~हरि अधिकारी~
विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो । सुरुचिपूर्ण ढंगमा चयन गरेका विम्ब, शब्दानुशासन, प्रकृति र जीवनको सूक्ष्म अनुशीलनका बलमा क्षितिजले त्यतिबेला आफूलाई एउटा गतिलो सम्भावना भएको स्रष्टाका रूपमा हेरिनुपर्ने बलियो दाबी प्रस्तुत गरेका थिए । त्यसपछिदेखि अहिलेसम्म पनि क्षितिजले त्यो दाबीलाई कमजोर हुन दिएका छैनन् । यस अन्तरालमा उनले फुटकर कविता लेखिरहनुका साथसाथै आफूलाई एउटा भावप्रवण, कोमलतम् शब्दावलीमा मिहिन गीतहरू लेख्ने गीतकारका रूपमा समेत नेपाली गीत-संगीतको दुनियाँमा स्थापित गराइसकेका छन् । हालै सार्वजनिक गरिएको दोस्रो कवितासंग्रह “घर फर्किरहेको मानिस” रमेश क्षितिजको सिर्जनात्मक जीवन-यात्राको एउटा महत्त्वपूर्ण मोडका रूपमा आएको छ । सुखद विषय के छ भनेक्षितिज यससंग्रहमार्फत आफ्नो रचना-सामर्थ्यप्रति थप विश्वास जगाउन सफल भएका छन् ।
रमेश क्षितिजका कविताको सबैभन्दा उल्लेख्य पक्ष हो तिनको मीतभाषा । ती व्यक्ति रमेशजस्तै कम बोल्छन्, शान्त तर हृदयलाई छुने किसिमले बोल्छन् । क्षितिजले राष्ट्रिय जनमतसंग्रह (विसं २०३७)का वरपरदेखि लेखिन सुरु भएको र अहिलेसम्म पनि समानान्तर चलिरहेको कविता लेखनको अति वाचाल, मुखर, वर्णनात्मक, व्याख्यात्मक र प्रत्यक्ष प्रतिक्रियात्मक शैलीलाई नकार्दै नेपाली कवितालाई फेरि एकपल्ट ठीकठीक विम्बका आधारमा हृदयको अन्तरका कुरासँग बात मार्ने, गोचर वस्तु र अगोचर भावनाहरूको कलात्मक संगुम्फन गराउन सक्ने, सूत्रमय र किञ्चित रहस्यपूर्ण र प्रिय लाग्ने काव्यशैलीमा उनेर प्रस्तुत गर्न सकेका छन् । उनको यो शैली आजका कतिपय प्रमुख कविहरूको पनि प्रिय शैली बनेको छ । क्षितिज र साथीहरूले मिलेर कलाविहीन भाषणबाजी बन्ने जोखिमको एकदमै नजिक भइसकेको नेपाली कवितालाई फेरि एकपल्ट नेपाली कविताको गौरवशाली परम्परासँग जोडिदिएका छन्, त्यो परम्परासँग जसको स्थापना देवकोटा र रमिालहरूले गरेका थिए, जसको उत्कर्ष मोहन कोइराला स्कुलमा आएर भएको थियो ।
रमेश क्षितिजको कविता-लेखन प्रक्रिया, उनका कविताका सारवस्तु र कविताका बारेमा कविको धारणाका विषयमा बुझ्न घर फर्किरहेको मानिसको आमुखका रूपमा कवि आफैँले लेखेका तलका पंक्तिले मद्दत गर्न सक्छन् ः
– अहिलेसम्म मानिसले सिर्जना गरेको सबैभन्दा प्राञ्जल र सुसंस्कृत भाषा कविता नै हो ।
– कविभित्रको उथलपुथल, सामाजिक-पारविारकि र वैयक्तिक अनुभूतिले निर्माण गर्ने एक बृहत् संस्कार र संस्कृति कवितामा पोखिन्छ ।
– मेरा कविताहरूको आधारभूमि, मेरा विम्बहरू र सिर्जनात्मकताको मुहान जोडिएको छ मेरो गाउँसँग, मेरो बाल्यकाल र मैले हिँडेको बाटोसँग ।
– मानिसले आफ्नो प्रारब्धलाई अनिवार्यतः भोगेजस्तै तिनै विम्ब र मिथकहरू आउँछन् मभित्र र तिनलाई माझेर चम्किलो र नवीन बनाउने प्रयास गर्छु (कवितामा) ।
– चुपचाप रहेर पनि बोल्ने कला सिकेँ मैले मेरी आमाको गहिरो र अर्थपूर्ण मौन भाषाबाट । पुल तरेर टाढा जाने धमिला आकृतिका पदचिन्ह छन् मेरा कवितामा ।
– इतिहासमा भएका केही परविर्तनहरूको प्रत्यक्षदर्शी मेरा कवितामा समयको प्रतिच्छायाँ परेको होला अवश्य नै । जुन कुरो लेख्दैन वा लेख्न सक्दैन मानिसले जीवनी वा आत्मकथामा, त्यो आउँछ उसको कवितामा ।
– असल कविता मानिसजस्तो हुनुपर्छ, एकदम रहस्यमयी, स्वप्नदर्शी, कोमल, भावुक र संघर्षशील ।
माथिको अभिव्यक्तिबाट प्रस्ट हुन्छ, क्षितिजको कवि आफैँतिर फर्किरहेको मानिस हो । क्षितिजका कविता आफ्नो संग्रहको आमुख लेख्दा उनले दिएको बयानको धेरै नजिक छन् भन्न सकिन्छ । उनको विम्ब विधान भने चमत्कारपूर्ण छ । ‘हिउँद’ शीर्षकको कविताका यी पंक्ति यसरी बनेका छन् :
तुषारोको सिरक ओढेर सेताम्मे
पल्टिरहेछन् बाटाहरू दूर-दूरसम्म
कोही देखिन्न पर घुम्तीमा आउँदै गरेको
फगत् ! जँड्याहा भुइँकुहिरो मातेर एकाबिहानै
ठोक्किँदै हिँडेको छ मोडहरूमा
छेउमा कठ्यांगि्रएका हत्केला रगड्दै
उभिरहेछ चुपचाप
हिँड्दै गरेको अपरिचित बटुवाजस्तो जिन्दगी ।
रमेश क्षितिज एउटा सशक्त कविको नाम हो । समसामयिक नेपाली कविताका टड्कारो सुनिने स्वरहरू मनु मन्जिल, विप्लव ढकाल, श्रवण मुकारुङ, सरिता तिवारी, सञ्जीव राई, भूपीन व्याकुल, हेमन यात्री, सुदीप पाख्रिन, राबत, हेम प्रभाष, रेणुका भट्ट आदिको पंक्तिमा क्षितिज सबैभन्दा अगाडि उभिने सामर्थ्य राख्छन् । उनले मोहन कोइरालाले देखाएजत्तिकै क्षमताका साथ प्रकृतिलाई छुने, अनुभूत गर्ने र प्रकृति र मानव जीवनको सम्बन्धलाई रेखांकित गर्ने प्रयत्न गरेका छन् । कोइराला स्कुल र रमेश क्षितिजको पुस्ताका बीचमा उभिने शैलेन्द्र साकार, श्यामल आदिका असल कविताको प्रभावसमेत बोकेर रचना गर्ने क्षितिजका कवितामा स्थापित परम्पराको सम्मान र त्यसमाथि आफ्नो रचनात्मक हस्तक्षेप दुवैको राम्रो झल्को पाइन्छ ।
रमेश क्षितिजका कविताको एउटा टड्कारो कमजोरीको उल्लेख भने गर्नैपर्ने ठान्छु । उनी कतिपय कवितामा आफूलाई दोहोर्याइरहन्छन् र यस मेसोमा उनले रोजेका विम्ब र तिनले रच्ने चित्रमयता पनि सक्कली नलागेर यान्त्रिकजस्ता लाग्छन् । उनले आफ्नै मनस्थितिलाई पनि एउटै रंगमा समातेका छन् । जीवनका विविध रंगलाई तिनका विचित्रतामा समात्ने र कवितामा पोख्ने प्रयत्नमा बढी केन्द्रित हुन सके रमेश क्षितिजको शक्तिशाली कविको सामर्थ्य अझ बढोत्तरी हुने थियो ।
घर फर्किरहेको मानिस
लेखक : रमेश क्षितिज
प्रकाशक : फाइन प्रिन्ट आईएनसी
पृष्ठ : २४+९८
मूल्य : १९९ रुपियाँ
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ५१५)