~सूर्य सुवेदी~
रिठ्ठे झाँक्री निकै नामी झाँक्री हुन् । यी झँक्रीलाई धामीराख्न यिनको घरगाउँबाट मात्र होइन एकडेढ दिनको टाढाबाट पनि मानिसहरू लिन आउँछन् । रिठ्ठेको नाम रितबहादुर भएतापनि रिठ्ठे झाँक्री नै उनको परिचय बोकेको शब्द हो ।
रिठ्ठे झाँक्रीका घरमा कालो बोको, काला कुखुरा र काला परेवाका बच्चाहरूको मासु प्रायः टुटदैन । प्रायः उनी आफूले धामी बस्ने ठाउँमा भरसक कालो बोको वा कालो कम्वर पाठी -बोको नलागिसकेको) सो जुटाउन नसके कालो कुखुराको भाले वा पोथी वा काला परेवाका बच्चा पूजा गर्न सिफारिस गर्छन् । उनी शिकारी मन्छाउन, बोक्सी तर्काउन, भूतप्रेत र डाइनी मन्छाउन, मोचमार्न र मसान भगाउन निकै नामी मानिन्छन् ।
रिठ्ठे झाँक्री गाउँठाउँका अनपढ र अन्धविश्वासी आइमाइहरू बीच जान्ने नामले निकै कहलिएका झाँक्री हुन् । बिरामी सिकिस्तभएका ठाउँमा जान रिठ्ठे अलि तर्कन्छन् । तैपनि करकापमा सिकिस्त बिरामीभएका ठाउँमा जान पनि रिठ्ठे बाध्य हुन्छन् । रिठ्ठे झाँक्रीका सहयोगीका रूपमा चरे खत्री सधै सँगै रहन्छन् र रिठ्ठेका गजा ढ्याङग्रा, घुंगुरु झ्याम्टा दुम्सीका काँडा र काँडाका माला, रुद्राक्ष माला र झाँक्री थानमा राखिने विभिन्न आकारका देउता र मसान उतार्ने कालो कपडाको एउटा ठूलो झोलासमेत सामान धामी बस्ने घरसम्म पुर्याउन र फिर्ता ल्याउन चरेनै वोक्ने गर्दछ । धामी बसेको घरमा चढाएका चामल, धान, फलफुल, पूजा गरेका बोका, पाठी, कुखुरा परेवा आदि सामान झाँक्रीको घरसम्म पुर्याउने काम धामी राख्नेकै हुन्छ ।
रिठ्ठे झाँक्रीले कहाँकहाँ मधौरु निकोपारे, कहाँ कहाँ बोक्सी बकाए, कहाँकहाँ मसाने भूत हटाए, कसलाई वोक्सी डाइनीले लामु सताएको ठाउँमा धामी बसेर फू मन्तरको वाचा गरेर मधौरु निकोपारि शान्ति बनाए भनेर धामी बस्नगएको ठाउँमा भरसक झाँक्री भन्दा अलकढलक बसेर रिठ्ठेको प्रशंसाको पुल वाँध्नु चरे अर्थात् धुपौरेको मुख्य काम हो भने मधौरुलाई रिठ्ठे झाँक्रीको शक्ति र प्रभाव विषयमा वखान गर्नु अर्को काम हो । काली गाईको धूप, सालधूप र अरू चाहिने, भीमसेनपाती, तिलेपाती, वर, पिपल, काब्रो र बकैनाकापात, सिरु, तिल, जउ, चामल, बाँसको लिङ्गो वा सिमालीको लिङ्गो तयार गर्न लाउनु पनि धुपौरेको थप काम हो । धूप सल्काएर घर वरीपरी धूपधुवाँ गर्नु, बोकापाठा वा कुखुरा परेवा पूजा गर्न लाउनु धामी बसेको वेला धामीप्रति दृढ आस्था राख्ने वातावरण बनाउनु धुपौरेकै काम हो । धुपौरे एक प्रकारको चम्चे वा सहायक जे भने पनि हुने सहायक धामीनै हो भन्ने कुरा मधौरु र मधौरुका मानिसले राम्ररी बुझेका हुन्छन् । चरे निकै सिपालु धुपौरे हो जो रिठ्ठे झाँक्रीलाई सफा सुघ्घर ओछ्यान मिठो मसिनो खाना र आदर गर्ने वातावरण बनाउन र त्यसको भरपुर फाइदा लिन निकै खप्पिस छ । भरसक धुपौरें चरेबिना रिठ्ठे कतै जान पनि तयार हुदैनन् । धामी बस्ता आएका मासु, घिउ, चामल, फलफूल र अन्य सामानले गर्दा रिठ्ठे झाँक्रीको घरमा खानपिनको राम्रो व्यवस्था छ । चरे र चरेको परिवार पनि झाँक्रीको कमाइबाट लाभान्वित छन् । प्रायः पाहुनापाछा रिठ्ठेको घरमा मांस भोजन गर्न पाउँछन् ।
रिठ्ठे झाँक्री दक्षिणा बापत यति उति पैसा देउ भन्दैन । तपाईंहरूनै हेरेर दिनुहोस् भन्छ । तर धुपौरे चरे रिठ्ठेको लागि अनेक सानसिकान लाएर राम्रै दक्षिणा झार्ने उपाय पनि गर्छ । चरेको आनासुकी पनि रिठ्ठेकै सहारामा चलेको छ । ढुङ्गाको भर माटो, माटाको भर ढुङ्गो ।
आज रिठ्ठे झाँक्री धामी बस्न जलजले बुढाथोकी मुखिया कहाँ जानुपर्ने भयो । मुखिया बुढा खोक्ने रगत छाद्ने कहिलेकाहिं मूर्छा पर्ने पनि गर्दा रहेछन् । मुखिनी बुढीले जेठो छोरो रत्नमानलाई जसरी पनि रिठ्ठे झाँक्रीलाई लिएर आउन भनेर पठाएकी छन् । ढ्याङ्ग्रा, गजा र अरू सरसामान बोक्ने मानिसपनि लिएर आएका छन् रत्नमान । रिठ्ठे झाँक्री, धुपौरे चरे खत्री समेतलाई लिएर बुढाथोकी मुखिया कहाँ धामी बस्न पुग्छन् ।
रिठ्ठे झाँक्री र धुपौरे चरे खत्री मुखियाको बिमारीबारे मुखिनी बुढीबाट लामो बयान सुन्छन् । मुखिया बुढा, ऐया, आत्था मरें भन्दै गनगनाइरहेका हुन्छन् । रिठ्ठे झाँक्री बुढाथोकी मुखियालाई मसाने भूत लागेको ठहर गर्छन् धुपौरे चरे खत्रीले अह्राए अनुसार एउटा कालो बोको, कालो कुखुराको भाले र एक जोर कालै परेवाको बचराको व्यवस्था हुन्छ । धुपौरे चरेखत्रीको सल्लाह अनुसार काली गाईंको धूप, साल धूप देखि धान, चामल, धूपबत्ती, फूलपाती सबैको व्यवस्था हुन थाल्दछ । रिठ्ठे झाँक्रीको ठूलो ढ्याङ्ग्रो वेससाफी बज्दछ । झाँक्री घरको चारै सुरमा ढ्याङ्ग्रो ठोकेर नाँच्तछन् । ढ्याङ्ग्रो पिट्ने गजो पनि खुब छिटोछिटो चलाउँछन् । मुखिया बुढाको पेट छेउमा सालधूप हालेको भरी कोइला सहितको धुपौरो हातले खुब नचाउँछन् । घर सुगन्धित हुन्छ । रिठ्ठे झाँक्री झरझराउँदा चारवटा कोइला मुखमा हालेर निल्छन् भने केही झरझराउँदा कोइला आँगनमा निस्किएर पूर्व, पश्चिम, उत्तर र दक्षिण तिर फ्याँक्छन् । मधौरु हेर्ने र धामी हेर्नेको ताँती हुन्छ । मुखिया बुढा राम्रोसँग निधाउँछन् । रिठ्ठे झाँक्री र चरे भोलि बिहान मिर्मिरेमै घर फिर्छन् । एउटा भरिया धान, चामल, र पूजागरेको खसी, बाख्रा कुखुरा सबै झाँक्रीको घरमा पुर्याइ दिन्छ । मुखिनी बुढी रिठ्ठे झाँक्रीप्रति आभारी हुन्छिन् । मुखिया बुढा अरू दश पन्ध्र दिन बाँच्तछन् ।
पन्ध्रदिन पछि एकाबिहानै जलजलेमा बुढाथोकी मुखियाको घरमा एकोहोरो शंख बज्दछ । छरछिमेकी जोरीपारी र वारिपारि सबै मुखिया बुढा खसेको चाल पाउँछन् । रिठ्ठे झाँक्री र धुपौरे चरे समेत बुढाथोकी मुखियाको मलामीमा पुग्दछन् । कडै मसाने भूतले गाँजिसकेको र ढिलो थाहा पाएकोले मुखिया बुढालाई निको पार्न नसकेको एकाछेउमा केही मलामीलाई बताउँदै हुन्छन् । धुपौरे चरे प्रतिक्रियाविहीन छ ।
मुखिया बुढालाई लामो टी.वी. भएर बाँच्न नसक्ने भनी अस्पतालले फिराइसकेको थियो । बुढाको बाँच्ने आस थिएन । मुखिनी बुढीको सन्तोसको लागि धामी समेत लाएको तर बुढा बाँच्ने सम्भव नै थिएन भनेर गाउँका मास्टर अरू मलामीहरूसँग कुरा गर्दै थिए । ढिलो थाहा भएकोले बुढालाई मसाने भूतबाट बचाउन नसकेको भनेर रिठ्ठे झाँक्री पटक पटक गुनासो गर्दै थिए । धुपौरे चरेको मुखमा विरक्तिको छायाँ दगुर्दै थियो । चितामा आगो दनदनाउँदै थियो । मलामीहरू बुढाको गुणको वखान गर्दै थिए । मलामीको संख्या देख्नेहरू बुढाको व्यक्तित्वको आकलन गर्दै थिए । रिठ्ठे झाँक्रीप्रति खासमा कसैको चासो र गुनासो थिएन । रिठ्ठेलाई बुढाथोकी मुखियाको घरमा धामीबसेको देख्नेहरू भन्दै थिए उनले ढयाङ्ग्रो ठोकेको र आगो निलेको देख्दा बुढा बाँच्छन् कि जस्तो लागेको थियो । तर बुढा बाँचेनन् । मसाने भूतले लगिछोड्यो । चिताको दनदनाहट छेउमा रिठ्ठेको फलाको र ढ्याङ्ग्रोको आवाजको तरंगभने कसैले सुनेनन् । अरू मलामी सरह रिठ्ठे झाँक्री र धुपौरे चरेपनि निस्तेज देखिन्थे ।