~भिम बहादुर थापा~
असामान्य
अलिक अपत्यारिलो
तर, अनायास
उसको सानो प्रगतिमा
सामान्य पदारोहणमा
केही नौलो?
केही नयाँ?
ब्यग्र आँखा अघि-
सत्यलाई अभिवादन?
शुभकामनाका शब्द?
अहँ,
असम्भवप्राय
सुकेको सम्भावना,
बस्
बिल्कुल,
यीनको हेराई
दरिद्र शिष्टता
उल्लेख्य घमण्डी
पुरातनवादी चेत,
बिजाङ्कुरणमै
गाँसिएको विशेषता,
प्रत्येक
कोष-कोषमा
रगतका
शिरा-शिरामा
भिज्दैआ’को
उन्मत्त स्वार्थी,
त्यो
अभ्रख जस्तो,
दुई पात झरेर
चार हात बढेर
एकाएक
काँचुली के फेर्थ्यो र?
बरु, पैतृक
अनि, अजम्बरी जस्तो
कुटिल
पूर्वाग्रही
भित्री चाल,
छद्म छेडेर
बाहिर छताछुल्ल
जताततै
पोखिंदा सम्म
छोक्राइलो
केवल औपचारिकता,
निमुखातिर
फुत्त फ्याँकेर
मोहडा नफर्काएरै
निस्फिक्री नशामा
ताप्छन् यी सब
उही
बलेकै आगो।
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)