~राजेन्द्र खरेल~
लोकसेवा आयोगको परीक्षा पास गरी खरिदार पदमा नाम निकालेपछि गाविस सचिवका रूपमा मेरा दाजुको कार्यक्षेत्र दाङ, प्युठान र रोल्पाको सीमाना रहेको त्रिवेणी गाउँमा प¥यो । दाङ र रोल्पाको सीमानाबाट बगेको अरङखोला, प्यूठान र रोल्पाको सीमाबाट बगेको लाँकुरी खोला र दाङ–प्युठानको सीमाबाट बगेको खुर्पी खोला त्रिवेणीमा मिसिन्छन् । त्यही ठाउँको नामबाट गाविसको नाम त्रिवेणी राखिएको छ ।
वरिपरि पहाडले घेरेको सानो उपत्यकाभित्र रहेको समथर ठाउँ छ, यहाँ । त्यहीँ गाविस कार्यालय छ । गाविस कार्यालयबाट दुई सय मिटर उत्तरमा हेल्थपोस्ट र पाँच सय मिटर पश्चिमतिर एउटा प्राथमिक विद्यालय छ । यिनै तीन कार्यालय यो गाउँका जनताले अनुभूत गर्ने स्थानीय सरकार हुन् । सरकारी कार्यालयहरूको विपरीत दिशामा ८—१० वटा पसल र होटलहरू छन् । यही हो, गाविसको केन्द्र ।
समथर भूमिलाई घेरेका पहाडहरूको जीउमा पातला–भिराला बस्तीहरू छन् । उत्तरतिरको डाँडापारि ठकुरीहरूको बस्ती छ । त्यही ठाउँमा छ– एउटा दरबार । नेपाल एकीकरणपूर्व त्यो ठाउँमा सेन वंशका राजाहरूले राज्य गर्थे । राजा महेन्द्रले रजौटा प्रथा उन्मूलन गर्नुभन्दा पहिले यहाँका रजौटाहरूले सरकारबाट भत्ता पाउँथे । सरकारबाट भत्ता पाउने अन्तिम सेन रजौटा कालीबहादुर सेन थिए । त्यो भव्य दरबार कालीबहादुरले राणाशासनको समयमा बनाएका थिए । कालीबहादुरका सबै सन्तानहरू दाङ–देउखुरी, बुटवल र नेपालगन्जतिर बस्छन् । त्यसैले दरबार खाली छ । ढोका–झ्यालहरू छैनन् । दरबार धेरै जीर्ण भइसकेको छ । कति बेला भत्किन्छ, ठेगान छैन ।
मेरा दाजु, विद्यालयका प्रधानाध्यापक र हेल्थपोस्टका अहेब तीनै जनाको स्थायी मुकाम गाउँभन्दा बाहिर पथ्र्यो । उनीहरू सम्बन्धित कार्यालयको क्वाटरमा बस्थे । तीनै जना गाउँभन्दा बाहिरका भएकाले उनीहरूबीच नजिकको सम्बन्ध स्थापित भएको थियो । बिदाको दिनमा तीनै जना मिलेर त्रिवेणीमा जान्थे, नुहाउँथे र पौडी खेल्थे । मिल्यो भने माछा समेत मार्थे । बेलुकीपख भट्टीको जाँडमा लठ्ठिन्थे । कहिले कहीं बिदाको दिन घुम्दै कालीबहादुरको दरबारसम्म पुग्थे ।
एकदिन कार्यालय समयपछि मेरा दाजु चिया पसलमा बसेर चिया पिउँदै हुनुहुन्थ्यो । त्यही बेला विद्यालयका प्रधानाध्यापक हाँस्दै दाजुकहाँ आएर भने, “यो दलबहादुर फटाहाले अति ग¥यो सर ।”
“होइन, दलबहादुरले के ग¥यो ?” दाइले उत्सुकताका साथ प्रश्न सोध्नुभयो । उत्तर दिनुको सट्टा प्रधानाध्यापकले दाजुको हातमा एउटा कागजको टुक्रो थमाइदिए ।
दलबहादुर सेन गाउँको नामुद जुवाडे थियो । ऊ त्यो क्षेत्रमा मात्र नभएर दाङ–घोराहीसम्म कहलिएको जुवाडे थियो । आफूलाई कालीबहादुर सेनको नजिकको भाइगोत्यार भन्थ्यो । बेलाबेलामा राजसी फुर्ती लगाउँथ्यो । बाउको पुख्र्यौली सम्पत्ति जुवामा हारेर सिध्याउन थालेको थियो । उसकी एउटी सानी छोरी दुई कक्षामा पढ्थी । स्कुल आउँदा ऊसँग न कापी–किताब हुन्थ्यो, न कलम नै । एकदिन म्याडमले उसलाई गाली गरिन्, “भोलिदेखि कापी–किताब लिएर आइनस् भने तँलाई कक्षा कोठामा पस्न दिन्नँ ।”
सानी केटीले घरमा किताब–कापी मागी । दलबहादुरले छोरीलाई भन्यो, “तेरी मेडमलाई यो चिठ्ठी दिनू ।”
सानी केटीले त्यो कागजको टुक्रा म्याडमलाई बुझाई । म्याडमले प्रधानाध्यापकलाई बुझाइन् । प्रधानाध्यापकले त्यही कागजको टुक्रा मेरा दाजुलाई थमाइदिएका थिए । कागजमा लेखिएको थियो, “मेडम ! म घर बनाउँदै छु । अहिले मलाई पैसाको खुब खाँचो छ । मैले छोरीलाई किताब–कापी किनिदिन सक्दिनँ । त्यसैले उसलाई गाली नगर्नुहोला ।” चिठ्ठी पढेर दाजुले हाँसो रोक्न सक्नु भएन । उहाँले प्रधानाध्यापकलाई सोध्नुभयो, “यो जुवाडेले घर चाहिँ कहाँ बनाउन लागेछ ? ठूलै जुवा जित्यो कि ?”
दलबहादुर सेन जुवा खेल्न दाङ गएको थियो । संयोगवश त्यहाँ उसले प्रतिद्वन्द्वी कालीबहादुर राजाको नाति केशरजंग सेनलाई भेट्टायो । त्यो दिन दलबहादुरको दाउ चलेको थियो । उसले केशरजंगको सबै पैसा जित्यो । हारले मर्माहत भएको केशरजंगले अन्तिम दाउका रूपमा त्रिवेणीमा रहेको उसको नामको बारीको सुर्का थाप्यो, त्यो बारी पनि दलबहादुरले जित्यो । जितको उन्मादमा दलबहादुरले घोषणा ग¥यो, “म कालीबहादुर राजाको बारीमा उसको भन्दा ठूलो दरबार बनाउँछु ।”
० ० ०
चिठ्ठी काण्डको एक हप्तापछि हेडमास्टरले अर्को काण्ड ल्याएर आए र भने, “सर ! हेर्नुहोस् त, आज दलबहादुरकी छोरीले स्कुलमा यो किताब लिएर आइछ ।”
हेडमास्टरले माओत्सेतुङको फोटो भएको अङ्ग्रेजी किताब देखाए । दाजुले त्यो किताब हेर्न थाल्नुभयो ।
“त्यो जुवाडे दलबहादुरको घरमा कहाँबाट आयो यो अङ्ग्रेजी किताब ?” हेडमास्टरले दाजुलाई प्रश्नसूचक दृष्टिले हेर्न थाले ।
दाजुले किताब ओल्टाईपल्टाई हेर्दै भन्नुभयो, “यो किताब पुरानो हो । पानाहरू पनि पहेंला भइसकेका छन् । मेरो विचारमा यो किताब युद्धको बेला माओवादीहरूले छोडेर गएका हुन सक्छन् । तपाईंहरूले बच्चीलाई किताब लिएर स्कुल नआएकोमा गाली गर्नुभयो । उसले घरमा यही किताब भेटी अनि बोकेर स्कुल आई ।”
दाजुको कुराले हेडमास्टर सन्तुष्ट हुन सकेनन् । “यो गाउँमा अग्रेजी किताब पढ्ने माओवादी को पो छ र ?” उनले भने ।
“यो गाउँमा पो छैनन् तर माओवादी युद्धका बेला यो गाउँमा कहाँ–कहाँबाट नेता कार्यकर्ताहरू आए होलान् । माओवादी आन्दोलनमा डिग्री र पिएचडी होल्डरहरूको कमी पनि त थिएन,” दाजुले हेडमास्टरलाई स्पष्टीकरण दिनुभयो ।
हेडमास्टरले निधार खुम्च्याउँदै टाउको हल्लाए ।
दुई दिनपछि हेडमास्टरले बङ्गाली भाषामा लेखिएको रातो किताब दाजुलाई देखाउँदै भने, “आज दलबहादुरकी छोरीले यो किताब लिएर आएकी थिई । अब तपाईं भन्नुहोस् त नेपालको कुनचाहिँ माओवादी नेताले बङ्गाली भाषाको किताब पढ्छ ?” हेडमास्टरको प्रश्न उचित थियो ।
मेरा दाजुले किताब हेर्नुभयो । उहाँले लख काट्दै भन्नुभयो, “हामीले कुरा अनुमानकै भरमा गरिरहेका छौं । मैले सुनेको, युद्धका बेला भारतका माओवादीहरू (नक्सलीहरू) यता आउने र यताका माओवादीहरू उता जाने गर्थे रे । हुन सक्छ, कुनै बंगाली नक्सलीले यो किताब यहाँ ल्यायो र यतै छोडेर गयो वा मारियो ।”
दाजुको यो तर्कमा दम थियो । हेडमास्टरले पनि दाइको कुरामा सहमति जनाए । त्यसपछिका दिनहरूमा दलबहादुरकी छोरीले नयाँ किताबहरू ल्याउन छाडी वा हेडमास्टरले त्यो कुरा दाजुलाई सुनाउन आवश्यक ठानेनन्, पुस्तक काण्ड त्यत्तिमै सेलाएर गयो ।
त्रिवेणी गाउँ सानो थियो । त्यहाँको जनसङ्ख्या पनि थोरै थियो तर त्यहाँ काण्डहरू धेरै हुन्थे । एउटा काण्ड सेलाउन पाएको हुँदैन, नयाँ काण्ड जन्मिहाल्थ्यो । पुस्तक काण्ड सेलाएको मात्र के थियो, भूत काण्डले गाविस ततायो ।
एकदिन गाविस कार्यालयमा सेवाग्राहीहरू थिएनन् । कार्यालय सुनसान थियो । कार्यालय सहयोगी दिदीले सानो आवाजमा फुस्फुसाइन्, “सर ! अचेल (कालीबहादुर राजाको) दरबारमा भूतले तर्साउँछ रे नि !”
दिदीको कुरा सुनेर दाजु खुब हाँस्नु भयो । आफ्नो कुरा हाँसोमा उडेको देखेर दिदी अमिलिँदै कार्यालयको अर्को कुनातिर लागिन् । यसपछिका दिनमा कार्यालय आउने सेवाग्राहीहरूले पनि दरबारमा भूतले तर्साएको कुरा सुस्तसुस्त गर्न थाले । चिया पसलमा भूतकै विषयमा कुरा हुन थाल्यो ।
समय यस्तो पनि आयो, दाजुसँग भेट्ने प्रत्येक मान्छेले दरबारमा रहेको भूतकै बारेमा कुरा गर्न थाल्यो । गाउँमा आतङ्कको माहोल मडारियो । भूतका बारेमा मान्छेहरू दाइलाई अनेक कुरा सुनाउन थाले ।
“रातिमा दरबारको छेउछाउबाट कोही हिँड्नै हुँदैन । भूतले ढुंगा हानिहाल्छ ।”
“दरबार वरपर र दरबारभित्र पनि भूतले खनेर खाल्टा बनाएको छ ।”
गाउँका गन्यमान्यहरूले दाजुलाई भन्न थाले, “जनता आतंकित छन् । हाम्रो सरकार भनेकै तपाईं हो । लौ हजुर, गाउँलाई भूतबाट बचाउनु प¥यो ।”
दाजुलाई गन्यमान्यहरूको कुरा मनासिब नै लाग्यो । तर सबैभन्दा पहिले यथार्थ कुरा पत्ता लगाउनु पथ्र्यो । त्यसैले दाजुले घटनास्थलको निरीक्षण गर्ने निर्णय गर्नुभयो ।
दाजु दरबार भएको ठाउँमा जानुभयो । नजिकै दलबहादुरले बनाउन लागेको घरको जग खनिएको थियो तर दरबारमा भूतले आतंक मच्चाउन थालेपछि दलबहादुरले घर निर्माणको काम स्थगित गरेको थियो । दरबार वरपर ठाउँ–ठाउँमा ठूल्ठूला खाल्डाहरू खनिएका देखिन्थे । दरबारभित्र पनि ठूल्ठूला खाल्डाहरू खनिएका थिए । मान्छेहरू यो सबै भूतको काम हो भनेर विश्वास गर्थे ।
दरबारको निरीक्षणपछि दाजुले गाउँमा सार्वजनिक भेला राख्नुभयो । भेलामा गाउँका ठूलाठालू नेताहरूदेखि श्रमिक किसानहरूको समेत उपस्थिति थियो । भेलाको सुरुमै कुरा उठ्यो, “आखिर दरबारमा हुन्छ के ?”
एकजना मान्छे उठेर भन्यो, “दरबारमा रातिको बेला बच्चा रोएको जस्तो आवाज आउँछ ।”
एकजना बुज्रुकले भने, “हाम्रा बाले भन्नु भएको, कालीबहादुर राजाले यो दरबार बनाउन जग खन्दै गर्दा पनि भूतले तर्साएको थियो । त्यतिबेलाका शाही झाँक्री, नारा झाँक्रीले भूत मन्साउनका लागि कन्याको रगत चढाउन पर्छ भनेपछि राजाले चार वर्षकी सार्कीकी कन्याको बलि दिएका थिए रे ! हो न हो, त्यही कन्याको आत्माले दरबारमा तर्साउने गर्छ कि ?”
बुज्रुकको कुरा नसकिंदै अर्को मान्छे उठेर भन्यो, “बच्चा होइन, जवान मान्छे रोएको आवाज आउँछ ।”
अर्का बूढा बा बोल्न थाले, “कालीबहादुर राजा स्त्रीका बडा सौखिन मान्छे । एकपटक देउखुरी गएको बेला एकजना बठनियाँ माथि राजाको दिल बसेछ । उनले बठनियाँलाई अपहरण गरेर ल्याएछन् । बठनियाँको मर्द (थारू) आफ्नी श्रीमती खोज्दै त्रिवेणी गाउँ आइपुगेछ । दुःख गरेर आफ्नी प्राणप्रिया श्रीमती खोज्दै बिरानो ठाउँमा आउँदा देखेछ कि उसकी श्रीमती त महारानी बनेर बसेकी छे । आफ्नो श्रीमान्लाई पनि चिन्न इन्कार गर्छे । त्यो पीडा सहन नसकी त्यो थारू दरबार नजिकैको कट्मिराको रुखमा झुन्डिएर मरेछ । त्यही थारूको आत्मा ब्यूँतिएर दरबारमा रुने, कराउने र डराउन दिने गरेको हुन सक्छ ।”
बूढा बाको कुरा नसकिँदै अर्को मान्छे उठेर बोल्यो, “त्यहाँ त भूतले भाषण पनि गर्छ ।”
अर्को एकजना मान्छेले भन्न थाल्यो, “सात सालमा कांग्रेसहरू सल्यान कब्जा गर्न यही बाटो जाँदै थिए रे ! बाटामा सामन्तको दरबार देखिपछि यसलाई पनि कब्जा गर्नुपर्छ भनेर दरबारमा आक्रमण गर्न थालेछन् । प्रतिरोधमा नारा झाँक्रीले मन्त्र फुक्दा दुई जना कांग्रेस ठाउँको ठाउँ ढले रे ! तिनै मरेका कांग्रेसहरूको आत्माले पो दरबारमा भाषण गर्छ कि त ।”
यसरी मान्छेहरूले कालीबहादुर राजाका अनेक किस्सा सुनाउँदै दरबारमा भूत रहेको पुष्टि गर्न खोजे ।
दाजुले गाउँलेहरूलाई प्रश्न गर्नुभयो, “समस्याको समाधान कसरी हुन सक्छ त ?”
एकजना गाउँले उठेर भन्यो, “स्वर्गद्वारीबाट चौध जना पण्डित ल्याउने, दरबारमा होम गर्ने, वेदपाठ गर्ने । यति गरेपछि भूत मन्सिन्छ ।”
उसको कुरा सकिन नपाउँदै गाउँका जनजाति नेता उठेर कराउन थाले, “यहाँ ब्राह्मणवाद चल्दैन । भूत मन्साउन मगर परम्पराअनुसार झाँक्री बसालेर पञ्चबलि दिनुपर्छ ।”
भूत आतंकका विरुद्धमा एक भएको गाउँ भूत मन्साउने कुरालाई लिएर दुई ध्रुवमा बाँडियो । अन्तमा सहमति भयो, स्वर्गद्वारीबाट पण्डितहरू पनि बोलाउने र झाँक्री पनि बसाल्ने । खर्च गाविस कार्यालयले बेहोर्ने ।
स्वर्गद्वारीबाट १४ जना पण्डितहरू आए । दरबारमा होम गरे, शुद्धशान्ति गरे, वेदपाठ गरे । कालीबहादुर राजाले मारेका सबै जनाको नाममा सामूहिक श्राद्ध गरियो । त्यो क्षेत्रका घगडान झाँक्रीहरू झिकाइए । हाँस, कुखुरा, बोका, राँगा र सुँगुरको पञ्चबलि दिइयो । त्यसपछिका दिनहरूमा भूत आतंक मत्थर भयो ।
केही दिनको शान्तिपछि फेरि दरबारमा भूतको पुनरागमन भयो । भूतले पूर्ववत् रूपमा आफ्ना गतिविधि अगाडि बढायो । फेरि गाउँमा सन्त्रासको माहोल बन्यो ।
एकदिन अहेब, हेडमास्टर र दाजु चिया पसलमा गफ गर्दै र चिया पिउँदै थिए । गफको विषयवस्तु दरबारको भूत नै थियो । “होम पनि गरियो, झाँक्री पनि बसालियो तर भूत मन्सिएन,” हेडमास्टरले गुनासो गरे ।
“दरबारमा मरेका सबै जनाको नाममा श्राद्ध गरियो, झाँक्री पनि बसालियो, तर एकजना मुख्य मान्छेलाई कसैले सम्झेनन्” चिया पसले दाइले स्टोभमा दम दिँदै गुनासो गरे ।
“को मान्छे हँ ?” सबैजना चिया पसलेको कुरोको चुरो थाहा पाउन उत्सुक भए ।
“ठूलो कान्छा,” चिया पसलेले कुरो नघुमाई भने ।
कथामा अर्को नयाँ पात्र ‘ठूलो कान्छा’ को आगमनले तपाईंहरू रनभुल्लमा पर्नुभयो होला । हाम्रा दाजु पनि त्यस्तै रनभुल्लमा परेर चिया पसलेसँग सोध्नुभयो, “को हो ठूलो कान्छा ? अलि प्रस्टसँग भन्नुस् न ।”
चिया पसलेले लामो सास तान्दै भने, “ठूलो कान्छा कालीबहादुर राजाका छोरा थिए । माओवादी युद्धका बेला उनलाई प्रहरीले बेपत्ता पा¥यो । गाउँमा सास फर्केन, लाश पनि देखिएन तर उनलाई पक्का मारियो । न उनको काज किरिया भयो, न त श्राद्ध नै । उनकै आत्मा पो दरबारमा भड्किरहेको छ कि ?”
चिया पसलेको कुराले भूतको विषय अझ रहस्यमय बन्दै थियो । दाइ घोरिनु भयो, “राजाको छोरालाई प्रहरीले किन बेपत्ता पारे होला ?” उत्तर चिया पसलेसँग थिएन । कुरो माओवादी युद्धसँग जोडिन्थ्यो । त्यसैले दाइले माओवादीका गाउँ समितिका नेतासँग कुरा गर्नुभयो । उनलाई सानो कान्छाका बारेमा राम्रै जानकारी रहेछ ।
० ० ०
कालीबहादुर राजाका बूढेसकालका सन्तान थिए, सानो कान्छा । बूढेसकालमा जन्मिएको हुनाले राजाले उनलाई नै आफ्नो अन्तिम सन्तान ठाने र उनलाई कान्छा भनेर बोलाउन थालियो । राजाका धेरै रानीहरू थिए । कान्छा जन्मिएपछि पनि राजाका अरू दुई छोराहरू जन्मिए । त्यसैले उनीहरू क्रमशः ठूलो कान्छा, माइलो कान्छा र सानो कान्छा भए ।
दरबारिया संस्कृति र प्रवृत्ति नै भनौं, राजा र राजाका सन्तानहरू ऐस आराम, सुरासुन्दरीमा रमाउँछन्, तर ठूलो कान्छा अलिक फरक किसिमका राजकुमार थिए । सानैदेखि उनी अध्ययनशील र तेज दिमागका थिए । उनी विषयवस्तुको जरो पहिल्याएर कुरा गर्थे ।
सानो कान्छाको प्रवृत्तिबाट प्रभावित भएका राजाले उनलाई अंग्रेजी पढ्न कलकत्ता पठाए । कलकत्तामा अध्ययन गर्दै गर्दा उनको झुकाव वामपन्थी आन्दोलनतिर बढ्यो । पश्चिम बङ्गालको नक्सलबारी भन्ने गाउँबाट चारु मजुम्दारको नेतृत्वमा रक्तपातपूर्ण किसान विद्रोह सुरु भयो र त्यो विद्रोह छिट्टै नै भारतव्यापी बन्यो । नक्सलबारी गाउँबाट सुरु भएको आन्दोलनको सहरी केन्द्र कलकत्ता थियो । आन्दोलनको राप ठूलो कान्छासम्म पुग्यो । नक्सलबारी आन्दोलनबाट उनी ज्यादै प्रभावित भइसकेका थिए । त्यसैले उनी पनि त्यो आन्दोलनमा संलग्न भए ।
विशेषतः नेपालीभाषीहरूको बाहुल्य रहेको दार्जिलिङमा आन्दोलन सङ्गठित गर्ने उनको जिम्मेवारी थियो । आन्दोलन एउटा उचाइमा पुग्दै थियो । त्यही समयमा आन्दोलनका नेता चारु मजुम्दार गिरफ्तारीमा परे र केही दिनपछि उनको जेलमै मृत्यु भयो । चारु मजुम्दारको मृत्युसँगै आन्दोलन स्खलित भयो । धेरै नेताहरू मारिए, गिरफ्तार भए । आन्दोलनको यो असफलताबाट विक्षिप्त बनेका ठूलो कान्छा स्वदेश फर्किए । नेपालमा त्यतिबेला पञ्चायती शासन थियो । कालीबहादुर राजाको मृत्यु भइसकेको थियो । भाइहरूबीच छुट्टिभिन्न हुँदा अरूले तराई र बजारतिरको सम्पत्ति रोजे, तर ठूलो कान्छाले त्यही बाउले बनाएको दरबार रोजे । नक्सलबारी आन्दोलनमा उनको उच्च लगाव र त्यसको विफलताले उनमा गहिरो मानसिक आघात प¥यो । बाँकी समय उनले दरबारभित्रै अध्ययन गरेर बिताए ।
२०४६ सालको जनआन्दोलनपछि देशमा प्रजातन्त्रको पुनस्र्थापना भयो । न त जनआन्दोलन, न त प्रजातन्त्रको फल नै त्रिवेणी गाउँसम्म पुग्यो । २०५० को दशकका सुरुवाती दिनमा गाउँमा नयाँ मान्छेहरू देखिन थाले । दरबारमा चहलपहल हुन थाल्यो । ती नयाँ मान्छेहरू माओवादीका नेताहरू थिए । ठूलो कान्छाको नक्सलवादी पृष्ठभूमिका कारण उनीबाट सहयोगको अपेक्षा माओवादीहरूले गरेका थिए । दरबारमा रहेका बन्दुक, सुनचाँदी र पैसा ठूलो कान्छाले माओवादीलाई दिए । २०५२ साल फागुन १ गते त्रिवेणी गाउँदेखि नजिकै रहेको होलेरी गाउँको प्रहरी चौकी आक्रमण गरेर माओवादीहरूले सशस्त्र युद्ध सुरु गरे ।
माओवादी आन्दोलनबाट हौसिएका ठूलो कान्छाले आफ्ना दाइ–भाइ र भतिजाहरूलाई भन्न थालेका थिए रे, “हाम्रा पुर्खाले जनतासँग लुटेको सम्पत्ति विरासतमा हामीले पाएका छौं । अब युगले हामीलाई त्यो सम्पत्ति जनतालाई नै फर्काउन आह्वान गर्दै छ । तिमीहरू खुरुक्क तमसुक र लालपूर्जाहरू बुझाऊ । नत्र म माओवादीहरूसँग पोल खोलिदिन्छु ।”
ठूलो कान्छाको चेतावनीले उनका दाइ–भाइ र भतिजाहरू सशंकित भए । माओवादी नियन्त्रण गर्न भन्दै प्रहरीले सुरु गरेको किलो सेरा अपरेसनका दौरान आफन्तहरूले सुराकी गरे र ठूलो कान्छालाई बेपत्ता बनाइयो ।
यस्तो थियो, ठूलो कान्छाको रहस्य । के साँच्चै दरबारमा ठूलो कान्छाको आत्मा मडारिइरहेको थियो त ? उनको आत्मा शान्तिका लागि फेरि रुद्री, श्राद्ध र झाँक्री बसाल्नु पर्ने भयो त ? ठूला कान्छा त बडो प्रगतिवादी मान्छे थिए । उनलाई भूत, भगवान्, आत्मा जस्ता कुरामा विश्वास थिएन । उनी जनतालाई माया गर्थे । त्यसो भए किन उनी भूत बनेर जनतालाई तर्साइरहेका छन् त ?
मेरा दाजुले यी प्रश्नहरूको उत्तर खोज्ने निधो गर्नुभयो । मुटु दह्रो पारेर रातिको बेला सुटुक्क दरबार वरिपरि लुकेर भूतको क्रियाकलाप हेर्न थाल्नु भयो । तीन दिनसम्म भूतको क्रियाकलाप अध्ययन गरिसकेपछि दाजुले भूत मन्साउने होइन, भूत पक्डिने निर्णय गर्नुभयो । हेडमास्टर, अहेब र गाउँका अरू ५ जना युवाहरूको बैठक बसाल्नु भयो र त्यही समूहले भूत पक्डिने भयो । यो जम्मै काम एकदम गोप्य ढंगले भयो ।
सदाको रातझैँ त्यो रात पनि जब भूतले आतङ्क सुरु गर्दै थियो, दाजुहरूको समूहले दरबार घे¥यो र भूतमाथि धावा बोल्यो । कालो वस्त्रले पूरै शरीर छोपेका २ जना भूतहरू थिए । दाजुले एउटा भूत र हेडमास्टरले अर्को भूत पक्रे । जब ती भूतहरूको मुखबाट पर्दा उतारियो, तब सबै अचम्म परे । त्यहाँ कोही भूत थिएन । भूतरूपी ती दुईजना मान्छे त जुवाडे दलबहादुर र उसकी श्रीमती थिए ।
भएको के थियो भने दलबहादुरले दरबार नजिकै घर बनाउन भनेर जग खन्दा एउटा प्लास्टिकको ड्रम भेट्टाएछ । घर लगेर खोल्दा त्यसभित्र क्रान्तिकारी किताबहरू थिए । प्रहरीले किलो सेरा अपरेसनको दौरान गाउँगाउँमा आतंक मच्चाउन थालेपछि ठूलो कान्छाले असुरक्षित महसुस गरे र आफूसँग भएका किताबहरू ड्रममा राखेर नजिकैको बारीमा लगेर गाडे ।
प्रहरीले तिनै पुस्तकलाई प्रमाण मानेर आपूmलाई मार्न सक्ने आशंका ठूलो कान्छाको थियो । पुस्तकहरू गायब भएपछि आफूलाई मार्न प्रहरीसँग बलियो प्रमाण हुँदैन भन्ने उनले सोचेका थिए तर प्रहरी र उनका दाजुभाइले उनलाई बेपत्ता पारेर छाडे ।
यता युद्ध रोकिएको धेरै वर्षपछि घर बनाउन घडेरी खन्दै गरेको दलबहादुरले किताब भरिएको ड्रम भेट्टायो । किताब नलिएर किन स्कुल आएको भनेर म्याडमको गाली खाइरहँदा दलबहादुरकी छोरीले ड्रमभरि किताब भेट्टाएकी थिई । उसले तिनै किताब अर्थात् ठूलो कान्छाका किताबहरू बोकेर स्कुल जान थाली, जुन किताबहरू हेडमास्टरले मेरा दाजुलाई देखाएका थिए । दलबहादुरलाई के लागेछ भने दरबारभन्दा बाहिरको घडेरी खन्दा किताबहरू भेटिन्छन् (त्यो घडेरी ठूलो कान्छाको भतिजाको घडेरी थियो) भने दरबारभित्र त झन् सुन–चाँदी र पैसाहरू गाडेर राखिएको होला । दिउँसै दरबारभित्र खन्न मिलेन, रातिमा खन्दा पनि कसैले देखे दलबहादुरको योजना चौपट हुन्थ्यो । त्यसैले भूत बनेर खने त उनीहरूको नजिक आउन कसैको हिम्मत हुँदैनथ्यो । त्यही कारण दलबहादुर र उसकी श्रीमतीले भूत बनेर गाउँमा आतंक मच्चाएका रहेछन् ।
विगतमा कालीबहादुर राजाहरू जनतालाई खुलमखुल्ला शोषण गर्थे, तर्साउँथे, लुट्थे । अहिले दलबहादुरहरूले नकाब लगाएर जनतालाई तर्साउँदै छन्, शोषण गर्दै छन् । ठूलो कान्छाको सपनाको संसारमा दलबहादुर र उसकी श्रीमतीलाई कस्तो सजाय हुन्थ्यो होला ?
(स्रोत : बाह्रखरी)