~भीमप्रसाद न्यौपाने~
लोकभाका जनजीब्रोबाट स्वतस्फूर्त्रुपमा प्रस्फुटित हुने गीत हो । मायाप्रीति, संयोग वियोग, हर्षविस्मात, यातना, बेदनाहरु उजागर गर्ने सबल माध्यम हो । लोकगीत महलको शोफामा तातो कफिको घुट्कासँगै रचना, परिकल्पना गर्ने विघा होइन । यो त वन पाखा–घाँसदाउरा–मेलापर्व–पानी पँधेरो, हाटबजार, उकाली ओरालीमा बहने मीठो सुगन्ध हो । चीरवीर चरीको बोलि, कलकल झरना खोलि, अनि सल्लेरी सुसाएको ध्वनिरुपि म्युजिकले सजिदै कुना कन्दराका मृदमय गर्भबाट निस्कने तरङ्ग हो । जसको बासनामा वनजंगलको हरितिमारुपी खास्टोले छोपिएर पाखा पखेराहरुले मीठो चुम्बन वर्षाइरहेका हुन्छन् । लोकगीत कन्ठस्थ हुने र मुटु छुने संगीत हो, जति गुनगुनाए पनि धित नपुग्ने नसा हो भने थकित आत्मालाई शान्त पार्ने अचूक औषधि पनि हो ।
खहरे उर्लेझैं उर्लेको अहिलेको गीति संसारमा कानसम्म आएका गीतहरु आधुनिक प्रविधिले जतिसुकै सजिसजावट भए पनि पूजा, पर्व, मेलामा नाच्न नचाउन उनै लोकभाकालाई निकाल्नैपर्ने बाध्यता हुन्छ ।
जस्तो :
पानको पात……..
आधिखोला उर्लेर आयो……………..
छिनको छिनैमा…………..
टप्पा–वनगारी आदि भाकाका गीतहरु नओइरिदासम्म मादल बज्दैन । लोकविधाका धु्रवतारा धर्मराज थापाका लोकभाका नेपाली मनमुटुमा जहिले पनि ताजा बनेर बसिरहेछन्
हरियो डाँडामाथि………….
साँइलीरीमै चौंरीलाई…………….
आजमादल बजेको कि……….आदि आदि यस्तै धेरै पुराना सर्जकहरुले गामवस्तीका लोक सुसेलीलाई उजागर गर्न देशका दुर्गम भूभागको पैदल यात्रा गरेर संकलन गरेका लोकभाकाहरु लोकसाहित्यको फाँटमा सधै मौलाइरहेका छन् । कस्ता छन् त हाम्रा मौलिक ठेट भाका, विशेष गरेर राप्तीको सेरोफेरोमा गुञ्जिने लोकभाकाहरु– हाम्रा ठेट लोक भाकामा माया प्रीतिका भावनाहरुको कुनै कमी रहेको पाइँदैन ।
सुवेदार सुहाउने थिएँ– मान् पाएँ कप्तानी, कैखोे हो यो मायैको रमाल– मैं गर्छु जप्तानी ।
सिपाइ दाई सिकारै खेल्यो – धारपानीको धार, तैं रुप्से जन्मिथिस् किन– मेरो मनको खार ।
लोकभाकामा मायाप्रीतिका मात्र कुराहरु आउँदैनन् त्यहाँभित्र दुःख, पीडा, दिकदारी, यातना, वेदनाका मर्महरु पनि समेटिएका हुन्छन् ।
दाइले बाट्यो रैमदानी – भाइले बाट्यो नेति, कर्मैमा नहुन्या हो कि – झल्का किन यति ।
कालो नदी कर्णालीले– बगाई ल्यायो लेदो, कति गछ्र्यौ बुढीसासु– बुहारीको खेदो ।
माछा मिठा काँका हुन्छन् – तल दाङ तुईका, दुःख भन्या कस्का हुन्छन् – जोडी छैन उईका ।
कर्णाली घुमाउरो प¥यो– लौरी बगाउँदैन जोगी हुन्या होकि कर्म– डुली अघाउँदैन,
खानीपानी धुमाल्दियो– माछी बुदुनाले,
कान्छी घरमा किन ल्याउँथें– तेरै थुतुनाले ।
ऐले ठेक्का कल्ले लियो– खयर खैरानैको
क्या मलाई रटना रह्यो– हिरा पैरनैको ।
आज तँलाई मार्ने भन्छन् – भाइजा सुवा भाइ्जा,
कति रुन्छस जल्नेमन– छाती पहर लाइजा ।
त्यसरी नै हाम्रा पुराना ठेट लोकभाकामा पनि ठाउँ क्षेत्रलाई उठान गरेको पाइन्छ ।
गोर्खालीय दैलेखीय– दोसाँधैमा किल्ला,
बैरागीको मन बुझाउने काइनाई राज्य जिल्ला ।
रापतीको छैँया सुर्ती– तमाखु ऐराकी,
डालीबसी रुन्छ चरी– मै जस्तै बैरागी ।
दाङको थारु अति जान्ने मोइमागे घ्यू दिने, मै हुँलाकी सबै हौला पिमैमा ज्यूदिने ।
सुर्खेत मसुरी खायो– रनपुत्ले गाइले,
म मायाँ मारुइन भन्थें– माया मा¥यौ साईले । प्रेम प्रशंगमा व्यंग्य प्रहार रसरंगले भरिएका लोकभाकाका मर्महरु यसरी व्यक्त हुने गर्दछन्–
वारीपाखो पारीपाखो– बिचैमा चिरौटा
नामर्दलाई ऐलानीय–मर्दलाई विरौटो ।
बाघले बघेनी मा¥यो ऐरीका रुखैती,
यिनी कुरा काइँ नगर्नु बैरीका मुखैती ।
जुम्ला चाँच्यो जुमलीले, लेक चाँच्यो वर्मैले छेउतिबसी रसुखान दिएन कर्मैैले ।
साँच्चिकै तिनै मौलिक संस्कृति र संरचनाहरु तिनै मूल्यमान्यता अनि सामाजिक सहभावमा रमाएका जनजीव्राहरु आज यो कहालीलाग्दो अत्यासपूर्ण समयसम्म आइपुग्दा लाटा र लुला भएका छन् ।
परिवर्तनका नाममा जेजस्ता हर्कतहरु सामुमा तेर्छिएका छन् आँखीभौं पाकेका अग्रजहरुलाई सोधियो भने गहभरि आँसु खसाएर बेदना पोख्ने छन् कि त्यही बासी ढिंडो, चिसो आटो, खोले र सिन्की नै स्वादिलो र पुष्टकारी थियो भनेर अनि भन्नेछन्– तिनै ‘साइलेजी’ र ‘मालै’ का भाकामा जीवन्तता थियो भनेर । गीत संगीत व्यावसायिक बन्नु । एउटा प्रतिभावान सर्जकले आफनो सिर्जनालाई स्रोतासमक्ष पस्कन अर्कोको घाँटी जोड्नुपर्ने, लाखौं खर्चिनुपर्ने, सिर्जनाहरु चोरी पैठारी भएर लगानी हात नपर्ने यी र यस्तै वेथितिले गर्दा कलारुपी आयतन खुम्चिदै जानुले गीत गाउनु, सिर्जना गर्नु, जगेर्ना गर्नु किन र कसका लागि भन्ने नमीठो सपना यो सर्जकले देखेको छ, स्वयं भोगेको पनि छ ।
पुराना संरचना संरक्षण गर्ने नाममा खोलिएका प्रतिष्ठानहरु आफै अपाङ्ग छन् । आयोजक प्रायोजकहरुद्वारा आयोजना हुने कार्यक्रमहरुमा लोकभाकाका ठेट गीतहरुलाई स्थान दिएको पाइँदैन । नीति निर्माताहरु सधंै भागवण्डा–सत्ता लोलुपता र विद्रोहका राँका बाल्नमै व्यस्त रहन्छन् । सधंै र सबैबाट उपेक्षित यो कलाक्षेत्रलाई राज्यले कहिल्यै बुझ्ने कोसिस गरेन । मन बहलाउने गीत संगीत सुन्न र हेर्न मित्रराष्ट्रकै मुख ताक्नुपर्ने । हुन त राष्ट्रलाई नै नचाउने गीत संगीतभित्र राष्ट्रकै किबोर्डमा कैद छ भन्छन् आवश्यक परेको बेला थिच्यो भने यहाँका बडे–बडे नृत्यकारहरु कहिले कत्थक त कहिले हिपोप अनि बेलि डान्समा कम्मर मर्काइ–मर्काइ नाच्ने गर्दछन् । नृत्यमा खुट्टा चिप्लिएर कम्मर सट्कीय कपालभाँती र अलुलोम विलोम गर्न उतैको शिविर धाउँछन् । राज्य हाँक्ने महान नायक अनि कुख्यात कलाकारहरुको यो हालत देखिन्छ भने सधैं अभावमा पिल्सिएका हामी दीनदुःखीहरुको हालत के होला ?
व्यवस्था बदलियो व्यवहार बदलिएन । नेता फेरिए– नीति फेरिएन । राष्ट्रिय गीत फेरियो– कुसंस्कारी रीत फेरिएन । यिनै र यस्तै परिस्थितिले संरचना भत्किदै गएको अवस्थामा थोत्रा पुराना ठेट लोकभाकाको संरक्षणका लागि आवाज उठाउनु, कलम कोर्नु बालुवामा पानी खन्याउनुजस्तै हुने भए पनि राष्ट्र र राष्ट्रियता बचाउनु सबैको कर्तव्य भएकाले पुराना गीत–संगीत र लोभाकाहरुलाई माया गरौं, खोजी गरौं, संरक्षण गर्न सिकौं, सिकाउँदै जाऔं नत्र लोकभाकाको वर्तमान हराएमा भविष्य नामेट हुनेछ र केवल सीमित भइ बस्ने छ इतिहासका खाल्डा खोविल्डाभित्र ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)