~सुबेश घिमिरे~
जुनको फींजमा शीतका थोपा
पग्लिएको देख्दा
बिदाईको पल तिम्रा
भिजेका परेली याद आउँछन् ।
पुन् डाँडाबाट झुल्के घाम हेर्दा
वतासले तिम्रो कुन्तल उडाएको;
राँके भञ्ज्याङको चिसो पवनले तिमीलाई
मेरो अँगालोमा ल्याएको;
पैंयुका फूलहरु यहाँ फक्रिँदा
जवानीका ती पल याद आउँछन् ।
जुनको फींजमा ………..।
रोपाँईको मैजारोमा हिलो खेलेर
पँधेरोमा सँगै सबै धोएको
खरबारी छेऊ पिरती साट्दा
जोरी-पारीले जिस्काएको
युगल जोडीहरु यहाँ देख्दा
अनेक लहरहरु मनमा आँउछन् ।
जुनको फींजमा शीतका थोपा
पग्लिएको देख्दा
बिदाईको पल तिम्रा
भिजेका परेली याद आँउछन् ॥
– साप्पोरो, जापान !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)