कथा : आमा ! तिमी महान छौ

~सुमलकुमार गुरुङ~Sumal Kumar Gurung

कुनै आमाले आफ्नो कोखिलोमा राखेर एउटा हातले सानो शरीरलाई न्यानो वात्सल्य ममतामयी अमृतधारा चुसाउँदै गरेकी दृष्य देख्दा कता कता आफ्नै आमाको वात्सल्य प्रेमको अनुभूति मलाई हुन्छ । मलाई हिजो जस्तै लाग्छ । मेरो भाइ भोक लागेर रोएको बेलामा आमा आउँछिन् दौडँदै अनि भाइलाई च्याप्प समातेर दुध पिलाएको बेलामा मैले पनि आमाको दुध चुसेको धमिलो सम्झना अनुभूति बन्दै अहिले आँखाअघि तैरिन्छ । कति मीठा यी सम्झनाहरु । सानो भाइलाई भुटेको भट्मास चपाएर खिलाउँदा मैले पनि लाडे पल्टदै माग्दै खाएको सम्झना अहिले प्रष्ट भएर आउँछ । यी अनुभूतिहरुका श्रृङ्खला सम्झँदै जाँदा आमाको अपार त्याग र ममताको छहारी सधै यो शरीरमा गतिशील रगतका कण कणमा बगिरहेको अनुभूतिले अपार आनन्द दिन्छ । मानौ जीवनको उद्गमदेखि अनन्तसम्मको यात्रामा जताततै आमा नै आमा देख्छु म ।

जीवनमा ओराली—उकाली नभइदिएको भए जीवनका तितामीठा भोगाइहरुको सम्झना कहाँ हुन्छ र ? मानव जीवनको सफलता र असफलताको कथा नै जीवन सार हो । मलाई जब–जब आमाको सानिध्य प्राप्त गर्न मनलाग्छ अथवा आमाको स्नेहको छहारीको तल–तल लाग्छ, मलाई मेरा विगतका सम्झनाहरुले प्रेरणा दिइरहेको अनुभूति हुन्छ । अनि मेरो आत्मबलको सगरमाथा चुलिँदै जान्छ । आमाले सधै भन्छिन् हाम्रो सानो परिवारमा हामीलाई केही कुराको दुःख थिएन रे । हाम्रो सानो स्वर्गजस्तो संसारमा सपनौल भविष्यको निर्माणमा बुबा–आमा तल्लीन् थिए । त्यतिबेला भाइ र म जन्मेका थिएनौ । बुबाको चाहना शहरीया वातावरणमा परिवारलाई लगेर बच्चाहरुलाई पढाउने रहेछ । आमा पतिको विचारलाई शिरोपर गरी पतिसहित परिवार लिएर शहर गएका रहेछन् । त्यसबेला गाउँमा खेती किसान् गरेर स–साना बच्चाहरुको भविष्य निर्माण गर्ने कुरा कठिन देखेर शहर पसेका रहेछन् । परिवारलाई अलि सुख पनि मिल्ने र शिक्षादिक्षाका लागि राम्रो हुने विचार गरेछन् बुबाले । बुबालाई उनको पालामा हजुरबाले घरैमा पढाउने मास्टर राखेर रकमी तमसुक पढ्ने र लेख्नेसम्म बनाएका रहेछन् । बुबाहरुको पढ्ने बेला हामे गाउँमा स्कुल स्थापना भएको रहेनछ । धेरैपछि आएर मात्र दाइहरु र दिदी जन्मेपछि पाँच कक्षासम्म पढ्ने एउटा पाठसाला गाउँलेहरु मिलेर स्थापना गरेका रहेछन् ।

दुई जना दाइहरु र दिदी जन्मेपछि शहर लागेका रहेछन् । आफसँग जिजुबाजेहरुले कमाएर राखेका केही चाँदीका मोहरदाम लिएर गाउँबाट शहरमा कपडाको व्यापार गर्न गाउँको ठूलो खेत नै बेचेर जानुभएको रहेछ बुबा । बुबाको प्रगतिशील विचारमा व्यापार गरेर आफ्नो परिवारको आर्थिक स्थिति मजबूत बनाउने र सन्तानका लागि भविष्य सुनिश्चित बनाउने रहेछ । आमालाई सुखसाथ राख्ने अनि बच्चाहरुलाई शहरीया माहोलमा राम्रो शिक्षा दिने बुबाको प्रगतिशील विचार । एक वर्षजति व्यापार राम्रै चलि रहेको थियो भन्छिन् आमा, तर, त्यसपछिका समयहरुमा व्यापार घाटा लाग्दै गयो रे । व्यापारमा केही अनुभव नभएको बुबालाई कपडाको व्यापारमा घाटा लाग्दै गयो । दशाले शाखा सन्तान बोकेर ल्याउँछ भनेझै त्यही बेलामा एकदिन अचानक कपडाको दुकानमा आगो लागेर सबै सम्पति स्वाहा भएछ । तबदेखि हाम्रो परिवारको दुःखका दिनहरु शुरु भएको थियो भन्छिन् आमा । बुबाको धेरै जस्तो व्यापारको कारोबार उधारोमा चलेको रहेछ । आमा अतीत केलाउँदै भन्छिन्, उनले उधारो लगेकाहरुबाट प्राप्त गर्ने पैसा धेरै थियो रे, तर, थोरै पैसा साहुलाई पनि तिर्नु थियो रे । आफूले पाउनुपर्ने पैसा उठाउन दुःख भयो रे कतिले त दिँदै दिएनन भन्छिन् आमा । बचेखुचेको तिर्नु पर्ने पैसा सबै साहुलाई तिरे बुबाले । सपना चकनाचूर, हतास जिन्दगी बोकेर बाँच्न फेरि परिवारसहित गाउँ नै फर्केका रहेछन् । यो हाम्रो सानो परिवारको कथाको पाटाचाँहि म जन्मनु अघिको रहेछ ।

आफसँग भएको पैसा, जग्गा गुमाएपछि हारेको जुवाडीसरह बुबाआमा परिवारसहित फेरि फर्केका रहेछन् त्यही आफ्नै गाउँमा । फेरि त्यही खेती किसानको भरमा जिन्दगी गुजार्नु प¥यो । अरु उपाय थिएन । धान आउने ठूलो खेत बेचिदिएकाले घरमा धानचामलको कमी भयो । २, ३ हलको खेतबाट ६ महिना नथेग्ने धान आउँथ्यो । मुस्किलले बारीबाट आउने कोदो मकैको भरमा परिवारको रथ गुडिरहेको थियो भन्छिन् आमा । म जन्मेर आमा सुत्केरी हुँदा घरको हालत एकदमै नाजुक रहेछ । बुबासँग आमालाई सुत्केरीमा राम्रोसँग खुवाउने सामर्थ नै थिएन भन्छिन् आमा । अरुको अघि पैसाको लागि हात नफैलाउने महत्वकांक्षी बुबा आफ्नै हालतमा बाँचिरहेका थिए । दाइहरु र दिदी झुत्रे लुगामा नै सालभरि जाडो याममा थरथर काम्दै बिताएका कुरा आमा भन्छिन् । माहिला मामा मलायबाट परिवारसहित पेन्शन आउँदा सबैलाई एकुन जोर कपडा दिएको कुरा गर्छिन् । त्यही साल म जन्मेको थिएँ अनि त्यही सालमा भुइँचालो पनि गएको रहेछ । त्यसैबेला घरको एकातिरको पाली भत्केर गएको रहेछ । बुबासँग आमालाई सुत्केरी उम्काउने पैसा थिएन अब घर कसरी मरम्मत गर्ने ? बुबालाई चिन्ताको विषय बन्यो । आमाले विगतका दुःखहरु सम्झँदै भन्दै जाँदा आँखा रसाउँछिन् र दुई थोपा खसाउँदै चाउरिएको हातले आँशु पुछ्ने गर्छिन् । आमाको आँखाका आँशु देखेर मेरो आँखाबाट पनि अनायसै आँशु झर्छन् । सायद आमाको वात्सल्यको अनुरागले तानेको होला । कस्तो चुम्बकीय शक्ति छ त्यो मायाको अनुरागमा ? म कहिल्यै पनि आमाको आँखामा आँशु देख्न सक्दिनँ ।

गर्भमा महिना पुग्न आँटेको बच्चा बोकेर आमा पैसाको लागि माइत गुहार्न गएकी बेलामा मेरो जन्म मामा घरमा भएको रहेछ । त्यसकारण मेरो नाम माइताप्रसाद राखेका रहेछन् । आमा सुत्केरी हुँदा मावाली बाजेबज्यैले आमाको देखभाल माइतमा नै गरेका रहेछन् । हाम्रो हजुरबा र हजुरआमा पहिल्यै बितेका रहेछन् । बुबा दाज्युभाइमा एक्लै थिए । भत्केको घर मामाहरुले नै बनाइदिएका रहेछन् । हाम्रो दुःखका दिनहरुमा सहयोगको एक मात्र श्रोत मावाली । म जन्मेको दुई वर्षपछि एकजना भाइको जन्म भयो । दाइहरु र दिदी हुर्किसकेका थिए । दाइहरु स्कुलबाट घर आउँदा बेलुकि खाजा खाएपछि घरका सानोतिनो कामहरु गर्थे । बुबा बेलाबेलामा बिमार भइरहन्थे । उनी व्यापारमा घाटा लागेदेखि निराश भएको कुरा आमा भन्छिन् । यही निराशताले नै उनको बेलाबेलाको बिसञ्चोको कारण थियो । तर, आमाले बुबालाई सम्झाउँदै जीवन संघर्षमा जुट्ने प्रेरणा दिन्थिन । छुट्टीको दिनमा दाइहरु र दिदी घाँसदाउरा गर्थे । बिहानै उठेर बनपालाको पातहरु उठाउन जान्थे । आमा बिहानदेखि अबेर रातिसम्म खटिरहन्थिन् । बिमार बुबालाई हेरचाह गर्थिन् । तर, बुबाको जीवन यात्रा अल्प रह्यो । म यस्तै तीन कक्षामा पढ्दै गर्दा बुबा बित्नु भयो । उमेरको अधवैंश नढल्कँदै आमा विधवा बनिन् । त्यसमाथि पाँच जना सन्तानहरुका परिवार हुर्काउने जिम्मा आमाको कमजोर काँधमाथि आयो । एक जना अबला नारीमाथि ठूलो जिम्मेवारीको बोझ थियो । अहिले कल्पनागर्दा र हामीले भोगीरहेकोे यो सफल जिन्दगी आमाको नै एकल देन लाग्छ मलाई । कति महान मेरी आमा । यस अर्थमा बुबाको कमजोरी र उनको योगदना नरहेको भन्न मिल्दैन । हाम्रो रगतमा बुबाको सदाचार र सत्यताको वंशानुगत देन अवश्य छ नै ।

मैले होश सम्हालेदेखि युवक हुन्जेलसम्म मैले आमालाई बिमार भएकी कहिल्यै देखिनँ । उनको तनमनमा पाँच सन्तानलाई पालन पोषण गर्ने ऊर्जा शक्ति र उनको ईच्छा शक्ति सायद सन्तानहरुप्रतिको त्यागले गर्दा जीवन संघर्षमा जुट्ने शक्ति प्राप्त गरेकी होलीन् । पाँच सन्तानलाई हुर्काउँने आदम्य शक्ति बोकेकी आमालाई अहिले सम्झँदा म छक्क पर्छु । भगवानले असीम शक्ति प्रदान गरेकै हो आमालाई । स्वार्थी संसारले बलेको आगो ताप्छन् र उदाएको घामलाई पुज्छन् । त्यतिबेला हाम्रो जिन्दगीको घाम अस्ताएको थियो । घरमा गरीबीले गुँड जमाएपछि छरछिमेक र आफन्तले पनि हेप्दा रहेछन् । एकै धुरीबाट छुटेका भाइहरुले गाईडिंगा, कुखुराको निहुँमा सक्दो धम्काउँदै गाली गर्लौच गर्थे । तर, आमाले सहिन् ती गालीगलौचहरु, सबै दुःखकष्टहरु, अर्काका दमनहरु र हामीलाई पनि सहनशीलताको पाठ सिकाईन् । धन्न ! मावलीको सहाराले हाम्रो अभावको जिन्दगीलाई टेवा पुर्याएको थियो । दाइहरु र दिदीको स्कुल फिस तिर्ने पैसा नहुँदा आमा बेलाबखत माइत गुहार्न जान्थिन् ।

एक पटक काखको भाइलाई बोकेर आमा माइत गुहार्न जाने बेलामा म पनि जान्छु भनि बेस्सरी झगडा गरेको सम्झन्छु । अन्तमा मेरो जिद्को कारण आमाले भाइलाई पिठ्यूँमा बोकेर मलाई हातमा समातेर लगेकी थिईन् । म सायद चार वर्षको हुँदो हो । मामाको गाउँ र हाम्रो गाउँलाई एउटा खोलाले छुट्याएको छ । खोलामा पुग्दा वर्षयाम भएकोले खोलामा पानी निकै बढेको थियो । पानी पर्न थालेको थियो । आमाले पिठ्युँमा भाइलाई बोक्दै मलाई हातले समातेर विस्तारै खोला तार्दा अचानक माथिबाट पानी उर्लेर आयो । म आमाको हातबाट छुटेर खोलाको भेलसँगै हेलीँदै गएँ । तल तल मलाई खोलाले बगाउदै लग्यो । म चिच्याउँदे रुँदै तल तल गइरहेको थिएँ । एक्कासी आमा भाइलाई किनारामा राखेर पानीमा हमफालेर मलाई बचाउन आई पुगिन् । म एउटा ठूलो ढुंगाको कापमा अड्केको थिएँ । जसो तसो मलाई पक्रेर किनारमा ल्याईन् अनि किनारमा रोइरहेको भाइ र मलाई समातेर थर थर काम्दै आमा रोएकी अझ पनि म सम्झन्छु । मलाई आमाले दोश्रो पल्ट जीवनदान् दिईन् । पहिले जन्माएर र अहिले पानीबाट बचाएर । आमाको कठीन् संघर्ष र त्यागले गर्दा मैले पाएको जिन्दगी सबै आमाको उपहार हो । यसैले म भित्र आमा प्रति अगाध श्रद्धा जागेर आउँछ । हजार जुनीसम्म यही आमाको कोखबाट जन्मन पाउँभन्ने अभिलाषा राखेको छु । आमा सधै सादा कुरा भन्थीन् …सधै आफुलाई मिहिनेत गर्ने तिर्सना जगाउनु पर्छ …हारेश खाना हुँदैन..। हाम्रो बाल्यकालको जीवन कहिले घाम र कहिले छाँया बन्दै बित्दै गयो । दाइहरु र दिदी हुर्की सकेकाले घरको कामकाजमा आमालाई हात बढाउन थाले । दाइहरु पालैपिलो घासदाउरा गर्थे । दिदीले घरका झिनामसिना सबै कामहरु गर्थिन् । जेनतेन जीवनको डुङ्गा पार भइरहेको थियो । तर, घरको गरीबीले गर्दा दाइहरुले धेरै पढ्न पाएनन् ।

पालो सबैको आउँछ, भाग्यले साथ दियो । हाम्रो परिवारमा पनि खुशीको घाम उदायो । ठूलोदाइ १७ वर्षको उमेरमा ब्रिटिश आर्मीमा भर्ती हुनुभयो । घरमा खुशीको लहर छायो । ठूलदाइ छुट्टी नआउँदै माइलादाइ पनि ब्रिटिश आर्मीमा नै भर्ती भएर हङकङ जानुभयो । आमाका दुःखका दिनहरु दूर भयो अब । ठूलदाइ घरमा पहिलो छुट्टी आउँदा परिवारको खुशीको सीमा नै थिएन । म अहिले पनि हिजो जस्तै सम्झन्छु । दाइले एउटा टेपरिकर्डर लिएर आएका थिए । त्यसबेला गाउँका सबै जना घरमा नै जम्मा हुन्थे । ठिट्टा तरुणीहरुको ठाडो भाकाको गीत रेकर्ड गर्न मानौ एउटा होड नै लागेको जस्तो देखिन्थ्यो । ठुलदाइको एक जना साथी सँगै छुट्टी आएका थिए । उनले दिदीलाई मन पराएछन् । त्यही छुट्टी भित्र खुसुक्क दिदीलाई लाहुरेले भगाएर लगे । सायद दाइको पनि मिलोमतो रहेको होला भन्ने सम्झन्छु अहिले । आमा पनि कुटुम्बको छोराले लगेकोमा खुशी भईन् । दिदी र भेनाको विवाह पछि धुमधाम सँग गरियो । त्यस साल ठुलदाइलाई विवाहको लागि आमाले कर गरेकी थिईन् तर ठुलदाइले आफ्नो विवाह अर्को विदामा गर्ने विचार पोखे ।

म सानै थिएँ । भाइ र मलाई दाइहरुले बेस्सरी पढ्नु पर्छ भन्दै प्रेरणा दिन्थे । घरको आर्थिक स्थिति सुदृढ बन्दै गयो । बुबाले बेचेका ठूलोखेत पछि हामीले नै किन्यौ । त्यसपछि मानिसहरु शहर पस्ने क्रममा गाउँका जग्गाहरु बेच्दै जान थालेका थिए । आमाले एकाध राम्रो मलिला खेतहरु किनिन् । यतिबेला घरमा काम गर्ने दुई जना गोठालाहरु थिए । म पनि कोशिस गरेर पढ्न थाले । सानो छँदा अभावको जुन अनुभूति थियो त्यो विलीन् भइसकेको थियो अहिले । मैले एसएलसी प्रथम श्रेणीमा पास गरे । यतिबेलासम्म दाइहरुका विवाह भइसकेको थियो । ठुली भाउज्यु हङकङ गइसकेकी थिईन् र माइली भाउज्यु कहिले पोखरा कहिले गाउँ आउँथिन् । उनको माइतमा बुबाआमा बाहेक कोही थिएनन् । सन्तानको नाममा उनीमात्र थिईन् । त्यसैले धेरैजसो उनी पोखरा बस्थिन् । मलाई दाइहरुले भाउज्युको माइतमा बसेर क्याम्पस पढ्ने सल्लाह गरे । अतः म पनि उनकै घरमा बसेर क्याम्पस पढ्न थाले ।

म र भाइलाई दाइहरुले पढ्नको लागि सक्दो आर्थिक सहयोग गरे । केही कमी राखेनन् अतः मैले पनि राम्रोसँग पढ्दै गए । मैले बचपन्को अभाव र दुःख बिर्सेको थिएन । त्यसैले गर्दा म र भाइ एकदमै कोशिस गरेर पढ्दै थियौ । हामी कहिल्यै कुसँगतमा लागेनौ । पीएन क्याम्पसबाट कमर्स लिएर प्रथम श्रेणीमा स्नातक पास गर्दा घरका सबै खुशी भए । भाइ पनि एसएलसी गरेर पीएनमा नै पढ्दै थियो म सँगै । पढाई सकेपछि अब चाँहि मैले केही गर्नुपर्छ भन्ने सोच पलायो । घरमा आमाले नेपालमा नै सरकारी जागीर खानु, दाइहरु विदेश छन् नेपालमा पनि एक जना भाइले काम गरे सबैलाई राम्रो हुनेछ भनेर सल्लाह दिईन् । मलाई पनि आमाको कुरा ठीक लाग्यो, यसर्थ नोकरी नेपालमा नै गर्ने विचार गरे । मेरो शारीरिक तन्दुरुस्ती राम्रो भएकोले गर्दा दाइहरुले नेपाल प्रहरीमा सोभैm इन्सपेक्टर पदमा भिड्नको लागि सल्लाह दिए । उहाँहरुले सल्लाह दिए बमोजिम मैले प्रयास गरें अनि म सफल पनि भएँ । म अहिले नेपाल प्रहरीमा इन्स्पेक्टरको पदमा रही आफ्नो गृहजिल्ला पर्वतको सदरमुकाम कुश्मामा काम गरिरहेको छु । मलाई भ्रष्टचार राम्रो लाग्दैन, म कर्मले र वचनले निष्ठापूर्वक देश सेवा गर्न चाहन्छु । देशको बिग्रदो शासन व्यवस्थालाई सुदृढ बनाउन सबैभन्दा पहिले प्रहरीबलले आफैले नियम कानूनको पालना गरेर यसलाई सुरक्षा दिन सक्नुपर्छ भन्ने मेरो धारणा छ ।

भ्रष्ट प्रहरी कर्मचारीहरु र कतिपए भ्रष्ट नेताहरुका कारण यो देश रोगिएको छ । मैले प्रहरी बलमा काम गरेको पनि एकवर्ष बितिसकेको छ । आज गाउँमा आमालाई भेट्न आउँदा, बेशी हुँदै गाउँतर्फको उकालो लाग्दा ती विगतका सम्झनाहरु छर्लाङ आँखाअघि तैरिँदै आयो । यी बालखकालदेखि अहिलेसम्मका सम्झनाहरु सम्झिँदै घर आइपुगेका थाहा नै भएन । आमाको चरणकमलमा ढोग दिएँ । आमाको मुहार प्रशन्न देखेँ, सायद म आएको खुशीमा । म घरमा पुगेको केही बेरपछि अचानक आमालाई कुन्नि के कुराले डो-यायो । आमाले आँटीबाट एउटा सानो कालो धुँवासे डोको निकालेर मलाई देखाउँदै भनिन्…हेर बाबु यो डोको तँलाई बाजेले बुनिदिएका…। मलाई त्यो डोकोभित्र आफ्नो बचपनका दिनहरु बनपाला र सान्तगरातिर त्यो डोको बोक्दै पातहरु सोहोर्दै ल्याएका पलहरु सम्झना हुँदै आयो र अतीतका ती पलहरुमा आमाको वात्सल्य प्रेम, प्रेरणा, श्रम, पसिना र मिहिनेतहरु फेरि झलझल्ती आँखा अघि तैरिन थाल्यो । यी नै आमाका प्रेरणाका कारणले यो जीवन सफल भएको ठान्दछु । त्यसैले मैले यो जीवन आमाको चरणमा सेवा गरेर गुजार्ने प्रण गरेको छु । आमा तिमी महान छौ ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.