कविता : रंग र हामी

~छविलाल कोपिला~chhabilal-kopila

अचेल,
मेरा नयनका अदूर पर्दाभरि
पोतिएका छन्
रंगी–विरंगी वैचारिक रंगहरु
हरियो, बैजनी, रातो अनि के–के हो के–के ।

हरेक बिहान निस्कन्छन्
विकासका नारा लिएर
सानेपाका हरियो जुलुसहरु,
बल्खुका बैजनी किरणहरु,
क्रान्तिको उद्घोष गर्दै
पेरिसडाँडाका राता अनुहार,
अनि, सनातन भजन गाउँदै
गेरुधारी बनारसीलालहरु,
र, छिर्छन सिंंहदरबार ।

यता सप्तरंगी प्रकाश–पुञ्जले
सजाइएको सिंहदरबार
स्वर्गीय झिलिमिलीसंगै
मनोरंगका इन्द्रेणी चक्रले
घुमाउँछ फनफनी
अनि, सेतो पर्दा देखाउँदै
अनुहारभरि कालो पोटेर
पठाउँछ बाहिर
हामी भने,
तिनै काला आकृतिहरुलाई
भगवान भनेर पुजिरहेछौं ।

मौसमहरुले
समयसंगै के–के खबर ल्याउँछन्
रंगहरु आलोपालो गर्दै
एक मुठी माटोको उपहार
र, बिन्ति–पत्र बोकेर
पुग्छन् दिल्लीगेट
यता दिल्ली दरबारले बिन्ति–पत्र
सुर्ती र पानसंगै चपाउँछ
अनि, सिंहदरबारमा पिच्च थुक्छ
हामी भने,
त्यही छिटाको रंगमा होली खेल्छौं ।

यता, प्रयोगशालाभित्र
धेरै रंगहरु रिकप र टेष्टट्युबमा
कति सजिलै घुल्छन्
तर, उही रंगहरु
कहिलेकाहीं विभक्त हुन्छन् आफै
र, फुटाउँछन् अरुलाई
अनि, एकार्कामा
फोहोर छ्यापाछ्याप गर्छन्
हामी भने,
प्रयोगशालामा रंगहरुका
लुकामारी हेरेर दिन बिताइरहेछौं ।

–लमही नगरपालिका–६ उत्तर मजगाउँ,
देउखुरी–दाङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.