कहिले यो मन पथ्थर जस्तो
कहिले शीशा जस्तो
कहिले हुन्छ फूल जस्तो
किन हुन्छ यस्तो?
घरी घरी रुन्छ यो मन
कहिले हाँसिरहन्छ
कहिलेकाहीं दुख्दा खेरी
छताछुल्ल हुन्छ।
गाह्रो हुन्छ पोखिएको मन बटुल्नलाई
छरिएर हराएको टुक्रा जोड्नलाई
भावनामा लहरिदै जतापनि पुग्छ
आफ्नै मन नि कुनैबेला भेट्न गाह्रो हुन्छ।
टुट्छ मन कहिलेकाहीं चित्त फाटेपछी
आफ्नै पनि पराई हुन्छ मन नमिलेपछी
मनै त हो सबैलाई आफ्नो बनाईदिने
मन नै छैन भने उसलाई किन आफ्नो भन्ने?
आफ्नो मान्छे जहाँ हुन्छन् त्यहीं निको मान्छ
खोजी खोजी आफन्तलाई संझनामा ल्याउँछ
राम्रा कुरा सुन्नासाथै फुरुफुरु हुन्छ
नराम्रो केही सुन्नै हुन्न धुरुधुरु रुन्छ।
हावा भन्दा छिटो हुन्छ नदी जस्तै बग्छ
रोकिदैन बेग उसको कोसौं कोसौं पुग्छ
एकैछिनमा फर्की आउंछ कति चंचल हुन्छ
दु:ख सुख जे भए नि सबैलाई बाँड्छ।
किन अडिदैन मन सधै डुलिरन्छ
भने जस्तो भएनकी ठुस्स परिहाल्छ
फकाउन सजिलो छ माया भए पुग्छ
जतन गरी राख्नु पर्छ संवेदनशील छ
जीवनलाई चलाउने साँचो हो कि मन
यस्तै लाग्छ मलाई, तिमी हो कि होइन भन
सधैभरी मन सही नहुन नि सक्छ
गल्ती लागे विवेकले सच्याउनु पर्छ।
[नेपालीपोष्ट.कम मा प्रकाशित]
October 2, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)