~विजयराज आचार्य~
“गुड आफ्टरनुन चिल्ड्रेन !” एक्कासी भित्र पसेर हेड सरले भन्नुभयो ।
हामीहरू झसङ्ग झस्कदै उठेर सबैले एकै स्वरमा भन्यौं, “गुड आफ्टरनुन सर !”
हेड सर सित्तिमिति हाम्रो कक्षामा आउनुहुन्थेन । अब हामीलाई के सजाय दिनुहुने हो भन्ने डर र उत्सुकताले हामीले हेड सरलाई हे¥यौं ।
“सिट डाउन । एउटा नोटिस छ ध्यानपूर्वक सुन ।” हेडसरको अनुहारमा हल्का हाँसो देखियो । हाम्रो डर अचानक हरायो ।
“के नोटिस हो र सर ?” विरजाले डराई डराई सोधिन् ।
“भोलि के हो तिमीहरूलाई थाहा छ ?” सरले सोध्नु भयो ।
“भोलि तिज हो सर,” मोनिकाले उत्साहित हुँदै भनिन् ।
“गुड ! ठिक भन्यौं । त्यसैले भोलि केटीहरूका लागि छुट्टी छ । राम्रोसँग तिज मानेर पर्सी स्कुल आउनू ।”
“सर हामी स्कुल आउन चाह्यौं भने आउन पाउँछौं कि पाउँदैनौं ?” आकृतिले सोधिन् । उनी कक्षामा जहिले पनि पहिला हुन्थिन् । कुनै दिन पनि गयल हुन्नथिन् । उनले थपिन्, “केटाहरुले मात्रै पढ्दा हाम्रो पढाइ छुट्दैन र सर ?”
“ठिक भन्यौ । आउन चाहनेले आए हुन्छ । नआउँदा पनि गयल भइँदैन ।” भनेर सर बाहिर निस्कनुभयो ।
“हुर्रे… ! भोलि छुट्टी !” स्वीकृति खुशीले चिच्याई । अरु एक दुई जना पनि चिच्याए, “हुर्रे ! भोलि छुट्टी !!”
कक्षामा म, विरजा, मोनिका, आकृति र स्वीकृति मिल्ने साथी हौं । मध्यान्हको छुट्टीमा हामी पाँच जना टिफिन रुममा बसेर घरबाट ल्याएको खाजा बाँडिचुडी खान थाल्यौं ।
“म त भोलि पानी पनि नखाई व्रत बस्छु । तिमीहरू पनि बस्छौ होला नि ?” स्वीकृतिले सोधिन् ।
“व्रत केका लागि बस्छन् ?” नजानेको कुरा मैले सोधें ।
“त्यो त मलाई पनि थाहा छैन ।” स्वीकृतिले ओठ लेप्राउँदै भनिन् ।
“थाहै नभएको कुरा पनि किन गर्ने नि ?” आकृतिले भनिन् ।
“हिऽऽ हिऽऽ हिऽऽ त्यति पनि थाहा छैन ?” विरजाले थपिन् ।
“थाहा नभएर त सोधेको नि,” मैले भनें ।
“महिलाहरु किन तिजको व्रत बस्छन् भन न विरजा ?” आकृतिले सोधिन् ।
विरजाले जिस्किँदै भनिन्, “राम्रो श्रीमान् पाउँ भनेर नि । त्यति पनि थाहा छैन ?”
“हामी सानै छौं । बल्ल पाँच कक्षामा पढ्छौं । पढाइमा ध्यान दिनुपर्ने बेलामा किन भविष्यको लोग्नेको बारेमा टाउको दुखाउनु ?” आकृतिले गम्भीर हुँदै भनिन् ।
“हो भन्या”, मैले आकृतिको कुरामा सही थपें ।
“छ्या, मैले त नजानिकनै व्रत बस्न थालेछु ।” स्वीकृतिले पछुताउँदै भनिन् ।
“तिजमा के बिहे नगरेकाहरु मात्रै व्रत बस्छन् र ? हाम्रो घरमा आमा पनि ब्रत बस्नुहुन्छ ?” मोनिकाले उत्सुक हुँदै भनिन् ।
“होइन होइन बिहे नभएकाले आफूलाई माया गर्ने श्रीमान् पाइयोस् भनेर व्रत बस्छन् । त्यस्तै बिहे भएकाले श्रीमान्को आयु बढोस् र परिवारमा सुख शान्ति छाओस् भनेर व्रत बस्छन् ।” विरजाले स्पष्ट पार्दै भनिन् ।
“अँ साँच्ची तिमीहरू भोलि व्रत बस्छौ कि बस्दैनौ ?” आकृतिले सोधिन् ।
“म त व्रत बस्दिनँ, स्कुलै आउछु !” मैले भनें ।
“हामी पनि व्रत नबस्ने । स्कुलै आउने,” स्वीकृति र मोनिकाले पनि एकै स्वरमा भने ।
“ओहो किन नबस्ने नि ?” विरजाले अचम्म मान्दै सोधिन् ।
“पछि हुने कुराको चिन्ता गरेर भोक भोकै बस्नुभन्दा बरु नजिक आएको परीक्षाको तयारी गरे मिठो फल पाइन्छ,” मैले भनें ।
“पूजा, पाठ गरेर व्रत बसेर जाँचमा फस्ट हुन पाइने भए म पनि बस्ने थिएँ । किन मेहनत गरी पढ्नु पथ्र्यो र !” आकृतिले मेरो कुराको समर्थन गर्दै भनिन् ।
यत्तिकैमा मोनिकाको अनुहार मलिन देखियो । उनी सुँक्क सुँक्क गरेर रुन पो थालिन् ।
“के भो मोनिका किन रोएकी ?” हामी चारै जना साथीले अचम्म मान्दै एकै स्वरमा सोध्यौं ।
“मेरी दिदी वर्षाको सम्झना आयो,” मोनिकाले ओठ कमाउँदै भनिन् ।
“किन नि मोनिका ? के भयो दिदीलाई ?”, मैले सोधें ।
मोनिकाले आँखाबाट बरर्र आँसु झार्दै भनिन्, “वर्षा दिदीले राम्रो श्रीमान् पाइयोस् भनेर तिजमा मात्रै होइन हरेक सोमबार र चाडबाडमा व्रत बस्नुहुन्थ्यो । मन्दिर देख्यो कि ढोग्नुहुन्थ्यो । तर …” उनी अगाडि बोल्न सकिनन् ।
“अनि के भयो मोनिका ?” विरजाले सोधिन् ।
तर मोनिका बोल्न सकिनन् ।
“खास भएको कुरा के हो भन न मोनिका ?” आकृतिले जोड दिइन् ।
“वर्षा दिदीले प्रेम विवाह गर्नुभएको । बिहे नहुन्जेल भिनाजुले दिदीलाई निक्कै माया गर्नु हुन्थ्यो तर … ”
“तर, के नि ? के भयो ? स्पष्ट भन न,” मैले भनें ।
मोनिकाले लामो सास फेर्दै भनिन्, “बिहे भएको केही दिनमै सासु सुसुराले कुलघरान मिलेन, दाइजो भएन भनेर नराम्रो व्यवहार गर्न थाले ।”
“सासु ससुराले नराम्रो गरेर के भो र ? भिनाजुले त माया गर्नुहुन्छ होला नि,” विरजाले सोधिन् ।
“भिनाजुले पनि आमा बुबाका कुरामा लागेर दिदीलाई कुट्न, पिट्न थालेपछि उहाँ घरबाट निस्कनु प¥यो,” उनले आँसु पुछ्दै भनिन् ।
“अहिले वर्षा दिदी कहाँ बस्नुहुन्छ नि ?” स्वीकृतिले सोधिन् ।
“भिनाजुले अर्की बिहे गर्नुभयो । वर्षा दिदीलाई माइतमा पनि बस्न मन लागेन । उहाँ अहिले कामको खोजीमा इजरायल जानुभएको छ,” मोनिकाले भनिन् ।
“देख्यौ त व्रत बस्दैमा, पूजा गर्दैमा मन चिताएको पुग्ने रहेछ त ?” मैले मनको कुरा पोखें ।
“मोनिकाको कुरा सुन्दा मैले पनि हाम्रा काका काकीको कुरा सम्झें,” विरजाले भनिन् । “म दुई कक्षामा पढ्दा हामीहरू सहरमा डेरा गरेर बसेका थियौं । त्यही घरमा हरि काका र निर्मला काकी पनि बस्नुहुन्थ्यो । दुवै जना जागिर गर्नुहुन्थ्यो । तर… ।”
“फेरि तर । तर के भयो ? खुरुखुरु भन न,” मैले हतारिदै भनें ।
“उहाँहरुको सन्तान थिएन । सन्तान होस् भनेर निर्मला काकी तिजमा मात्रै होइन सोमबार, एकादशी, औंसी र अरु चाडबाडमा पनि ब्रत बस्नुहुन्थ्यो । बिहानै मन्दिरमा पूजा गर्नुहुन्थ्यो । ज्योतिष र पुरेतकहाँ जानुहुन्थ्यो । ग्रहशान्ति र पूजापाठ गराउनु हुन्थ्यो …।”
“अनि सन्तान भयो त ? छोरा भयो कि छोरी ?” मोनिकाले जिस्किँदै भनिन् ।
“के भन्नु खै ! त्यसरी मिल्ने जोडी एक दिन छुट्टी यो । काकाले अर्की श्रीमती बिहे गर्नुभयो ।
“विरजाको कुराले मलाई पनि एउटा घटनाको सम्झना भयो ।” स्वीकृतिले भनिन् ।
“के घटना सम्झ्यौ, सुनाइहाल न त ।” मैले आग्रह गरे ।
“हाम्रो गाउँका माझघरे शिव काकाको सानैमा बिहे भएको थियो । बिहेपछि काका सहरमा पढ्न जानुभयो । काकीले घर सम्हाल्न थालिन्,” भन्दै स्वीकृतिले लामो सास फेरिन् ।
“अनि के भो त ?” आकृतिले सोधिन् ।
“काकीले काकाको सु–स्वास्थ्य र लामो आयु होस् भनेर हरेक वर्ष तिजमा ब्रत बस्नुहुन्थ्यो । मन्दिरमा पूजाआजा गर्नुहुन्थ्यो । तर काकी अनपढ भइन् भनेर काकाले सहरबाट अर्की ल्याउनुभयो,” स्वीकृतिले भनिन् ।
“अनि व्रत बस्दैमा हुने रहेछ त सुख र शान्ति, मेलमिलाप ?”, मोनिकाले व्यंग्य गर्दै भनिन् ।
पाँचै जनाको मुखबाट एउटै शब्द निस्कियो, “हुँदैन रहेछ ।”
यत्तिकैमा टिनीनी ऽऽ घण्टी लाग्यो ।
हामीहरू दौडदै कक्षामा गयौं ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)