~मुकुन्द आचार्य~
काठमाडौंको चिसोमा जाँड नखाने त कमै पाइन्छन् । तर जाँड खाएर भाँडभैलो गर्ने पनि कमै हुन्छन् । भातको माँडको साटो जाँड खाने साहसी गोर्खाली पनि कम्ता हुँदैनन् ।
बिहानैदेखि टिल्ल भएर फतफताइरहने एउटा यस्तै चरित्र हाम्रो समाजमा ‘ट्वाँके’ को नामले सुपरिचित छ । यस्तो व्यक्तिसँग बोल्न पनि डरै लाग्छ । कतिखेर जाँडको सुरमा त्यसले के गर्छ– क्यै भन्नै, बुझ्नै गार्हो । त्यसैले यस्तालाई म परैबाट नमस्कार गरेर बाटो काटेर हिंड्ने गर्छु ।
एक दिन लोकल बसको हुलमा म च्यापिएर खाँदिएर उभिएको थिएँ । सास फेर्न पनि गार्हो थियो । कन्डक्टर बज्जिया चैं हरेक बस बिसौनीमा यात्रु हुल्न खोज्थ्यो । सिटमा बस्ने र बीचमा उभिने दुवैथरीलाई सकस थियो । उसै त बुहारी भटमास खाएकी भनेभैंm यस्तो आपतकालीन अवस्थामा कसै–कसैले अपानवायु त्याग गरेर वातावरण झन् असह्य बनाएर मर्थे । मिनीबसभित्र मिनी नर्क भोग्दै थियौं ।
म उभिएकै ठाउँमा नजिकै त्यै ट्वाँके सिटमा बसेको रै’छ । मलाई देख्नासाथ उसले भन्यो– “बाज्या १ आउनुस्, यहाँ बस्नुस् । म उभिएरै जान्छु ।” यति भनेर उसले त बलजफ्ती आफ्नो ठाउँमा बसाएरै छोड्यो । उसको हरेक शब्दमा लोकल रक्सीको फ्लेवर हुन्थ्यो । कसैले नाक थुन्थे, कसैले मुन्टो बटार्थे ।
निकै आदरका साथ त्यो चौबीस घण्टे ट्वाँकेले मलाई आफ्नो सिटमा छाडी बसायो । मानवता पनि कहिलेकाहीं कस्तो–कस्तो प्वालबाट चियाउँछ भन्न सकिन्न । बसमा कसैले पनि ट्वाँकेबाट यस्तो व्यवहारको आश गरेका थिएनन् । छिनमैं ऊ सबैको नजरमा ‘हिरो’ भयो ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)