~विजय सागर~
रातको दस बजी सक्दा पनि ऐलिना घर आईपुगेकी थिइन् । श्यामप्रसाद निरौला र उनकी पत्नी राधा भित्र भित्र डरले काँपी रहेका थिए ।
श्यामप्रसादले पटक पटक ऐलिनाको मोबाइलमा ‘कल’ गर्दा मोबाइल उठ्दैनथ्यो ।
दाजु हरिप्रसादको एकलौटी सन्तान ऐलिना बी.बी.एस. पढ्न काठमाण्डौ श्यामप्रसादकोमा बसेकी थिई ।
राधाले आत्तिएर लोग्नेलाई भनि – उत्ताउली पनि कति उत्ताउली हो ! यत्रो रात गई सक्यो ! कति डर नलागेको होला ?
पहिला पहिला पनि विहान क्याम्पस गएकी ऐलिना साँझ अबेर ७।८ बजे तिर आउने गर्थी । त्यस्तो बेला श्यामप्रसादले समयमा आउन ऐलिनालाई सम्झाउँथे ।
बी.बी.एस. को पहिलो बर्ष चल्दै थियो । ऐलिना घरमा विस्तार विस्तार ढिलो ढिलो आउन थालेकी थिई । श्यामप्रसादले आफ्ना दाजु हरिप्रसादलाई गुनासो पोखी सकेका थिए ।
ब्यापारको सिलसिलामा २।३ महिनामा हरिप्रसाद काठमाण्डौं आउँथे । बाबु आएको समयमा ऐलिना समयमा घरबाट निस्कन्थी । समयमा घरमा फर्कन्थी ।
रातको एघार बज्न लाग्दा पनि ऐलिना घर आइनन् । आत्तिएर श्यामप्रसादले विराटनगर रहेका दाजुलाई फोन गरे ।
पन्ध्र मिनेट पछि घर अगाडि एउटा गाडी रोकियो । ऐलिना हतार हतार घर भित्र पसि । सानो बाबु श्यामप्रसादको अगाडि उभिएर मोबाइल चलाई ।
ड्याडी ! – ऐलिना बोली – म घर अगाडिनै साथीहरुसंग थिएं । सानो बाबाले देख्नु भएन छ । ल सानो बाबासंग बोलिस्योस !
ऐलिनाले मोबाइल हरिप्रसादलाई दिई ।
हजुर दाजु ! – श्यामप्रसाद बोले – भर्खर आईपुगी ऐलिना !
…. ….
हुन्छ ! – श्यामप्रसादले जवाफमा भने र मोबाइल ऐलिनाको हातमा दिए ।
हुन्छ ड्याडी ! – गुडनाइट ड्याडी ! – ऐलिनाले भनि र मोबाइल बन्द गरी ।
गाडीको हर्न बज्यो ।
ऐलिना जसरी घर आएकी थिई त्यसरी नै फेरि घर बाहिर रहेका गाडी तिर दौडी ।