~सूर्य बीसी~
घरबाट स्कुल पुग्न धेरै हिड्नुपथ्र्याे । लामो बाटो आवतजावत गर्दा समय बर्बाद हुन्छ भनी ठुल्दाइले मेरो घोराही बजारमै डेरा गरिदिनुभएको थियो । परिवारको आर्थिक हैसियत राम्रो थिएन । तैपनि जसरी भए पनि काठमाडौं पढ्न पठाउने विचार गर्नुभएछ ठुल्दाइले ।
‘एसएलसीमा राम्रो अङ्क ल्याइस् भने तँलाई काठमाडौं साइन्स पढ्न पठाउँछु ।’ उहाँले बेला–बेलामा भनिरहनुहुन्थ्यो । वास्तवमा दाइको यही वाक्यले गर्दा मलाई पढ्न प्रेरणा मिल्थ्यो ।
ऋण खोजेर भए पनि साइन्स पढ्न काठमाडौं पठाउने ठुल्दाइको यो आँटले मलाई पनि निकै स्फूर्ति दिन्थ्यो । मन हौसिएर आउँथ्यो ।
गाउँमा काठमाडौं जाने त्यो पनि साइन्स पढ्न भनेपछि त्यसको शान बेग्लै हुन्थ्यो । गर्वको बिषय बन्थ्यो । जसरी भए पनि राम्रो अङ्क ल्याउनुपर्छ नत्र त काठमाडौं बस्ने मौकै गुम्छ । त्यसबेला मेरो मनमा यही कुरा बारम्बार खेलिरहन्थ्यो । काठमाडौं गएर साइन्स पढ्ने एक सौभाग्य थियो मेरा लागि । यो सपना पूरा गर्न लागिपरेको थिएँ म । त्यसका लागि म झन् मेहनत गरेर पढ्थें ।
कक्षाका साथीहरुले काठमाडौंको बयान गर्दा त झन् आहा ! कस्तो होला राजा बस्ने ठाउँ ? कहिले हेर्न पाइएला जस्तो लाग्थ्यो । तर म त गाउँको केटा न थिएँ । मलाई घोराही बजार जान पाउनु त खुशीको कुरा थियो भने काठमाडौैं जाने एकप्रकारले असम्भव कुराजस्तै थियो । त्यतिबेला गाउँका ठूलाबडा धनीमानी मात्र काठमाण्डौं जाने आउने गर्थे । कतिपयले पशुपतिको प्रसाद र माला हाम्रो घरमा ल्याइदिन्थे । हामी त्यही मालाका लागि समेत तानातान गथ्र्याैं ।
दिनहरु बित्दै गए । एसएलसी जाँच पनि आयो । जाँच सकिन पाएको छैन, कतिपय साथीहरु काठमाडौं हिडिहाले । ती बिशेषगरी सम्पन्न परिवारका साथीहरु थिए । म भने झन् आतुर हुँदै गएँ, कहिले आउला रिजल्ट, राम्रो अङ्क …काठमाडौं । हुन त रिजल्ट आए पनि काठमाडौं पढ्न जान पाउने कहाँ निश्चित थियो र दाइसँग पैसा होला कि नहोला । अर्थात् दाइले पैसाको जोहो गर्नसक्नु होला कि नहोला । दाइ त चाहनुहुन्छ नि तर पैसा पो त मुख्य कुरा भयो यहाँनेर । मलाई चिन्ता लागिरहन्थ्यो ।
‘गाउँभरि यो त काठमाडौं पढ्न जाने रे । हेर त फुलेको, अब कहाँ टेर्ला र यो लुरेले ?’ काठमाडौंको कल्पनामा हराइरहेको बेला यस्तो कुराले म झसङ्ग हुन्थे । र भन्थे ‘हैन–हैन राम्रो अंक आएपछि पो त ।’
म कहाँ फुल्नु नि तैपनि कतिले यस्तै–यस्तै कुरा गरेर व्यङ्ग्य गर्थे मलाई । तिनीहरुले डाह गरेर त्यसो भनेका हुन् भन्ने म सोच्थें । मलाई राम्ररी थाहा थियो कि कतिपयले मेरो दाइलाई पनि व्यङ्ग्य गरेका हुन् किनकि दाइको अवस्था उनीहरुलाई पनि थाहा थियो ।
खेतबारी, घाँसदाउरा, गोठालो गर्दागर्दै दिनहरु बितिरहे । घरको काममा बिशेषगरी आमालाई पनि काममा सघाउँथे म । कामचाहिं जे पनि गर्न म तयार हुन्थें ।
एक साँझ म बारीमा काम गर्दै थिएँ । खासमा म तरकारीमा पानी हाल्दै थिएँ । एकाएक एसएलसीको रिजल्ट आयो रे भन्ने हल्ला मेरो कानमा ठोक्कियो । त्यतिबेला गाउँका बूढाहरु प्रायः घाँटीमा रेडियो झुन्ड्याएर हिड्थे । सायद उनीहरुबाटै यो हल्ला फैलियो होला जस्तो लाग्छ । घोराही बजार पुग्न झण्डै एक घण्टा हिड्नु पथ्र्याे । त्यसमाथि त्यसैबखत नतिजा थाहा पाउनु सम्भव थिएन । काठमाडौंमा आफन्त हुनेलाई मात्र तत्काल त्यो सम्भव थियो । मेरो त आफन्त कोही थिएन काठमाडौंमा । जेहोस् त्यो रात ज्यादै कष्टपूर्ण तरिकाले बित्यो मेरो ।
भोलिपल्ट हतार–हतार म बजार पुगें । बल्ल–बल्ल साँझ गोरखापत्र पाइयो । म खुशीले उफ्रिए । तुरुन्त घरमा आएँ ।
‘ठुल्दाइ–ठुल्दाइ म प्रथम श्रेणीमा पास भएँ । अब मलाई काठमाडांै पढ्न पठाउने हैन ?’ दाइ पनि खुशी हुनुभयो । बुबाआमा सबै खुशी हुनुभयो । ठुल्दाइले एकटकले हेरिरहनुभयो । मलाई लाग्यो, उहाँले मभित्रको खुशी अनि मेरो सपनाको बारेमा बुझिसक्नुभएको थियो । उहाँलाई पनि त थाहा थियो कि उहाँले नै दुई बर्षदेखि मलाई काठमाडौं पढ्न पठाउँछु भन्दै आउनुभएको थियो ।
पढ्न त पठाउने तर पैसा कहाँ खोज्ने ? ठुल्दाइ यही सोचाइमा हुनु भएझैं लाग्यो मलाई । यो पीरले उहाँलाई सताइरहेको थियो । त्यसैले उहाँको अनुहारमा केही अँध्यारो छाएको थियो । तैपनि उहाँले भन्नुभयो–‘ठिक छ म बिस्तारै पैसा जुटाउँला, तैले साथीहरुसँग बुझ्दै गर !’
साउनको दोस्रो हप्ता मेरो प्रवेश परीक्षा थियो । ठुल्दाइले केही दिनपछि पाँच हजार रुपैयाँ खोजी मेरो हातमा थमाइदिनुभयो । र भोलिपल्टै उहाँले आफ्ना एकजना साथीसँग काठमाडौंका लागि बस चढाइदिनुभयो । घर छोड्दा साह्रै दुःख लाग्यो । किनकि म त घोराही बाहेक अन्त कतै गएको थिइनँ । तर के गर्नु यो सब मेरै भविष्यको लागि न थियो । बस् यही सोचेर मन हलुङ्गो भयो । बसबाट वरिपरिका रमाइला दृश्यहरु नियाल्दै रहें मैले । अरुहरु त मज्जाले बसमा सुतेको देख्थें तर म चाहिं कही पनि नसुती बसको झ्यालबाट नियाल्दै रहें दिनभर । काठमाडौं हेर्ने खुशीयालीमा त्यति लामो यात्रा निकै छोटो लाग्यो मलाई । हामी काठमाडौं आइपुग्दा झमक्क साँझ परिसकेको थियो ।
दाइको साथीले आफ्नो कोठामा लैजानुभयो । त्यो रातभरि पटक्कै सुतेन म । कतिखेर उज्यालो होला र हेरुलाँ काठमाडौं सहर । बस् म छटपटाइरहें । उता घर छोडेकोमा कता–कता मनमा ज्वारभाटाहरु उर्लिरहन्थे । अनि फेरि बिस्तारै शान्त हुन्थे ।
भोलिपल्ट बिहान खाना खाई दाइको साथीसँग त्रिचन्द्र कलेजमा फाराम भर्न पुगें । गाडी मोटरको पेलमपेल मान्छेहरुको उस्तै भीड । धूलो धुँवाले बाटो नदेखिने । मैले सोचेजस्तो पटक्कै राम्रो लागेन काठमाडौं । केही दिनपछि प्रवेश परीक्षाको जाँच दिएँ । र पास पनि भएँ । त्यसको केही दिनमा पढाइ शुरु भैहाल्यो ।
कक्षामा सिट पाउनै गाह्रो । पढ्नेभन्दा हल्ला गर्नेहरुको भीड । चिनेको कोही छैन । कता–कता नियास्रो लाग्यो । स्कुले जीवन सम्झें । स्कुलमा माया गरि पढाउने, सधैं प्रेरणा दिने शिक्षक अनि आत्मीय साथीहरुको धेरै याद आयो । कहाँको स्कुल जीवन कहाँको यो निरस कलेज । कलेजमा धेरै गाह्रो भयो साथी बनाउनलाई । कसैले कसैको वास्ता गर्दैन । केटाहरु धेरै फरक लाग्यो । लामो–लामो कपाल । कानमा मुन्द्रा, बोल्ने, लगाउने हिड्ने बेग्लै तरिका । म अचम्ममा परें । आफैलाई नियाल्थें आफैलाई लाज लाग्थ्यो ।
‘तिमी कस्तो यार अलिक ड्रेस चेन्ज गर न । यो त गाउँ हैन सहर हो । फेरि समयअनुसार त चल्नैपर्छ नि । कस्तो पाखे जस्तो देखिएको तिमी ।’ अलिक नजिकिएको साथीले भन्यो ।
यस्तो भनाइले एकछिन रिस पनि उठ्यो अनि ठिकै पनि लाग्यो । एक्काइसौ शताब्दी हो अलिक परिवर्तन त हुनैपर्छ । मनमनै सोचें ।
देब्रे कानमा चाँदीको मुन्द्रा झुण्ड्याएँ । सर्ट बाहिर हाफ टिसर्ट लगाएँ । लामो न लामो जिन्स पाइन्ट किनें । एउटा छड्के ब्याग भिरें । सेता एक हात लामा चुच्चे जुत्ता किनें । कपाल जिङ्रिङ्ग पारें । सोचें अब त म पनि डेबिड बेकम भन्दा के कम ।
यसरी मेरो पैसा पनि छिटो–छिटो सिद्धिन थाल्यो । पैसा सकिएपछि तुरुन्त दाइलाई खबर पठाउँथें । काठमाडौंै हो पैसा नभए केही हुँदैन भन्ने सोचेर होला ठुल्दाइले तुरुन्तै पैसा पठाइहाल्नुहुन्थ्यो । केही दिनमै थुप्रै साथीहरु भेला भैहाले । अझ केटीहरु समेत साथी बने मेरा । बल्ल आफू मर्डन भएको महसुस गरें । पढाइ चलिरहेको बेलामा बाहिर निस्कने अनि खुसुक्क क्यान्टिन छिर्ने । यस्तै हुन थाल्यो मेरो कलेज जीवन ।
साथीभाइसँग हिड्दा कति पैसा खर्च हुन्थ्यो थाहै हुँदैनथ्यो । हुँदा–हुँदा चुरोट अनि गाँजा पनि खान थालें । मेरो शरिर सुक्दै गयो । उता जाँच आउनै आँट्यो ।
त्यही बेला म एकाएक बिरामी परें । एक रुपैयाँ भएन मसँग । दुःख पर्दा कोही आएन भेट्न ।
त्यही बेला बिहानै ठुल्दाइको फोन आयो ।
‘हेलो भाइ …भाइ के भयो ?’ दाइ चिच्याउनुभयो । म बोल्नै सकिनँ । घरबेटी आमाले ‘बाबु तपाईंको भाइ एकदमै सिरियस हुनुहुन्छ । तपाईं तुरुन्तै आउनुहोस्’ भन्नुभएछ ।
भोलिपल्ट बिहानै दाइ आइपुग्नुभयो । म असक्त भइ लडेको थिएँ । मेरो हालत देखेर दाइ अचम्म पर्नुभयो । झण्डै चिन्नसक्नुभएन उहाँले ।
‘मलाइ माफ गर्नुहोस् दाइ । मैले तपाईंको साइन्स पढेर ठूलो मान्छे बनाउने सपनालाई लत्याएँ । मर्डन बन्ने नाउमा मैले आफ्नो कर्तव्य भुलेछु । म त तपाईंको पहिलेको जस्तो भाइ पनि बन्न सकिनँ ।’ म मुस्किलले बोलें ।
ठुल्दाइको आँखाबाट एकनासले खसिरहे आँसुका थोपाहरु । मलाई अगाल्नुभयो । त्यति हुँदा पनि एकशब्द गाली गर्नुभएन उहाँले ।
‘साथीको लहैलहमा लागें । संगतले गर्दा कुलतमा लागें । अबदेखि मबाट गल्ती हुने छैन दाइ ।’ दाइलाई विश्वस्त पार्ने प्रयास गरें । एकमनले मेरो मनमा डर लागिरहेको थियो । कतै दाइले झ्याम्मै गालामा पिट्नुहुने त होइन ?
तर खराब त म नै थिएँ । दाइ त बुझक्कड हुनुहुन्थ्यो ।
‘ल ल जे हुनु भैहाल्यो । अब नयाँ जोशका साथ तैंले पढ्नुपर्छ ।’ दाइ वास्तवमा महान हुनुहुन्थ्यो । दाइको यस वाक्यले उहाँप्रति म थप कृतज्ञ भएँ ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)