~पदम भण्डारी~
यात्राको क्रममा एकदिन म छुुट्टीमा घर जाँदै थिएँ । झण्डै दश वर्षपछि मेरो गोबिन्दसँग भेट भयो । ऊ पनि बसमै यात्रा गर्दै थियो, तर अर्को बसमा ।
उसलाई देख्नेबित्तिकै ऊछेउ गएँ र भनें– नमस्कार ! चिने चिनेजस्तो लाग्यो ।
‘ऊ मज्जैले हाँस्यो र भन्यो– ‘चिने चिनेजस्तो मात्रै हैन साँच्चै चिनेको नि ।’ दुवैजनाले हात मिलायौं । मैले सोधें– अहिले कता नि । ’ऊ जिस्कियो– ‘अहिले त यहीँ नि !’ मैले भनें– ‘कुरो बुझिएन ।’
उसले भन्यो– ‘घर जान लागेको ।’ मैले भनें– ‘उर्लाबारी ?’ उसले भन्यो– ’हैन । सानो घर बनाएको छु काठमाण्डौंमा ।’ काठमाण्डौं कहाँ भनेर सोधिहाल्छ भनेर होला, मैले सोध्न नभ्याउँदै उसले भन्यो– ‘मिन भवन नेर ।’ मैले भनें– ‘अनि काम ? जागिर, विजनेस …?
उसले भन्यो– सानो सानो जागिर छ यार !’
मैले भनें– ‘केमा ?’
उसले भन्यो– डिएफआईडीमा नेपालगञ्जमा छु । ‘मैले भने– ’कति भयो नि ।’
उसले भन्यो– ’भर्खरै मात्र । डेढ दुई महिना भयो ।’
मैले सोधें– ‘अस्ति भर्खरै प्रोजेक्ट मेनेजर मागेको थियो, त्यसैमा ?’ उसले भन्यो– ’हो ।’ म जिस्किएँ– ‘जागिर त सानै रहेछ नि । मध्य पश्चिमको डिएफआईडीको मेनेजर पद भनेपछि त एकदमै सानो भयो नि । तलब पनि दाल भात खान नपुग्ने होला नि ।’
ऊ केही बोलेन । फिसिक्क हाँस्यो मात्र । मैले फेरि थपें– ‘पढाइ कहाँसम्म पु¥याइयो ?’
उसले भन्यो– ‘बेलायतबाट मास्टर्सडिग्री गरेँ । पाख्रिबासमा काम गर्दा गएको ।’ साथीभाइको प्रगति सुन्दा सबैलाई खुसी लाग्नु स्वभाविकै हो । म पनि उसको प्रगति सुनेर खुसी भएँ । उक्त अवधिमा पैसा कमाएर काठमाण्डौंमा घर बनाएछ । उसले पनि मेरो बारेमा सोध्यो– ‘काठमाडौंमा कहाँ बनाइस् त घर ? मैले हाँसेर जवाफ दिए– ‘सिंहदरबार किन्छु भनेको सरकारले बेच्दै बेचेन ।’ मेरो कुरा सुनेर ऊ दङ्ग प¥यो । शायद लाग्यो होला, यसले काठमाडौंमा घर बनाएको रहेनछ भनेर ।
उसले फेरि प्रश्न ग¥यो– ‘घडेरी त किनेको होलास् नि ?’ मैले फेरि हाँसेर जवाफ दिएँ– ‘काठमाडौंमा पनि सरकारले सुकुम्बासीहरुलाई घडेरी वितरण ग¥यो र ? मैले त थाहै पाइनँ नि ।’ अब भने ऊ दङ्ग मात्र हैन, छक्क प¥यो । घर घडेरीको प्रसङ्ग बदलेर उसले अर्को प्रश्न ग¥यो– ‘तँ त क्याम्पस पढ्दा जस्तो थिइस् उस्तै रहेछस् नि । जागिर खाए जस्तो पनि देखिँदैनस । अझै पनि क्याम्पस पढ्ने बेला जस्तै बिहान बिहान दौडन्छस् कि क्या हो ?’ उसको भनाइको तात्पर्य मैले बुझिसकेको थिएँ । पैसा कमाएर काठमाडौंका घर बनाउनै पर्ने, जागिर खाएपछि मोटाउनै पर्ने, भुँडी लाग्नैपर्ने उसले सोंचे जस्तो म थिइनँ । क्याम्पस पढ्ने बेलाको जस्तै पातलो थिएँ । यसलाई राम्रै जवाफ दिनुपर्छ भनेर बोलें– ‘तँ त मोटाएर बंगुर भन्दा पनि खत्तम भएछस् नि । तेरो त टाउको भन्दा अनुहार ठूलो देखिन्छ । बरु सोध्न यो जिउलाई कसरी मेनटेन गरेको छु ?’
हामी दुबैजना एकछिन मजैसँग हास्यौं । मेरो हरेक प्रश्नको जवाफ सुनेर उसले के सोच्यो कुन्नि ? हात तम्स्याउँदै उसले भन्यो– ‘ल यार अहिले गाडी हिँड्न लाग्यो हतार छ, पछि भेटौंला ।’
मैले रोकें– ‘भिजिटिङ कार्ड दिएर तँ जा ।’ उसले हतार हतार पर्सबाट कार्ड झिकेर दियो । मैले पनि आफ्नो कार्ड थमाएँ । हेर्दा हेर्दै ऊ चढेको गाडी आँखाबाट ओझेल प¥यो । साथीसँगको भलाकुसारीमा समय बितेको पत्तै भएन । खाना राम्ररी खान नभ्याउँदै बसले हर्न बजायो । हतार हतार गरेर खाना खाएँ र बसमा चढें । म संगैको सिटमा बसेको एकजना मान्छे ओर्लिएछ । उक्त सिटमा म बस्नुअघि नै एकजना केटी आएर बसिसकेकी रहिछ । म बस्न जाँदा आँखा जुँधे । उसका आँखाहरुमा यौन मादकता देखें, शायद मेरा आँखाहरुमा त्यस्तै भएर होला । । उसका ठूलाठूला आँखाहरुले केही बोलिरहेका छन् जस्तो लाग्यो । आँखा देख्नेबित्तिकै उसका आँखाहरुमा पौडी खेलुँखेलुँ जस्तो लाग्यो ।
एक मनले सोचें– ’कस्ती राम्री केटी हो ।’ अर्को मनले सोचें– ‘राम्री भएर के भो त । रुप चाटेर हुँदैन क्यारे ।’ म सिटमा चुप लागेर अडेस लगाएर आराम गरिरहेको थिएँ । म अर्कै संसारमा पुगेछु । सिटसँगै बसेकी त्यस केटीले सोधी– ‘कति बज्यो दाई ?’ घडीमा आँखा जानुभन्दा पहिले मेरा आँखाहरु उक्त केटीको अनुहारमा गए । अनुहारमा मात्र होइन मैले उक्त केटीको जीउको तलदेखि माथिसम्म हेरें । मेरो हेराइले केटी मुस्कुराई । मलाई लाग्यो– ‘यो केटीलाई किन समय चाहिएको होला ? पक्कै पनि मसँग नजिकिनका लागि बोल्ने निहुँ चाहिएको हो यो केटीलाई । त्यसले समय सोधी भन्दैमा मैले भन्नुपर्छ भन्ने के छ ? मैले यति बज्यो भन्यो भने त्यसपछि फेरि केटीले सोध्नेछ– ‘दाइ कहाँ जान लाग्नुभएको नि ?’ मैले म जाने ठाउँ बताएँ भने उसले भन्नेछ– ‘म पनि उतै जान लागेकी ।’ अनि ऊ मसँगै हिँड्नेछे । ऊ मसँग हिँडेको मेरा साथीभाइहरुले देख्नेछन् । कसैले एलएल सीसी अर्थात् ल ल छ छ भन्नेछन्, कसैले मोज गर तेरै छन् दिनहरु भन्नेछन् । कसैले हेर, घरमा श्रीमती छोराछोरीहरु हुँदाहुँदै अर्कै केटी लिएर डुल्दै छ भन्ने छन् । उस्तै मुर्खले त घरमा फोन गरेर नानाथरी कुरा लगाइदिन बेर मान्दैन । यो कुरा सुनेपछि घरपरिवारले मलाई शंकाको दृष्टिकोणले हेर्नछन् ।
मेरी श्रीमतीले अर्कै केटीसँग लाग्नु थियो भने मलाई किन बिहे गरेको भनेर घरमा झगडा सुरु हुनेछ । छोराछोरीहरु पनि उनीहरुकै आमाको पक्षमा हुनेछन् । म एक्लै पर्नेछु । मेरो घर तहसनहस हुनेछ । मेरो आदर्श परिवार विखण्डनको संघारमा रुमल्लिने छ । लोग्नेस्वास्नीको झगडा परालको आगो झैं सल्किने छ । छरछिमेकीले हाम्रो कमजोरीको फाइदा लिनेछन् । छोराछोरीको पढाइप्रतिको लगनशिलता चकनाचुर हुनेछ । छोराछोरीलाई ठूलो मान्छे बनाउने मेरा सपनाहरु सपनामै सिमित हुनेछन् । म ठूलो अपराधी सावित हुनेछु । त्यसपछि यो केटीले सोध्नेछे –‘दाईको घर कहाँ हो नि ।’ एउटी तरुनी केटीले सोधेको प्रश्नको उत्तर नदिईकन म बस्न सक्ने कुरै भएन । मैले मेरो घर बताउनै प¥यो । दाइको बिहे भयो, घरमा को को छन् भनेर सोधी भने मैले उसलाई बिहे भएको छैन भनेर ढाँट्ने छु । अनि मैले केटीलाई सोध्नेछु– ‘अनि बैनीको घर कता नि ! बैनी हेर्दा त भर्खरकै हुनुहुन्छ । बिहे त पक्कै पनि भएको छैन होला ।’ मेरो भनाइ सुनेपछि उ भावुक हुनेछे र उसको अनुहार मलिन हुनेछ । उसका आँखाभरी आँसु टलपलाउने छन् । उसको मप्रतिको हेराई करुणादायि हुनेछ । त्यसपछि मेरो ऊप्रतिको हेराई ममतामयि हुनेछ । ऊप्रति मेरो मनमा सहानुभूतिका भावनाहरु पलाउने छन् । मैले सोधेको प्रश्नको उत्तर नपाए पछि मैले उसलाई पुनः सोध्नेछु– ‘बैनी त बोल्नु भएन नि !’ मेरो प्रश्नको उत्तर दिनुअघि उसका आँखाबाट आँसु झर्न सुरु हुनेछ । मनभरी पीर र व्यथा, आँखाभरी आँसु लिएर उसले भन्नेछे –‘मेरो कुनै घर छैन दाइ ।’
ऊप्रति मेरो मनमा सहानुभूति अझ बढ्दै जानेछ । उसको रुवाईले कता कता मेरो मनमा आघात पार्नेछ र मैले सोच्ने छु– ‘बिचरीलाई साह्रै समस्या परे जस्तो छ ।’ ऊप्रति नजानिँदो किसिमले माया भाव पलाउने छ । म पनि उसको रुवाईसँगै भावुक हुनेछु । मेरा आँखाहरु पनि आँसुले भरिनेछन् । मैले गम्भीर हुँदै उसलाई सोध्ने छु– ‘बैनीलाई ठूलै दुःखकष्ट परेजस्तो छ । भन्न मिल्छ भने सुनौं न त ! मनको कुरा बाँड्यो भने अलिकति हलुका हुन्छ नि । मैले त्यति भनिसक्दा नसक्दा उसको रुवाईको गति बढ्ने छ । उसका आँसु गालामा सलबलाउने छन् । आँसुको बारेमा मेरो मनमा अनेक तर्कनाहरु खेल्न थाल्नेछन् । महिलाहरुमा हुनुपर्ने गुण भनेकै लजाउनु र रुनु हो । यो केटी लजाइन भने, आँसु बगाइन् भने मलाई ऊप्रति सहानुभूति जाग्ने छैन । केटी रोएको पनि ठीकै छ । वास्तवमा विपदमा साथ दिने केवल एउटा आँसु मात्र त छ । नबल्झने नअल्झने जिन्दगीको हाँसोलाई मर्म र दर्दमा रुपान्तरण गरी दिने साथी एउटा आँसु छ । छाती भरिएर फुट्न खोज्छ, छचल्किन्छ, जलेको बेला छातीलाई त्यो आँफै चिच्याइदिन्छ । विष लाग्दा शरीरमा मधुर फिक्का पारिदिन्छ ।
खुसीको बेला सुःख व्यक्त गर्ने केवल एउटा आँसु छ, विपदको बेला दुःख व्यक्त गनपसर््े साथी एउटा आँसु छ । वास्तवमा आँसु हरपलको साथी हो । आपद, विपद, दुःख, सुख जुनसुकै बेला पनि साथी हुन्छ । सुखी होस् या दुःखी व्यक्ति सबैको निम्ति आँसुलाई परम मित्रको रुपमा लिइन्छ । मानव शरीरको प्रमुख इन्द्रियहरुमध्ये आँखालाई महत्वपूर्ण इन्द्रिय मानिन्छ । उक्त इन्द्रियबाट निस्कने पानीजस्तो तरल पदार्थलाई आँसु भनिन्छ । हुन त आँसुलाई साथीको रुपमा मात्र लिने वा नलिने त्यो व्यक्तिमा भरपर्ने कुरा हो । वास्तवमा आँसुले आँखालाई बचाएर राख्न मद्दत गर्छ । आँखामा धुलोको कण परोस् वा फोहोरमैला परोस्, आँसुले त्यसलाई पखालेर बगाइदिन्छ । आँसुले शरीरमा बढी भएको रासायनिक पदार्थ लवणको मात्रालाई शरीरबाट बाहिर फाल्ने काम गर्छ । यी आँसुका केही वैज्ञानिक तथ्य भए । आँसु वास्तवमा के हो ? यो किन निस्कन्छ ? दुःखमा पनि, सुखमा पनि किन निस्कन्छ ? हाम्रा धर्मग्रन्थहरुमा आँसुका बारेमा कुनै न कुनै रुपमा वर्णन गरेको पाइन्छ ।
महाभारतमा पाँच पाण्डवकी श्रीमती द्रौपदीले दुःखमा बगाएको आँसुका भेल नदी बन्यो, सागर बन्यो भनेर लेखेको पाइन्छ । सीतालाई रावणले हरेर लंका लगेपछि प्रशस्त आँसुको भेल बगाइन् भनेर उल्लेख गरेको पाइन्छ । लंकामा सीता रहँदा रोइरहेको अवस्थालाई चित्रण गर्दै कवि लेख्छन्–
‘भोकी मैली निन्याउरी न त कपाल कोरेकी
सब केश उसै, लट्टामात्र पारेकी,
खाली भुईंमा रोइरहेकी त्यसै ।’
सीताले पति वियोगलाई आत्मसात गर्दै खुबै रोइन् । बाल्मीकि आश्रममा बस्दा उनको प्रेरणाको स्रोत बनेर आँसु नै बग्यो । शिकार खेल्दा एकजना व्याधाले श्र्रवणकुमारलाई जंगलमा वाण हानेर मारेपछि उनका अन्धा बाबु आमा रुँदारुँदै अन्धाअन्धी दह बन्यो । छोराको वियोगमा शोकबाट छुटकारा दिलाउन आँसुको दह बनेको थियो । बच्चा जन्मदा च्याहाँ च्याहाँ गर्दै जन्मिन्छ । दार्शनिक रुसो भन्छन्– ‘जन्मँदा मानिस स्वतन्त्र भएर जन्मन्छ, तर जन्मिसकेपछि ऊ आफूलाई बन्धनमा पाउँछ ।’ मानिसले चारैतिरबाट आफूलाई बन्धनमा पाएपछि त्यसबाट छुटकारा पाउन आँसु बगाउँछ । मिलनमा, बिछोडमा, दुःखमा, सुखमा, माया, घृणा, होश, बेहोश आदि हरप्रकारका अनुभूतिहरु प्रकट गर्ने चिज भनेको आँसु नै हो । पुरुषहरुका लागि भन्दा महिलाहरुका लागि हरपलको साथी आँसु नै हुन्छ ।
कसैले आफ्नो कमजोरी व्यक्त गर्न आँसु बगाउँछन् । कसैले काम पट्याउनु प¥यो भने आँसु बगाउँछन् । कसैबाट सहानुभूति पाउनु प¥यो भने आँसु नै बगाउँछन् । सागर बरु सुकेर जाला चेलीको आँसु सुक्दैन, चेलीको मन रुन्छ बुझिदेउ न माइती हो भनेर टाढा गएका आफ्ना दाजुभाइहरुको बाटो हेरेर पर्खिरहेका दिदीबैनीहरुले भावनाहरु व्यक्त गर्छन् । वास्तवमा जसले आँसु बगाउँछन्, तिनीहरु स्वस्थ हुन्छन्, दिर्घायू हुन्छन् । मनमा पीर प¥यो भने, मजाले रोयो भने हलुका महसुस हुन्छ । रुन नचाहनेले रंगिन चस्मा लगाउने, रोई हालियो भने पुछ्न नरम रूमाल खल्तिमा राखेर हिँड्ने सबैभन्दा राम्रो उपाय हो । ऊ रोएको ठीकै भए पनि वा आँसुले साथ दिए पनि मैले टुलुटुलु हेरेर बस्न सक्नेछैन । खल्तिबाट रुमाल झिकेर उसका गालामा सलबलाइरहेको आँसु पुछिदिन हात लम्काउँदै भन्नेछु– ‘बैनी रोएर, पीर मानेर, अतितको वेदनामा छटपटाएर हुँदैन । जीवन भनेको रुनु मात्रै हैन बैनी । मेरो एउटा हातले उसका गालामा सलबलाइरहेको आँसु पुछिदिने छ भने अर्को हातले उसलाई मतिर खिंच्दै अँगालोमा बाँध्ने कोसिस गर्नेछु । त्यसपछि ऊ मेरो आलिङ्गनमा सजिलैसँग बाँधिनेछे । मेरो काखमा घोप्टो परेर सुँक्कसुँक्क गर्दै मसँगै टाँसिइरहनेछे । दुबैजनालाई एक अर्काको स्पर्शले कताकता आनन्दको अनुभूति हुनेछ । मेरा हातहरु मेरो काबुमा रहने छैनन् र कताकता सलबलाउने छन् । ऊ नचलमलाईकन मौन स्वीकृति दिंदै जानेछे । त्यसपछि के के हुनेछ दुबैलाई थाहा हुनेछैन ।
दुबैजना एक अर्कामा अर्कै संसारमा हराउनेछौं । मेरो मनमा अर्को झस्का लाग्यो– ‘स्त्री चरित्रम्, पुरुषस्य भाग्यम्, दैवौ नजानामि कुतो मनुष्य’ अर्थात् स्वास्नी मान्छेको चरित्र र लोग्ने मान्छेको भाग्य दैवले त जानेको हुँदैन भनेर धर्मशास्त्रमा लेखेको छ भने मलाई थाहा हुने कुरै भएन । अपरिचित केटाहरुसँग नजिकिने केटीहरु ठीक हुँदैनन् । यस्तो राम्रो कपडा लगाएकी, सिंगारपटार गरेर हिँडेकी केटीले एउटा घडी लगाउन सक्दिन र ?’ आजकल त असी सय रुपैयाँमा घडी पाइन्छ । तीन चार सय रुपैयाँ हाल्यो भने त बजारमा राम्रै घडी किन्न पाइन्छ नि । जाबो एउटा सामान्य घडीको व्यवस्था गर्न नसक्ने केटीले भोलि घरको व्यवस्था कसरी गर्नसक्छे ? समयको त्यति ठूलो महत्व दिनेले सिंगारपटारको खर्च कटौती गरेर एउटा घडी किनेको भए हुन्थ्यो नि त ! म त्यस केटीप्रति लालायित हुँदै, सहानुभूति प्रकट गर्दै, शंका उपशंकाहरु गर्दै ऊप्रति हेरिरहन्छु ।
आश्चर्यचकित हुँदै केटीले मेरो उत्तरको प्रतिक्षा नगर्दै पुनः प्रश्न गर्छे– ‘के हेरिरहनुभएको दाइ ? कति बज्यो भनेर सोधेकी हुँ ।’ केटीको आवाजले म झसंग हुन्छु र भन्छु– ‘हँ के भन्नुभयो ?’ केटीको प्रश्न थियो– ‘कति बज्यो भनेर सोधेकी ।’ घडीमा कति बज्यो भनेर नाडीमा हेर्नलाग्दा मेरो हात बसको सिटको फलामको क्याण्डलमा ठोकिन्छ र म बिउँझिन्छु । घटना विपनाझैं लागे पनि सपना पो रहेछ । मेरो जिउ पसिनाले निथ्रुक्क भिजेको हुन्छ । घडी हेर्दा रातको एक बजेको रहेछ । एकैछिनमा म झर्ने बस स्टप आइपुग्यो । म बसबाट ओर्लेर आफ्नो बाटो लागें ।
(स्रोत : श्री रुपरेखा)