन्छ
उसलाई लुट्छन् सबै
छातीमाथि ढुङ्गा बजारेर
पेटको बालुवा खोसेर
नशा–नशामा बग्ने उसको पानी चुसेर ।

ऊ कंकाल हुँदापनि
आफ्नो शरीरमा लागेको घाउको
पीडा कहिल्यै महसुस गर्दै
बरु ऊ सुनाउँछ
हिमालको स्वच्छ पानीको गीत
पहाडको शित्तल हावाको कथा
अनि, तराइको हरियाली फाँटको गाथा ।
तरपनि, खै ! किन हो
मान्छेहरु उसंग हरदम खेलाचीं गर्छन् ?

सायद, त्यसैले होला
कहिलेकाहीं धुमिल मन बनाउँछ ऊ
कहिले भेल भएर बग्न खोज्छ,
कहिले छाल बनेर उर्लिन खोज्छ
यसरी ऊ बगिरहँदा,
हा–हा र हु–हु गर्दै उर्लिरहदा
कैयौं भ्रष्ट र दलालको जर उखेन्छिन्
कैयौं यथास्थितिका पाखाहरु भत्किन्छन्
कैयौं काला मनहरुमा दरार आउँछन्
यसरी, यहाँ ऊ
अचम्मको विध्वंश मच्चाउन मन गर्छ ।

उत्साहले ऊ ढुङ्गामा पल्टीबाज खेल्छ
हावामो छलाङ्ग मार्छ
भूमरीका हजारौं घुम्टीहरु
अनि, धर्तीको प्रत्येक अंग–अंग कुद्दै
यौवनको गहिराइमा पुग्छ
जहाँ चरमस्पर्शले खिलखिला हाँसो हाँँस्छ ।

निरीह ढुङ्गा पिसेर छाती कहाँ भरिन्छ र ?
बगरको बालुवा पिएर पेट पनि त कहाँ भरिन्छ ?
सायद, त्यसैले होला
आजकल ऊ आफ्नो सुन्दर गहना फिर्ता माग्दैछ
यो दुनियाँसंग
आफ्नो साँवा–व्याज माग्दैछ
लिन जान्ने, दिन नजान्नेहरुसंग
अनि, खबरदारीको बिन्ति बिसाउँदैछ
यो प्रकृतिलाई कुरुप बनाउनेहरुसंग ।

अस्ति भन्दैथ्यौ
माग्दा नपाए, खोसेर ल्याउँछु
घिसारेर भएपनि,
चिथोरेर भएपनि
या चोइट्याएर भएपनि ल्याउँछु ।

आजकल ऊ निकै रिसाएको छ
सायद त्यसैले होला
ऊ बार–बार आउँछ
कहिले पाखा भस्काउँदै
कहिले रुख ढाल्दै
कहिले घर भट्काउँदै
अनि निर्दयी जस्तै
पुरा वस्ती बगर बनाउँछ
हजारौं रहरहरु, जहर बनाउँछ ।

–लमही नगरपालिका–६ उत्तर मजगाउँ,
देउखुरी–दाङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.