कथा : भुमरी

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

केवल धागोमा बाँधिएको एउटा सिन्का जसले तिनीहरूको जीवनमा शान्ति ल्याएको थियो ।

ऊ दिउँसो सुत्थ्यो, रातभरि उठ्थ्यो । कुनै दैनिक अखबारमा मुखपृष्ठको पाण्डुलिपि सम्पादक थियो । यसकारण रातभरि समाचारका तथ्य, भाषा, अक्षर र क्यारेक्टर केलाउनु उसको बाध्यता थियो । रातको दुई वा तीन बजे डेराघरको मूलढोका आइपुग्थ्यो । यो, त्यति बेलाको कथा थियो जब देशमा भर्खरै प्रजातन्त्र पुनस्र्थापना भएको थियो र देशमा मोबाइल फोन सेवा छिरिसकेको थिएन ।

ढोकाको चौकोसमाथि सेतो पातलो धागो झुण्डिएको हुन्थ्यो । त्यसमा एउटा सानो सिन्का बाँधिएको हुन्थ्यो । ऊ त्यही सिन्का तानेर तीन झड्का दिन्थ्यो । केही क्षणमै उसकी हिसी परेकी श्रीमती हाई गर्दै, मुस्काउँदै ढोका खोल्न आइपुग्थी । सिनेमामा चार्ली च्याप्लिनको जस्तै आफ्नो हालत सम्झेर ऊ मनमनै हाँस्न थाल्थ्यो ।

– – – – – –

जीवन त्यसो त जीवनजस्तो थिएन । फेरि पनि उसको नाम जीवन थियो र ऊ जीवनकै लागि निरन्तर लडिरहेको थियो । जीवन जीवनजस्तो नभएकै कारण कुनै दिन पूर्वप्रेमिकाले उसलाई धोका दिएकी थिई । जीवनमा जीवनले प्रेमिकाको गोरो शरीर हुँदै आत्मासम्मै एकएक गरी प्रवेश गर्ने सपना देखेको थियो । त्यसले केबल पाइताला देखाइदिई र फिल्मी संवाद बोलेर सदाका लागि बिदा भई । प्रेमले प्रतिदान खोज्दैन भन्ने आदर्श वाक्य बोल्नुभन्दा बढी के गर्न सकिन्छ यस्तो बेला ? त्यो बेला उसले यस्तै बोलेको थियो ।

त्यसपछि यो केटी एक्कासि उसको जीवनमा प्रवेश गरेकी थिई । प्रेमिकाले दिएको आकस्मिक चोटका कारण ऊ झण्डै ‘मिसोजिनिस्ट’ भइसकेको थियो । यसैले उसलाई त्यस खतराबाट जोगाएकी थिई । यो त्योभन्दा अलि फरक, गहुँगोरी तर खुबै हिस्सी परेकी थिई । त्योभन्दा कैयन् गुणा बढी निर्दोष, मायालु र सहनशील पनि थिई ।

सायद, पहिलो भेटमै प्रभावित भएकी थिई र तत्काल आफ्नो परिचय दिएकी थिई । संगिनी त्यो केटीको नाम थियो । केटीको नामसँग आफ्नो नाम जोडेर जीवनले यस्तो जोक गरेको थियो जसका कारण केटी निहुरिमुन्टी ‘न’ भएर चप्पलमा एकोहोरो पाइताला रगड्न थाली । जीवनलाई उसको यो कमनीय लज्जालुपन र लयालु समर्पण भाव झनै मन पर्‍यो ।

यसरी तिनीहरू एक अर्काका प्रेममा फसेका थिए र पछि त्यो बिहेमा परिणत भएको थियो ।

एकदिन पूर्वप्रेमिका भेटिई । उसले श्रीमतीसँग पूर्वप्रेमिकाको परिचय गरायो । निकै शान र गौरवसाथ । पूर्व पे्रमिकाको अनुहारमा एक झलक दुःख, पश्चाताप र हल्का इष्र्याको बादल छाएको थियो । त्यो देखेर उसलाई पहिलो पल्ट त्यसको तथाकथित कुलीनताप्रति दया लागेको थियो जो अहिले बाढी पसेको बगर खेतजस्तै भएको थियो । फूलको धारले रेटेको पनि देखियो । मनमनै उसले त्यसलाई खुचिङ गर्‍यो ।

पूर्व प्रेमिका न्यासि्रएकी थिई । उसको नयाँ प्रेमी डीभी परेकी केटीको पति भएर अमेरिका उडिसकेको थियो । अब ऊ नितान्त एक्ली थिई । जीवनले अफर गर्‍यो, कुनै दिन आऊ न हामीकहाँ । उसलाई थाहा थियो, त्यो आउँदिन । त्यसैले निम्ता दिएको थियो । नत्र त्यसलाई निम्ता दिएर पाउनु के थियो र ? त्यसले कुनै दिन आउँला भनी र बर्सन नसकेको बादलजस्तै बिदा भई ।

जीवन संगिनीलाई हेरेर मुसुक्क हाँस्यो । देख्यौ, तिमीबाहेक पनि म भनेर मरिहत्ते गर्ने केटीहरू अझै छन् ।

जीवन जीवनमा प्रशस्त हण्डर भोगेर अब जीवनलाई जीवनजस्तै बनाउने अभ्यास गरिरहेको थियो । यही केटी भेटिएपछि उसले रातिराति अखबारमा पाण्डुलिपि सम्पादकको जागिर भेटेको थियो । यसलाई उसले केटीकै लक्षण मानेको थियो र ऊप्रति मनमनै कृतज्ञ पनि थियो ।

जीवनको जीवनमा सम्पत्ति भन्नु यही बहालको कोठा, एकसरो भाँडाकुँडा र दुई जोर कपडाबाहेक केही थिएन । यही कोठा नै उनीहरूको हनिमुनका लागि पोखरा, गोआ, सिमला, हङकङ, बैंकक भएको थियो । ऊ बिहान पकाएको भात बेलुका भुटेर खान्थ्यो । तरकारी त कम्तीमा तीन छाक पुग्नेगरी एकै पटक पकाउँथ्यो । जीवनको जीवनमा अब नियमितता पत्नीजस्तै प्रवेश गरेको थियो । संगिनीले यसलाई कति रुटिनबद्ध बनाइदिई भने उसलाई जिन्दगी सपनाको रंगीन पोखरीजस्तै लाग्न थालेको थियो ।

– – – – – –

जीवन अनिद्रामा उँगेर बसिरहेको थियो । घरबेटी तल आँगनमा घाम तापेझैँ गरी उभिइरहेको थियो । भर्खर नुहाएर पेटीकोट फेरेकी संगिनी तल बाथरुमबाट बाहिर निस्किई र अटलमा चिसो कपडा लिएर माथि उक्ली । घरबेटी आशक्त भएर संगिनीलाई हेरिरह्यो । जीवनलाई भाउन्न भयो । तर, यस्तो कुरामा के गर्न सकिन्छ ? माथि कौसीमा कपडा सुकाएर संगिनी तल कोठामा आई ।

उसलाई उँगिरहेको देखेर संगिनीले भनी, ‘किन, निद्रा लागेन कुम्भकर्णजीलाई ?’

‘कुम्भकर्ण कसरी निद्राबाट ब्युँझिएको थियो, थाहा

छ ?’ उसले प्रतिप्रश्न गर्‍यो ।

‘म के जानूँ ? त्यो त कुम्भकर्णलाई नै सोध्नुपर्ला ।’

‘कुनचाहिँ कुम्भकर्णलाई ?’

‘यही कुम्भकर्णलाई,’ हातको चिसो पानी उसको मुखमा छर्केर मुस्काउँदै संगिनी बाहिर निस्किई । जीवन अब आफ्नी पत्नीलाई अघि घरबेटीले जस्तै लोभिएर हेर्न थाल्यो । ‘भित्र त आऊ न’, उसले मनमनै भन्यो । नभन्दै संगिनी एकै छिनमा भित्र आई । भर्खर नुहाएर चिसो भएको कपाल अनि असाध्यै सुहाउने गाउनमा संगिनीको जवानी आगो सल्काउन घाँजा बटुलेर बसेको थियो । सलाई कोर्नमात्र बाँकी थियो । मौका ढुकेको बिरालाले मुसालाई जस्तै उसले संगिनीमाथि आक्रमण गर्‍यो । संगिनीले प्रतिरोध गरी । दुइटाको भिडन्त भयो । ढोका लगाइएको थिएन । अन्ततः संगिनी फुस्केर हाँस्दै बाहिर निस्की ।

जीवन मौका ढुकिरहेको बकुल्लाजस्तै गुँडुल्किएर बसिरह्यो । उसका आँखा फेरि घरबेटी साहुमाथि परे जो बारम्बार चोर आँखाले माथितिर हेरिरहेको थियो । संगिनी माथि कौसीमै थिई । जीवन अब स्वास्नीसित पनि मुर्मुरिइरहेको थियो । सर्ट लगाएर ऊ माथि कौसीमा गयो । संगिनी एक रास कपडा डोरीमा सुकाइरहेकी थिई । उसलाई देख्नेबित्तिकै अचम्म मानेर हेरी र मुसुक्क हाँस्दै भनी, ‘उत्ताउलो मान्छे, अब निद्रा लाग्दैन कि क्या हो ?’

उसले आँखा तर्‍यो र धम्कीको भाकामा सानो स्वरले भन्यो, ‘तल आऊ ।’

‘हस्, सलाम !’ व्यङ्ग्यको भावमा स्वास्नीले भनी ।

बेलुकी खाना खाएर अखबारमा निस्कने बेला उसले संगिनीलाई घरबेटी बुढासँग होसियार रहन चेतावनी दियो । संगिनी निकै गम्भीर भई । लामो समयसम्म बोल्दै बोलिन ।

‘किन बोल्दिनौँ ? केही छ ?’

ऊ एक्कासि रुन थाली । आँखाबाट रोकिनसक्नु आँसुका भल बग्न थाले । जीवनको संवेदना एकाएक भरिएर आयो । उसलाई त्यसको असाध्यै माया लागेर आयो । उसले सम्झ्यो, कसरी त्यसले उसको दुःखका घाउमा मलम लगाएकी थिई । उसले संगिनीलाई घुप्लुक्क अँगालोमा बेर्‍यो ।

‘सरी । अबदेखि तिमीलाई चित्त दुखाउने कुरा कहिल्यै गर्दिनँ,’ उसले भन्यो ।

‘मै यो कुरा तपाईँलाई भन्न खोज्दै थिएँ ।’

जीवन अलमल्ल पर्‍यो । बुढो सधैँ उसलाई त्यसैगरी हेरिरहँदो रहेछ । जीवन नभएका बेला झ्याल र ढोकावरिपरि आएर उभिइरहँदो रहेछ । जीवनको निधार रिसले खुम्चन थाल्यो । त्यसको गुण्डो छोरो पनि त्यस्तै रहेछ । कति पल्ट त कोठाभित्रै छिर्न खोजेको थियो । उसले ढोकै खोलिन । पल्लो कोठामा बस्ने मुकेश, जसलाई जीवन आफ्नै भाइजस्तै आत्मीय ठान्थ्यो, एक पल्ट नुहाइरहेकी संगिनीलाई बाथरुमको प्वालबाट चोरेर हेरिरहेको भेटियो ।

‘तपाईँलाई मप्रति विश्वास छैन ?’ सङ्गिनीले आदर स्वरमा सोधी ।

उसले संगिनीको आँखामा हेर्‍यो । त्यहाँ निर्दोषीको अतल गहिराइ थियो । ती सुन्दर आँखामा उसले आफ्नो संसारै भेट्यो । उसलाई त्यसको अगाध माया लागेर आयो र घुप्लुक्क अँगालो हाल्यो । तिनीहरूले एक अर्कालाई जतिसक्दो जोडले अँगालोमा बेरे र मायाको अतल गहिराइमा डुब्दै गए ।

अब दुवैका आँखामा कुनै उत्तेजना थिएन । दुवै शान्त थिए । दुवैका आँखामा सन्तुष्टि र विश्वासका असीम किरणहरू झल्किरहेका थिए ।

संगिनीप्रति अब उसलाई कुनै संशय थिएन । तर, आफन्तझैँ लाग्ने वरिपरिका परचक्रीलाई सम्झेर ऊ हैरान भयो । राति उनीहरूले सल्लाह गरे, अब नयाँ डेरा खोज्ने ।

– – – – – –

अखबारबाट राति ढिला र्फकनुको असर तुरुन्तै देखा पर्‍यो । उनीहरूको कोठा दोस्रो तलाको भित्तापट्ट िथियो । यसैले ढोका ढक्ढकाएको मुस्किलले सुनिन्थ्यो । त्यसमाथि संगिनीको निद्रा कुम्भकर्णलाई सम्झाउने खालको थियो । भन्न त ऊ नै लोग्नेलाई दिउँसो सुत्दा कुम्भकर्ण भन्थी तर निदाएपछि ऊ हत्तपत्ती बिउँझनै सक्दिनथी । अतः ऊ जीवन नआउन्जेल अनिदो बस्नुपर्थ्यो । यसको घाटा के भयो भने तलब त एक जनाको मात्र आउँथ्यो जसबाट महिना गुजार्न मुस्किलमुस्किल हुन्थ्यो । काम भने दुवै जनाले गरेजस्तो हुने भयो । उता राति घन्टी बजाएकै कारण कति पल्ट घरबेटी बढीले डेरा सर्न चेतावनी दिइसकेकी थिई । यो, तिनीहरूका लागि ठूलै समस्या थियो । यसरी कतिन्जेल चल्नसक्थ्यो ?

जीवन जन्मजातै अल्छी प्रकारको युवक थियो । विचारले त ऊ क्रान्तिको ठूलै पक्षपाती थियो । व्यवहारमा कुनै पनि परिवर्तनमा अभ्यस्त हुन उसलाई निकै गाह्रो पर्थ्यो । नढाँटी भन्ने हो संस्कृतिका हिसाबले ऊ यथास्थितिवादी नै थियो । उसले भोलिपल्ट नै चिनेजानेका सबैलाई कोठा खोजिदिन आग्रह गर्ने निर्णय गरेको थियो । पन्ध्र दिनपछि संगिनीले सोधी । कोठा सर्ने योजना के भयो ? भोलिपल्ट बल्ल उसले एउटा साथीलाई भन्यो । साथीले हेरौँला भन्यो । उसलाई ठूलो बोझ पन्छिएझैँ लाग्यो । घरबेटी झन्झन् संगिनीप्रति आशक्त भइरहेको थियो । एक पल्ट त जीवन ड्युटीमा गएको आधा घन्टापछि उसले ढोका ढक्ढकाएको थियो । अति गरेपछि संगिनीले ढोका नखोली सुखै पाइन । घरबेटी भित्र पस्यो र अर्थ न बर्थका कुरा गर्न थाल्यो । तपाईँहरूलाई यहाँ दुःख त छैन ? पैसाको समस्या छ भने मलाई भन्नु भए हुन्छ । पानीको सुविधा कस्तो छ ? नभएदेखि माथि मकहाँ आउनुहोला । बाथरुम ठीकै छ होइन ? केही दुःख पर्‍यो भने भन्नुहोला ।

संगिनीलाई निकै अप्ठ्यारो भइहेको थियो । उसले बल्लबल्ल आग्रह गरेर त्यसलाई बाहिर निकाली र लामो सास फेरी । एकै क्षणमा कसैले फेरि ढोका ढक्ढकायो । उसको मुटु डरले ढक्क फुल्यो । उही घरबेटी थियो । उसले ढोका खोल्दै खोलिनँ । घरबेटीले बाहिरैबाट भन्यो, त्यसो भए नरिसाउनु है त ?

– – – – – –

संगिनी निकै बेर मनमा कुरा खेलाएर अनिदो बसिरहेकी थिई । जीवन आउने बेला ऊ भुसुक्कै निदाई । जीवनले धेरैपल्ट घन्टी बजायो । संगिनी निदाइरही । अन्ततः घरबेटी साहुनी भुत्भुताउँदै उठी र ढोका बेसरी ढक्ढकाएर बल्लबल्ल संगिनीलाई उठाई । भोलि पल्ट बूढीले तुरुन्तै डेरा सर्न चेतावनी दिई । चाहिनेबित्तिकै पाइने भए यसलाई डेरा नै भनिँदैन थियो होला । अतः जीवनले महिना दिनको भाका राखेर कोठामै एउटा घन्टी फिट गर्‍यो र त्यसको स्वीच तल मूल गेटमा राखिदियो । साहुनीको कचकचबाट लगभग अब उनीहरू मुक्त थिए । जतिसुकै कडा निद्रा लागे पनि कोठाको घन्टी बजेपछि संगिनी बिउँझन्थी ।

एक रात बाह्र बजेतिर कोठाको घन्टी बज्यो । संगिनीले घडी हेरी । बूढा कति छिटो आएछन् भनेर ढोका खोल्न गई । कोही थिएन । उसले ढोका थुनी । माथि आएर डरले काम्न थाली । फेरि घन्टी बज्यो । ऊ आत्तिएर झन्डै रोई । फेरि बज्यो । उसले मटानको झ्याल खोलेर हेरी । एउटा युवक खुरुर्र दौडेर गल्लीभित्र छिर्‍यो । खम्बामा बलेको बिजुलीको प्रकाशमा प्रस्ट देखियो, त्यो घरबेटीको छोरो रामकाजी थियो । अँध्यारो गल्लीबाट दुई, तीन जना उसलाई सुसलेर बोलाउन थाले । उसले झ्याल थुनी । अब उसको सासै रोकिएलाजस्तो भयो । कोठामा गएर गम्लङ्ग सिरकले छोपिएर नसुती बसी । टिनिनिन्न

घन्टी फेरि बज्यो, लगातार बजिरह्यो । ऊ सुकसुकाएर बसिरही ।

तीन बजेतिर फेरि घन्टी बज्यो । अब यो उसकै लोग्ने हुनसक्थ्यो । तैपनि ऊ डराएर बसिरही । लगातार तीन घन्टी बज्यो र जीवनले बोलाएको सुनेपछि मटानको झ्याल खोलेर हेरी । कोठामा पुग्नेबित्तिकै जीवनलाई अँगालो हालेर ऊ घ्वाँघ्वाँ रुन थाली । उसले सबै बताई । जीवन निकै थाकेर आएको थियो । अब उसको निद्रा गायब भएको थियो । त्यो घरबेटीको छोरा रामकाजी नै थियो ? संगिनी विश्वस्त थिई । उसले अब त कसैगरी नयाँ कोठा खोज्न दबाब दिई । स्वास्नीलाई सुरक्षा दिन नसक्ने लोग्ने के

लोग्ने ! जीवनलाई लाग्यो, संगिनी, उसकी प्राणप्यारीलाई बिस्तारै ऊ गुमाउँदैछ ।

जीवन कहालिँदै नयाँ डेरा खोज्न हिँड्यो । चिनजानका सबैलाई भेटेर आग्रह गर्‍यो । एउटा साथीलाई लिएर ऊ झोछेँ, ओमबहाल र लगनटोलको गल्लीमा खुब डुल्यो । कतै के नमिल्ने, कतै के नमिल्ने । कतै महिना दिनपछि खाली हुने । जीवनको एउटै सर्त थियो, कोठा बाटो छेउकै हुनुपर्छ । किनभने राति स्वास्नीचाहिँले उसलाई ढोका खोल्नु थियो । एउटा कोठा पाँच दिनपछि खाली हुनेवाला थियो । उसले त्यहाँ केही पैसा बैना दिएर आयो ।

जीवनले थाहा पायो, त्यो रात रामकाजी घरमा सुत्न आएको थिएन । बिहान छ बजे सुतेर ऊ बल्ल दिउँसो एक बजेतिर उठेको थियो ।

‘रामकाजी, हिजो राति तिमी कहाँ गएका थियौ ?’ जीवनले ठाडै टिप्यो । रामकाजी एक छिन अकमक्क पर्‍यो र रिसाउँदै भन्यो, ‘घरमै थिएँ । किन ? म जहाँसुकै जाऊँ तपाईर्ंलाई के चासो हँ ?’

‘चासो राख्नैपर्ने भएकोले मात्र सोधेको ? साँच्चै भन त हिजो राति बाह्र बजे त्यहाँ खम्बानिर बसेर तिमी के गरिरहेका थियौ ?’

मान्छेलाई आफ्नो गोप्य अपराध सार्वजनिक भएको सबैभन्दा बढी सहिनसक्नु हुन्छ । रामकाजीको धैर्यको बाँध बिस्फोट भयो । ‘एइ जंगली, तैँले भन्न खोज्या के ? तँलाई यहीँ गाड्दिऊँ ?’

विवाद निकै चर्कियो । रामकाजी हातै हाल्न तम्सियो । जीवनले पनि त्यसलाई गालामा एक चड्कन लगायो । अन्ततः संगिनी र रामकाजीका बाबुआमा आएर उनीहरूलाई छुट्याए । रामकाजीले तुरुन्तै कोठा छाड्न चुनौती दियो । बाबुआमाले त्यसलाई लगेर कोठामा थुनिदिए । घरबेटी बूढीले भोलिसम्म कसैगरी कोठा खाली गर्न चुनौती दिई ।

जीवन जम्माजम्मीमा अहिंसावादी थियो । उसलाई लाग्यो, यो समाज उसलाई हत्यारा बनाएरै छाड्नेछ । त्यो रात उनीहरूकहाँ खाना पाकेन । किन पाक्थ्यो ? उनीहरू त तनाव नै पकाएर बसेका थिए ! भेटिएको डेरा खाली हुन अझै चार दिन बाँकी थियो । बिहानै उनीहरू एउटा ट्रयाक्टरमा सामान लादेर चार दिनका लागि एउटा साथीकहाँ शरणार्थी हुन पुगे ।

नयाँ डेरा मूल सडकबाट तीन मिनेट भित्र जानुपर्थ्यो । पानी त काठमाडौँको शाश्वत समस्या छँदै थियो । बाथरुम थिएन । पानी थापेर कौसीमा नुहाउनु र लुगा धुनुपर्थ्यो । नुहाउँदा फेरि संगिनीले वरिपरिका कौसीबाट चिहाउने वासनाले ग्रस्त लामबद्ध आँखाको सामना गर्नुपर्ने भयो । चर्पीको व्यवस्था ठिकै थियो । सबैभन्दा राम्रोचाहिँ कोठा सडकछेउमै थियो र घरमा उनीहरूबाहेक अरू डेरावाल थिएनन् । काल कुरेर बसिरहेका घाइते परेवाका जोडीजस्ता सत्तरी नाघेका दुई बूढाबूढी घरबेटी थिए । तिनका सबै छोराछोरी अमेरिका, युरोप पुगेका थिए । तीन महिनासम्म त सजिलै चल्यो । एक पल्ट ब्युँझेपछि बूढाबूढी दुवै निदाउन सक्दैनथे । त्यसैले यहाँ पनि बूढाबूढीले नियम बनाए, राति घन्टी बजाउन पाइँदैन ।

जीवनको जागिरै रातिको थियो । अब यतिका लागि जागिरै छाड्ने ? उसले जागिर छाड्नुको अर्थ बाँच्नै छाड्नु हुन्थ्यो । त के गर्ने ?

संगिनी गर्भवती भएकी थिई । उसको शरीर रहरलाग्दोसँग भरिएर आएको थियो । जीवनलाई उसको असाध्यै माया लागेर आयो । अब फेरि तुरुन्तै डेरा सर्ने साहस तिनीहरूलाई भएन । दुवैले निकै बेर दिमाग खियाए, के गर्ने ? निकै बेरपछि जीवन आर्किमिडिजजस्तै ‘युरेकाऽऽयुरेका’ भन्दै उफ्रियो ।

योजना सुनेर संगिनीले कम्तीमा पन्ध्र मिनेट हाँसो थाम्न सकिनँ । राति सुत्ने बेला संगिनीले खुट्टामा लामो धागो बाँध्ने । त्यसको अर्को छेउमा एउटा सिन्का बाँध्ने र झ्यालबाट तल झारेर मूल ढोकासम्म पुग्ने गरी झुन्ड्याउने । जीवन आएपछि त्यही धागो तान्नेछ जसले गर्दा संगिनी सजिलै बिउँझने छे ।

नभन्दै जीवनको यो उपाय निकै प्रभावकारी सावित भयो । जीवन आउनेबित्तिकै तीनपल्ट धागो तानेर झड्का दिन्थ्यो । संगिनी बिउँझन्थी र ढोका खोलिदिन्थी । दाम्पत्य जीवन निकै सुखद तरिकाले बित्न थाल्यो । लाग्थ्यो, बाटाका काँडा सबै पन्छिए ।

संगिनीको खुट्टामा लगातार धागोको झड्का लागिरह्यो । जीवन त हलुकासँग तीन पल्ट मात्र झड्का दिन्थ्यो । संगिनी अलि झस्की । दुई बजेको थियो । सामान्यतया जीवन आउने समय यही हुन्थ्यो । उसले डराई डराई मटानको झ्याल खोलेर हेरी । झ्यामल्याङ्ग कपाल पालेका डरलाग्दा तीन युवक उसैलाई हेरेर अश्लील इशारा गरिरहेका थिए ।

यो, उनीहरूको नितान्त निजी योजना थियो । जीवनको उपाय जतिसम्म चल्यो, राम्ररी चल्यो । मुस्किलले दुई महिना होला । यस्तो कुराको हेक्का कसले राख्छ ? यस्तो कुरा, जो खासमा निकै हास्यास्पद पनि थियो, कसले कसरी थाहा पायो ?

जिन्दगी अब कसैगरी गोप्यता धान्न र सुरक्षित रहनलायक भएन । त के गर्ने यो जिन्दगीलाई ? फेरि पुरानै खतरा दुष्ट किचकझैँ खडा थियो । संगिनीको सास रोकिएलाजस्तो भयो । डरले मुटु चलिरहेको कि जलिरहेको थियो, उसले ठम्याउन सकिनँ । मुस्किलले उसले झ्याल थुनी । धागोको झड्का फेरि जोडले लाग्यो, बारम्बार लागिरह्यो । अन्ततः धागै चुँडियो ।

संगिनीको मुटुको चाल एक्कासि बढ्यो । झ्यामल्याङ्ग कपाल पालेका डरलाग्दा तीन युवक गल्ली-गल्ली उसलाई लखेटिरहेका थिए । असहायता र भयले ऊ बेस्सरी चिच्याउँदै दौडन खोजी । तर, मुखबाट कुनै आवाज निस्किरहेको थिएन, न त उसका पाइला अगाडि बढ्न सके । युवकहरू अझै जोडले उसलाई लखेटिरहेका थिए । मानिसहरू कौसी र झ्यालमा बसेर यो दृश्य हेरिरहेका थिए । सायद तिनीहरू ऊ बलात्कृत भएको हेर्न चाहन्थे । उसको मुटुको चाल झन्झन् तेज भयो र एकाएक ऊ जोडले भुइँमा पछारिई ।

जीवनले मूल ढोकामाथि धागोले बाँधिएको सिन्का खोज्यो । ढोकामाथि मजुरको प्वाँख, बलि दिइएको भालेको भुत्ला र फूलहरू थिए तर धागोले बाँधिएको सिन्का कतै भेटिएन । टर्च लगाएर यताउति हेर्‍यो । अलिपर बलेसीमा चुँडिएको धागो र सिन्का भेटियो । जीवन एक्कासि कहालियो, संगिनीलाई ठीकै त छ ? उसले संगिनीलाई बोलायो, बारम्बार बोलाइरहरयो तर कतैबाट आवाज आएन । रात चकमन्न थियो । भुस्याह कुकुरहरू उसलाई देखेर बेस्सरी भुक्न थाले ।

(स्रोत : मधुपर्क २०६८ माघ)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.