~विश्वराज अधिकारी~
मेरो एक वयोवृद्ध छिमेकीको अन्त्येष्टिमा भाग लिन म पशुपतिनाथ मन्दिरनजिक रहेको आर्यघाटमा पुगेको थिएँ । मृतकका पाँच छोराहरूसहित करिब ३० या ३५ का सङ्ख्यामा मलामीहरू उपस्थित थिए, त्यहाँ । चिता जलिरहेको थियो, अर्कोतिर मलामीहरू कुराकानी गर्दै थिए ।
मृतकको जेठो छोराले भने,“बुबाले निकै दु:ख पाउनुभएको थियो । दश वर्षदेखि ओछ्यानमा नै हुनुहुन्थ्यो । दिसापिसाब सबै ओछ्यानमा नै हुन्थ्यो । उहाँले अब यो दु:खबाट मुक्ति पाउनुभयो ।”
मृतकका कान्छो छोराले भने,“ बुबाको उमेर पनि निकै भइसकेको थियो । नब्बे पुग्न थाल्नुभएको थियो ।”
मृतकका माइलो छोराले भने,“निकै खर्चिलो हुँदै गएको थियो बुबाको उपचार । महिनाको ५० हजार रुपैयाँ लाग्थ्यो, केवल औषधि र उपचारमा मात्रै । मैले नै बेहोर्दै आएको थिएँ त्यो खर्च, बुबा कान्छो भाइको घरमा बसेको भए तापनि ।”
एक छिमेकीले भने,“काका जानुभयो, उहाँकै लागि राम्रो भयो । त्यस्तो जिन्दगी उहाँको लागि पनि निकै कष्टकर थियो । अब भने यो कष्टबाट सदाका लागि छुटकारा पाउनुभयो ।”
अर्को एक छिमेकीले भने,“ठूलो बुबालाई स्याहारसुसार गर्ने, रेखदेख गर्नेलाई पनि निकै गाह्रो भइसकेको थियो, अनि झर्कोलाग्दो पनि ।
तेस्रो छिमेकीले भने,“हुन पनि, अर्काको बोझ बनेर कति बाँच्नु ?”
मलामीहरूको कुरा सुन्दा लाग्थ्यो, त्यहाँ मानिसहरू मृत्यु–शोक होइन, मृत्यु–उत्सव मनाउन उपस्थित भएका थिए ।
ती कुरा गर्नेहरूतिर मेरो कान बेलाबेलामा आकृष्ट भए तापनि ध्यान भने जलिरहेको चितामा नै स्थिर
थियो ।
मृत्यु जुनसुकै अवस्थामा पनि दुखदायी हुन्छ । उपभोक्तावादीहरूले मृत्युको परिभाषा नया किसिमले दिएका मलाई भने पटक्कै मन परेन । एउटा जीवनको अन्त्य भएको स्थितिमा पूर्ण दु:खी हुनुको साटो खुशी हुनुपर्ने कुनै पनि कारण र अवस्था मैले देखिनँ । म निकै दु:खी थिएँ, त्यो मृत्युबाट ।
जलिरहेको चिताको नजिकमा चलिरहेका ती संवादहरूले मलाई निकै पीडित बनायो । तर त्योभन्दा पनि अति पीडित बनायो मलाई मानिसहरूमा मर्दै गएको समवेदनाले । त्यहाँ केवल एउटा लाश मात्र जलेको लागेन मलाई । अनगिन्ती समवेदनाहरू पनि जलिरहे झैं लाग्यो मलाई, त्यो लाश सँगसँगै । अनि लाग्यो, समवेदनाको मलामी गए जस्तो ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)