~हरि अधिकारी~
आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास “सलिजो” कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै आएका मोहनराज जीवन र जगत्लाई गहिरो अन्तरदृष्टिका साथ पर्गेलेर क्लासिक्सको कोटीमा राख्न मिल्ने कालजयी कृतिको सिर्जना गर्ने कु श्रेणीका लेखक होइनन् । उनको समग्र साहित्यको अध्ययन गर्दा थाहा हुन्छ, उनमा प्रयोगशीलता पर्याप्त मात्रामा छ, नेपाली भाषाको सौन्दर्य र माधुर्यलाई आफ्ना रचनामार्फत उद्भाषित गर्ने कला पनि छ र समाजमा रहेका गम्भीर प्रकृतिका समस्याहरूको उठान गर्ने दायित्वबोध पनि छ । तर, किन हो, यिनको साहित्यमा एक प्रकारको हलुकापन पाइन्छ, यिनले सिर्जना गर्ने साहित्यिक परिवेशमा विश्वसनीयता पाइँदैन, पात्रहरूको मनोलोक पनि कृत्रिमजस्तो लाग्छ, सबै कुरा एकदमै सतही र अगम्भीरजस्तो । शर्माको नवीनतम् कृति सलिजो पनि यी कमजोरीबाट मुक्त हुन सकेको छैन । आफ्ना अनुभव र अनुभूतिको परििधबाट टाढा पर्ने विषयवस्तु परेका कारण हुन सक्छ, सलिजोको कथानक, पात्रहरूको उठान र विकास, तिनको मनोविज्ञान र परिवेश एवं घटना-उपघटनाको चित्रण, कुनै पनि पाठकसँग मानसिक तादात्म्य राख्न सक्ने खालका छैनन् ।
सलिजोमा मोहनराज शर्माले रूपा र ज्वाला नामक दुई समलिंगी युवतीहरूद्वारा समलिंगी जोडीका रूपमा सामान्य सामाजिक जीवन बाँच्न खोज्दा गर्नुपरेको संघर्षलाई वाणी दिने जमर्को गरेका छन् । समाजमा अल्पसंख्यकका रूपमा रहेका प्रकृतिका यी अपहेलित सन्तानहरूका बारेमा नेपाली साहित्यमा कमै लेखिएको छ । उपन्यासजस्तो विस्तृतिका साथ बुन्नुपर्ने विधामा त यो विषयवस्तु आएकै थिएन । प्रयोगधर्मी लेखक शर्माले समलिंगीहरूको दुनियाँमा रचनात्मक प्रवेश गरेर नेपाली साहित्यमा एउटा कोसेढुंगो गाडिदिएका छन् । यसैका लागि मात्र पनि शर्मा बधाई र प्रशंसाका पात्र बनेका छन् । उपन्यासको रचना गर्ने क्रममा लेखकले समलिंगीहरूको मनोविज्ञानका विषयमा अलि बढी अनुसन्धान गरेको भए, कथानकको पृष्ठभूमिमा रहेको समाजको यथार्थपरक चित्रण गर्न सकेको भए, कथावस्तुको विकासक्रमलाई अतिनाटकीयताबाट बचाउँदै सहज रूपमा अघि बढ्न दिएको भए र समलिंगीहरूको वास्तविक संसारको झाँकी अलि व्यापक दायरालाई समेट्दै गर्न सकेको भए शर्माको मुरीमुरी प्रशंसा गर्न सकिन्थ्यो । यस मामिलामा लेखक चुकेका छन् ।
समीक्ष्य उपन्यासको सबैभन्दा ठूलो कमजोरी यसमा लेखकले सिर्जना गरेको अतिनाटकीयता हो । प्रमुख पात्रामध्ये एक ज्वालालाई बलात्कार गरिएको घटनालाई प्रवेश गराएर लेखकले उपन्यासको सम्पूर्ण केन्द्रीय दृष्टिलाई नै त्यतैपट्टि मोडिदिएका छन् । यसले गर्दा उपन्यासको सारतत्त्व र सन्देश दुवै अल्मलिएको मात्र होइन, विषयवस्तुको गाम्भीर्यमा पनि क्षति पुगेको छ । एउटी आइमाईमाथि सामूहिक बलात्कार र त्यसबाट उत्पन्न हुने शारीरकि र मानसिक समस्या, यो उपन्यासको केन्द्रीय विषयवस्तु हुँदै होइन । त्यसमाथि पनि बलात्कारको घटना र त्यसपछिको पीडितको मनोदशाको विश्वसनीय चित्रण लेखकबाट हुन सकेको छैन । यस घटनालाई प्रवेश गराउनुको लेखकको उद्देश्य पाठकले सम्भवतः कहिल्यै पनि थाहा पाउन सक्ने छैन । अनुमान गर्न सकिने कुरोचाहिँ के छ भने लेखकले उपन्यासलाई अघि बढाउन तानाबाना बुन्ने क्रममा पर्याप्त अग्रतयारी गरेका थिएनन्, बीचमा पुगेर यिनको गति रोकियो र यिनी आफ्नो लेखनको स्वभावगत कमजोरी अतिनाटकीयताको शरण लिन पुगे ।
उपन्यास पढ्दै जाँदा अर्को नमज्जा लाग्ने विषय के पाइन्छ भने लेखकले पात्रपात्राहरूका संवादलगायत अरू धेरै कथोपकथन सहज र पत्यार लाग्ने किसिमका रहन दिएका छैनन् । कतिपय ठाउँमा ती अनावश्यक रूपमा तन्काइएका छन् भने कतिपय कथोपकथनहरू साह्रै नक्कली र पुनरुक्तिदोषयुक्त छन् । संवादका माध्यमबाट आख्यानको कथावस्तुलाई गति र दिशा दिने प्रक्रियालाई संसारका प्रायः सबै आख्यानलेखकहरूले अपनाएका हुन्छन्, यो लेखकको अति प्रचलित शैली हो । तर, त्यो संवाद पात्रपात्राको लेखकद्वारा वणिर्त नैसर्गिक स्वभाव र चरत्रिलाई सुहाउने खालको चाहिँ हुनैपर्छ । पात्रले बोल्ने संवाद लेखक आफैँले बोलेको जस्तो भयो भने त्यसले स्वाभाविक सुगन्ध गुमाउँछ । सलिजोमा धेरै ठाउँमा पात्रहरूको जिभ्रोमा लेखक मोहनराज शर्मा आएर बसेका छन् ।
उपन्यासको प्रारम्भमा दुई समलिंगी युवतीहरूको विवाहको प्रसंगको उठान बडो नाटकीय ढंगबाट गरिएको छ र सम्पूर्ण उपन्यासलाई नै त्यही वैवाहिक सम्बन्धको जगमा उभ्याउने प्रयास गरिएको छ । लेखकले समलिंगी विवाहलाई स्वीकार गर्ने र नगर्नेका बीचको द्वन्द्वलाई नै समलिंगी दुनियाँको एउटै मात्र समस्या ठानेको र त्यस दुनियाँमा रहेका लाखौँ मानिसहरूका अरू जटिलता र समस्याहरूतर्फ चियाउने प्रयत्नसम्म पनि नगरेको देखिन्छ । यो पनि यस उपन्यासको अर्को कमजोरी हो । उपन्यासको अन्त्य भने नाटकीय हुँदाहुँदै पनि प्रभावकारी छ । आफ्नै लिंगमा विवाह गर्ने युवती रूपालाई बलात् आफूसँग लैजान खोज्ने रूपाकै बाबुले खोजेको केटालाई रोक्न उसकी जोडीदार ज्वालाले हतियार उठाएको प्रसंगमा उपन्यास टुंगिएको छ । लेखकले आफ्नो प्राक्कथनमा ज्वालाले हतियार उठाएको प्रसंगलाई आफूमाथि हुने अन्याय र थिचोमिचोको प्रतिवादमा मानिसले गर्ने संघर्षको आरम्भु भनेका छन् । र, एकदम ठीक कुरो गरेका छन् । बितेका केही वर्षदेखि नेपालमा पनि समलिंगी जोडीहरूले विवाह बन्धनमा बाँधिएर दाम्पत्य जीवन बिताउँदै आएका समाचार नेपाली छापाहरूमा फाट्टफुट्ट छापिँदै आएको सन्दर्भमा समलिंगी विवाह लेखकले चित्रण गरेको आयतनको समस्या हुनसक्छ कि सक्दैन, यस विषयमाथि भने पर्याप्त विवाद गर्न सकिन्छ ।
सलिजोमा गोविन्दराज भट्टराईको भूमिका छ । यो उपन्यासका बारेमा भट्टराईले के लेखेका छन्, त्यसको यहाँ उल्लेख गररिहनुपर्दैन । किनभने, गोविन्दराज भट्टराईले आफूले भूमिका लेखेको किताबलाई ुमहान्, उत्कृष्ट, एउटा युगकै प्रतिनिधित्व गर्ने कृतिुभन्दा तलको विशेषण दिनै जानेका छैनन् । यसलाई पनि भट्टराईले मोराशको गद्याख्यानको उत्कर्ष, एक साहसिक कदम, समयको वाणी र प्रयोग । दशकको उपन्यासमा एक, विषयवस्तुको प्रवेशले गर्दा शतकको उपन्यासु भनेका छन् । यो चर्को प्रशंसा एकातिर छ भने अर्कोतिर भूमिका लेखक भट्टराईले आफ्नो आलेखको पहिलो खण्डमा नारी देह र सिर्जनाको प्रसंगलाई विश्वसाहित्यको सन्दर्भमा ढालेर गहन विवेचना गरेका छन् । यो विवेचनाले भट्टराईभित्रका गहन साहित्यिक अध्येतासँग पाठकलाई साक्षात्कार गराउँछ ।
उपन्यासमा नीलहीरा समाजका अध्यक्ष, संविधान सभासद् र स्वयं तेस्रो लिंगी सुनीलबाबु पन्तको मन्तव्य पनि छ । पन्तले लेखकको समलिंगी र तेस्रो लिंगीहरूको समाजमा रचनात्मक प्रवेश गर्ने जमर्कोको दिल खोलेर प्रशंसा गरेका छन् । यो प्रशंसामा औचित्य छ । यस कृतिले हाम्राे समाजमा अल्पसंख्यक र एक प्रकारले निमुखा भएर बाँचिरहेका सम र तेस्रो लिंगीहरूका समस्याप्रति केही न केही मात्रामा जागरुकता बढाउने कुरामा कुनै शंका छैन । यस अर्थमा सलिजोको महत्त्व छ र लेखक साधुवादका पात्र छन् ।
कुनै विधामा लेख्दै जाँदा अर्को विधामा प्रवेश गरेर व्यतिक्रम पैदा गर्नमा खप्पिस मोहनराज शर्माले सलिजोमा एउटा साह्रै मार्मिक कविता पस्केका छन् । माओवादी आतंकको एक दशकमा बेपत्ता पारिएकाहरूका आफन्तको पीडालाई वाणी दिइएको सो कविताकै लागि पनि सलिजो किनेर पढ्ने सल्लाह दिँदा अत्युक्ति हुने छैन ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३६९)