~बुद्धिसागर~
बसमा
अगाडिपट्ट, आमाको काखमा उफ्रिंदै
मुस्कुराइरहेको बालकलाई
आँखा झिम्काउँदै
मुस्कुराइदिनू,
त्यही मेरो
कलिलो मुस्कान हुनेछ ।
बाटोमा
हिँड्दा-हिँड्दै छुटेको
उध्रिएर आफ्नो रङ हराएको
बिरानो जुत्ता देख्यौ भने
सुल्टाइदिनू,
अचानक थाकेको
त्यही मेरो गोडा हुनेछ ।
अँध्यारोमा
गल्लीहरू छिचोल्न
कहिल्यै नडराउनू,
गाँठो परेका रहरका
सबै बाटाहरू
पटुकाझैँ फुकाउँदै हिँड्नू,
तिम्रो पाइला मुन्तिर
मेरै पाइला हुनेछ ।
बर्खामा
झ्यालबाट उछिट्टएिर
परेलाबाट तप्किएको
पानीको थोपालाई
मनतातो हत्केलामा राखेर
मेटिदिनू,
सम्हाल्दा-सम्हाल्दै खसेको
त्यही मेरो आँसु हुनेछ ।
बिहानीपख
टाढा-टाढाबाट कसैले बोलाएजस्तो
लाग्यो भने निद्रामा,
उठेर दैलो उघारििदनू
आँगनमा चारा खोजिरहेको
उदास पन्छीलाई
कहिल्यै नधपाउनू,
गएर कहिल्यै नफर्किएको
त्यही नै मेरो
मौन आत्मा हुनेछ ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३५६)