~आचार्य प्रभा~
साहित्य र साहित्यकारको शुभचिन्तक हुँ भनेर उसले हर लेखकअघि आफूलाई दर्शाउन चाहन्थ्यो । यदाकदा साहित्यिक कार्यक्रममा अतिथिको आसन ग्रहण गर्न पनि भियाउँथ्यो ऊ । औसत लेखकहरुलाई मित्र बनाउन पनि पछि पर्दैनथे ऊ । ऊ अक्सर भन्ने गथ्र्यो– ‘राजनीति र साहित्य एकै रथका दुई पाङ्ग्रा हुन् । हामीले हातेमालो गरेर हिंड्न सक्नुपर्छ ।’ यस्तै मनोभाव दर्शाउँदै उसले औसत लेखकहरुलाई आफ्नो पार्टीको सदस्य बनाइसकेको थियो ।
एकपटक एक कवि अचानक थलिए । डाक्टरको भनाइअनुसार उक्त कविलाई ट्युमर भएको जानकारी भयो । उक्त कविको निरीहावस्थाले गर्दा औषधी गर्न असम्भव हुने भयो । सबै साहित्यिक अनुरागीहरु मिलेर चन्दा उठाएर भए पनि उक्त कविलाई औषधी गर्न लैजाने सल्लाह भयो । पैसा उठाउने क्रममा सबैभन्दा पहिला त उनै साहित्यकारहरुको शुभचिन्तकलाई सबैले सम्झिए र उक्त शुभचिन्तकको खोजीमा लागे । मुस्किलले पत्तो पनि लगाए कि ‘आज साँझ ४ बजे रत्नपार्कमा उनले सम्बोधन गर्न आफ्नो पार्टीको निम्ति कार्यक्रम राखेको छ रे’ भनेर ।
सबैले यो खबर थाहा पाएर पूर्ण आशाका साथ उक्त सभामा गए । एक नेताको भाषण सकिनासाथ उही साहित्य शुभचिन्तकको पालो आयो । सबै कवि, लेखकहरु बडो उत्सुकताको साथ उसको भाषण सुन्न बसे । त्यसपछि भेटेर उसलाई सहयोग माग्ने सल्लाह गरे । उसको भाषण शुरु भो ।
बडो तार्किक कुराहरु दर्शाइरहेका थिए । ऊ भन्दै थिए– ‘देशको राजनैतिक अवस्था जबसम्म स्थिर र सबल बन्न सक्दैन तबसम्म देश अघि बढ्न सक्दैन यसर्थ सबैभन्दा पहिला राजनैतिक अवस्थालाई सबैले योग्दान दिनुपर्छ त्यसपश्चात् मात्र अन्य विषयमा ध्यान दिनुपर्छ ।’
फेरि केहीबेर रोकिएर ऊ भन्न थाल्यो– ‘आजको नेपाली साहित्य विकृतितर्फ उन्मुख भइरहेछ्र हर लेखक कविहरुका कलमले देश र नेताविरुध अनि राजनैतिक कटाक्षका शब्दहरुबाहेक केही लेखेको मैले बुझेको छैन त्यसर्थ त्यस्ता कलमहरुलाई पनि हामीले सख्त बन्देज गर्न सक्नुपर्छ । आजका कलमहरु देशद्रोही बनेर उन्मुक्त चाहना पोखिरहेछन् त्यस्ता कलमीहरुलाई सिधै जेल चलान गरिनुपर्छ । सत्यको अडान लिएर नेता र राजनीतिको खिल्ली उडाउन दिइनु हुन्न । मेरो पहिलो भिजन नै यही हो धन्यवाद । उक्त शुभचिन्तकको भाषण सुनेर सबै कवि साहित्यानुरागीहरु मुकदर्शक बनी सोझा जनतामा अनुवाद भइरहेका थिए ।
अमेरिका
(स्रोत : विश्वन्युज डट कम )