~इलामेली टीकाराम दुलाल~
खट्छन लौ दिन रातका प्रहरमा आलो र पालो गरी
गोलीका अनि बिन्दुलीहरू सयौँ बाध्छन् पटूकी सरी
त्यो पालो पहरा गरेर जिउने जीवन छ साधा बरू
अर्कै नाम कमाउने छ बिचमा मर्दा सिपाहीहरू ।१।
जो आवेग लिएर आँउछ यता सर्कारको खातिर
रोक्नै पर्छ बरै बिचौँ र बिचमा पर्खाल झै भै स्थिर
गाली खेप्नु छदै छ भीड हुलको थप्छन् कमाण्डर् अरू
गालाका पसिना र छुद्र ति बचन् खेप्छन् सिपाहीहरू ।२।
लाग्दा प्यास बिछट्ट रोड बिचमा तुम्लेट छाम्दै थियो
पानीता सकिएछ लौन अघिनै थोपा र थोपा पियो
भोकै हुन्छ उही कडा छ डिउटी बन्दैन कम्जोर् बरू
ज्यानै सुम्पि दिदै र गर्व गरदै मर्छन् सिपाहीहरू ।३।
हासेरै कुरूक्षेत्रमा पनि सधै गर्छन् मिठो कर्म लौ
जस्तो काम परोस गर्छ सजिलै मान्दैन त्यो सर्म लौ
बस्छन् गेह भुलेर यो समुहमा फौजी बनेरै बरू
आफ्नो स्वार्थ भुलेर देश जनता भन्छन् सिपाहीहरू ।४।
के थाहा कुन साँझ गोधुलि कहाँ अन्तिम् हुने हो बरा
कस्तो हालतमा बिदा लिनु छ है यो स्वर्ग जस्तो धरा
कोही हुन्न बिचल्लितै सब यहाँ खट्छन् बिछट्टै बरू
छाडी स्वार्थ कर्तब्य खातिर सधै हिड्छन् सिपाहीहरू ।५।
लेखन मिति २०७४।०३।११ रोज १
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )
सुन्दर लाग्यो ।