~दीपक घिमिरे~
सायद दुःखी मान्छेको जीवनमा सुख भन्ने कहिल्यै लेखेको हुँदैन होला । त्यही भएर होला आजको दिनसम्म पनि म खुशी भएर बाँच्न सकेको छैन । हो, बाबु आमाले खुशी राख्न खोजे तर त्यो बेलाको समयले मलाई खुशी रहन दिएन र अहिले म आफैं खुशी हुन सक्दिनँ कारण म आफै पनि हुन सक्छ । आमाले नौ महिना गर्भमा राखेर जन्म दिएकै दिनदेखि सायद म दुखी छु अथवा हुँ भन्ने सबैले थाहा पाए होलान् किनभने जन्म दिएको केही दिन मै भावीले निधारमा भाग्य कोरिदिन्छन रे र त्यो मैले देख्न सक्दिन । तर, सबैले देखेको थिए होला ।
जन्मिएर थाहा पाउने हुनासाथ मलाई सबैले मायाले नै हुर्काएको मलाई राम्रोसँग याद छ । सबैको काखमा रमाउने मलाई कहिले एक्लोपनको अनुभूति भएन होला किनभने मेरो साथमा कहिले बा त कहिले मेरी आमा हुनुहुन्थ्यो । कहिले दिदीको काखमा रमाउँथे त कहिले छिमेकी काका अनि आन्टीको मायामा हराउँथें ।
सायद जति माया आफन्तबाट पाउनुपर्ने हो सानै उमेरमा पाइन्छ होला त्यसैले त आज तिनै मायालाई कल्पनाको महल बनाएर जिउनलाई सजिलो बनाएको छु ।
जिन्दगी लामो छ भनेर सबैले भन्थे तर म जिन्दगीलाई छोटो मान्थें किनभने बालापन बितेको पत्तै भएन, जवानी दुःखमा बित्यो अब असली जीवनको मजा लिने बेलामा सबैले आफ्नो जीवन लामो भएकाले छोटो भइदिएको भए हुने भनेर कल्पना गर्नेहरु मात्र भेट्थें । तर, म खै किन हो जीवनलाई निकै छोटो नै मान्थें । हिजोका दिनहरुलाई सम्झेर किन आज यो उमेरमा आएको हुँला ? या किन यिनी दिन आए बरु तिनै दिन ठीक थिए भन्दै विगतलाई सम्झिने मेरा लागि जीवन धेरै छोटो थियो । त्यसैले म जहिले पनि भगवानसँग केही माग्नु पर्दा लामो आयु माग्छु किनभने मलाई धेरै बाँच्नु छ र अहिले मैले देखेको आयु मेरा लागि धेरै छोटो नै थियो ।
बालापन बा आमाको अनि आफन्तको काखमा बित्यो । जवानी स्कूल अनि कलेजको बेञ्चमा बित्यो र अहिलेको अवस्था दुःखमा बित्दैछ । बालापनमा जवानी देखेर डाहा गरे हुँला सायद । अनि जवानीमा जिम्मेवार व्यक्त् िहुने सपना देखें हुँला तर आज न जिम्मेवार व्यक्ति हुन सकें न त फेरि तिनै दिनमा फर्केर जान सकें । त्यसैले त हिजो जवानीमा जिन्दगी लाई छोटो भनेर लामो आयुको कल्पना गर्ने म आजभोलि हरे शिव कति लामो जीवन भन्दै जप्दैछु ।
म मर्न पनि त सक्दिनँ किनभने यमराजले नबोलाई आफूखुशी संसार छोड्न चाहने मान्छेको लागि स्वर्गमा पनि ठाउँ हुन्न रे । र, बाँच्न पनि सक्दिनँ किनभने अनुहारमा नक्कली हाँसो देखाएर समाजमा जिउनुको अर्थ मैले पाएको छैन । हिजो बा आमाले आफ्नो खुशीको लागि मलाई जिउँदो बनाए । जवानीमा भोलिको सपना देखेर म जिउँदो भएँ तर आज यो जिन्दगीदेखि वाक्क भएर नै म जीवन लामो भयो भन्नेहरुको भीडमा मिसिन पुगें ।
म दुःखी छु भन्ने मलाई अहिले लागेको छ । हिजो आफन्तको माया पाउँदा त्यो अनुभूति भएन । तर आज खै किन हो मलाई कसैको साथले बा आमा लाई छाडेर अरु कसैसँग जिउँदा यस्तो अनुभूति भएको छ । जन्म दिने आमा र कर्म दिने बालाई छाडेर कसैको साथ लिनु नै गलत हो भन्ने मेरो बुझाइ छ यतिबेला ।
हुन त संसारका मान्छे जातिले पैसाले सबैथोक किन्न सकिन्छ भन्छ तर मैले त्यो माया किन्न सकिनँ जुन माया मलाई मेरा बा र आमाले दिएका थिए । तर आज कसैको साथ पाउने उमेरमा पाएको माया त म पैसा मात्र हैन हँसिलो अनुहार अनि मीठो बोलीले पनि पाउन सक्छु तर त्यो माया दिनभरको छायाँले रात परेपछि छाडे जसरी छोडिदिन्छ भन्ने कल्पनासम्म गरेको थिएन, त्यसैले त मान्छेहरु बा आमाको मायालाई कसैको मायासँग दाँज्नु हुँदैन भन्छन् ।
मैले सबै त्यागेको छु बा आमा अनि जन्मघर र इष्टमित्र सबै उसैको लागि अझ बुझाएर भन्नुपर्दा जीवनसंगिनी किनभने उसको खुशी नै यसैमा थियो । तर समयले कोल्टे फेर्दा यस्तो मोड आयो कि उसको खुशीको लागि उसले मलाई पनि त्याग्न पनि सक्दिरहिछ ।
जीवनभर साथ दिनेलाई त जीवनसंगिनी भनिन्छ तर मेरो जीवनमा मैले त्यो पाइनँ । जीवनभर साथ दिन सक्ने बा आमा र आफन्तलाई त्यागेर उसलाई अँगाल्नु नै मेरो लागि जीवन लामो हुनुको कारण बन्यो । तर, पनि उसका आफ्ना रहरहरु होलान् भनेर मैले उसको हरेक सुख दुःखमा साथ दिने कसम खाएको थिएँ । ती कसमहरु सबै पालना गरेकै थिए तर समय यस्तो आयो अब मैले या त जन्म दिने बा आमालाई भुल्नुपर्ने थियो या जीवनभर सँगै जिउने कसम खाएको जीवनसाथीलाई भुल्नु पर्ने ।
म मिलाएर जान चाहन्छु तर समय मेरो विपरीत छ । म कसलाई रोजौं ? जन्मदिने बा आमालाई रोजौं मेरो बसेको घरबार सकिन्छ । घरबारलाई रोजौं जन्मदिने बा आमाको श्राप लाग्ने छ । त्यसैले त म जीवनलाई छोटो भयो भन्नेहरुको भीडमा आफूलाई पनि सामेल गराउँदैछु ।
हरेकको घरबारमा खिचलो हुन्छ रे तर कसैले भन्दैनन् । मेरा बाले मेरी आमाले धेरै दुःख दिए होलान्, अन्कलले अन्टीलाई अनि छिमेकमा पनि मेरो जस्तो पारिवारिक खिचलो तर अरुले मनमा राखेर बसे अथवा सहेर बसे तर म मेरा बा आमालाई अँध्यारोमा राखेर बस्न सक्दिनँ । हुन सक्छ म नै गलत तर पनि म बा आमालाई माया गर्नुपर्छ भनेर आवाज उठाएर गलत सावित हुन सक्छु भने ठीक छ होइन भने जीवनसाथी आफ्नो ठाउँमा अनि म अनि मेरा बा आमा आफ्नो ठाउँमा । ठीकै भन्दा रहेछन बुढापाकाहरु विवाह खानेवाला पनि पछुताउँछ न खानेवाला पनि पछुताउँछ भनेर । समाजले त मलाई नै थुक्ने छ किनभने समाजले मेरा बा आमाको पक्ष लिदा म मेरो जीवनलाई नै खाल्टोमा हाल्दैछु भन्ने के थाहा ?
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)