~मीना बज्राचार्य~
विनोद ज्यादै मेहनती केटा थियो। ऊ सहरदेखि धेरै टाढाको गाउँमा बस्दथ्यो। त्यस गाउँ निकै दुर्गम स्थानमा थियो। त्यहाँ यातायात तथा बाटोघाटोको त के कुरा खोला तर्न पुलको पनि व्यवस्था थिएन।
स्कुल पनि धेरै टाढा थियो। त्यहाँ पनि निम्न माध्यमिक स्तरसम्मको मात्र पढाइ हुन्थ्यो। त्योभन्दा माथि पढ्न सहरमा जानुको विकल्प थिएन।
विनोद धेरै पढ्न चाहन्थ्यो। त्यसैले ऊ उच्च शिक्षा हासिल गर्न काठमाडौं गयो। त्यहाँ गएर उसले धेरै मेहनत गरी पढ्न थाल्यो। विनोद कक्षामा जहिले पनि प्रथम नै हुन्थ्यो।
यसैगरी उच्च शिक्षा हासिल गरी सकेपछि उसका साथीहरू सहरमै जागिर खान थाले, कोही भने विदेशतिर लागे। तर, विनोदले आफ्नै गाउँमा गएर गाउँका मानिसहरूलाई शिक्षा बाँड्ने विचार ग¥यो। किनभने उसको गाउँमा सबै मानिस सहरमा गएर पढ्न सक्ने स्थितिका थिएनन्।
गाउँका मानिसहरू अशिक्षित भएकाले गाउँमा कुनै कुराको पनि विकास भएको थिएन। शिक्षितहरू गाउँमा फर्कंदैन थिए। त्यसैले गाउँको अवस्था दयनीय नै थियो। यो सबै देखेर विनोदले आफ्नै गाउँ फर्केर गाउँ विकास गर्ने निधो गरे।
विनोदले आफ्नै जग्गामा स्कुल निर्माण ग¥यो। यो कुराले सबैभन्दा खुसी उसका हजुरआमा र हजुरबा हुनुभयो।
हजुरआमाले भन्नुभयो, ‘नाति, हामी त बूढाबूढी भइसक्यौं, पढ्न मन लागेर पनि पढ्न पाएनौं। पढ्न नजानेर धेरै दुःख पायौं। तर, तिमीले यहाँका सबैलाई पढ्न सक्ने बनाइदेऊ है †’
हजुरआमाको कुराले विनोदले गाउँका बालबच्चालाई मात्र होइन प्रौढ शिक्षा सञ्चालन गरेर बूढाबूढी तथा महिलाहरूलाई समेत पढाउने व्यवस्था मिलायो। त्यति मात्र होइन, गाउँमा वैज्ञानिक तरिकाले मौरीपालन, पशुपालन, मत्स्यपालन, खेतीपाती गर्न सिकायो। साना तथा घरेलु उद्योगको तालिम दिएर आत्मनिर्भर हुने बाटोसमेत देखाइदियो।
गाउँमा सबैजसो काम पहिला पराम्परागत तरिकाले गरिन्थ्यो भने अहिले विनोदले वैज्ञानिक तरिकाले काम गर्ने तालिम दियो। यसले गर्दा धेरै फाइदा हुन थाल्यो। स्वास्थ्य चौकी आफ्नै गाउँमा खोलिदियो। वृक्षरोपण गरेर गाउँलाई हराभरा बनायो।
वीरे विनोदको सबैभन्दा मिल्ने साथी थियो। विनोदले वीरेलाई पढाइ सकेर गाउँमा आफूहरूले पढेको गाउँलाई पनि सिकाउने कुरा गर्दा विनोदलाई मूर्खहरू मात्र गाउँमा फर्कन्छन् म त विदेशमा डलर कमाउन जान्छु भन्दै जवाफ दिएको थियो।
पाँच वर्षपछि वीरे विदेशमा आफ्नो श्रम बेचेर पनि ठगिएर खाली हात फर्कन बाध्य भयो। वीरेले विनोद सरसँग माफी माग्यो। विनोदले वीरेलाई भन्यो, ‘साथी वीरे अबदेखि तिमीले पनि मैले गरेको काममा सहयोग गर।’
अरू गाउँका अलि पढेलेखेका साथीहरू कोही विदेशमा त सहरतिर नै बस्न थाले। बाहिर जान नसक्नेहरू गाउँमै जुवा र तास खेलेर दिन बिताउँथे।
तर, आजभोलि त्यस गाउँमा कसैलाई फुर्सद छैन। सबैजना आ–आफ्नै काममा व्यस्त हुन थाले। सबै मिलेर गाउँलाई सरसफाइ र हराभरा बनाएपछि त्यस गाउँमा थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरू पनि घुम्न आउन थाले। त्यसपछि त त्यहाँ झन् होमस्टे र होटलहरू खुल्न थाले।
पहिले काम नपाएर रक्सी, जुवा, तासमा दिन बिताउने काले, रामे, श्यामे र गोरेले होटेल खोलेर राम्रोसँग आम्दानी गर्न थाले। पहिले विनोदले गाउँमै काम गर्ने कुरा गर्दा खिसी उडाएर बाहिर गएका उनका साथीहरू धने, मानबहादुर र चंखु पनि आफ्नै गाउँ फर्के। यसले गर्दा सबैले विनोद सरलाई सम्मान र आदर गर्न थाले।
एक दिन गाउँका सबै मिलेर विनोद सरलाई सम्मान गर्ने कार्यक्रम राखे। त्यस कार्यक्रममा विदेशबाट एकजना डाक्टर पनि गाउँमा आए। उनी पनि पहिला त्यही गाउँकै थियो। विनोदले गाउँको नक्सा नै परिवर्तन गरिराखेको देखेर छक्क परे। त्यसपछि उनले भाषणमा भने, ‘म पनि यसै गाउँको छोरो हुँ। म यस गाउँको जुठेबहादुरको नाति हुँ। मेरा आमा बा यस गाउँमा केही काम नपाएपछि सहर पसेका थिएँ। त्यहीँ बस्न थालेपछि यस गाउँलाई हामीले भुल्यौं।’
सबैले ताली बजाए। उनले फेरि हौसिँदै भने, ‘विनोद र म एउटै कलेजमा पढेका थियौं। म पछि विदेशमा डाक्टर पढ्न गएँ र उतै बस्न थालें। तर, अहिले यस गाउँलाई विनोद सरको मेहनत र शिक्षाको दियोले धपक्क बालेको देखेर मलाई आफ्नै गाउँमा बस्न मन लाग्यो। अब म पनि यसै गाउँमा अस्पताल बनाएर सकेसम्म गाउँको सहयोग गर्छु।’
सो कुराले अरू झनै खुसी हुँदै ताली बजाए।
उनले फेरि भने, ‘यदि, हामीजस्ता शिक्षित र युवाहरू सबै आफ्नो देशमा केही छैन भन्दै विदेशमा भासिने हो भने यस देशमा कसरी विकास हुन्छ ? विनोद सरले जस्तै आफूले पढेको र सिकेको कुरा आफ्नै ठाउँमा पसिना बगाउने हो भने गाउँ मात्र होइन देश नै विकास हुन सक्छ। यसको प्रमाण विनोद सर हो। विनोद सरलाई धन्यवाद।’
विनोद सरको चौतर्फी तारिफ र चर्चा हुन थाल्यो। विनोद सरको सेवाले सबै लाभान्वित मात्र भएनन् त्यस गाउँको नाम सबै ठाउँमा नमुनाको रूपमा लिन थालियो।
(स्रोत : राजधानी राष्ट्रिय दैनिक)